सम्भवतः मान्छेबाहेक धर्तीका अन्य प्राणीले मृत्युचिन्तन गर्न सक्दैन । मृत्युको परियोजना पनि बनाउन सक्दैन । तर, मान्छेले आफ्नो मृत्यु कस्तो, कहिले र कसरी अँगाल्ने भन्नेबारे परियोजना बनाउन सक्छ । मर्नुभन्दा अगावै उसले आफ्नो मृत्युको परियोजना डिजाइन गर्न सक्छ । मृत्यु हुनुपूर्व ती परियोजना पूरा गर्न अठोटका साथ काम गर्न सक्छ । मान्छे मृत्युलाई जितेर अमर त हुन सक्दैन, तर मृत्युअघि अर्थपूर्ण काम गरेर सधैँ सम्झना र सम्मान बनेर बाँचिरहन भने सक्छ ।
मृत्यु परियोजना करिब ६ वर्षअघि एकजना अग्रज व्यक्तिसँग भेट भयो । उहाँसित त्यसभन्दा अगाडि पनि भेट नभएको होइन, तर त्यो भेटचाहिँ एकदमै पृथक् थियो । त्यो भेटमा उहाँको मृत्यु परियोजना सुन्ने र पढ्ने मौका मिल्यो । त्यतिवेला उता युएन दिगो विकास लक्ष्य बनाउँदै थियो, यता उहाँ मृत्यु परियोजना बनाउँदै हुनुहुन्थ्यो । उहाँले कुराकानीकै क्रममा मृत्यु परियोजनाको विस्तृत दस्ताबेज पढ्न दिनुभयो । मैले पढेँ । परियोजनामा व्यक्तिगत योजना कम र सामाजिक, सामूहिक र आफ्नो जातीय समूह विकासका योजना बढी पाएँ । उहाँलाई सोधेँ, ‘यस्तो मृत्यु परियोजना बनाउने सोच र जाँगर कसरी आयो ?’ उहाँले भन्नुभयो, ‘केही वर्षअघि मेरो मुटुको शल्यक्रिया भयो । चिकित्सकले मेरो आयु जम्मा १५ वर्ष भएको जानकारी दिए । त्यसैवेलादेखि म मृत्युचिन्तन र परियोजना निर्माणमा लागेँ । चिकित्सकले भनेको कुल आयुको आधा बितिसक्यो, अब बाँकी आधामा आफ्नो मृत्युपूर्व केही काम गर्ने परियोजना बनाउन मन लाग्यो । मृत्युपूर्व यी परियोजना पूरा गर्ने अठोट छ । बाँकी जीवनमा केही ठोस काम गर्ने इच्छा छ ।’ उहाँको कुरा सुन्दा झसंग भएँ । अवाक् भएर उहाँको कुरा सुनिरहेँ ।
के छन् मृत्यु परियोजनामा ?
उहाँको मृत्यु परियोजनामा १५ वर्षे रणनीतिक योजना र कार्यक्रम छन् । परियोजनाको शीर्षक छ, ‘तामाङ ज्ञान अभिलेखन योजना (सन् २०१६–२०३०) ।’ त्यसका १५ वटा लक्ष्य छन्, जसलाई तीन भागमा विभाजन गरिएको छ । १५ वर्षे रणनीतिक योजनालाई लागू गर्न पञ्चवर्षीय कार्ययोजना बनाएका छन् । पहिलो, सन् २०१६ देखि २०२० सम्म । दोस्रो, २०२० देखि २०२५ सम्म र तेस्रो, २०२५देखि २०३० सम्म । ती १५ वटा लक्ष्य यस प्रकार छन् : पहिलो, तामाङ अभिलेख तथा लोकग्रन्थ अभिलेखीकरण । दोस्रो, कालक्रमिक तथा समकालीन सामग्रीहरूको अभिलेखीकरण । तेस्रो, तामाङ संस्मरण सामग्री संग्रह । चौथो, तामाङ मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा । पाँचौँ, तामाङ लोकवार्ता । छैटौँ, तामाङ भाषाको अध्ययन र प्रयोग विस्तार । सातौँ, तामाङ साहित्य । आठौँ, तामाङ ज्ञान–विज्ञान प्रविधि र दर्शनको अध्ययन । नवौँ, तामाङ इतिहास, भूगोल, राजनीति, आमसञ्चार आदिको अध्ययन । दसौँ, मातृभाषामा शिक्षाको प्रयोग विस्तार । एघारौँ, सूचना–प्रविधिमा तामाङ भाषाको प्रयोग विस्तार । बाह्रौँ, तामाङ ज्ञान महोत्सव । तेह्रौँ, लोकसेवा तथा विद्वत्वृत्ति र कार्यालय व्यवस्थापन तथा जनशक्ति उत्पादन ।
