‘पारिजात’ शब्द सुन्नासाथ मभित्र यादहरू जुमुर्राउँछन् ।
घरअगाडि पारिजातको रूख थियो । खस्रा पातहरू भएको पारिजातका साना–साना सेता फूलहरू मग्मगाउँदै बिहान भुइँभरि खसेका हुन्थे । अजी भन्नुहुन्थ्यो– पारिजातको एक तोला शुद्ध फूल देवतालाई चढाउनुको अर्थ एक तोला सुन चढाएबराबर हो । तर, शुद्धको अर्थ भुइँ नछोएका फूल थिए । पारिजात मेरो लागि पवित्रताको प्रतीक थियो । त्यही पारिजात लेखकको नाम भएको त पछि थाहा भयो । पछि पारिजात प्रिय लेखक मात्र बनिनन् आफ्नै दिदीजस्तै लाग्न थालिन् । अनि बुनिन थाले यादका अनगिन्ती शृंखला । अचेल ती याद जुर्मुराउँछन् । पारिजात मेरो किशोरकालको संगीदेखि विद्रोही स्वभाव, संघर्षशील भावना र राजनीतिक चेत निर्माणको सहयात्री बनिन् । म पारिजातसँगै हुर्किएँ ।
जम्काभेट
आमाको टेबलमा छ एउटा मसिनो किताब । हल्का निलो कलेवरको गातामा फूल फूलेको रूख छ, एउटी युवती अपलक अञ्जान दृष्टि गरिरहेकी छे र सेता अक्षरमा लेखिएको छ– शिरीषको फूल । भर्खर–भर्खर किताबको लत लागेका वेला, कैशोर्यका ती लालीमय दिनहरू, अनि पवित्र फूल ‘पारिजात’ नामक लेखक । हेर्दै पढूँ, पढूँ लाग्यो । तर, चाहनामा बन्देज थियो । परीक्षाको भयानक पर्खाल थियो । उपन्यास र बाहिरी किताब पढ्न हुन्न भन्ने तगारो थियो । रहरहरू दबाइदिनु कम्ता मुस्किल हुन्छ ?
आमाको टेबलबाट गायब भएर ‘शिरीषको फूल’ पुग्यो विज्ञान किताबको बीचमा । पढियो मग्न भएर । आमाले हेर्दा छोरो पढेकै छ विज्ञान । तर, त्यहाँ त सकमबरी र सुयोगवीरका रोमाञ्चक कथा थिए ।
‘बारमा तेस्रोपटक भेट भएपछि उसले मलाई आफ्नो घर विशालनगर निम्त्यायो ।’ बिजुली पनि नपुगेको गाउँमा बसेर पढ्दा बार भनेको के थाहा ? तर, मान्छेले किताबका अक्षरलाई आफैँ चित्रमा बदल्छ । एउटा काल्पनिक संसार निर्माण गर्छ । किताब पढ्नुको आनन्द सायद यसैले छ कि हरेक पाठकको सकमबरी, सुयोगवीरको आकृति फरक–फरक छ । पारिजातको सकमबरी हाम्रा मस्तिष्कमा अर्कै बन्छे । कक्षामा जीवनी पढ्दा नेपाली शिक्षक माधव सरले भन्नुभयो, ‘उनको शिरीषको फूल निकै चर्चित उपन्यास हो । त्यो अस्तित्ववादी उपन्यास हो । जीवन केही होइन, केवल निस्सार हो...।’
यस्तै–यस्तै गहिरो विश्लेषण सुनाउँदै हुनुहुन्थ्यो शिक्षक । मेरो मुखबाट फुस्किहाल्यो– ‘सर त्यो त एउटा रिटायर्ड सैनिक र एउटी केटीको कथा होइन र ?’
सर त तीनछक !
