ब्राह्मणको सिपाही शूद्र नै किन ?

राजकिशोर रजक राजकिशोर रजक
शनिबार, १७ माघ, २०७७
डिजिटल संस्करण

हिन्दू समाजमा दलितको अवस्था दयनीय छ । दलितको दयनीय स्थितिबाट दुःखी भएर आफ्नो मन हल्का गर्न अधिकांश मानिस भन्छ, ‘हामीले दलितका लागि केही गर्नुपर्छ ।’ दलितको समस्यालाई हल गर्न चाहाने सायदै कुनै व्यक्ति भन्छ, ‘हामीले सवर्ण हिन्दूको हृदय परिवर्तनको लागि काम गर्नुपर्छ ।’ उसले सुधारको आवश्यकता केवल दलितमा देख्छ । दलितसँग काम गरेर मात्र अस्पृश्यताको भावना अन्त्य हुन्छ । सवर्ण हिन्दूको हृदय परिवर्तनको आवश्यकता देख्दैन । सवर्णको भावना र आदर्शलाई उच्च ठान्छ । सवर्णलाई पूर्ण मान्छ । उसमा कुनै खोट देख्दैन । जातीय विभेद, छुवाछुत भनेको दलितको सवाल हो । यसको लागि सवर्ण जवाफदेही छैन । अस्पृश्यता (दलित) माथि लज्जित हुनुको सट्टा सवर्णले जातीय विभेदलाई उचित ठहराउन हरदम कोसिस गर्छ । वस्तुतः अस्पृश्यता दलितको सवाल हुँदै होइन । मूलतः सवर्णको सवाल हो । सवर्णको अस्वीकार हो । सवर्ण जवाफदेही हुनुपर्छ ।  

हिन्दू समाजको ढाँचा 
दलित जातीय अत्याचारको विरुद्धमा संघर्षरत छ । उसको उद्देश्य सामाजिक न्याय हो । दलितको आन्दोलन किन सफल हुन सकेन ? के दलितको समर्थक कोही छैन ? यदि छ भने ती को हुन् ? किन दलितको आन्दोलनमा अरूले सहयोग गर्दैन ? देशभर दलितमाथि भइरहेको हत्या, बलात्कार, कुटपिट, उठीबासविरुद्धको आन्दोलनमा किन कोही देखा पर्दैन ? यी प्रश्नलाई बुझ्नका लागि हिन्दू समाज गठनको ढाँचालाई बुझ्न जरुरी छ ।

हिन्दू समाजको ढाँचा जटिल छ । हिन्दू समाज वर्ण–(अ)व्यवस्थामा आधारित छ । जसमा ब्राह्मण, छेत्री र वैश्य छन् जसलाई सवर्ण पनि भन्छ । अर्को शूद्र र अति–शूद्र छन् । शूद्र र अति–शूद्रलाई अवर्ण भन्छन् । शूद्र भनेको अन्य पिछडा वर्ग हुन् जसमा यादव, कुर्मी, कोइरी, धानुक, हजाम आदि जात पर्छन् । अति–शूद्र भनेको दलित हुन् । सवर्णलाई द्विज पनि भन्छ । द्विज भनेको जसको दुईचोटि जन्म हुन्छ । पहिलो आमाको गर्भबाट र दोस्रो उपनयन (जनै धारण) विधिबाट । अर्कोतर्फ शूद्र र अति–शूद्रलाई एकज भन्छन् । एकचोटि आमाको गर्भबाट मात्र जन्म हुन्छ । उपनयन हुँदैन । बुद्धले शूद्र र अति–शूद्रलाई बहुजन भनेका थिए ।

सवर्ण श्रम–क्षेत्रभित्र पर्दैन । उनीहरू हिन्दू समाजको विशेषाधिकार प्राप्त समुदाय हुन् । सवर्णले नै हिन्दू समाज (अ)व्यवस्थाको निर्माण गरे । सवर्ण यी (अ)व्यवस्थाबाट लाभान्वित वर्ग हुन् । सवर्णले लाभ–प्राप्त (अ)व्यवस्थालाई भत्काउन चाहँदैन । सवर्णको मुख्य लक्ष्य सामाजिक (अ)व्यवस्थालाई जुनसुकै हालतमा रक्षा गर्नु हो । हिन्दू समाज (अ)व्यवस्थाले सवर्णलाई ज्ञान, शस्त्र र धनमाथि एकाधिकार प्रदान गरेको छ । उक्त एकाधिकार छाड्न चाहँदैन ।

