एउटा संस्थाले मलाई क्यानडा लैजाने भन्दै पैसा उठाएछ
करिब दुई दशकअघि महोत्तरीमा आङ नै सिरिंग हुने घटना भएको थियो । त्यो घटनाका मुख्य पीडित पात्र थिइन्, मरनीदेवी साह । उनी तत्कालीन सिमरदही गाविस–२ र हाल मटिहानी नगरपालिका–९ निवासी हुन् । मरनीदेवीको स्मृतिबाट त्यो दर्दनाक घटना आज पनि मेटिएको छैन । मरनीदेवी सयौँजनाको भिडले घेरिएकी थिइन् । उनलाई गाउँलेहरूको एउटा समूहले बोक्सी भन्दै पोखरीमा डुबाउँदै मरणासन्न हुने गरी कुटेको थियो । उनको सहारा कोही थिएन ।
घटना सार्वजनिक भएपछि सबैको चासो बढ्यो । एनजिओ र आइएनजिओहरू उनको उद्धार गर्ने भन्दै सलबलाए । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले २५ हजार राशीसहित ‘राममाया राष्ट्रिय दलित महिला सेवा पुरस्कार’ नै दियो । अन्य विभिन्न संघसंस्थाले काठमाडौंसम्म बोलाएर उनलाई सम्मान गरी आर्थिक सहयोग पनि गर्यो । तर, दुई दशक बित्न लाग्दा आजभोलि के गर्दै छिन् मरनीदेवी ? के उनको जीवन फेरियो त ? उनी पहिलाजस्तै आत्मविश्वाससहित बाँचिरहेकी छिन् ?
०००
हामी केही साथीहरूसहित मरनीदेवीको घर खोज्दै पुग्यौँ । खरले छाएको झुपडी उस्तै थियो । माघको जाडोमा उनी पिँढीमा बसी चिया पिउँदै थिइन् । घरभित्र सरकार र विभिन्न संस्थाहरूले दिएको प्रमाणपत्र र सम्मानपत्र थिए । ती प्रमाणपत्र धुवाँले मैलो भइसकेको थियो । उमेरले ६ दशक काटिसकेकी उनलाई त्यस दिनको दर्दनाक घटना सम्झाउँदा सुरुमा बोलिनन् । पछि बिस्तारै त्यस दिनदेखि आजसम्मका केही घटना सुनाइन् ।
त्यो दर्दनाक घटना
वि.सं. ०५८ असार ६ गते मरनीदेवी घरमै महादेवको पूजामा व्यस्त थिइन् । पूजामा आरती गर्न कपुरको आवश्यकता पर्यो । कपुर ल्याउन छिमेकी जोगेन्द्र साहको १६ वर्षीय छोरा सञ्जय साहलाई दुई रुपैयाँ दिएर पठाइन् । सञ्जयले मानिरहेका थिएनन् । पछि उनले एक रुपैयाँको कपुर ल्याएर एक रुपैयाँ फिर्ता दिए । कपुर दिएर बसेको केही छिनमै सञ्जय मुर्छा परे, र पछि उनको मृत्यु भयो । उनी मिर्गीका रोगी थिए । त्यसपछि मरनीदेवी बोक्सी भएको र उनैले सञ्जयलाई मारेको आरोप लाग्यो ।
मरनीदेवीलाई बोक्सी बकाउने कुरा गाउँमा चल्यो । तत्कालीन गाविस अध्यक्ष नवलकिशोर सहनीसहितले बोक्सी बकाउने योजना बनाए । बोक्सी बकाउने कार्यक्रमको प्रसाद खान गाउँमै उर्दी जारी गरियो र नआउनेलाई ५० हजार जरिवाना तिराउने हल्ला गाउँमा चलाइयो । मरनीदेवीलाई बोक्सी सावित गराउन घरबाटै लछारपछार र कुटपिट गर्दै बाहिर ल्याइयो । उनलाई पोखरीमा डुबाउँदै कुटियो । उनी बेहोस भइन् ।
मरनीदेवी एक महिना अस्पताल बसेर आउँदा गाउँ नै सुनसान थियो । आफूलाई कुट्ने २१ जनाविरुद्ध उनले जाहेरी दिएकी थिइन् । पक्राउ पर्नेहरू परे । अन्य गाउँका मानिसहरू आफूलाई बोक्सी नै भएको ठान्दै भेट्न कोही पनि नआएको उनको स्मृतिमा ताजै छ । मिडियाले घटना बाहिर ल्याएपछि देश–विदेशबाट सहयोग गर्नेहरूको लर्को लाग्यो । गाउँमा बाहिरका मान्छेहरूको घुइँचो लाग्न थालेपछि बिस्तारै गाउँवासी उनीसँग बोल्न थाले । घटनापछि उनको गाउँमा संघसंस्थाहरूको लर्को बलिउड फिल्म ‘पिप्ली लाइफ’मा जस्तै भयो । मरनीदेवी मुख्य समाचार बनिन् । एनजिओ र आइएनजिओका झोले कार्यालयहरू उनको गाउँमै खुले । केहीले आर्थिक सहयोग गरे । कसैकसैले त विदेश नै लगिदिन्छौँ समेत भने ।
कुटपिटमा संलग्न केही व्यक्तिलाई थोरै आर्थिक जरिवाना भयो । गाविस अध्यक्ष नवलकिशोर सहनी र उनका भाइ केही दिनमै ५४ हजार धरौटीमा अदालतको आदेशमा छुटेको उनले थाहा पाइन् । कुटपिटमा संलग्न केही गाउँले सुरुमा फरार भए पनि पछि गाउँ फर्किए । उनी भन्छिन्, ‘घटना भएको २० वर्ष पुग्न लाग्यो । अझै मैले न्याय पाएँ कि पाइनँ, थाहा छैन ।’
२०६० असार २५ गते जिल्ला अदालत महोत्तरीको फैसलाले मुख्य अभियुक्त सहनीसहित चारजनालाई जनही नौ हजार, मृतक सञ्जय साहका बुबा जोगेन्द्र (निरसन) सहित आठजनालाई जनही पाँच हजार र नन्दकिशोर मण्डललाई एक हजार जरिवाना गर्यो । २०६० वैशाख २३ गते राष्ट्रिय मानव अधिकार आयोगले मरनीदेवीमाथि अन्याय भएको भन्दै सरकारलाई ३० हजार क्षतिपूर्ति दिन भन्यो । त्यो क्षतिपूर्ति उनले पाइन् । वि.सं. २०६३ को पुनरावेदन अदालत जनकपुरले जिल्ला अदालतको फैसला सदर गर्दै थप दुईजनालाई सफाइ दियो । सर्वोच्च अदालतले २०६४ चैत २१ गते गरेको फैसलाले पुनरावेदन अदालतको फैसलालाई नै सदर गरेर मरनीदेवीको पक्षमा फैसला गर्यो ।
०००
मरनीदेवीको घाउ मिडिया र अन्य संघसंस्थाका लागि बासी लाग्दै गयो । लिखित कानुनको तर्फबाट उनले न्याय त पाइन् । तर, सामाजिक रूपमा उनको झुकेको शिर भने पहिलाको जस्तो उठ्न सकेन । उनको आत्मसम्मानमा निकै ठूलो खाडल बन्यो । समाजले उनको छातीमा रोपेको घाउ मेटिएन । बरु बल्झिरह्यो । त्यो घटनापछि उनको परिवारमा निकै ठूलो आघात पर्यो । दुई दशक बित्न लाग्दा समेत त्यो दिनको घटना उनीहरूको मस्तिष्कमा बिरानो भएको छैन । श्रीमान्, दुई छोरा–बुहारी र नाती–नातिनीहरूसँग बस्दै आएकी मरनीदेवी आज पनि वेलावेलामा झस्किन्छिन् । भन्छिन्, ‘मेरो परिवारले त्यसपछि प्रगति नै गर्न सकेन ।’ छोराछोरी, नातिनातिना घरभरि छन् । तर, उनको मन कता–कता दुखिरहन्छ । सम्मान गर्न धेरै ठाउँमा उनलाई बोलाइन्छ । तर, उनको भित्री मन भने कहिल्यै सम्मानित हुँदैन । आर्थिक अवस्था पहिला जस्तो थियो, अहिले पनि उस्तै छ । घरमा एक्लै बस्दा विगतको घाउले उनलाई दुखाउँछ । भन्छिन्, ‘बरु खेतबारीमा श्रीमान् (रामलखन साह) सँगै काम गर्न जान्छु ।’
समाजले दिएको चोट त छँदै छ, त्यसमाथि विभिन्न संघसंस्थाले उनको मन दुखाए । उनीसँग विभिन्न संघसंस्थाले दिएको धोकाको लामो फेहरिस्त छ । मरनीदेवीलाई धेरैजसो धोकेबाज संस्थाको पदाधिकारीको नामसमेत कण्ठ छ । उनी भन्छिन्, ‘एउटा संस्थाले मलाई क्यानडा लैजाने भन्दै पैसा उठाएछ । पछि जलेश्वर पुग्दा सबैले बधाई छ, भोज खुवाऊ भने । म छक्क परेँ । पछि बुझ्दा पो थाहा पाएँ । मेरो नाम गरेर पैसा उठाएर अरू नै विदेश घुम्न गएछ ।’