‘तिमीहरूले पढिसक्यौ ?’ शंका र आश्चर्यसहित सरले प्रश्न गर्दैगर्दा सिंगो कक्षाको आँखा हामीतिरै थियो । अलिकति लाज, अलिकति गर्व र अलिकति घमण्डले हाम्रा अनुहार राता भएका थिए ।
पारिजातसँगको यो जम्काभेटपछि उनी मेरा लागि खोजी र रुचिको विषय बनिन् ।
लालीमय किशोरकालकी संगी
संयोगले बुटवल आउँदा पारिजात भेटिइन् संकलित रचनाहरूमा । सिक्किमको निर्माण प्रकाशनले पारिजातलाई ६ वटा भोल्युममा समेटेको रहेछ । तीमध्ये ग्रन्थ चार रोजियो । सायद त्यसको मूल्य अरूभन्दा कम थियो होला । अनि खल्ती पनि पातलो थियो होला ।
ग्रन्थ चार पारिजातका रुमानी आत्मसंस्मरणको संग्रह थियो– ‘धूपी, सल्ला र लालीगुराँसको फेदमा’, ‘एउटा चित्रमय सुरुवात’ र ‘अध्ययन र संघर्ष’ । पारिजातका ती संस्मरण भावमय छन्, रोमाञ्चक छन् र मायालु छन् । किशोरकालको लालीमय पलमा पारिजातका ती संस्मरण आफ्नै बितिरहेका दिनजस्ता लाग्न थाले । लाग्न थाल्यो, मै हुँ दार्जिलिङको जंगलहरूमा फ्रकभरिको काँडा निकाल्दै गरेको । मै हुँ ब्रिटिस घोडाका टापहरूबाट बच्न भित्तामा सास थामेर टाँसिरहेको । मै हुँ घोडचढी दाइलाई आदर्श ठान्दै मनमनै मनपराइरहेको । मै हुँ नजानी–नजानी कविताका पंक्तिहरू कोरिरहेको ।
किशोरकाल भावनाका लहरहरूमा पौडँदै पौडँदै किनारविनाको सागरमा बग्ने उमेर । बन्धनविनाका बादलहरूमा तैरने उमेर । ओहो ! यसै–यसै उदास भइजाने उमेर । यसै–यसै भावुक बनिदिने समय । अनि पारिजातका चित्रमय शब्दहरू । पारिजात संगी भइन् । आफ्नै छाया भइन् । पढाइको गहन छाप यतिसम्म पर्यो, चियाकमानकी दिदीले चुरोट खाने लत लगाएपछि पारिजातका औँलामा बसेको निकोटिनको पहेँलो दाग आफ्नै औँलामा सरोस् भन्ने भयंकर चाहले मनमा डेरा गर्न थाल्यो । तर, चुरोट किन्ने हिम्मत थिएन । असल विद्यार्थी र ज्ञानी केटाको परिचय एक सर्को चुरोट तान्ने चाहनाको बाधक थियो ।
आमाको टेबलबाट गायब भएर ‘शिरीषको फूल’ पुग्यो विज्ञान किताबको बीचमा । पढियो मग्न भएर । आमाले हेर्दा छोरो पढेकै छ विज्ञान । तर, त्यहाँ त सकमबरी र सुयोगवीरका रोमाञ्चक कथा थिए ।
किशोरकाल भावनाको उत्ताउलो उमेर मात्र होइन, विद्रोहको उच्छृङ्खल समय पनि हो । चुरोटमा निकोटिन हुन्छ, विज्ञान पढ्दा थाहा भएको । चियापत्तीमा पनि निकोटिन हुन्छ, विज्ञान पढ्दा थाहा भएको । यो साझा तथ्यले लग्यो सिर्जनशील विद्रोहतर्फ । पेन्सिलमा बेरेर कागज फेरियो चुरोटको आकारमा । कपास कोचियो फिल्टरको ठाउँमा अनि सुर्तीको ठाउँमा आयो चियापत्ती (भान्साबाट चोरेर) । पारिजातको औँलामा बसेको पहेँलो छाप आफ्ना औँलामा सार्ने तीव्र चाहले बनायो आफ्नै चुरोट । सल्कियो त्यो अतृप्त चाहको तुष्टिसँगै । खोकियो, छाती दुखाइयो । रहर न थियो । एक सर्को रहर मेटियो ।
भर्खरभर्खरै कविता लेखिन थालेको थियो । पढ्यो आफ्नै कविता । फेरि पढ्यो आफ्नै कविता । साथीहरूलाई सुनायो सबैले भन्छन् वाह ! वाह ! शिक्षक भन्छन्– केटोमा प्रतिभा छ । अनि रहर चुलिन थाल्यो लेखक बन्ने । तर, कसरी ? लेखक हुन छापिन पर्छ । तर, कहाँ ? गाविसमा गोरखापत्रबाहेक अन्य पत्रिका त नपुग्ने गाउँ !
