विरानिँदै रमणीय डाँडो

मित्रलाल पंज्ञानी मित्रलाल पंज्ञानी
शनिबार, २४ माघ, २०७७
डिजिटल संस्करण

डेढ वर्षअघिसम्म कपनको डाँडो निकै रमणीय थियो । सहरका भित्तैभित्ता देखेर वाक्क लागेका वेला तीस–पैंतीस मिनेट हिँडेपछि डाँडामा पुगिन्थ्यो । उत्तरतिर लगत्तै भिरालो जमिनमा हरिया बारी, खेत र वनपाखा, त्यसभन्दा पर चुनिखेलको फाँट, फाँटभन्दा माथि शिवपुरीको जंगल र त्यसभन्दा माथि क्षितिज । पूर्वतिर जगडोल, आरुबारी, गोकर्णको वन र नगरकोटको डाँडो । दक्षिणतिर फैलिएर बसेको सहरी बस्ती । बीचमा प्रस्ट देखिने बौद्धनाथको स्तूप र त्रिभुवन विमानस्थल । चराझैँ आएर बस्दै र उड्दै गरेका जहाजहरू । आफू उभिएको ठाउँदेखि आकाशसम्म पूरै खुला । कहिले निलो आकाश त कहिले रङ र आकृति बदलिरहने बादलको चलायमान झुण्ड । 

के–के विषाक्त द्रव्यहरू भरिएर बासी बनेको दिमाग त्यहाँ पुगेपछि ताजा भएर आउँथ्यो । मन कञ्चन हुन्थ्यो र नयाँ–नयाँ विचारका लहरहरू उत्पन्न हुन्थे । आफूभित्र उराठलाग्दो नैराश्यको बादल बोकेर डाँडातिर ठडिएको मान्छे डाँडामा पुगेर एकटकले प्रकृतिलाई नियालेपछि प्रसन्न भएर फर्कन्थ्यो । 

तर अब परिस्थिति बदलिएको छ र तीव्र वेगमा बदलिँदै छ । यामानको अग्लो घरले पैयुँटार, जगडोल र गोकर्णको जंगल छेकिइसक्यो । अर्का घरहरूले शिवपुरीतिरको पनि आधा पाटो छेकियो । छेकिन बाँकी उत्तरतिरको खाली जमिनको ठूलो क्षेत्रमा पनि अग्लो पर्खालले घेरिएपछि शिवपुरी जंगलको माथिल्लो खण्ड मात्रै देख्न सकिने भएको छ । यसरी घेरिनुको अर्थ अब त्यहाँ पनि छिटै ठुल्ठूला बिल्डिङहरू बन्ने होलान् । यही चालले हो भने अब डेढ–दुई वर्षभित्रमा कपनको डाँडामा गएर पनि भित्तोबाहेक केही देख्न पाइनेछैन ।

डाँडाको माथिल्लो खण्डमा कपन गुम्बाको परिसर छ । पाँच–६ वर्षअघिसम्म यो परिसरमा निर्बाध आवतजावत गर्न सकिन्थ्यो । डाँडाको चुचुरोमा चढेर समग्र उपत्यका हेर्न सकिन्थ्यो । कपन फाँटमा अत्यधिक जनसंख्या पनि बढेका कारणले साँझ–बिहान डाँडातिर चढ्नेहरू वृद्धि हुनु, गुम्बामा बौद्ध विद्यालय पनि स्थापित गरिनु र आवासीय पर्यटकको संख्या पनि निरन्तर बढेर जानाले जनचाप थेग्न नसकेर होला, सर्वसाधारणका लागि गुम्बाको प्रवेशद्वार पनि बन्द भयो । तैपनि चित्त बुझाउने आधार बाँकी थियो– ‘कमसेकम गुम्बाले घेरेको क्षेत्रभित्रको सल्लाका विशाल वृक्षले ढाकेको वन सुरक्षित छ । कमसेकम हरियो हेर्न पाइँदै छ ।’ गुम्बाले ती रुखहरू ढाल्दै र अग्ला–अग्ला भवनहरू ठड्याउँदै गर्न थालेपछि भने अवशेषका रूपमा रहेको चित्त बुझाउने आधार पनि भत्किँदै छ । 

कपनकै एउटा थुम्कोमा सिद्धेश्वर मन्दिर छ । यसो साँझ–बिहान निस्किँदा रमणीय नै थियो । अलिकति भए पनि परसम्म देखिन्थ्यो । अब त्यहाँ पनि बाहिरतिर देखिने दृश्यहरूलाई छेक्ने गरी घर–टहरा निर्माण हुन थालिसकेका छन् । 