यी योजना हासिल गर्न निम्न गतिविधि र क्रियालकलाप सञ्चालन गर्ने उल्लेख छ : क्रियाकलाप एक, अभिलेख तथा लोकग्रन्थको संकलन, लिप्यान्तरण, अध्ययन, सम्पादन र अभिलेखन । दुई, कालक्रमिक तथा समकालीन सामग्रीको संकलन, पुनर्लेखन, अध्ययन, सम्पादन र अभिलेखन तथा गोष्ठीको आयोजना र जर्नल प्रकाशन । तीन, तामाङ संस्मरण सामग्रीको संकलन, सम्पादन र प्रकाशन । चौथो, तामाङ मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको सूचीकरण, अध्ययन, संरक्षण, अभिलेखन र युएनमा दर्ता । पाँचौँ, तामाङ लोकवार्ताको संकलन, अध्ययन, अनुसन्धान, सम्पादन र अभिलेखीकरण । छैटौँ, व्याकरण निर्माण, शब्दकोश निर्माण, प्राविधिक शब्दावली निर्माण, मानकीकरण र भाषा शिक्षण आदि । सातौँ, कविता, आख्यान, नाटक, निबन्ध र समालोचनाको कालक्रमिक तथा समकालीन अध्ययन, अनुसन्धान, सम्पादन तथा प्रकाशन ।
आठौँ, तामाङ ज्ञान, विज्ञान र प्रविधि र दर्शनको अध्ययन अनुसन्धान । नवौँ, तामाङ इतिहास, भूगोल, राजनीति, सञ्चार आदिको अनुसन्धानात्मक कृतिको तयारी र प्रकाशन । दसौँ, मातृभाषामा पाठ्यसामग्री, पाठ्यपुस्तक लेखन तथा प्रकाशन । एघारौँ, तामाङ विकिपिडियाको विकास, तामाङ इ–पुस्तकालयको अपडेट, अन्तर–भाषिक अनुवाद कर्पसको विकास, तामाङ–नेपाली–अंग्रेजी कोश र कथन–टंकण र कथनको पठनको विकास । बाह्रौँ, तामाङ अभिलेखालयको स्थापना, पुस्तकालय र संस्कृति–संग्रहालयको स्थापना र तामाङ शैक्षिक संस्थाको सञ्चालन । तेह्रौँ, गोष्ठी तथा प्रदर्शनीसहित ज्ञान महोत्सव र प्रतिभा सम्मान । चौधौँ, लोकसेवा, छात्रवृत्ति तथा विद्वत्वृत्ति । पन्ध्रौँ, कार्यालय व्यवस्थापन तथा परामर्श, सचेतना कार्यक्रम, विषयगत तालिम र छलफल, अभिमुखीकरण र अध्ययन भ्रमण तथा भेटघाट, विमर्श, छलफल, सम्पर्क र बुलेटिन प्रकाशन ।
‘केही वर्षअघि मेरो मुटुको शल्यक्रिया भयो । चिकित्सकले मेरो आयु जम्मा १५ वर्ष भएको जानकारी दिए । त्यसैवेलादेखि म मृत्यु–चिन्तन र परियोजना निर्माणमा लागेँ । चिकित्सकले भनेको कुल आयुको आधा बितिसक्यो, अब बाँकी आधामा आफ्नो मृत्युपूर्व केही काम गर्ने परियोजना बनाउन मन लाग्यो ।’
यसका साथै उहाँले आफ्ना केही पुस्तकहरूको पुनः सम्पादन गरेर ग्रन्थ प्रकाशन गर्ने, पुराना लेखहरूलाई संकलन गर्ने र संग्रह निकाल्ने, आफ्नो आत्मकथाको तेस्रो भाग निकाल्ने मृत्यु परियोजनामा राख्नुभएको छ । आफ्नो जीवनको बाँकी आयुमा उल्लिखित पन्ध्रवटा लक्ष्य हासिल गर्ने उहाँको उद्देश्य छ ।
उपलब्धि कति हासिल भए ?