फेरि आइन् पारिजात । आत्मसंस्मरणमा उनले खुसुक्क लेखेकी थिइन्– मेरो पहिलो कविता हस्तलिखित पत्रिकामा छापिएको थियो । (अनि के हो नि हस्तलिखित पत्रिका भनेको ? हातले लेखेर बनाउने क्या लाटा ।) अनि स्कुलेकालमा बनायौँ हस्तलिखित पत्रिका– उज्यालो । जहाँ हामी केही कविताकर्मीका कविता थिए । अनि पढिदिए केही शुभचिन्तकले । केही आफन्तले । अनि फेरि भयो वाह ! वाह ! हामी मख्खियौँ । पारिजात दिदी मुसुक्क मुस्काइन् । खोइ ! कुन पत्रिकामा भेटेर हो उनको दिव्य मुस्कानको त्यो फोटो टाँसियो मेरो कविताको डायरीमा ।
सकमबरी होइन शिवानी
एसएलसीको परीक्षा दिएर आइयो बुटवल ।
भर्खरै देवीलालको बलिदानीले सडक तातेको थियो । माओवादी सशस्त्र संघर्षको तेज बढ्दो थियो । संसदीय दलहरू सडकमा आउन खुट्टा तान्दै थिए । राजा प्रत्यक्ष शासनका लागि लालयित थिए । बजारमा ‘कामना’, ‘साप्ताहिक’देखि ‘मूल्यांकन’ र ‘नवयुवा’ छ्यापछ्याप्ती थिए । निमा रुम्बा ‘ओ ओ ओ आउ आउन’, यशकुमार ‘मैले छोएको पानी चल्दैन’, जीवन शर्मा ‘देशको बेहाल के सुनाउँ साथी..’ गाउँदै थिए । एफएममा गीतिकथा लोकप्रिय थिए । हामी रेडियो नेपालको शनिबारीय नाटक छोडेर एफएमका ‘डियर कल्याण’ सुन्दै थियौँ । ‘साथीसँग मनका कुरा’ जारी थियो । संरा अमेरिका अफगानिस्तानमा तोराबोरा झार्दै थियो । बुसको आतंक ओसामाबिन लादेनको भन्दा सघन थियो ।
हामी यी सारा परिवेशमा हुर्किदै थियौँ । भर्खरै सहर भोग्दै गरेको केटोले एकैपटक ‘कुछकुछ होला है’देखि ‘मोहम्बते’, ‘तेरे नाम’ हेर्दै थियो । उता मोःमो, चाउमिन, फूलकी, बुनियाँभुजिया चाख्दै थियो । अनि पढ्दै थियो भेटेका सारा उपन्यासहरू । सुश्री श्रेष्ठ प्रिया पत्थरको ‘रंगभूमि’देखि लिएर पारिजातका ग्रन्थहरू ।
ग्रन्थ एकमा थियो चारवटा उपन्यास, दुईमा पाँचवटा उपन्यास, तीनमा कथाहरू, चारमा आत्मसंस्मरण, पाँचमा कविताहरू र छैटौँमा लेख र अन्तर्वार्ताहरू । (यसबाहेक पारिजातका नाटकहरू अलि पछि पढियो ।)
‘महत्ताहीन’, ‘बैँसको मान्छे’ र ‘तोरीबारी, बाटा र सपनाहरू’ खासै स्वादिला लागेनन् । ग्रन्थ दुई भने सुरुदेखि नै भव्य लाग्न थाले । ‘अन्तर्मुखी’को त्यो अन्तर्मुखी केटीको डायरी कसैको डायरी चोरेर पढेजस्तो लाग्न थाल्यो । ‘पर्खाल भित्र र बाहिर’ पढ्दा भने आदर्शका लागि समर्पित मान्छेप्रति माया र सम्मान जाग्यो । ‘अनिदो पहाडसँगै’को प्रभाव नै बेग्लै । गाउँकी गोरीमायाले जब भन्छे ‘कसैको पनि ‘राङ सेम रो’ (मनको मान्छे) हुँदैन’, उदासीको निश्वास म फेर्छु । जब पारिजातले डाइलग दिन्छिन्– फूल खसेको ठाउँमा फूल हुर्कन्छ । शहीदको रगतले भिजेको माटोमा नयाँ शहीद जन्मन्छ’, आङ सिरिंग गर्छ । रगत उम्लन्छ । अनि अज्ञात क्रान्तिकारीको नाममा म कोर्न थाल्छु कविताका पंक्ति । जब पढ्छु, पारिभाषित आँखाहरू, त्यो माछाको जस्तो शरीर भएकी सुकोमल युवती मेरो छेउछाउमा कपाल मुसार्न आइपुग्छे ।
