धेरै क्रान्ति महिलाबाटै सुरु भएका छन्

जबसम्म श्रमजीवी महिला मुख्य नेतृत्वमा पुग्दैनन् तबसम्म पितृसत्ता समाप्त पार्न सकिँदैन

शनिबार, २९ फागुन, २०७७
डिजिटल संस्करण

कृषिप्रधान देशमा महिला किसानका कुरा खासै सुन्न पाइँदैन 

मानवशास्त्री डा. मेरी डेशेनले ३५ वर्षदेखि नेपाली समाज र इतिहासको अध्ययन गरिरहेकी छिन् । नेपालको ‘गुरुङ जातिको लाहुरे संस्कृति र इतिहास’मा स्ट्यान्डफर्ड युनिभर्सिटी, क्यालिफोर्नियाबाट विद्यावारिधि गरेकी उनी सिन्हास (स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी)की संस्थापक सम्पादकमध्ये एक हुन् । उनले नेपालको दलित आन्दोलन, वामपन्थी आन्दोलनसँगै महिला आन्दोलनबारे पनि गहिरो अध्ययन गरेकी छिन् । वासिंटन युनिभर्सिटीमा अनुसन्धाताका रूपमा आबद्ध रहेकी मानवशास्त्री डेशेनसँग नेपालको महिला आन्दोलनबारे राजु स्याङ्तानले गरेको संवाद:

१. राजनीति र महिला : महिला संगठन महिलाकै लागि बाधक बनाइयो 

भर्खरै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनायौँ । तपाईंले नेपाली समाजलाई करिब साढे तीन दशकदेखि नजिकबाट नियालिरहनुभएको छ । अहिले नेपाली महिला आन्दोलन कता गइरहेको देख्नुहुन्छ ?

महिलाहरूको सक्रियता नभएको भए न राजतन्त्रको अन्त्य हुन्थ्यो, न पञ्चायत ढल्थ्यो, न वामपन्थी भनिनेहरूले अहिले सत्तामा बस्ने मौका नै पाउँथे । अर्को शब्दमा भन्दा सात सालअघिदेखि यता विद्रोहीहरूलाई खुवाउने, लुकाउने, बसोवास दिनेदेखि जनयुद्धमा बन्दुक उठाउने कालखण्डसम्म नेपालको मूल राजनीतिक परिवर्तनमा महिलाहरूको महत्वपूर्ण भूमिका छ । मूल राजनीतिमा महिला आन्दोलनभन्दा पनि आन्दोलित महिलाहरूको भूमिका महत्वपूर्ण देखिन्छ । यो इतिहासको खोजी गर्न र लेख्न धेरै नै बाँकी छ । 

जहाँसम्म महिला आन्दोलनको कुरा छ, कतिपय उल्लेखनीय संघर्षबाट आंशिक उपलब्धि हासिल भएका छन् । अथक संघर्ष पनि भएकै छन् । तैपनि तितो के लाग्छ भने आमराजनीतिमा पितृसत्ता हाबी भएको हुनाले महिलामुक्तिका प्रश्न आमराजनीतिक सवाल बन्न नदिन हरेक रंगका राजनीतिक दलहरू लागिपरेका देखिन्छन् । पार्टीहरूसँग आबद्ध महिला संगठनहरूलाई महिलाका सवालहरू देशकै प्राथमिकता बनाउनबाट पार्टीहरू नै बाधक हुन पुगेका छन् । साथै महिला आन्दोलनमार्फत मूल राजनीतिको निर्णय गर्ने थलोमा महिला पुग्नु भनेको पहरामा बाटो खोप्दै अघि बढ्नुजस्तै भएको छ । 

राजनीतिमा यस्तै खालका विसंगतिहरूको असर अलिकति बुझ्न थालेका वेला रूपचन्द्र विष्टले मलाई भनेका थिए, ‘अझै १० वर्ष हेर !’ उनको भनाइको अर्थ के थियो भने ‘तिमीले बुझ्न थुप्रै कुरा बाँकी छन् ।’ हेर्दाहेर्दै २० वर्षभन्दा बढी समय बितिसक्यो । अझै उनको त्यही कुरा सही लाग्छ । यतिवेलाका राजनीतिज्ञहरूले फुट्ने, जुट्ने र कानुन बनाउनेसमेत व्यक्तिगत स्वार्थका आधारमा यति हदमा गरिरहेको देख्दा म मात्रै नभई सबैजना अचम्मित भइरहेका छन् । यद्यपि त्यसमा निश्चित सामाजिक, आर्थिक तथा सांस्कृतिक प्रवृत्तिहरूले भूमिका खेलिरहेको हुन्छ नै । यीमध्ये पितृसत्तावादी प्रवृत्ति पनि निश्चय नै पर्छ । रूपचन्द्रको सल्लाह सम्झेर महिला आन्दोलनमा राजनीतिले उत्पन्न गरेका केही समस्या छोटकरीमा चर्चा गर्ने प्रयास गर्छु । 

जस्तै– भ्रातृ संगठन प्रणाली विकृत भएको देखिन्छ । दलित, जनजाति, किसान आदिका मूल समस्याहरूको समाधान गर्न भ्रातृ संगठनहरू बनाइएको भनिन्छ । उल्टो के देखिन्छ भने जनताका जल्दाबल्दा सवाल मूल राजनीतिमा आउन नदिने गरी पार्टीहरूले भ्रातृ संगठन चलाउन पुगेका छन् । महिला संगठनहरूमा यो समस्या झनै चर्को छ । यस्तो राजनीतिले महिलाहरूलाई पार्टीको माथिल्लो पदसम्म पुग्ने बाटो थुनिदिएको पनि छ । जबसम्म महिलाहरूलाई यसरी निषेध गरी पितृसत्तालाई छुट दिइन्छ, त्यतिवेलासम्म देशकै कानुन र नीतिमा पनि त्यो प्रविबिम्बित भइरहन्छ । 