अहिले उहाँ आफ्नो योजनाको दोस्रो पञ्चवर्षीय अवधिमा दौडिरहनुभएको छ । उहाँका योजना पूरा गर्न व्यक्ति एक्लैले गाह्रो हुने र एउटा संस्था खोल्न सुझाब पनि थिएँ । अनि २०७४ सालमा जन्मियो, ‘तामाङ न्हाङखोर ।’ यस संस्थामा हामी नौजना सक्रिय छौँ । संस्थाको अध्यक्षमा मृत्यु परियोजनाकार आफैँ हुनुहुन्छ भने महासचिवको भूमिकामा म छु ।
संस्थाले अहिलेसम्म करिब पाँच दर्जन तामाङ पुस्तकहरू प्रकाशन गरिसकेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरी तामाङ अध्ययन गोष्ठी आयोजना गर्दै आएको छ । प्रत्येक वर्ष तामाङ ज्ञान महोत्सव पनि गर्दै आइरहेको छ । कोभिड–१९को अवधिमा पनि भच्र्युअल माध्यमबाट आयोजना हुँदै छन् । तामाङ प्रतिभाहरू (तामाङ आइकन्स्), काइतेनः तामाङ अध्ययन जर्नलका केही अंकहरू प्रकाशित भएका छन् । संसारभरिका तामाङ विद्वान्हरूलाई जम्मा गर्ने र विचार विमर्श गर्ने कार्य पनि अगाडि बढिरहेका छन् । नयाँ अनुसन्धानकर्ता र लेखकहरू उत्पादन गर्ने हेतुले बौद्धमा दुईदिने लेखन प्रशिक्षण तालिमको आयोजना गरियो । न्हाङखोरकै पहलमा यसपालि तामाङ राष्ट्रिय पुस्तकालय स्थापना गरियो र अहिले सञ्चालनमा आइसक्यो ।
केही चुनौतीहरू
तामाङसम्बन्धी काम गर्न निकै कठिन रहेछ । कठिनाइका दुई तह रहेछन् । एक, न्यून दक्ष जनशक्ति, दुई, शून्य आर्थिक अनुदान । शिक्षामा निकै तल रहेको यो जातिमा दक्ष जनशक्तिको अभाव छ । लेखक र अनुसन्धानकर्ताहरूको अभाव त्यत्तिकै छ । जो छन्, तिनीहरू अरू संस्थामा पूरा समय संलग्न भएकाले यता समय दिन सक्ने अवस्थामा छैनन् । तामाङ विषयवस्तुमा काम गरेर जीविका चल्ने अवस्था नभएकाले यता आउने सम्भावना न्यून छ । कोही स्वयंसेवी भावनाले आउँछन्, तर सधैँभरि त्यसरी घर नचल्ने हुँदा टिक्न सक्दैनन् ।
यो जाति आर्थिक र शैक्षिकस्तरमा दलितभन्दा तल छ । करिब दुई शताब्दी मासिन्या मतवालीवाला कानुन मुलुकी ऐन–१९१० ले गर्दा यिनीहरूको अवस्था साह्रै कमजोर हुन पुगेकोमा कुनै द्विविधा छैन । कुनै पनि क्षेत्रबाट यो जातिको पछौटेपनलाई सबलीकरण गर्ने केही नीति र कार्यक्रम छैन । ‘तामाङ न्हाङखोर’ले आफ्नै बलबुतामा केही काम गर्दै आएको छ । केही शुभचिन्तकहरूको सामान्य सहयोगमा काम गर्न गराउन कठिन र असम्भवप्रायः हँुदो रहेछ । त्यसमाथि यसजातिको केही धनाढ्य व्यक्तिका लगानी धेरैजसो धर्म र ल्होछारजस्ता सांस्कृतिक कार्यक्रममा मात्रै खर्च हुँदा रहेछन् । त्यसो हँुदा ज्ञानको क्षेत्रमा काम गर्न ठूलै चुनौती हुने रहेछ ।