‘यसरी एउटा नाम काटिन्छ’ पढ्दा यसै–यसै जोस आउँछ । मान्छेको अवमूल्यन, श्रमप्रतिको कटुभावले किशोर हृदयमा आक्रोश भरिदिन्छ । यो संसार भर्खरै फेरिदिउँजस्तो लाग्छ । उपाय केही छैन, अनि जन्मिन्छ अर्को कविता ।
प्लस टु पढ्दाका दिनहरू । कक्षाभित्र विज्ञानका जटिलतम सूत्रहरू छन् । कक्षाबाहिर महँगीविरुद्ध विद्यार्थी आन्दोलन । अभिभावक र शिक्षक भन्छन्– विज्ञान पढ्ने विद्यार्थी राजनीतिदेखि दश हात पर हुनुपर्छ । उता पारिजात आफ्ना लेखहरूमा पटक–पटक चे ग्वेभाराको चर्चा गर्छिन् । उनी कसरी डाक्टर भएर पनि राजनीति र क्रान्तिमा संग्लग्न भए । अनि हामी पढ्छौँ आइन्स्टाइनदेखि चे ग्वेभारा, डा. कोटनिसका जीवनीहरू । नवयुवा र मूल्यांकनले उत्प्रेरित गर्छन् । पारिजातका लेखहरू दोहोर्याइन्छ । बोनीको पृष्ठभूमिमा डा. अरुणा उप्रेतीले लिएको अन्तर्वार्ताले डाक्टरको साहित्य मोह झल्काइदिन्छ ।
विज्ञान पढ्दैमा वैज्ञानिक चिन्तन हुने होइन । वैज्ञानिक हुँदैमा पनि वैज्ञानिक चिन्तन भइहाल्छ भन्ने होइन । आफ्नो समय छाम्न नसक्ने ज्ञान पनि के ज्ञान ? आफ्नै आँखाअगाडिका बेथितिविरुद्ध प्रश्न उठाउन सक्दैन भने विज्ञानको के काम ? वैज्ञानिक चेतको सुरु त प्रश्नबाट हुन्छ । पारिजात यही सिकाउँछिन् । आफैँमाथि प्रश्न गरेर अस्तित्ववादबाट माक्र्सवादतर्फ यात्रा गरेकी पारिजात हाम्री अभिभावक बन्छिन् । अनि बोनीलाई सम्बोधन गरेजस्तो ‘तिमी बन्दुक बोक्दा म लडाकुका लागि भात पकाउँला’ नभनेर आफैँ झन्डा बोक्न आउँछिन् । हामी उनलाई हृदयमा बोकेर जान्छौँ आन्दोलनमा । नारा लगाउँछौँ । पर्चा बाड्छौँ । चोकमा उभिएर जोड जोडले जोसिला कविता पढ्छौँ । घर फर्केर पढ्न थाल्छौँ– ‘अनिदो पहाडसँगै ।’
साहित्य समाजसँग कसरी जोडिन्छ ? कविताले कसरी राजनीति गर्छ ? एक साहित्यकार सामयिक परिस्थितिबाट कसरी पर भाग्न सक्दैन ? कुनै घागडान चिन्तकका सौन्दर्यशास्त्र पढ्नुपरेन । आन्दोलनमय परिस्थितिले आफैं सिकायो । चोकमा उभिएर कविता पढ्दा बोध भयो कविताको शक्ति । दिनभर सडकमा उम्लेर आयो । राति पारिजात पढेर ऊर्जा भर्यो । हेर्दाहेर्दै पारिजात अभिभावक कम, सहयोद्धा ज्यादा बन्न थालिन् ।
‘शिरीषको फूल’की सकमबरी अब ‘अनिदो पहाडसँगै’की शिवानी बनिसकेकी थिइन् । कहाँ जीवनप्रति उदासीले टनाटन सकमबरी, कहाँ जीवनप्रेमले ओतप्रोत शिवानी ! कहाँ आफैँ भित्रभित्रै हराइरहेकी सकमबरी, कहाँ संसारभरि व्याप्त हुन उद्देलित शिवानी ! छत्तीस सालको विद्यार्थी आन्दोलनमाथि लेखिएको ‘अनिदो पहाडसँगै’ले हामीलाई नयाँ परिवर्तनका लागि लाग्न उसैगरी उत्प्रेरित गराइरहेको थियोे । अनि पारिजात शिवानीको भेषमा हामीसँगै आन्दोलनमा थिइन् । उस्तै जोस, आक्रोश र सुदूर भविष्यप्रति सुन्दर चाहनासहित ।