मूल राजनीतिमा माथि पुग्ने मुख्यतः दुइटा बाटा देखिन्छन्, एउटा विद्यार्थी संगठन, अर्को ‘भूगोल’को जिम्मा । दुवैबाट महिलाहरूलाई वञ्चित गराउने प्रपञ्च अझै बलियो छ । विद्यार्थी संगठनभित्र कुनै छात्राले राम्रो विकास गर्दै गयो भने उनलाई कि महिला संगठनतिर सरुवा गर्न खोज्छन्, कि नेता हुने सम्भावना बोकेको पुरुषसँग बिहे गराइदिन हतारिन्छन् । उनी आफैँ मूल नेतृत्वमा पुग्ने सम्भावना भएकी महिला हुन्छिन्, तर बिहेपछि उनलाई मात्र पुरुषप्रधान राजनीतिलाई सघाउनेमा सीमित गरिन खोजिन्छ । यसबारे तितो आलोचना र तिखो विश्लेषण महिलाहरूबाट सुनेकी छु । पार्टीप्रति बफादार भएकाले यस्ता कुरा प्रायः बाहिर ल्याउँदैनन् । महिलाहरूले पितृसत्तावादी यस्ता संरचनालाई चुनौती दिन आँट गर्नैपर्छ ।

महिलाहरूको बल र दृढतामा सत्तामा पुग्नेहरू धेरै छन् । यसको उदाहरणको रूपमा जनयुद्धलाई लिन सकिन्छ । जनयुद्धमा धेरै महिला सहभागी भए । भनिन्छ– सशस्त्र फौजमा ४० प्रतिशत महिला थिए । सत्तामा आइपुग्दा ती महिला कहाँ छुटे ? पितृसत्ताले ती महिलालाई कहाँ थन्क्यायो ? यसको खोजी गरिनुपर्छ । जुझारु महिलालाई थन्क्याउँदै जाँदा उनीहरूले उठाउँदै आएका महत्वपूर्ण सवाल पनि रछ्यानमा मिल्काउने प्रयत्न गरिएको छ । यो कुरा सबै पार्टीमा लागू हुन्छ । 

त्यसो भए महिलाहरू राजनीतिको मुख्य स्थानसम्म पुग्ने उपाय के हो त ?

राजनीतिमा महिला संगठनहरूलाई सहायकको भूमिकाभन्दा माथि उठाउन असाध्यै जरुरी छ । साथै वर्गीय कुरालाई ध्यान दिनुपर्ने हुन्छ । मूल प्रवाहको राजनीतिमा वञ्चित समुदायका एकाध व्यक्ति माथि पुग्न सफल हुन सक्छन् । धेरै जुझारु व्यक्तिभन्दा अलि हुनेखाने वर्गका मानिसलाई समावेश गराउन खोजिन्छ । वा सामान्य पृष्ठभूमि भएका व्यक्ति छन् भने उनको वर्गउत्थान गराउन खोजिन्छ । जसले गर्दा पार्टीहरूले आफँैलाई समावेशी र उदारवादी देखाउन पाउँछन् र पितृसत्तासहित मूल राजनीतिका विकृतिलाई जोगाउन सक्छन् । जबसम्म श्रमजीवी महिलाहरू मुख्य नेतृत्वमा पुग्दैनन्, पितृसत्ता समाप्त पार्न सम्भव हुँदैन । किनभने पितृसत्ता वर्गीय व्यवस्थाको एउटा अभिन्न अंग हो । 

नेपालमा लोकतन्त्रले सात दशक पार गर्यो । यो सात दशकको लोकतान्त्रिक यात्रामा महिलाले के पाए, के गुमाए ? 

राणाशासकमा सवारीमा निस्किएका राणाहरूलाई साष्टांग दण्डवत गरेर ढोग्नुपथ्र्यो, अब पर्दैन । कतिपय महिलाले सासू–ससुरा र श्रीमान्लाई अझै ढोग्नुपर्छ । अपरोक्ष रूपमा ढोंगी संस्कृति व्यापक छ । अथवा पुरुष भएकै कारण महिलाबाट सम्मान पाउने अपेक्षा जारी छ । राणा दरबारमा तामाङ महिलालाई सुसारे बनाएर राख्ने र उनीहरूमाथि शोषण गर्ने कार्य समाप्त भएको छ । तर पनि घरेलु नोकरको रूपमा राखेका किशोरीहरूको शोषण समाप्त भएको छैन । त्यसैगरी कमैया र हरूवाचरुवा जस्ता अर्धदास व्यवस्थाहरू कानुनमा खारेज भए पनि वास्तविक अर्थतन्त्रबाट हटाउन बाँकी छ । मध्यमदेखि माथिल्लो वर्गसम्मका महिलाका लागि पढेर जागिर खान पाउने र कुनै पेसामा लागेर घरपरिवारका पुरुषमा पूरा निर्भर हुनुनपर्ने अवस्था प्राप्त भएकै छ ।

श्रमजीवी महिलाले त उहिलेदेखि सधैँ घरबाहिर श्रममा जानुपथ्र्यो । उनीहरूले त्यस्तो मौका अपवादमा मात्रै पाएका छन् । उनीहरू प्रायः उही हातमुख जोड्ने संघर्षमा छन् । कहिले देशमा, कहिले विदेशमा । त्यो कठिनाइ साथसाथै महिला भएकै कारण अनेकौँ खालका दुर्व्यवहार व्यहोर्न अझै बाध्य छन् । आदिवासी जनजाति र मधेसी महिला दोहोरो शोषण (जातीय र लैंगिक) मा अझै परेका छन् । यो सात दशकमा जनजाति समाजमा महिलाहरूको अधिकार केमा बढ्यो र केमा घट्यो यो गम्भीर प्रश्न हो । मधेसी महिलाहरूका अगाडि सामाजिक संरचना र सांस्कृतिक चुनौती खडा छन् । जस्तै– मधेसी महिलामध्ये माथिल्लो जातका सम्पन्न परिवारका बुहारीसमेत कुपोषणबाट पीडित भएको तथ्य जनस्वास्थ्य अध्ययनले देखाएको छ । दलित महिलाहरू त झन् तेहरो शोषण (जातीय, लैंगिक, वर्गीय) भोग्न बाध्य छन् । यदि खुला सास फेरेर हिँड्न पाउनु प्रजातान्त्रिक अधिकारको न्यूनतम मापदण्ड मान्ने हो भने महिलाहरूलाई खास प्रजातन्त्र आएको भन्न नमिल्ला कि !