कपन डाँडामा अझैसम्म केही ठाउँ खुला छ । अनेक मान्छेहरू आउँछन्, तल सहरतिर हेर्छन् र कुन ठाउँ कहाँ हो भनेर अनुमान लगाउँछन् । माथिबाट हेर्दा आपसमा टाँसिएजस्ता देखिने यी घरहरूका बीचमा आफू बसेको घर खोज्छन् । आफ्नो टोल खोज्छन् । कसैले ठ्याक्कै चिन्छन्, कसैले अनुमानै लगाउन नसकेर छक्किन्छन् । 

हामी बाँसुरी बालेर आगो तापिरहेका छौँ । आफ्नै सौन्दर्यलाई चिन्न नसकेर कुरूप भएका छौँ । हार्दिक सम्बन्धका तारहरू टुटाउँदा–टुटाउँदै छोइएलाझैँ नजिकै बसेर पनि एकापसमा बिराना भएका छौँ ।

काठमाडौं उपत्यका बडो विचित्रको छ । भिन्नाभिन्नै कुना र भिन्नाभिन्नै थुम्काबाट भिन्नाभिन्नै उपत्यका देखिन्छ । स्वयम्भूको डाँडामा गएर हेर्यो, एउटा उपत्यका त्यतै छ । कीर्तिपुरको डाँडामा गएर हेर्दा अर्को उपत्यका उतै छ । कपनको डाँडो चढौँ, त्यस्तै । साँगाको डाँडामा जाऊँ, त्यस्तै । यी दर्जनौँ डाँडा थुम्काहरू विविध कोणबाट काठमाडौं उपत्यका हेर्ने पर्यटकीय महत्वका दृष्टिकेन्द्रहरू हुन्, अमूल्य प्राकृतिक सम्पदा हुन् । शिवपुरी, नागार्जुन, चन्द्रागिरि र फुलचोकीका डाँडाबाट हेरेर मात्र पनि काठमाडौं हेरिँदैन । जहाज वा हेलिकोप्टरमा फन्को लगाएर मात्रै पनि हुँदैन । यसलाई त एकटकले गहिरिएर हेर्नुपर्छ । साँझ–बिहान, दिउँसो, राति भिन्न–भिन्न समयमा हेर्नुपर्छ । यतिले मात्र पनि पुग्दैन, बीच–बीचका अनेक डाँडाथुम्काहरूमा चढेर हेर्नुपर्छ । फाँटमा भित्रभित्र पसेर हेर्नुपर्छ ।

मान्छेले जतिसुकै र जेसुकै पढे पनि प्रकृति र संस्कृतिभित्रैका कुरा पढ्ने हो । गहिराइमा गएपछि धेरै थोक थाहा पाइन्छ । विगतका शासकहरू को कति दूरदर्शी योजनाकार थिए वा स्वकर्मबाट सिर्जित नजिकैको नतिजा पनि देख्न नसक्ने हुस्सु थिए भन्ने कुरा यहाँ निर्मित संरचना र नदीनालाले बताउँछन् । तिनीहरूसित अन्तरसंवाद गर्ने सूक्ष्म चेतना हुने हो भने तिनले नबताउने कुनै पनि तथ्य बाँकी रहँदैन । विलक्षण कलाकारिताको अनुपम उदाहरण प्रस्तुत गर्ने प्राचीन कलाकृतिहरू पनि यहीँको शासकीय प्रणालीगत परिवेशबाट निर्माण भएका हुन् । नदीमा ढल मिसाउने चेतना पनि यहीँका शासकहरूको चिन्तनबाट उत्पन्न भएको हो । सास फेर्नका लागि एकाध वृक्ष रोप्ने ठाउँसमेत नराखेर घरैघर ठड्याउने नीतिका निर्माता पनि यहीँका शासक हुन् । राम्रो वा नराम्रो परिणामका लागि नेतृत्वकारी भूमिकामा रहेका शासकहरू मरेर गए पनि ती निर्मिति र त्यसको नतिजा बाँच्नेहरूले सयौँ वर्षसम्म अझ कुनै मामिलामा त हजारौँ वर्षसम्म पनि भोगिरहनुपर्ने हुन्छ । तिनले गरेका राम्रा–नराम्रा कर्मका नतिजा आज हामीले भोगिरहेका छौँ । 

