भ्यु टावर नै भ्यु टावरको देशको रूपमा दर्ज हुनेछ नेपाल । तर, मूल प्रश्न भ्यु टावरबाट के हेर्ने होला ?
‘मुखमा हाल्ने माड छैन खुट्टालाई खोल’ यो उखानले मेरो वडाको वास्तविकता राम्ररी चित्रण गर्न सक्छ । यो उखान यथार्थमा परिणाम भएको हेर्न अबको केही वर्षपछि नुवाकोटको बेलकोटगढी नगरपालिकाको भ्रमण गरे पुग्छ ।
नगरको गौरवको एउटा आयोजना हो, चिम्टेश्वरको चुलीमा भ्यु टावर बनाउने । हामी आममान्छेले गन्न पनि भुलिने गरी करोडौँ रुपैयाँको लागतमा भ्यु टावर बन्ने काम सुरु भइसकेको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले भ्यु टावर निर्माणको शिलान्यास गरिसके । त्यस्तै, वडा नम्बर पाँच जहाँ यो पंक्तिरकारको वास छ, त्यहाँ पनि वडाकै गौरवका रूपमा निर्माण हुँदै छ अर्को भ्यु टावर । तत्काल आधा करोडको लगानीमा निर्माण प्रारम्भ हुन लागेको उक्त भ्यु टावरमा आवश्यकतानुसार लगानी थपिने विकल्प खुला नै छ ।
नगरपालिकाको मूल नारा छ, ‘आधुनिक समृद्ध नगरको आधार, कृषि र पर्यटनसहितको पूर्वाधार ।’ नगरपालिकाले यस्तो नारा तय गरिसकेपछि पर्यटन प्रवर्द्धनका लागि भ्यु टावर चाहियो नि त भन्ने तर्क पनि नगरभरि नै सुनिन्छ । तर, कस्तो भूगोलमा भ्यु टावर बनाउनुपर्ने हो ? डाँडैडाँडाले भरिएको नगरको थुम्का–थुम्कामा भ्यु टावर बनाउनु आवश्यक छ कि छैन ? प्रकृतिले बनाइदिएको दुई हजार मिटरको डाँडामा २०/३० मिटर थपी त्यहाँ चढेर के नियाल्ने हो ? पारी डोजरले डाँडा भत्काउँदै गरेको हेर्ने हो कि ? बाख्रा चरेको हेर्ने हो कि ? केचाहिँ हेर्ने हो त ? के नगरमा पर्यटक भित्र्याउन भ्यु टावर मात्रै उपाय हो त ? यस्ता प्रश्नबारे कमै छलफल हुने गरेको छ ।
भ्यु टावरहरू बनाएपछि पर्यटन प्रवर्द्धनमा कल्पना नै नगरिएको सफलता मिल्नेछ भन्ने आशयको प्रचार अहिले नगरभरि व्याप्त छ । तर, लगभग ३९ हजार जनसंख्या भएको नगरमा आन्तरिक पर्यटन उद्योग कति फस्टाउला ? ककनीलाई पछाडि पार्दै निकै लामो कच्ची सडक छिचोलेर काठमाडौंबाट पर्यटकको ओइरो लाग्ने आशा कत्तिको स्वाभाविक छ होला ? अझ मूल प्रश्न त भ्यु टावर निर्माण नहुँदा र निर्माण भइसकेपछि वृद्धि हुने पर्यटकको दर कति होला भन्नेबारे विस्तृत अध्ययन भएकै छैन । नगरवासीका लागि भ्यु टावर बन्दै गरेको डाँडा कुनै नयाँ ठाउँ होइन । बाहिरका पर्यटक कसरी भित्र्याउनेबारे केही पनि तयारी छैन । डाँडामा भ्यु टावर बनाएपछि मान्छेहरू हुरुरु हेर्न आइहाल्छन् भन्ने हचुवा पारा देखिन्छ । यो कुराचाहिँ पक्का छ कि मानिसहरू सुरुसुरुमा भ्यु टावर चढेर दृश्यावलोकन गर्न होइन कि भ्यु टावरचाहिँ कस्तो बनेछ भन्ने हेर्न जानेको घुइँचो भने अवश्य लाग्नेछ ।
०००
चिम्टेश्वर क्षेत्रमा एउटा महादेवको मन्दिर पनि छ । त्यो स्थानलाई ऐतिहासिकस्थल पनि मानिन्छ । नुवाकोट आक्रमणमा गोर्खालीले लज्जास्पद हार व्यहोरेपछि पृथ्वीनारायण शाहले त्यही चिम्टेश्वर महादेवको शरण परी पूजापाठ र भाकल गरेको र दोस्रो आक्रमण सफल भएको लोकोक्ति पनि सुनिन्छ । पृथ्वीनारायणलाई देउताको वरदान प्राप्त भएपछि आक्रमण सफल भएको कहावत सत्यबाट कोसौँ दूर छ । उनी त्यहाँ बसेकोबारे थप अध्ययनको खाँचो छ । पृथ्वीनारायणले बेलकोटगढी र नुवाकोट आक्रमणका लागि चिम्टेश्वरमा बंकर खनेको लोकोक्ति सुनिन्छ । स्थलगत