नीति निर्माण तहमा महिलाहरू पुगेपछि हिंसाका घटनामा पनि कमी आउने कतिपयको विश्लेषण थियो । पहिलेको तुलनामा अहिले राष्ट्रपतिदेखि वडासदस्यसम्म महिला छन् । तर, बलात्कारजस्ता जघन्य अपराधका घटनामा किन कमी आइरहेको छैन ? 

यो विषय सामाजिक, आर्थिक, राजनीतिक विचारधारात्मक प्रसंगसँग जोडिएको छ । देशमा अनेकौँ ठूला राजनीतिक आन्दोलन पटक–पटक भए । महिलाहरू पहिलाको तुलनामा सर्वोच्च पदमा पुगिरहेका छन्, यो चानचुने कुरा होइन । तर, यतिले मात्र आममहिलाहरूको स्थितिमा फेरबदल आउँदैन । सामान्य मानिसको जीविकाको कोणबाट हेर्ने हो भने धेरै जटिल चित्र अगाडि आउँछ । पितृसत्ता धेरै बलियो भएको स्थितिमा महिलाहरू जति नै माथिल्लो तहमा पुगे पनि त्यसको प्रतिक्रिया नकारात्मक नै आउँछ । महिला सत्तामा पुगेकाले बलात्कार बढ्यो भन्न मिल्दैन । महिला सशक्तीकरण र महिला हिंसाको त्यति सरल सम्बन्ध हुँदैन । तर, के कुरा सत्य देखिन्छ भने पहिलेदेखि आफूले मात्रै उपभोग गर्दै आएको सत्तामा जब अरूको पनि पहुँच पुग्न थाल्छ, त्यसवेला समाजमा कहिलेकाहीँ गम्भीर प्रकारको प्रतिरोध पनि हुन थाल्छ । 

पारिवारिक सम्बन्धमा फेरबदल आएको पनि छ । धेरै घटना लुकाइएका भए पनि महिलाहरूले हिंसा चुपचाप सहेर बसेका छैनन् । त्यसैले पितृसत्ताको धेरै तहमा (परिवारदेखि अफिस हुँदै सत्तासम्म) महिलाहरूको उपस्थिति चुनौती बन्दै गइरहेको छ । महिलाहरूले चुनौती दिँदा त्यहाँ प्रतिरोध भइरहेको छ । 

अर्को पाटो महिलाको चरम वस्तुकरण भएको छ । मैले सुरुमा भनेको कुरा यहीँ सान्दर्भिक हुन्छ । परम्परागत पितृसत्तामा आधारित वस्तुकरण र पुँजीवादले ल्याएको महिलाको व्यावसायिक वस्तुकरणको विषालु मिसावटले महिलामाथि भइरहेको हिंसामा भूमिका खेलेको हुनुपर्छ । 

२. वर्ग र महिला : मध्यमवर्गीय महिला आन्दोलनका सीमा हुन्छन् 

नेपाली समाजमा मध्यम वर्ग हिजोको तुलनामा बढ्यो भनिन्छ । समाजमा मध्यम वर्ग बढ्नु महिलाका लागि कति सुखद खबर हो ? मध्यम वर्गले समग्र महिलामुक्तिमा कस्तो भूमिका खेल्न सक्छ ?

मध्यमवर्गीय महिलाहरूको भूमिका आधारभूत परिवर्तनमा निर्णायक हुँदैन भन्ने धेरै नारीवादीहरूको निष्कर्ष छ । अपवादबाहेक अधिकांश मध्यम वर्गको सोच वर्तमान प्रणालीलाई सुधार गर्ने नै हुन्छ । केही परिस्थितिमा मध्यमवर्गीय महिलाहरूको आन्दोलन केही हदसम्म नकारात्मक वा प्रतिगामीसमेत हुन पुग्छ । मध्यमवर्गीय महिला यदि सिंगो महिला आन्दोलनको नेतृत्वमा पुगे भने श्रमजीवी महिलाको संघर्षलाई सुस्त बनाइदिने र सुधारवादी बनाउन भूमिका खेल्ने खतरा पनि हुन्छ । यो संघर्ष अहिले नेपालमा अलि चर्को रूपमा चल्न थालेको देखिन्छ । 

भनेपछि समाजमा मध्यम वर्ग बढ्यो भनेर आममहिला खुसी नभए पनि भयो ?

महिलामुक्तिको बाटो लामो छ । केही सवालमा मध्यम वर्गले श्रमजीवी महिलाहरूको जीवनलाई केही सजिलो बनाउन पनि सक्छन् । मध्यमवर्गीय महिला नेतृत्वले केही कल्याणकारी माग अगाडि सार्न सक्छन् । एकल महिला, सुकुम्बासी महिलाहरूलाई राहतको व्यवस्था गरिदिन सक्छन् । महिलाहिंसामा परेकाहरूलाई सहानुभूति जनाउन सक्छन् । जीविका चलाउन केही सजिलो बनाइदिन पनि सक्छन् । तर, महिला किन सुकुम्बासी भए भन्ने संरचनागत कारणतर्फ मध्यम वर्गहरूको आन्दोलनले प्रवेश नै गर्दैन । श्रमजीवी महिलालाई चाहिने संरचनागत परिवर्तनको कुरा त्यहाँबाट हुँदैन । 

हरेक आन्दोलनपछि माथिल्लो वर्गका महिलाले नै सबैभन्दा पहिला उपलब्धि उपभोग गर्ने र पछि गएर ती महिला पितृसत्ताकै अंग बनेका कैयौँ उदाहरण छन् । यस्तो किन हुन्छ ? 

यहाँनेर संयुक्त महिला आन्दोलनका सीमा देखा पर्न थाल्छन् । महिला हरवर्गमा आधाभन्दा बढी संख्यामा छन् । तर, हरवर्गभित्र महिला सापेक्ष रूपमा शोषित छन् । महिलाहिंसाबाट कुनै पनि वर्गका महिला मुक्त छैनन् । त्यसविरुद्ध संयुक्त आन्दोलन चल्न सक्छ र चल्नु पनि पर्छ । आखिरी वर्गीय स्वार्थबाट महिला पनि विमुख छैनन् । त्यसैले कतिपय सवालमा वर्गीय एकता कायम राखेर संयुक्त महिला आन्दोलन सम्भव हुँदैन । जब महिलालाई आरक्षणजस्तो व्यवस्था प्राप्त हुन्छ, प्रायः शिक्षित, सत्तामा बसेका माथिल्लो वर्गका महिला नै यसबाट बढी फाइदा लिन सफल हुन्छन् । कतिपय सन्दर्भमा महिलामुक्तिको नाममा वर्गीय व्यवस्थाको सुदृढीकरणसमेत भइरहेको देखिन्छ ।

त्यसो भए समाजको पिँधमा छाडिएका बहुसंख्यक महिलाको मुक्ति कसरी हुन्छ त ?

मलाई लाग्छ, महिलामुक्ति आन्दोलन र आमश्रमजीवी आन्दोलनहरू कसैले पनि खारेज गर्न नसक्ने गरी जोडिन आवश्यक हुन्छ । जसरी सत्तारुढ महिलाहरूको स्वार्थ पितृसत्तासँग गाँसिने सम्भावना छ, त्यसरी नै श्रमजीवी पुरुषहरू पनि नारीवादी बन्ने सम्भावना छ । छोटकरीमा भन्दा महिला आन्दोलन परिपक्व हुँदै जाँदा वर्गीय धु्रवीकरण पनि हुँदै जान्छ ।

अहिले आरक्षणबाट होस् वा संसदीय राजनीतिबाट होस्, महिलाहरूलाई वर्तमान राजनीतिक व्यवस्थामा ‘समावेश’ गराउनु भनेको महिलालाई पितृसत्तात्मक व्यवस्थाको संरक्षणमा भर्ती गराउने कोसिस हो । हुन त पदमा पुगेर महिलाको हक–अधिकारको पक्षमा बेस्सरी संघर्ष गर्नेहरू पनि छन् । तिनीहरूका लागि पनि गाँठी कुरा के हो भने पितृसत्तामा भिजेको राजनीतिक व्यवस्थामा पसेर त्यसको वर्गीय चरित्र फेर्न सम्भव हुन्छ ? अहिलेसम्म कुनै पार्टीको नेतृत्वले त्यसमा सफलता हासिल गरेको देखिँदैन । यो कोणबाट हेर्दा श्रमिक महिला र श्रमिक पुरुष मिलेर आमराजनीति र त्यसको संस्कृतिमा परिवर्तन ल्याउन लाग्नुपर्ने हुन्छ । 

एकाध महिला संरचनाको माथिल्लो तहमा पुगे भन्दैमा परिवर्तन भयो भनेर सोच्नु हुँदैन । मानिलिऊँ, अहिलेको संरचनामा एकजना महिला बिहानै फाइल सफा गर्न कुचो लिएर महिलामन्त्रीको कोठामा पुग्छिन् । अर्को महिला हस्ताक्षर गर्दै उही फाइल चलाउँछिन् । दुईजना महिला मन्त्रालयमा पस्न सफल भएकै छन् । दुवैजनाले एउटै फाइल चलाइरहेकै पनि छन् । तर, कलम चलाउने महिला त्यहाँ पुग्दैमा कुचो लगाउने महिलाको जीवनमा परिवर्तन भयो भनेर सोच्नुहुँदैन । 

अर्को कुरा भूमण्डलीकृत पुँजीवादी व्यवस्थामा श्रमजीवी महिलाहरूको स्थिति झन् कष्टकर हुँदै जानेछ । बहुराष्ट्रिय कम्पनीहरूले श्रमिकहरूलाई दासमा परिणत गरिरहेका छन् । प्रविधिको सहारामा श्रमिकहरूलाई संगठित हुनै नपाउने गरी तितरबितर पारिएको छ । नेपाललाई रेमिट्यान्समा भर पर्नुपर्ने देशमा परिणत गरिएको छ । यो अवस्था झन्–झन् कठोर हुँदै जाने देखिन्छ । सबै वर्गका महिलाको स्थिति सापेक्षित रूपले नाजुक हुँदै जाने भए पनि श्रमिक महिलाको अगाडिको बाटो झनै कठिन छ । त्यसैले पनि सधैँ संयुक्त महिला आन्दोलनमा रहनुभन्दा बरु संयुक्त श्रमिक आन्दोलनमा लाग्नुपर्ने हुन्छ । 

३. कृषि र महिला : ‘जसको जोत, उसको पोत’ भन्ने नारा सोचनीय छ 

नेपाललाई कृषिप्रधान देश भनिन्छ । तर, महिला किसानको कुरा नेपाली समाजमा किन उठाइँदैन ? समाजमा महिला किसानको खबर किन ओझेलमा पारिन्छ ?

हो, कृषिप्रधान देशमा महिला किसानको कुरा खासै सुन्न पाइँदैन । नमुना किसान सम्झिँदा कोदालो, हलोजुवा बोकेको पहाडे पुरुषको चित्र प्रायः पाठ्यपुस्तकहरूमा देखिन्छ । अपवादमा मधेसी किसानको चित्र आउला । धान रोपिरहेका वेला मात्रै महिलाको चित्र देखिन्छ । तर, महिलाहरू नेपाली समाजमा लामो समयदेखि कृषिकाममै छन् । र, अहिले रेमिट्यान्स इकोनोमीअन्तर्गत कतिपय ठाउँमा महिलाहरूले नै किसानी कामको मुख्य जिम्मा सम्हालेका छन् । 

तर, कृषिसम्बन्धी नीति–निर्माण गर्ने ठाउँमा महिलाको उपस्थिति अझै निकै कम छ । सिंगो नीति निर्माणमा पितृसत्ता हाबी छ भने कृषिजस्तो प्राविधिक मानिएका क्षेत्रमा पनि हाबी छ । महिला किसानकेन्द्रित नीति बनाइँदै बनाइँदैन । 

रेमिट्यान्स इकोनोमीको इतिहास निकै लामो छ । एक समय सुदूरपश्चिम र दक्षिणी क्षेत्रका मानिस इन्डियामा काम गर्न जान्थे । अहिले पनि जान्छन् । अहिले खाडी मुलुक गन्तव्य बनेको छ । तर, कामको खोजीमा बाहिर जाने प्रक्रिया १९औँ शताब्दीको सुरुवातदेखि भएको हो । त्यसवेला लाहुर जाने प्रक्रिया सुरु भयो । पहिलो र दोस्रो विश्वयुद्धमा लाखौँ पुरुषहरू परदेश गए । त्यतिवेला महिलाहरूले नै किसानी कामको मुख्य जिम्मा सम्हालेका थिए । युद्धजस्ता विशेष अवस्थाबाहेक पनि महिलाहरूले सधैँ नै किसान काम गरिरहेका छन् ।

तीसको दशकआसपास चलेका किसान आन्दोलनबाहेक नेपालको वामपन्थी आन्दोलनमा किसान र जमिनको सवाललाई प्रमुख प्रश्नको रूपमा लिइएको देखिँदैन । क्षणिक रूपमा केही कालखण्डमा भने सवाल उठाइएका छन् । एक समय नेपालमा ‘जसको जोत, उसैको पोत’ भन्ने वैज्ञानिक भूमि सुधारको नारा निकै चल्यो । अहिले ‘जसको पहुँच, उसैको प्लटिङ’ भनेजस्तो भएको छ । ‘जसको जोत, उसको पोत’ भन्ने नाराभित्र एउटा गम्भीर प्रश्न लुकेको छ । यदि साँच्चै वैज्ञानिक भूमि सुधार लागू भएको भए पुरुषकै हातमा अधिकांश जमिन पुग्ने थियो । महिलाहरू जमिनको स्वामित्वबाट वञ्चित हुने थिए र यो समस्या अद्यापि कायम छ । जब कि खेतीपाती गर्ने अधिकांश महिला नै छन् । अधिकांश जमिन र सबै पारिवारिक सम्पत्ति पुरुषकै नाममा छ । यो विषय महिलालाई उत्पादनको साधानबाट वञ्चित गराउने नीतिसँग सम्बन्धित छ । 

पुरुषहरू बिदेसिएपछि महिलाहरू ‘अराजक’ भए, महिलाहरू परिवार संस्था नै विघटन गर्न लागे भन्ने आरोप पनि सुनिन्छ नि ?

महिलाहरूबाट समाजले के–कस्तो अपेक्षा गरिरहेको छ, पहिला त्यो बुझ्नुपर्छ । ‘महिलाले परिवार भत्कायो’ भन्ने भाषा म प्रयोग गर्न चाहन्नँ । यसबारे बहस गर्नुपर्ने मुख्य कुरा अर्कै छ । नीति–निर्माण तहमा बस्नेहरू रेमिट्यान्स इकोनोमी कसरी धेरै बढाउने भन्नेमा लागिरहेका छन् । दोस्रो जनआन्दोलनपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खाडी मुलुकमा धेरैभन्दा धेरै नेपाली श्रमिक पठाउने सम्झौता गरे । उनको भित्री रणनीति सजिलै बुझ्न सकिन्छ, नेपालमा धेरै आन्दोलन नहोस्, युवाहरू कमाउन जाऊन् र रेमिट्यान्स पठाऊन् । मानिसहरूको पारिवारिक जीवनमा के–कस्तो असर पर्नेछ भन्नेबारे बेवास्ता गरेको देखिन्छ । उता गाउँतिर सबै पुरुष बिदेसिएपछि कृषिको काम महिलामा मात्रै थपियो । घरपरिवार, छोराछोरी एक्लै हेर्नुपर्ने बोझ थपियो । धेरै परिवार अलग–अलग बस्नुपर्ने बाध्यता खडा गरियो । यो भूलवश गरिएको काम थिएन, नवउदारवादी नीतिको उपज थियो । यसको मूल्य श्रमिक महिलाहरूले चुक्ता गर्नुपरिरहेको छ । पितृसत्तात्मक पुँजीवादमा यस्तो नकारात्मक सामाजिक परिणामहरू आउँदा त्यसको प्रणालीगत कुरा ओझेल पार्दै महिलाको चरित्रमा मात्रै औँला ठड्याइयो । 

४. धर्म र महिला : महिलाका लागि पूजाकोठा क्षणिक विश्रामस्थल हो 

श्रीमान्का लागि व्रत पनि बस्ने अनि महिलामुक्तिको कुरा पनि गरिरहने प्रवृत्ति समाजमा देखिन्छ । धर्मसँग अन्योन्याश्रित सम्बन्ध कायम नै राखेर महिलामुक्ति सम्भव हुन्छ ?

यो निकै संवेदनशील प्रश्न हो । यो बहस गर्नुपर्ने विषय पनि हो । मानवजातिको इतिहास हेर्दा हामी के देख्छौँ भने धार्मिक दृष्टिकोण हरेक संस्कृति र समाजमा भेटिन्छ । कतिपय पुराना धर्मले नितान्त प्रकृतिसँग आधारित रहेर प्रकृतिसँगको सन्तुलित सम्बन्ध कायम राख्न केही नैतिक (र फकेर हेर्दा वैज्ञानिक) नियम बनाएको देखिन्छ । त्यसैले धर्म भन्नेबित्तिकै ईश्वर वा भगवान्को आराधना गर्ने भनेर बुझ्नु सही हुँदैन । फेरि पनि यतिवेला धर्मको नाममा शान्ति, प्राकृतिक सन्तुलन र सामाजिक समानतालाई जोड दिनुको सट्टा धर्म आमसंहार, प्रकृतिमाथिको प्रभुत्व र चरम सामाजिक असमानता निम्त्याउन उद्यत देखिन्छ ।

मूल समस्या महिलाहरूको हो कि पितृसत्तात्मक सामाजिक प्रणालीको हो ? यो बुझ्न जरुरी छ । महिलाहरू सबैजना सुतिसकेपछि पनि आधारातसम्म काम गर्छन् । बिहान सबैभन्दा पहिला उठेर काम गर्छन् । उनीहरूले नै कुटपिट, हेलाहोचो सहनुपर्छ । बलात्कार, बोक्सीको आरोप, बालविवाहजस्ता पीडा सबै उनीहरूकै भागमा थोपरिएका छन् । त्यस्तो यातनामय दैनिकीको बीचमा महिलाहरू एकैछिन भएपनि आफूसँगै हराउन चाहन्छन् । मानिसहरू आफ्ना पिरमर्काका कारण सधँै खोज्छन् र अगाडि बढ्नका लागि साहस बटुल्न बाध्य हुन्छन् । उनीहरू पूजा गर्दा कम्तीमा आफैँसँग संवाद गर्न पाउँछन् कि ? आफैँसँग बोल्न, गुनासो गर्न, आफ्नै मनसँग संवाद गर्दै थकाइ मार्न पाउँछन् कि ? पूजा गर्ने वेला मात्रै यस्तो क्षण हुन्छ, जहाँ महिलाले क्षणिक विश्राम लिन पाउँछन् र त्यहाँ अरूले हस्तक्षेप गर्न पाउँदैन । महिलाले यसरी नै बहाना बनाएर पूजा गर्छन् भन्न खोजेकी होइन । इमानदारीसाथ उनीहरू भगवान्को आराधना नै गरिरहेका हुन सक्छन् । पूजा गरेर अन्यायलाई खप्ने आँट पनि बटुल्छन्, सायद । फेरि पनि यो अन्तिम उपाय हुनै सक्दैन । यसको नराम्रो पक्ष भनेको यदि महिलाहरू भाग्यवादमा विश्वास गर्छन् भने आफ्नो सामाजिक स्थितिको परिवर्तनतिर नलाग्न सक्छन् । महिलाहरू पूजातिर मोड्नुमा पुरुष र सामाजिक संरचनाको भूमिका पनि बिर्सिनुहुँदैन ।