पैँतालीस लाखभन्दा बढी जनसंख्या बस्ने नेपालको राजधानी उपत्यका सभ्यताको पनि एउटा केन्द्र र राजनीतिको पनि केन्द्र हो । यसलाई गडेर हेर्दा केन्द्रीय सत्ताको चिन्तन प्रणाली र त्यसबाट प्रभावित जनसामान्यको जीवनपद्धतिसमेत बुझ्न सकिन्छ । कहाँबाट आयौँ र कहाँ जाँदै छौँ ? यात्राको प्रवृत्ति विश्लेषण गर्न सकिन्छ । समाजमा सकारात्मक परिवर्तन ल्याउने भिजन भएका कर्मशील पात्रहरूले भविष्यको योजना निर्माण गर्न पनि यहाँ पस्नैपर्छ । 

यो धनको दुनियाँमा सबैजसोलाई पैसा कमाउनु परेको छ । स्वाभाविकै हो । आफ्ना निजी सम्पत्ति निजी फाइदाका लागि प्रयोग गर्न खोज्नु पनि स्वाभाविकै हो । तिनले आफ्नो जग्गामा घर बनाउनु अन्यथा होइन । अन्यथा त यो हो कि यी सार्वजनिक महत्वका ठाउँलाई खुला राख्न पहल गर्नुपर्नेहरूले नै यसको महत्वबोध गर्न सकेनन् । यो काठमाडौंमा जहाँ मन लाग्यो त्यहीँ र जसरी मन लाग्यो त्यसैगरी घर निर्माण गर्न लागेको पनि दशकौँ भइसक्यो । यसैगरी जाने हो भने फाँट त सिमेन्टमय भयो नै निकट भविष्यमै यहाँका डाँडाथुम्काहरू पनि घरैघरले भरिनेछन् । उपत्यका अझै कुरूप र अस्वस्थकर भएर जाने निश्चित छ । 

मान्छे स्वभावतः रसप्रिय प्राणी हो । हामी इन्द्रियका माध्यमले रसास्वादन गर्छाैँ । हाम्रो मनले आँखामार्फत सुन्दर दृश्यबाट, कानमार्फत सुमधुर संगीतबाट, जिब्रोमार्फत मीठो खाद्यबाट र नाकमार्फत सुगन्धबाट रसानुभूति गर्छ । ‘यी डाँडाकाँडा र फाँटमैदान हामीले बनाएको होइन, सगरमाथा हामीले बनाएको होइन, प्रकृतिले बनाएको हो । यसमा गर्व गर्नु बेकाम छ’ भन्ने तर्क पनि यदाकदा सुनिन्छ । मैले यसलाई कुतर्क भन्ने गरेको छु । मान्छे प्रकृति र संस्कृतिको संगम हो । जीवनदायक प्रकृतिसित सामीप्यको अपेक्षा उसको मूल चरित्र हो । प्रकृतिको ध्वंसक चरित्रसित भने ऊ भाग्छ । बाढी, पहिरो र भूकम्पलाई प्रेम गर्दैन । आफूले कुनै पौरख नगर्ने र प्रकृतिको गुणगान मात्रै गरेर बस्नु भने लज्जाकै कुरा हो । 

प्रकृतिप्रदत्त सम्पदालाई प्रेम नगर्ने र नबचाउने हो भने मान्छेको अस्तित्व पनि बच्दैन । मान्छेको अस्तित्व यो संसारका अन्य प्राणी र वनस्पतिको अस्तित्वमाथि निर्भर छ । पृथ्वीको इकोसिस्टमलाई नजोगाउने हो भने सबै मासिएर मान्छे मात्रै बाँच्न सम्भव छैन । प्राणी र वनस्पतिको अस्तित्व यहाँको माटो, हावा र पानीको अस्तित्वमाथि निर्भर छ । पृथ्वीमा तापक्रमको सन्तुलनमा निर्भर छ । 

कुरा त हामी निकै गरिरहेका छौँ । नतिजा देखिने गरी काम भने भएको पाइँदैैन । लाग्छ, हामी नारकीकरणको दुराभियानमा सहभागी छौँ । आफ्नै सम्पत्ति उपयोग गर्न नजानेर कंगाल भएका छौँ । हामी बाँसुरी बालेर आगो तापिरहेका छौँ । आफ्नै सौन्दर्यलाई चिन्न नसकेर कुरूप भएका छौँ । हार्दिक सम्बन्धका तारहरू टुटाउँदा–टुटाउँदै छोइएलाझैँ नजिकै बसेर पनि एकापसमा बिराना भएका छौँ । 

कपनको डाँडो त सन्दर्भ मात्रै हो । मननीय पक्ष त यो हो कि ‘केन्द्र कुठाउँमा धनको खोलो बगाएर बिग्रियो । सुदूर विकट बस्तीहरू लगानीको स्रोत नपाएर पछि परे ।’ मर्म बुझेर कार्यान्वयनमा लैजाने गरी कुरो सुन्ने कान फेला परेको छैन ।     

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार