गाउँ त एक्लो भइसकेछ

शनिबार, २४ माघ, २०७७
डिजिटल संस्करण

‘तपाईं विप्लवको कार्यकर्ता हो ?’
गौह्रीभिरको साँघुरो बाटोमा धुलो उडाइरहेको छ गाडी । गाडीको घुमिरहेको चक्का उकालो घुम्दै उक्लिरहेको छ धुलो । ओरालो गहिरो छाँगो छ । पहराबीच भएर हुइँकिरहेको गाडीको पर्वाह नगरी चालकले सीधै सोधिदिए । नसोधुन् पनि कसरी ! हामी जो समकालीन नेपाली राजनीतिप्रतिको वितृष्णा र फ्रस्टेसन पोखिरहेका थियौँ । 

‘हामी विप्लवको कार्यकर्ता जस्तो देखिन्छौँ र दाइ ?’
‘गफ गरेको सुन्दा त्यस्तै लाग्यो ।’ 
‘हामी त पत्रकार हौँ नि दाजु ।’
रित्तो गाडी कुदाइरहेका चालक केही सोचे र मुसुमुसु हाँसे । अगाडिको मिरर ग्लास मिलाए । धुलोले छोपिएको ग्लासमा चालकको बुढी औंलाको छाप छ्याप्प बस्यो । गाडी चालक काठमाडौंसम्म खसी पु¥याएर फिरेका रहेछन् । तिहारको मौसम जो थियो ।

हामीलाई हलेसीसम्म पुग्नु छ । अहिले साविकको दुर्छिम गाविसमा छौँ (अहिले हलेसी तुवाचुङ नगरपालिका) । करीब आधा घण्टा पहिला साविकको गाविस च्यास्मिटारमा थियौँ ।  गाडी कुरिरहेका थियौँ । भारी बोक्ने भ्यान आयो । त्यसैमा हुइँकियौँ ।

०००
भाइटीकाको अघिल्लो दिन । मेरो घर च्यास्मिटार, खोटाङ पुगेको थिएँ मित्र सागर चन्दसँग । ड्राइभरले ‘चन्द’ थर भएकाले पनि सोधेका होलान् ‘विप्लव’को कार्यकर्ता भनेर । थर संयोग भइदियो । ती कहाँका चन्द, यी पत्रकार चन्द । मेरो मित्र चन्द । भन्छन् नि, यो ब्रह्माण्ड वृहत् संयोगले जन्मेको हो र जीवन पनि । यही संयोगभित्र हजारौँ संयोगहरू  त कति हुन् कति ! 

दिउँसो तीन बजेतिर घर पुगेका थियौँ । गाउँका बारीहरू सबै हिँउदमा सुँगुरले उधिनेको सुठनीबारी जस्ता थिए । पहिला कात्तिकको महिनामा कोदो पाकेर पहेँलै हुने गह्राहरू डोजरले उधिनेका रहेछन् । सडक बनाउने, विकासको ढोका खोल्ने नाममा बनेका सडकमा ठुल्ठुदा खाल्डा आँखाअघि पसारिए । बर्खाको झरीले बनाएको खाल्डामा ठुल्ठुदा चक्का भएका ट्रयाक्टर पनि दगुर्न सक्दैन । 

‘सडकहरू त हैरान हुने खालका रहेछन् नि साथी ?,’ बाल्यकालीन दोस्त दिपेशलाई सोधेँ ।‘डोजर ड्राइभर आफैं इन्जिनियर भएपछि यस्तै हो साथी,’ दोस्तको जवाफ थियो ।  सरकारी बजेटको उपयोग डोजर मालिकले मात्रै गरेछन् । परिवर्तनकारी डोजरले गाउँको मुहार फेरिदिएछ । निकैपछि गाउँ गएको हुँ । एसएलसी दिएको पनि निकै वर्ष बितिसक्यो । दशवर्ष नै बित्यो, म गाउँबाट अलग्गिएको । अचेल त गाउँसँग फोनमा कुराकानी मात्रै हुन्छ, आमा जो गाउँमै छिन् ।

आमा आफ्नोभन्दा ज्यादा गाउँको खबर सुनाउँछिन् । मलाई गाउँसँग जोडिरहन्छिन् । आमाले फोनमा सुनाएकी थिइन् केही समयअघि, ‘हेर् न नानी, डम्बरेको आमा मर्यो । डम्बरेको बाउ मरीमरी रोयो । अहिले च्यान (चिहान) मा गएर ‘मेरो सानी उठ् न उठ्’ भनेर छाती पिटेर रोइरहन्छ ।’ गाउँ चकित हुने गरी छाती पिट्ने ७७ वर्षका डम्बरेको बाउको छातीमा कत्रो पत्थर खसेको थियो होला ! 

हाम्रो घर तल डम्बरेको बाउको ठूलो टारबारी छ । हाम्रो साँधमै रहेको टारबारी म सानै हुँदा उनैले झम्पाल र खन्तीले भित्तो र साना गह्राहरू खनेर बनाएका हुन् । जमानामा ठुल्ठुदा घोका मकै फल्ने बारीमा यसपटक भने भटमासका मरेका बोटहरूले हरियो आकाश हेरिरहेका थिए । 

डम्बरेकी आमाले आफ्नो लाम्टो चुसाएर हुर्काएकी नातीले बिहे गरिसकेछन् । १७ वर्षमै बिहे गरेका नाती र नातिनी बुहारीसँग बस्दा रहेछन् डम्बरेको बाउ । घरबाट पारी लुमडाँडा हेर्दा घस्यौटाहरू बटुलेर घर पछाडि आगो बालिरहेका थिए । आगो पनि के भनौँ, धुवाँ फुसुसु निकालिरहेका थिए । घरको खरको छानोबाट निस्कने धुवाँहरू डम्बरेको आमा गएपछि घर पछाडि सरेछ ।

००० 
गाउँसँग रेमिट्यान्सले छाएको जस्तावाला घर र डोजरले खनेको घडेरीबाहेक अरु केही देखिँदैन । मेरो घर तल खोलामा ठूलो बाँस झ्याङ थियो । बाँस हो, फागुन चैतको बतासमा नाङ्गुटे भएर हल्लन्थ्यो । बर्खाको झरीमा सरर बज्थ्यो । भदौको महिनामा रुपीहरू खुब कराउँथे । म त चराको भाषा बुझ्दिनँ, तर साँझमा कराउने रुपीहरूको चर्को आवाजको मीठास अहिलेको हेभ्भी मेटलले के दिन सक्थ्यो र ! मंसिरको न्यानोमा तामाहरू हुर्काइसकेको हुन्थ्यो बाँस झ्याङले । त्यही बाँस झ्याङबाटै चराहरू हुर्किएर जान्थे । फर्किएर आउँथे । 

बाँस झ्याङकै किनारैकिनार मूलबाटो थियो । तल भुटेखोला, भैंसेटारतिर झर्थे गाउँले । त्रित्रिबोट, ओफलाङ झर्थे, उदयपुरको यारी खोलाहुँदै कटारी झर्थे । नुनतेल लिएर आउँथे । तल बूढा पनेरो (पँधेरो) पानी लिन जान्थे तामाको गाग्रोमा । करीब साडे दुई सय मिटर लामो बाँस झ्याङका बाँसहरू पुस्तकका पानाजस्ता थिए । पुस्तकालय नै थियो त्यो बाँस झ्याङ । बाँसमा दर्शिङढुंगोको कलमले लेखिएका सायरीहरू हुन्थे । परिचयहरू हुन्थे । भावनाहरू हुन्थे । पानको पात हुन्थ्यो । मन परेको मान्छेको पहिलो अक्षर र आफ्नो पहिलो अक्षरबीचमा प्लस लेखेर संकेतमा प्रेम दर्शाइएको हुन्थ्यो । 

मैले पनि धेरैपटक दर्शिङ ढुंगोको कलमले लेखेको छु बाँसमा । भावना लेखेको छु । सुनेको सायरी लेखेको छु । र सायरीमुनि आफ्नो परिचय, ठेगाना र कक्षा लेखेको छु । ती सायरी र भावना सम्झदा अहिले लाज लाग्छ । त्यो वेला भने भयानक लाग्थ्यो । मानिसलाई आफूले बाँचिरहेको वर्तमान चेतना र बटुलेको ज्ञान नै भयानक लाग्दोरहेछ । समयान्तरमा चेतना, ज्ञान स्वतः फैलँदै जाँदा विगतका ज्ञान र चेतना दबिँदै जाँदा रहेछन् । यही भएकाले होला, कविहरूले सुरुवाती चरणमा लेखेका कविताहरू लुकाउने गर्छन् । 

०००
घरभन्दा तल खोलामा रहेको बाँस झ्याङ जरैदेखि पन्छाएर फुटबल ग्राउण्ड बनेको रहेछ । केटाकेटीहरू फुटबल खेलिरहेका देखिन्थे । बाँसहरू गाउँले बेचिसकेछ । बाँससँगै सम्झनाको मीठो दस्तावेज पनि बेचेछ । स्मृतिको फराकिलो मैदान पनि बेचेछ । भावनाहरूको संगालो पनि बेचेछ ।

गाउँले बेच्न बाँकी राखेको भनेको मभित्र बाँचिरहने यादहरू हुन् । जो गाउँले कहिल्यै बेच्न सक्ने छैन । म रहेसम्म त्यो सुन्दर अनुभूति बेचिनेवाला पनि छैन । खासमा मान्छेहरू स्मृतिको बगैंचामा डुल्दा न हो एक्लै हुँदा पनि मुस्कुराउने । वर्तमानसँग त हरकोही भयभीत भइरहन्छन्– शक्तिका कारण भयभीत, अस्तित्वका कारण भयभीत, सपनाका कारण भयभीत ।

गाउँले बाँससँगै एउटा सुन्दर समय पनि बेचिसकेछ । गाउँ त एक्लो भइसकेछ । एकलकाँटे भइसकेछ । किशोरहरू फ्रीफायरमा ‘हान् हान्, त्यता लुकेको छ’ भन्दै मोबाइलमा घोत्लिरहेका थिए । किशोरीहरू टिकटकमा । बूढापाकाहरू भट्टीमा । अधबैसेंहरू तासमा । भाइटीकाको मौसम, न कुनै भेला छ न रोमान्चकता नै । सबै गाउँमै थिए, तर आ–आफ्नै दुनियाँमा मनमगन थिए ।

यो समय गाउँका बारीमा तोरी फुल्थे । हिउँदे अन्नपातका हरीया र पहेँला पातहरूले गाउँ छपक्क छोपिएको हुन्थ्यो । टाढा कतैबाट हेर्दा स–स्यानु घरहरूको बुट्टा सहितको हरियो पछ्यौरा झैं देखिन्थ्यो गाउँ । अचेल गाउँमा केही छ भने डोजरले उधिनेका सडक नामका सानातिना पहिराहरू रहेछन् । त्यही सडकमा बर्खे झरीको भेल हिँडेको गहिरा गोहोहरू रहेछन् । जुन गोहोहरू रङमङिएको हेर्न गोधुली पर्खनु पर्दैन ।

हामी पुग्नसाथ आमाले सोधेकी थिइन्, ‘खाजा के खाने ? थुक्पा बनाइदिऊँ ?’ हामीले मकै भटमास खाने चाहना राख्यौँ । तर, घरमा हाँडी रहेनछ । मकै भटमास भुट्नै छाडिएको रहेछ । मकै भटमासको ठाउँमा चाउचाउ र थोक्पा पुगिसकेछ । बूढा पनेरो पनि सुकेछ ।  मिनरल वाटरको पानी पिउन थालेछ गाउँले । कुवाको पानीले गाउँको तिर्खा मेट्न छाडिसकेछ । 

आमाले पानी ल्याइदिइन् प्लास्टिकको मगमा ।

‘आम्खोरा छैन ?’
‘अस्ति बेच्युङ हामीले । धुनु गाह्रो भएर,’ आमाको जवाफ थियो । धुन सहज हुने प्लास्टिकको मग घरमा आइपुगेछ । धुन असहज हुने आम्खोरा बेचिसकिएछ । केही आम्खोरा थिए, जो बाउले पहिलो जागिरले किनेको हो भनेर सुनाउँथे । बाउ संसारको संघारबाट सदाका लागि गए, आम्खोराहरू घरको संघारबाट सदाका लागि गए । आम्खोराहरूसँगै बाउको सम्झनाको एउटा निशानी गयो । 
०००
घर तल्तिर घुर्यानमा बाउको चिहान छ । साँझ चिहानमा गएँ । चिहानवरिपरि तितेपाती ढकमक्क थिए । अग्लाअग्ला तितेपातीको बगैंचा आमाले बनाएकी हुन् । आमाले पानी हालिदिएर हुर्काएकी हुन् तितेपातीको बिरुवा ।  चिहानको बीचमा सानो दियो थियो । तर, त्यस साँझ दियो बलेको थिएन । घर आएँ । आमालाई सोधेँ, ‘आज किन दियो नबालेको आमा ?’ 

चुल्हो छेउमा बसेकी आमाल बाउले पिटेको निधारको खत छाम्दै बोलिन्, ‘ए, तिमीहरू आएकोले भात पकाउन थाल्दा कस्तो भुसुक्क बिर्सेंछु ।’ साथमा फुस्स हाँसिन् पनि । मित्र सागर पनि फिस्स हाँस्यो ।  आज बाउको चिहानमा दियो बाल्न बिर्सिइन् आमाले । भोलि सम्झिन्छिन् होलिन् । पर्सी बिर्सनेछिन् । यसरी विस्तारै बाउको चिहानमा दियो बल्न छाड्दै जानेछ । यसरी विस्तारै घरले बाउलाई बिर्सँदै जानेछ । 

घरले बाउले किनेको आम्खोरा बेच्यो । अब काँसको थाल पनि बेच्नेछ । भड्डुको भाँडो बेच्नेछ । चुहिने भएर थन्किएको तामाको गाग्रो बेच्नेछ । यसरी घरले बाउको सम्झनाहरू बेच्दै जानेछ । अन्तिममा घर पनि घरजस्तो रहने छैन । आमा जो मसँगै काठमाडौंमा बस्छु भनिरहेकी छिन् । किनभने आमालाई घरमा बस्न उस्तो रमाइलो लाग्दैन रे ! लागुन् पनि कसरी, २८ वर्षकै उमेरमा कान्छी आमा घरमा जो भित्रिएकी थिइन् । हामी मुलघरबाट बाहिरियौँ । त्यसपछि एकपैटक १६ वर्षपछि बाउ विरामी हुँदा मात्रै बाउसँग सँगैजसो बसिन् ।  

पछि बाउ बिते । आमा मुल घर गइन् । आमाको मुल घरमा आगमन र बहिर्गमनको श्रंखला नै चलिरहेको छ । सायद, अब आमा यो श्रंखला सदाका लागि सकाउन चाहिन्छन् । र नै आमा  मसँगै काठमाडौं बस्ने योजना सुनाइबस्छिन् मलाई ।

०००
काठमाडौंमा एउटा कम्पनी रहेछ । जो मित्र सागर र मलाई थाहा थिएन । तर, गाउँलाई थाहा रहेछ । यस वर्ष एसईई दिन लागेकी श्रेष्ठ थरकी एक बहिनी सोध्छिन्, ‘दाइ तपाईंहरूलाई ओरेन्ज कम्पनी थाहा छ ?,’ ‘हामीलाई त थाहा छैन त बहिनी ।’ ‘त्यो के १५ हजार पैसा राखेर आफूले ग्राहक बनाउनुपर्ने । त्यसपछि कमाइ हुने । काठमाडौंमा पनि अफिस छ रे नि ?’
भाइटीकाको बिहान । खोटाङको ऐसेलुखर्क बजार । एक सानो होटेल । खाना खाँदै गर्दा ती बहिनीले सोधिन् । उनको जिज्ञासा उपर हामी अन्जान रह्यौँ ।

उनका अनुसार एक मार्केटिङ कम्पनी रहेछ । हलेसीमा भेटेका रे एजेन्टलाई । सुरुवातमा १५ हजार राख्नुपर्ने । त्यसपछि आफूले त्यस्तै ग्राहक बनाउनुपर्ने । कमाइ हुने महिनाको २२ हजार ।जम्मा १७ वर्षकी किशोरी । विवाह पनि गरिसकेकी । कानुनले विवाहको मान्यता दिने उमेरभन्दा कममा विवाह गरेकी भए पनि उनको अनुहारले गाम्भीर्यता र जिम्मेवारी बोकेको देखिन्थ्यो । चन्चल, विन्दास हुनुपर्ने उमेरमा उठाउनुपर्ने पारिवारिक भारीले थिचिएकी देखिन्थिन् । र उनलाई जागिर चाहिएको रहेछ ।

जागिरका लागि ओरेन्जजस्ता मार्केटिङ कम्पनी गाउँ पुगिसकेछ । गाउँलाई बाँधिसकेछ । गाउँको विस्वास लिइसकेछ । जसको प्यान नम्बर छैन । सरकारले गैरकानुनी दरार गरेको छ ।हामीले बुझे जतिका सबै घटनाक्रम, त्यस्ता कम्पनीको स्वभाव बतायौँ । ती किशोरीका आपाआमाले पनि सुने । उनका आपाले भने, ‘त्यै त कम्पनी भन्छ, अफिस छैन । पैसा राख्नु भन्छ । फसाउने होला भनेर शंका त लागिरहेको थियो ।’

खाना खाइसक्यौँ । पैसा तिर्यौँ । सोलु जाने बाटो लाग्यौँ । हिँड्नुअघि ती किशोरीले सोधिन्, ‘काठमाडौंमा मैले जागिर पाउँछु कि पाउन्न दाइ ?’ यस प्रश्नको जवाफ थिएन हामीसँग । होओस् पनि कसरी ! जवाफमा फिस्स मुस्कुरायौँ । एउटा विवश र ओइलाएको मुस्कान त्यहीँ छाडिदियौँ । 

आखिरमा गाउँसँग के छैन ? जो सहरसँग छ । जसले मानिसलाई तानिरहन्छ । सहरप्रतिको यही आकर्षणले गाउँ लोभिभइरहेको छ । गाउँले आफैंलाई बिर्सिरहेको छ । सडकको चाहनाले हलो चाहिने उब्जाउ बारीमा डोजर कुदाएको छ गाउँले । चाउचाउमा अभ्यस्त हुँदैछ । मुलको पानी होइन, मिनरल वाटर चाहन्छ गाउँ । भाकाहरू होइन, लाउरे र भिटेन चाहन्छ गाउँ । 

तर, म ? म पनि त उही हुँ । सहरको लतमा फसेको छु । वेला वेला गाउँ जाउँला रे ! स्मृति र विगतका डोबहरू खोजिबसुँला रे ! गाउँप्रति गुनासो राख्दै लेखुँला पनि । गाउँलेहरू पनि मजस्तै त हुन्, जो हजारौं सपनाको लासहरूको चिहानमाथि ठडिएको सहरसँग नजिक हुन चाहन्छन् । नजिक हुन नसक्नेका खातिर गाउँमा डोजर पुग्छ । पल्सर, अपाचेहरू पुग्छन् । र गाउँ धुलो उडाउँदै हुइँकिन्छ ।
०००

See More On

सुझावित समाचार