अवलोकन गर्दा पनि बंकरका अवशेष देखिन्छन् । जयन्त रानाको हत्या यही स्थानमा गरेको समेत कहावत सुनिन्छ । यी सबै इतिहास सम्बन्धित लोकोक्तिको सत्यता जाँच गर्नु आवश्यक देखिन्छ । इतिहास अध्ययनलाई सत्यको नजिक लैजान यी स्थलहरू महत्वपूर्ण साबित हुन सक्छन् । बंकर अध्ययनबाट युद्धनीतिबारे बुझ्न र जयन्त हत्याबाट राजामहाराजाको क्रुरताबारे बुझ्न सकिनेछ । यसबारे थप अध्ययन–अनुसन्धान गर्नुपर्ने दायित्वबाट पन्छिएर नगरपालिकाचाहिँ बंकरको अवशेष भएको स्थान मासेर त्यहीँमाथि भीमकाय भ्यु टावर ठड्याउँदै छ ।
नगरको यात्रा : काशी जान कुतितिर
प्रत्येक तहका सरकारको मूल जिम्मेवारी संविधानमा सुनिश्चित गरिएका जनताका मौलिक हकहरूको कार्यान्वयन नै हो । गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा आदिको प्रत्यक्ष उपभोग गर्न पाउदै छौँ भन्ने प्रत्याभूति जनताले गर्न सक्ने अवस्थाको सिर्जना पहिलो कार्य हुनुपर्ने हो नगरको । तर, सडक सुधार र विस्तारको नाममा मुटु खेत पूरै सकिएर खेती गर्नै छोडेका जयराम बाँस्कोटाहरू हुन् या बारीजति सबै अनकन्टारको भिरमा परिणत भई बारीको सिरानमा रहेको घरसमेत जोखिममा परेपछिको उदास अनुहारमा बाँचिरहेकी सरिता लामिछाने हुन्, तिनका लागि भ्यु टावर ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्‘ बन्ने निश्चित छ ।
शिक्षक अभावमा प्रतिदिन १२ घन्टी पढाउनुपर्ने (आठ घन्टीलाई टुक्र्याएर १२ बनाएर) स्कुलका शिक्षकहरू आफ्ना स्कुलमा थप सहकर्मी खोज्लान् कि भ्यु टावर नामक चमत्कारी बिल्डिङ ? शिक्षक कतिखेर कक्षामा पस्लान् भनी अधिर प्रतीक्षा गर्ने, प्राप्त हुनुपर्नेभन्दा निकै कम शैक्षिक उपलब्धि प्राप्त गरिरहेका तमाम विद्यार्थी भ्यु टावरलाई कसरी बुझ्छन् होला ? तिनीहरूको अबोध मुहारमा भ्यु टावरको जंगे स्वरूप कस्तो देखिँदो हो ?
दिनप्रतिदिन आफ्नो भाषा, संस्कृति र सभ्यतामा आइरहेको विनाशक पहिरो टुलुटुलु हेरिरहेका तामाङ समुदायका अग्रजहरू भाषा र सभ्यता संरक्षणको खाँचो महसुस गर्दै होलान् कि भ्यु टावरको ? अझ केही समयअघि त शिक्षाको माध्यम भाषासमेत अंग्रेजीलाई अनिवार्य गराउने नगरको नीतिगत निर्णय भएको थियो । नगरले त्यसलाई कार्यान्वयन गर्न सोचेजस्तो सफलता हात पार्नचाहिँ सकेको छैन । अनि आधारभूत तहको शिक्षा मातृभाषामा पाउनेछन् भन्ने मौलिक हकसमेत नीतिगत रूपमा खोसिइसकेका ती जनजातिहरू अहिले निर्माणाधीन भ्यु टावरबारे के सोच्दा हुन् ?
पर्यावरणीय पक्षमाथि आँखा चिम्लिएर समृद्धि ल्याउनका लागि डोजरको ताण्डवनृत्यलाई निर्विकल्प ठह¥याएका नगरप्रतिनिधिहरू विकासको गति तीव्र बनाएकोमा मक्ख छन् । जीवनयापन, कृषि, पशुपालनसम्बन्धी रैथाने ज्ञानको चिहानमाथि आधुनिकताको दुन्दुभि बजाउँदै मखलेल भएको छ नगर । क्रमशः धीमा गतिमा आफ्नोपन गुमाउँदै–गुमाउँदै गइरहेका छन् नगरवासी । पर्यावरणीय संकटको लागि दोषी बन्दै छ नगरको भूगोल पनि । पर्यावरणीय संकटको प्रत्यक्ष मारमा पर्दै छन् नगरवासी । आफ्नो अनुहारमा आफ्नोपन हराउँदै क्रमशः टाँस्सिइरहेछ अर्कै चिज । विकास यही हो भन्दै मक्ख छन् यहाँ । सायद भ्यु टावर यही क्रमको एउटा निरन्तरता हो । कपाल नभएको मान्छेले काइँयो बोकेजस्तै हुनेछ नगरका लागि भ्यु टावर ।
के देखिनेछ भ्यु टावरबाट ?
भ्यु टावरमा उक्लिएर गहिरो गरी जगतिर हेर्यो भने देखिनेछ इतिहासको मधुरो प्रमाणको एउटा चिहान । टावर वरिपरिको जंगलमा देखिनेछ अवैध जंगल फँडानीमा सक्रिय तस्करहरूको झुन्ड अनि अवैध रूपमा काटिएका रूखहरूको डंगुर । जंगलभरि भुइँ नदेखिने गरी छरिएका बियरका फुटाइएका बोतल, बिस्कुट र चाउचाउका खोल, पानीका रित्ता बोतल ।
अलिक टाढा हेर्ने हो भने देखिनेछ विनायोजना निर्माण गरिएका सडकले निम्त्याएका पहिरोले कुरूप बनेका डाँडाका गाला । मासिएका खेतीयोग्य जमिन । दुरबिनबाट हेरियो भने देखिनेछन् ती जमिनमाथि पुर्पुरोमा हात लगाई बसिरहेका निराश मान्छेहरू । नगरको सहायताको अनन्त प्रतीक्षामा रहेका स्कुलहरू । दुरबिनबाट हेर्दा देखिनेछ शिक्षकविनाका कक्षाहरूमा होहल्ला गरिरहेका विद्यार्थीहरू ।
समृद्धि ल्याउन डाँडामाथि नाचिरहेका डोजर, तिनको नाचबाट सहिद हुन पुग्ने पानीका मुहान, टुक्रिएर सकिँदै गरेका फाँटहरू सबै–सबै देखिन्छ । आधुनिक दुनियाँ निकै रंगिन बन्दै गरेको पनि देखिन्छ ।
उत्पादन राम्रो नभएर टोलाइरहेका किसानहरू, मलका लागि लामबद्ध किसानहरू अनि जसोतसो भएको उत्पादन बिक्री नहुँदा या मूल्य नपाउँदा आँसु लुकाएर हाँसिरहेका किसानहरू पनि देखिनेछन् । पढ्नका लागि, रोजगारका लागि, डिभी परेर बिदेसिएका सन्तानहरूको न्यास्रो मान्दै रित्तो आँगनमा टोलाइरहेका वृद्धवृद्धाहरू पनि देखिनेछन् । लासको बाकस बोकेर देश पस्दै गरेको हवाईजहाजको पखेँटा पनि देखिनेछ ।
भ्यु टावर किन ?
पहिले विकासको नामबाट महेन्द्रले नेपाल छिराएर प्रयोगमा ल्याइएको युरोपियन मोडलको परिवर्तनलाई अहिलेको सरकारले समृद्धिको नाममा पुनः नवीकरण गरेको छ । देशैभर अन्धाधुन्ध निर्माण भइरहेको भ्यु टावर समृद्धिकै अभिन्न अंग हो । सीमान्तकृत जनताको समस्यालाई नचिन्नु अहिलेको समृद्धिको मुख्य विशेषता हो । आवधिक निर्वाचनमा निर्वाचन जित्नका लागि बहालवाला जनप्रतिनिधिहरू तत्काल परिणाम आउने काममा जोड दिन्छन् । दीर्घकालीन महत्वका कामको परिणाम ढिलै आउँछ । परिणाम आउन्जेल थुप्रै निर्वाचन सकिइसक्छ । अनि भोटमा त्यसको भूमिका देखिँदैन । तत्काल परिणाम दिने या भनौँ तत्काल देखिने कार्य हो भ्यु टावर । निर्वाचन जित्ने अस्त्र ।
‘मुखमा हाल्ने माड छैन खुट्टामा खोल’ नै हो भ्यु टावर अहिलेका लागि । नगरले पहिला मुखमा माडको व्यवस्थामा नै जोड दिनुपर्ने हो तर, विडम्बना त्यस्तो सम्भावना निकै कम छ । केही समयपछि देशैभरि भ्यु टावरहरू देखिनेछन् । भ्यु टावर नै भ्यु टावरको देशका रूपमा दर्ज हुनेछ नेपाल । तर, मूल प्रश्न भ्यु टावरबाट के हेर्ने होला ? तिनै भुइँमान्छेहरूको अनन्त दुख ?