स.१प ९४४४ नम्बरको इन्टाइसर मोटरसाइकलमा उनी उदयपुरका गाउँगाउँ पुग्छिन् । महिलामाथिका दमन र ज्यादतीविरुद्ध खरो उत्रिन्छिन् । र, पीडकलाई सजाय दिन खुब खटिन्छिन् । मुुस्लिम बस्तीमा पुगेर महिलाहरूलाई विभिन्न समूह बनाई एकजुट हुन आग्रह गर्छिन् । आफूजस्तै विद्रोही हुन अनुरोध गर्छिन् । सानैदेखि विद्रोही स्वभावकी थिइन् नजबुल खान । समाजले उनलाई महिला अधिकारकर्मीको रूपमा चिन्छ । समाज परिवर्तनका लागि उनको अभियान जारी छ । त्यही अभियानको प्रेममा परेकी नजबुलको अझै विवाह भएको छैन । प्रथम राष्ट्रिय बेटी सम्मेलनकी संयोजक नजबुल स्वयं बेटी भएर छोराझैँ काम गरेकोेमा र आफू मुस्लिम भएकोमा गर्व गर्छिन् ।
०००
होचो कदकी नजबुल खान प्रायः सर्टपाइन्टमा हुन्छिन् । टिपटप भएर हिँड्छिन् । दबिएको आवाजमा आफ्ना कुरा राख्छिन्, ‘बुर्का नलगाएको पनि २१ वर्ष भइसक्यो ।’यसरी हिँडुँला भन्ने कहिल्यै सोचिनन् । किनकि, उनले स्कुल देख्न पाइनन् । किताब–कापी बोकेर स्कुल जाने उमेरमा उनका सखीहरूको विवाह भयो । उनको पनि विवाह हुनुपथ्र्यो । भएन । किनभने उनले बुर्का त्याग्नु थियो ।
१८ वर्षको उमेरमा उनी प्रौढ शिक्षा पढ्न गइन् । बिहे गर्ने समय भइसकेको अवस्थामा किन पढ्न जानुप-यो भन्दै घरमा आमाबुबाले विरोध पनि गरे । पढ्ने भोकले उनलाई अनौपचारिक शिक्षामा सामेल गराइछाड्यो । ‘कखरा’ र ‘एबिसिडी’ सिक्न तल्लीन भइन् । जवानीमा चिनेका अक्षरले उनीभित्र बोल्न सक्ने आँट बढायो । प्रौढ शिक्षाका कक्षा लिन शिरमा बुर्का हालेर जान्थिन् । अक्षरहरूको संगतले उनले बुर्कालाई शिरबाटै हटाइदिइन् । एकाएक बुर्का लत्यााइदिएकोमा बुबाआमाले गाली गरे, हप्काए, सखीहरू धेरै रिसाए । आफन्त छोरी बिगारी भनेर उनका आमाबुबासँग खुनासिए । तर, उनले कसैलाई वास्ता गरिनन् । उनको जिद्दीका अगाडि अन्ततः सबैले घुँडा टेके ।
एक वर्षको प्रौढ शिक्षापछि १९ वर्षको उमेरमा गाउँकै जनज्योति प्राथमिक विद्यालयमा कक्षा ४ मा नाम लेखाइन् । एकातर्फ ज्यालामजदुरीको काम गर्थिन्, अर्कोतर्फ विद्यालय जान–आउन थालिन् । र, २०६४ सालमा जनता मावि देउरी उदयपुरबाट उनले एसएलसी पास गरिन् । त्यही क्रममा उनी टेम्पोचालकको अवतारमा देखिइन् । उदयपुर गाईघाटदेखि देउरी जलजलेसम्म दैनिक टेम्पो चलाउन थालिन् । सम्झिन्छिन्, ‘मुस्लिम समुदायकी बेटीले टेम्पो चलाई भनेर कतिले कुरा काटे । तर, मैले चलाएँ ।’नेपालमा उनी पहिलो मुस्लिम महिला टेम्पो चालक हुन् ।
हिम्मतवाली
मुस्लिम समुदायमा महिला माउडे (नाइके) बनेको अझै पनि पुरुषहरू मन पराउँदैनन् । र, महिलाले घरबाहिर चर्को बोलेको पनि रुचाउँदैनन् । बच्चामा साइकल चलाउन खोज्दा उनका साइँला दाइ जफरुल मियाले कुटेका थिए, धेरै वर्षपछि टेम्पो चलाउँदा त्यही दाइले उनलाई माया गरे । किनभने त्यही टेम्पो चलाएर उनले घरपरिवारको खर्च जुटाउँदै पढ्न थालेकी थिइन् । भन्छिन्, ‘मेरो हिम्मत देखेर दाइ पनि चुपचाप बसिदियो ।’