आफूलाई प्रगतिशील भन्ने कतिपय पुरुष पहिला लुकीलुकी र अहिले हाकाहाकी पूजा गर्न थालेका छन् । उनीहरूको त्यो व्यक्तिगत व्यवहारभन्दा गम्भीर कुरा के छ भने उनीहरू नीति–निर्माणमार्फत वैज्ञानिक समाज व्यवस्था स्थापना गर्छौं भन्ने दाबी पनि गरिरहेका छन् । तर, सामाजिक शास्त्र अध्ययनले के देखाउँछ भने सामाजिक असमानता घट्दै जाँदा मात्रै धार्मिक विश्वास पनि घट्दो रहेछ । त्यसैले महिलाहरूलाई भगवान्मा विश्वास गरेको भन्दै उनीहरूलाई पिछिडिएको ठान्नुभन्दा आफूले लागू गर्न खोजिरहेको असमानता बढाउने नवउदारवादी र पितृसत्तात्मक समाज व्यवस्थातर्फ ध्यान दिनु उचित हुन्छ ।

यहीँनेर स्वनाम साथीसँग हरेकजसो शिवरात्रिको आसपास हुने गरेको संवाद सम्झना आउँछ । उनी भन्थे, ‘साम्यवादी भनिने पार्टीका नेताहरू सानो कोठामा बैठक गरिरहेका हुन्छन् । उता शिवरात्रिमा मन्दिरअघि हजारौँ मानिसको भिड लाग्छ । मान्छेहरू किन मन्दिरतिर आकर्षित भइरहेका छन् ? यसबारे सोच्नुपर्दैन ?’ उनी जोड दिएर भन्थे, ‘जबसम्म धार्मिक भिडमा लागेका मानिसहरूको अवस्था, सोच र दृष्टिकोणलाई के कुराले प्रभाव पारिरहेको छ भन्नेबारे मसिनो गरी अध्ययन हुँदैन । त्यतिवेलासम्म हाम्रो आमूल परिवर्तनको कुरा हावादारी हुनेछ ।’ महिलाहरू नै बढी धार्मिक हुन्छन् भनेर यो विषयलाई प्राथमिकमा नराखेको हो कि ? 

एकातिर संसारैभरि महिलाहिंसा भइरहेको छ । अर्कोतिर समान अधिकारको कुरा पनि गरिरहेका छौँ । हिंसा भइरहेकै अवस्थामा के महिलाहरूले समान अधिकार पाउन सक्छन् र ? 

समान अधिकारको प्राप्तिको कुरा नगरौँ, घरेलु र अन्य हिंसामा परेका संसारका करिब एक अर्बजति महिला ज्यान बचाउने संघर्षमै होमिन बाध्य छन् । दीर्घकालीन महामारीको रूपमा रहेको यस्तो हिंसा हाम्रो समाजबाट हटाउन हामी किन डटेर लागिपरिरहेका छैनौँ ? लागिनपर्नुको एउटा कारण के भने संसारभरि नै महिलामाथि अनेक खालको शोषण भइरहनु मानिसलाई सामान्य लागिसक्यो । शोषण अनदेखा बनेको छ, कतै–कतै अनिवार्यसमेत ठानिएको छ । जसरी पहाडको मुनि फेदी हुन्छ, त्यसरी नै समाजको जगमा महिला शोषण हुन्छन् नै भन्ने ठानिन्छ । अर्को सम्बन्धित कारण के भने महिलाहरूको वस्तुकरण भएको छ । नेपालमा पुरानो पितृसत्ताले महिलालाई वस्तुकरण गरिरहेकै थियो, आजकाल त्यसमा आधुनिक मानिएको पुँजीवादीले पनि महिलालाई वस्तुकरण गरिरहेको पाइन्छ । यस अवस्थामा महिलाहिंसा हाकाहाकी बढेको देखिन्छ । जब सानी दलित नानीको बलात्कारपछि फालिएको लास भेटिन्छ, सत्ताले भविष्यमा राम्रो गृहमन्त्री बन्न सक्ने नागरिक गुमेको भन्दै राष्ट्रलाई नै शोक मनाउन भन्दैन । बरु सत्ताले भन्छ, ‘यस मामिलामा नेपालको तथ्यांक संसारको औसतभन्दा माथि पर्दैन । त्यसैले धेरै चिन्तित हुनुपर्दैन ।’ यस्तो स्थितिले महिलाहरू मानवताको हैसियत स्थापना गर्ने आधारभूत संघर्षमै छन् भन्ने प्रस्ट बुझिन्छ । 

५. नयाँ आन्दोलन र महिला  : महिलाहरू सापेक्षित रूपमा बढी शोषित हुन्छन् 

नेपालसहित संसारैभरि विभिन्न किसिमका नारीवादी आन्दोलन चलिरहेका छन् । उदारवादी नारीवाददेखि पर्यावरणीय नारीवादसम्म समाजमा छ । नारीवादी विचारमाझ आममानिस अलमलिइरहेका पनि हुन सक्छन् । कुनचाहिँ नारीवादले वास्तविक रूपमा महिलाको मुक्ति गर्छ ?

महिलाको विषय आमसमाजबाट अलग छैन । यो आमसामाजिक परिवर्तनसँग जोडिएको सवाल हो । उदारवादीहरू संसदीय व्यवस्थाबाट अलिकति सुधार गर्दै जाने भन्छन् । धेरैजसो मध्यमवर्गीय महिला उदारवादी नारीवादमा विश्वास गर्छन् । तर, उनीहरूले भनेको प्रयत्नबाट आममहिलामाथिको हमला समाप्त भएको छैन । महिलाहरूले यति धेरै दुःख खपिरहेका छन् कि अब पुरुष नै चाहिँदैन भन्ने ठाउँमा पुग्ने उग्रनारीवादीहरू पनि छन् । त्यसैगरी माक्र्सवादका विभिन्न धारभित्र पनि नारीवादी सिद्धान्तहरू भेटिन्छन् । ‘इकोसोसलिज्म’ मा पनि त्यस्तै छ । 

पर्यावरणीय विषयलाई केन्द्रमा नराखी हामीले कल्पना गरेको कुनै पनि नयाँ समाज स्थापना गर्न सकिँदैन । अरू विषयजस्तै अबको नारीवाद पर्यावरणसँग नजोडी हुँदैन । स्थानीय तहहरूलाई केन्द्र बनाएर समुदायका कुराहरूलाई गम्भीरतापूर्वक लिई प्रकृतिको नियमअनुरूप सामाजिक परिवर्तन गर्ने नै इकोसोसलिज्मको विषय हो । यसमा महिलाहरूले विशेष भूमिका खेल्न जरुरी देखिन्छ । किनभने पुरुषहरूले जे–जे भने पनि शोषित भई श्रमको निःशुल्क प्रयोग गरेर आआफ्नै ठाउँबाट संसारकै व्यवस्थापन महिलाहरूले नै गरिरहेका छन् । प्रकृति जोगाउने विषयमा महिलाहरू बढी सचेत हुन्छन् । बच्चालाई विषादीरहित खाना खुवाउनुपर्छ भन्नेमा आमा नै बढी चिन्तित हुन्छन् । किनकि महिला र बच्चाहरू पर्यावरणीय विनाशबाट बढी प्रभावित भइरहेका छन् । इत्यादि कारणले गर्दा प्रकृतिको विनाशबारे महिला बढी चिन्तित हुन्छन् । इतिहासले हामीलाई के सिकाउँछ भने महिलाहरू सापेक्ष रूपमा बढी शोषित भएका हुनाले उनीहरू अत्यन्तै जुझारु हुन्छन् र धेरै क्रान्ति महिलाबाटै सुरु भएको छ । त्यसैले इकोसोसलिस्ट आन्दोलन उठ्यो भने सायद महिलाकै नेतृत्वमा उठ्नेछ । 

संसारको कुनै पनि कुना महिलाहिंसाका घटनाबाट अछुतो छैन । कतै रंगको आधारमा, कतै जातका आधारमा, कतै धर्मका आधारमा महिलाहरू पीडित छन् । भारतीय नारीवादी लेखक कमला भसिनका अनुसार दैनिक एक अर्ब महिला हिंसा सहन बाध्य छन् । उनी महिलामाथि आमसंहार नै जारी रहेको बताउँछिन् । जताततै महिला हिंसा भइरहेको यस्तो परिस्थितिमा संसारैभरिका उत्पीडित महिला संयुक्त भएर लड्ने त्यस्तो कुनै संरचना बन्न सक्दैन ? 

एकातिर यतिवेला संसारभरिका श्रमजीवी मानिसमाथि भइरहेको शोषण झन्–झन् कठोर हुँदै गइरहेको छ । जसमध्ये आधाभन्दा बढी महिला छन् । महिलाहरू श्रमिक भएर मात्रै होइन, महिला भएर नै धेरै थरीका हिंसात्मक अत्याचार भोगिरहेका छन् । त्यो कोणबाट हेर्दा त्यस्तो संयुक्त आन्दोलन अति आवश्यक मात्रै होइन, आन्दोलनको ठोस परिस्थिति नै बनिसकेको देखिन्छ ।

अर्कोतिर यतिवेला भूमण्डलीकृत पुँजीवादले जसरी श्रमिक वर्गलाई बिदेसिन बाध्य बनाउने, कारखानाछेउको ब्यारेकमा थुनेर व्यापक प्राविधिक निगरानीमा राख्नेजस्ता कुराले संगठित हुन र आन्दोलनकारी योजना बनाउन थप मुस्किल बनाएको छ । धेरै महिला घरेलु काममा लागेका हुनाले एक्लाएक्लै घरभित्र थुनिएको अवस्थामा छन् । उनीहरूलाई संगठित हुन र आन्दोलनको योजना बनाउन झन् मुस्किल बनेको छ । सेल फोन र सामाजिक सञ्जालजस्ता प्रविधिहरू केही हदसम्म संगठित हुन नदिने बाधा तोड्न उपयोगी भएको देखिन्छ ।

तर पनि फेसबुकमा क्रान्तिहरू संसारभरि चल्छ भनेर अतिरञ्जित प्रचार पनि वेलावेला सुन्न पाइन्छ । यो प्रचारचाहिँ श्रमजीवीे क्रान्तिका विरोधीहरूले बढी गरिरहेका छन् कि ? प्रविधि आन्दोलनको एउटा औजार बन्न सक्छ । तर, हामीले के कुरालाई याद गर्नुपर्छ भने महिलालगायत सबैभन्दा शोषित मानिसहरू त्यस्तो प्रविधिको पहुँचमा भए पनि उनीहरू हप्ताको सात दिन र दैनिक १६ घन्टासम्म काम गरिरहेका हुन्छन् । त्यस्तो प्रविधिको पहुँचभन्दा बाहिर महिलालगायत शोषित मानिसहरू कति छन् कति ! देशबाहिरको मात्रै होइन, सुकुम्बासी महिला ज्यामीहरूलाई पनि आन्दोलित गराउने हो भने फेसबुक, ट्विटरमार्फत त्यो काम हुँदैन ।

त्यसैले जहाँसम्म श्रमिक महिलाको नयाँ आन्दोलनको कुरा छ, युनियनहरू भूमण्डलीकृत पुँजीवादले सिर्जना गरेको नयाँ परिस्थितिहरूसँग कसरी जुध्ने सायद यो पहिलो प्रश्न हो । कमला भसिनले भन्नुभएजस्तै अहिले महिलामाथि आमसंहार नै जारी छ । यौनहिंसाविरुद्ध मिटु मुभमेन्ट चलेजस्तै घरेलु हिंसा, कार्यथलोको हिंसा र सार्वजनिक ठाउँको हिंसाविरुद्ध अझ व्यापक आन्दोलन चल्न आवश्यक छ । केही वर्षअघि कतिपय महिला संस्थाहरूले संसारभरिका महिलाहरूको आमहडताल आयोजना गर्न खोजे । त्यो सफल हुन सकेन । तर, कल्पना गर्नुस्, संसारकै महिलाले एक हप्ताका सारा श्रम बन्द गरेर आमहडताल गरे भने यसको परिणाम के होला ?