पन्ध्रवर्षे रणनीतिक परियोजनाले प्रक्षेपण गरेजस्तो उपलब्धि हासिल हुन सकेको छैन । यो पन्ध्रवर्षे परियोजना सफल बनाउन चार करोड तीस लाख अनुमानित बजेटमा दश प्रतिशत पनि सहयोग नजुट्दा र स्रोतको अभावमा काम गर्न नसकेको त त्यसमाथि कोभिडले गर्दा झन् कठिनाइ थपिएको उहाँको भनाइ छ ।
मृत्यु–चिन्तन
मृत्यु परियोजनाबारे पहिले कतै सुविचारित रूपमा जान्न पाएको थिइनँ । तैपनि मित्र डा. रोशनराज बरालले थाहा आन्दोलनका अभियन्ता रूपचन्द्र विष्टका बारेमा गहिरो अनुसन्धान गर्दा उहाँले करिब एक दशक अगाडि सुनाउनुभएका केही पंक्ति सम्झना भयो । उहाँका अनुसार विष्टले वि.सं.२०४६ सालको आन्दोलन सफल भएपछिका दिनमा आफ्नो जीवनको उपादेयता समाप्त भएकाले यो शरीरलाई म मार्छु भनेका थिए रे ! मृत्युबारे दार्शनिक बहस गर्दै बरालले भन्नुभएको थियो, ‘विष्टले शरीरलाई चाहिने वेलामा खाना आपूर्ति नगर्ने, वेलामा पानी आपूर्ति नगर्ने, आवश्यक निद्रा नदिने, आवश्यक स्याहार सुसार, हेरचाह प्रवाह नगर्ने गरी बिस्तारै–बिस्तारै आफ्नो शरीरलाई सुकाएर मारेका थिए रे !’ उहाँका अनुसार जाडोमा न्यानो कपडा नलाउने, गर्मीमा बाक्लो कपडा लाउने र शरीरलाई चाहिने सामान्य सुरक्षा नदिने गरेर जीवनलाई योजनाबद्ध ढंगले विष्टले मारेका थिए । तर, उल्लिखित मृत्यु परियोजनामा योजनाकारले आफ्नो आयुलाई केही सार्थक काम समाज र राष्ट्रका लागि पूरा गरेर जाने निधो गर्नुभएको छ र उहाँ यद्यापि सक्रिय हुनुहुन्छ ।
उहाँका परियोजना सामाजिक र सामूहिक हितका लागि भएकाले अरू कालिगढ र स्वप्नद्रष्टाहरू पनि जोडिने क्रम जारी छ । उहाँका चिकित्सकले घोषणा गरेको आयुमा अब तीन वर्ष मात्रै छ । तीन वर्ष मात्रै होइन, विज्ञानले चमत्कार गरेर हुन्छ कि हामी सबैको माया र उत्प्रेरणाले हुन्छ, उहाँलाई दीर्घायु प्राप्त होस् । उहाँ भर्खर ६५–६६ वर्ष मात्रै पुग्नुभएको छ । उहाँको दीर्घजीवनले समाज र राष्ट्रका लागि निकै महत्व राख्छ ।
\\यतिवेलासम्म तपाईंलाई उहाँको परिचय थाहा पाउने निकै उत्सुकता भइसक्यो होला । धैर्यताको बाँध हल्लिसक्यो होला । मृत्यु परियोजनाकार अरू कोही नभएर हाम्रै बीचमा नदीझैँ सधैँ गतिशील रहने व्यक्तित्व हुनुहुन्छ । उहाँले अहिलेसम्म पचासभन्दा बढी पुस्तक लेखिसक्नुभएको छ । उहाँले मूलतः भाषा र मातृभाषा शिक्षाको क्षेत्रमा निरन्तर काम गर्दै आउनुभएको छ । उहाँ हुनुहुन्छ– भाषाविद् अमृत योञ्जन तामाङ ।
अहिले उहाँ आफ्ना मृत्यु परियोजनामा उल्लेख भएका लक्ष्य हासिल गर्न दिनरात खटिइरहनुभएको छ । पछिल्लो समय उहाँ तामाङ राष्ट्रिय पुस्तकालयको नेतृत्व गरेर अहोरात्र खटिइरहनुभएको छ । उहाँलाई दीर्घायुको शुभकामना !