असाधारण काम गरेर देखाएकी थिइन् नजबुलले आफ्नो परिवारमा । तर, उनी आफ्नो परिवारका लागि मात्रै बनेकी थिइनन् । हृदयमा आफूजस्तै मुस्लिम समुदायका दिदीबहिनीहरूले पढेको हेर्न चाहन्थिन् । शिक्षाको अभावमा कोही पिल्सिन नपरोस् भन्ने ध्यानले उनलाई पिरोल्थ्यो । पढ्न उमेरले छेक्दैन । उमेरले बैंस निखार्ने वेला प्रौढ शिक्षा पढिन् । मुस्लिम समुदायबाहेक गैरमुस्लिम समुदायका महिलालाई समेत शिक्षाप्रति उत्प्रेरित गरिन् । भन्छिन्, ‘बालविवाह, अनमेल विवाह, बहुविवाह रोकेर चेलीबेटीलाई पढाउन कोसिस गरेँ ।’
उनकै पहलमा खुलेको मदरसाबाट ६ सयजना मुस्लिम महिलाले शिक्षा प्राप्त गरेका छन् । उदयपुरको सुन्दरपुरमा बिस्मिल्लाह मदरसा, त्रियुगा नगरपालिका–६ जलजलेमा इस्लामिक दारु कुरान जिल्ला शिक्षा कार्यालयमा दर्ता गराएर मदरसा शिक्षामार्फत् मुस्लिम समुदायका महिलालाई शिक्षा लिन प्रेरित गर्न थालिन् । र आफैँले पनि त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा गाईघाटबाट कक्षा १२ को परीक्षा उत्तीर्ण गरिन् । अहिले उनी स्नातक तहको अध्ययन गर्दै छिन् । अहिले उदयपुरवासी भन्छन्, ‘उदयपुरको सान, नजबुल खान ।’
जनआन्दोलनले खोसेको स्वर
आवाजविहीनको आवाज बनेकी नजबुल स्वयंको आवाज भने धसिएको छ । आवाज फर्काउन धेरै कोसिस गरिन्, सकिनन् । आफ्ना कुरा राख्न पनि उनलाई सकस छ । उनी भन्छिन्, ‘आफ्नै स्वरको अभावमा पीडित छु ।’ घरबाट बाहिर निस्किन हिचकिचाउने मुस्लिम महिलामध्ये नजबुल २०६२ सालको लोकतान्त्रिक जनआन्दोलनका क्रममा सडकमा आएकी थिइन् ।
सात दलको अगुवाइमा आह्वान भएको उक्त आन्दोलनमा सहभागी भएका वेला २०६३ साल वैशाख ५ गते उनको घाँटीमा अश्रुग्यासको गोलीको खोका लाग्यो । उनी ५ घन्टासम्म बेहोस भइन् । उनलाई बिपी कोइराला अस्पताल धरानमा उपचारका लागि भर्ना गरियो । उनी बाँचिन् तर उनको स्वर सधैँका लागि दबियो । भोकल कर्डमा असर परेकाले उनको स्वर दबिएको छ । फसेको आवाजमा उनी साह्रै मसिनो स्वरमा बोल्न सक्छिन् । अति मसिनो आवाज बोकेर महिला हिंसाविरुद्ध लागिपरेकी छिन् । भन्छिन्, ‘मेरो स्वर खोसिए पनि हिम्मत खोसिएको छैन ।’
सेनेटरी प्याड
कन्डम निःशुल्क पाइन्छ तर सेनेटरी प्याड निःशुल्क पाइँदैन । महिलालाई स्थानीय तहले निःशुल्क रूपमा सेनेटरी प्याड वितरण गर्नुपर्ने अभियान सञ्चालन गरिरहेकी छिन् उनी । विभिन्न प्रदेशमा गएर स्थानीय तहमा छलफलसमेत गरिरहेकी छिन् । उनी भन्छिन्, ‘कन्डम रहर हो, सेनेटरी प्याड बाध्यता, कहिलेसम्म कपडा प्रयोग गर्ने ?’ उनी जुर्मुराइन् । सबै गरिब महिलाले प्याड किनेर प्रयोग गर्न सक्ने अवस्था अझै पनि नेपालमा छैन ।
कपडा प्रयोगका कारण महिलाको योनीमा विभिन्न किसिमका संक्रमण हुन्छ । मुस्लिम महिलाहरू अत्यन्तै पिछडिएकोमा उनी दुःखी छिन् । भन्छिन्, ‘सेनेटेरी प्याड निःशुल्क वितरण नगरुन्जेल हाम्रो अभियान जारी रहनेछ ।’सरकारले यस अभियानलाई सहयोग पु-याएको खण्डमा उनको अभियानले सार्थकता पाउँथ्यो पनि । सामाजिक कामकै लागि भनेर उनले विभिन्न संघसंस्थामा आबद्ध भएर उदयपुरमा काम गरिरहेकी छिन् । मुस्लिम, दलित, जनजाति, एकल महिलाको उत्थान र हकअधिकारका लागि निरन्तर लागिपरेकी छिन् । गरिबीसँग जुधिरहेका महिलाले निःशुल्क प्याड प्रयोग गर्न पाउँदा कति खुसी होलान् ?