नारीवादी मार्क्सवादीहरू के कुरामा जोड दिन्छन् भने बच्चा हुर्काउनेदेखि पुरुषहरूको रेखदेख गर्नेसम्म महिलाहरूको सारा निःशुल्क घरेलु श्रम नभए पुँजीपति वर्गलाई नाफा निचोर्न सम्भव हुँदैन थियो । त्यसैले न महिलाको श्रमशक्तिको अवमूल्यन गर्न मिल्छ, न उनीहरू साँच्चै संगठित भए शक्ति–सन्तुलनमा ल्याउन सक्ने रुपान्तरणलाई । 

संसारबाट नेपालको महिला आन्दोलनले के सिक्न आवश्यक देख्नुहुन्छ ?

यतिवेला नेपालको महिला आन्दोलनले ल्याटिन अमेरिका र दक्षिण अमेरिकाको इतिहासबाट सिक्ने कुरा धेरै छन् । त्यहाँका आदिवासी जनजाति बस्तीमा ठूला बहुराष्ट्रिय कम्पनीहरू स्रोतसाधन दोहन गर्न पुगे । पुँजीवादले उनीहरूको प्राकृतिक स्रोतसाधन चार सय वर्षदेखि दोहन गरिरहेको छ । आदिवासीका जग्गाजमिन नष्ट गरेर वातावरण विषालु बनाई समाज भत्काइदिएको छ र धेरैलाई शरणार्थीसमेत बनाइदिएको छ । दोहनविरुद्ध आदिवासीहरू आन्दोलित भइरहेका छन् । यस्तैखाले पुँजीवाद नेपालमा अब आउन थालेको छ । समाजवादी साम्यवादी भनिने पार्टीहरू त्यो विध्वंस रोक्न आममानिसलाई सूचित गर्ने होइन कि उल्टै त्यस्तो पुँजीवादलाई ढोगेर खुलमखुला आउन अनुनय गरिरहेका छन् । आदिवासी जनजाति, दलित महिलाहरू यसबारे सचेत हुनैपर्छ । 

नश्लवाद हटाउन दुई–तीन शताब्दीदेखि अफ्रिकी–अमेरिकीहरूले संगठित संघर्ष गरे पनि अझै आंशिक उपलब्धि मात्रै हात परेको छ । अफ्रिकी–अमेरिकीहरू दास अवस्थाबाट मुक्त भएदेखियता लगातार आन्दोलनरत छन् । यद्यपि नश्लवादका कारण उनीहरूको अझै दिनदिनै हत्या भइरहेको छ । अफ्रिकी–अमेरिकी महिलाको औषत आयु गोरा महिलाहरूको भन्दा धेरै कम छ । अफ्रिकी–अमेरिकी बस्तीहरू औद्योगिक प्रदूषणबाट निकै प्रभावित छन् । अफ्रिकी–अमेरिकी महिलाहरू पटक–पटक संगठित हुन्छन्, आन्दोलन गर्छन् र प्रहरीबाट लखेटिन्छन् । पछिल्लो समय प्रहरीबाट युवा पुरुषहरूमाथि भइरहेको हत्यालाई राष्ट्रिय सवाल बनाउन महिलाहरू पनि डटिरहेका छन् । नेपालमा दलितमाथि हुने हत्या र महिला बलात्कारका घटनालाई राष्ट्रियकरण गर्न अझै आवश्यक छ । 

नेपालको महिला आन्दोलनबाट चाहिँ संसारले के सिक्न सक्छ ?

नेपाली महिला अभियन्ताहरूका अथक संघर्ष र साहसबाट संसारका जुनसुकै देशका महिला आन्दोलनले सिक्न सक्छन् र नेपालबाट प्रेरणा र उत्साह लिन सक्छन् । बढी सुविधा भएका देशका महिला आन्दोलनले नेपालबाट के पनि सिक्न सक्छन् भने अति अप्ठ्यारो परिवेशमा पनि काम अगाडि बढाउने सम्भावना हुन्छ । त्यसैगरी नेपाललाई सुधार्छु भन्दै आउने डोनरदाताका संस्था र कर्मचारीले नेपाली श्रमजीवी महिला अभियन्ताहरूबाट धेरै कुरा सिक्न सक्छन् । 

नेपालमा जात–व्यवस्था र वर्गीय व्यवस्थाका जटिल अन्तरसम्बन्ध छन् । महिला आन्दोलनहरू त्यससँग जुट्नुपर्छ र जुटिरहेका पनि छन् । चरम नश्लवाद र वर्गीय असमानता भएको अमेरिकाले पनि नेपाली महिला आन्दोलनको अनुभवबाट सिक्न सक्छ ।

झट्ट हेर्दा महिलासामु समस्या यति विशाल र परिवेश यति फरक देखिन्छ, एउटै संयुक्त आन्दोलन असम्भवजस्तो देखिन सक्छ । वास्तवमा संसारमा भइरहेको पर्यावरणीय संकटले गर्दा संयुक्त आन्दोलनका लागि साझा मञ्च मिलेको छ । उदाहरणका रूपमा यदि महिलाले आफैँ र आफ्ना बच्चाहरूका लागि विषमुक्त खानेकुरा खान पाउनुपर्छ भन्ने अडान लिएर संघर्ष थाले भने त्यो माग पूरा गर्न वर्तमान भूमण्डलीकृत पुँजीवादलाई भत्काउनुपर्ने हुन्छ । त्यस्ता सरल तर आधारभूत सवाल विश्वभरिको संयुक्त आन्दोलनको जग बन्न सक्छ ।

सम्पादकको रोजाइ

सुझावित समाचार