बेटी सम्मेलनकी अभियन्ता
०७५ माघमा उदयपुरमा राष्ट्रिय बेटी सम्मेलन नै गरिन् उनले । आसनमा, भाषणमा र शासनमा महिलाको पहुँच पु-याउन यतिखेर नजुबल निरन्तर लागिपरेकी छिन् । उनी भन्छिन्, ‘महिलामाथिको हिंसा अन्त्यका लागि प्रथम बेटी सम्मेलन गरियो । यस कार्यक्रमले छोरीबेटीलाई एकजुट हुन अभिप्रेरित गरेको छ ।’देशभरका जिल्ला समन्वय समिति रहेको र दुई जिल्लामा मात्र महिलालाई प्रमुख बनाएकोमा दुःख व्यक्त गर्छिन् । महिलाले नेतृत्व नै गर्न सक्दैनन् भन्ने गलत मानसिकता त्याग्नुपर्ने ठान्छिन्् उनी । उनी भन्छिन्, ‘महिलाले अवसर पाए नेतृत्व सम्हाल्न सक्छन् । बरू अवसर नखोसिदिए हुन्थ्यो ।’
बेटी सम्मेलन अभियानलाई उनले सातै प्रदेशमा लगिन् । महिलाअंकित स्तम्भ बनाउनुपर्नेलगायत चारबुँदे घोषणापत्र नै जारी गर्दै खबरदारी गरिन् । ‘समानता, समावेशी र मानवअधिकारका लागि सहन नपरोस् हिंसा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔँ चोलिबेटी सशक्तीकरणको हतियार’ मूलनारा राखेर उदयपुरमा प्रथम बेटी सम्मेलन गरी आफूलाई थप सशक्त बनाएकी छिन् ।
जीवनलाई उपहार ठान्ने नजबुल
उनका लागि जीवन संघर्षको पर्याय हो । र, आफूले फेरेको सास प्रकृतिको उपहार हो । भन्छिन्, ‘समाजकै हिस्सा बाँचिरहेका छौँ भने समाजप्रति बफादार किन नहुने ?’
मिजासिली स्वभावकी नजबुललाई आफ्नो कर्ममाथि पूर्ण विश्वास छ । सामान्य हुरीले उनी हल्लिन्नन् । सामाजिक अभिन्यताको रूपमा चिनिएकी नजबुल समाजकै खातिर मर्न पाए हुन्थ्यो भन्ने सोच्छिन् । कत्तिले भन्छन्, ‘नजबुल एक हठी अभियन्ता हुन् ।’ सहयोगी मनकी नजबुल आफूले पाएको दुःख अरूले व्यहोर्नु नपरोस् भन्छिन् । पढाइबाट कोही वञ्चित नहोस् भन्ने उनको अभियान नै छ । भन्छिन्, बालापनमा पढ्ने अधिकार कसैको नखोसियोस् ।’
प्रायः उमेर ढल्केपछि पढ्न लाज मान्छन् । तर, उनले लाज माननिन् । पढ्न नपाएको पिरमा पढिन् । र, आफूजस्तै महिलाका लागि नजबुल सहयोगी हात बनिन् । अहिले पनि उनी दबङ लेडी, हक्की नजबुल, निडर नजबुल, विद्रोही छोरीजस्ता उपनामले चिनिन्छिन् । उनी भन्छिन्, ‘मलाई ईश्वरले मजस्तै पीडित महिला तथा बालबालिकाका लागि खटाएका हुन् ।’जीवनलाई ईश्वरीय वरदान ठान्ने नजबुल निधारमारातो अक्षताका टीका लगाएर हिँड्छिन् । उनी मधेसकी आकर्षण हुन् । मुस्लिम महिलाका लागि बुर्का त्यागेर गरेको संघर्षले नजबुललाई बुर्काबाहिर ल्याएरै छाड्यो ।