शूद्रको लागि हिन्दू समाज (अ)व्यवस्थाको नियम त्यति नै घृणास्पद छ जति अति–शूद्र (दलित)को लागि छ । विषयलाई सरल ढंगबाट बुझ्नका लागि मनु विधानमा फरक–फरक शीर्षकमा शूद्रको स्थितिसम्बन्धी नियमलाई हेरौँ :

सवर्ण गृह–स्वामीलाई सचेत गराउँदै मनुस्मृतिको ४.६१ मा भनिएको छ, ‘सवर्ण त्यो देशमा निवास गर्नु हुँदैन जहाँ शूद्र शासक हुन्छ ।’ ८.२७२.– यदि कुनै शूद्र उदण्डतापूर्वक ब्राह्मणलाई धर्मउपदेश दिने साहस गर्छ भने राजाले उसको मुख र कानमा तातो तेल हालिदिनुपर्छ । ४.९९.– ब्राह्मणले शूद्रको उपस्थितिमा वेदको अध्ययन गर्नु हुँदैन । वेद अध्ययन गरेको पाइएमा शूद्रको जिब्रो चिरिदिनुपर्छ र उसको कानमा तातो सीसा हालिदिनुपर्छ । १०.१२९.– कुनै पनि शूद्रले सम्पत्तिको संग्रह गर्नु हुँदैन । सम्पत्ति संग्रह गर्न जति नै सामर्थ भए पनि गर्नु हुँदैन । यदि शूद्रले धन संग्रह ग¥यो भने उसले आफ्नो उपेक्षापूर्ण व्यवहारबाट ब्राह्मणलाई कष्ट दिन सक्छ । ८.४१७.– यदि कुनै ब्राह्मणको जीवन संकटग्रस्त छ भने उसले निःसंकोच शूद्रको धन अधिग्रहित गर्न सक्छ । १.९१.– ब्राह्मणले शूद्रका लागि एउटै कर्तव्य निर्धारित गरेको छ –विनम्रतापूर्वक ब्राह्मण, छेत्री र वैश्यलाई सेवा गर्नु ।

केही प्रतिनिधिमूलक नियमहरू यहाँ उल्लेख गरियो । यस्ता कैयौँ नियम शूद्रका लागि निर्धारण गरिएको छ । यसका लागि मनुस्मृतिको श्लोक नं. (११.२४), (८.३७४), (८.२०), (८.२१),(३.१५६),(१०.२१), (१०.२२), (१०.१२३), (८.४१३), (१०.१२४), (१०.१२५), (८.२७०), (८.२७१) आदिमा उल्लेखित नियमबाट सहजै थाहा पाउन सकिन्छ कि मनु–विधान शूद्रका लागि कति घृणापूर्ण थियो । हिन्दू शास्त्रलाई जसले गहिरिएर अध्ययन गर्छ उसले विनाकुनै संकोच शास्त्रलाई जलाउन पछि हट्दैन । सायद त्यही भएर बाबासाहेव डा. अम्बेडकर र उनका अनुयायीहरूले २५ डिसेम्बर १९२७ मा मनुस्मृतिलाई दहन गरेका थिए । त्यही मनुस्मृति जसले वैचारिक रूपमा जातीय विभेद तथा अस्पृश्यतालाई वैधानिक बनाएको छ । बलिउडका सुपरस्टार अमिताभ बच्चनले ‘कौन बनेगा करोडपति’ कार्यक्रममा यो प्रश्न सोधेकै भरमा नै कट्टर हिन्दुत्व समूहले एफआइआर दर्ता गराएको थियो । 

शूद्र मनुवादी सिपाही
ब्राह्मण जसले हिन्दू सामाजिक (अ)व्यवस्थाको निर्माण गरे र सबभन्दा बढी लाभ प्राप्त गरे उसबाट मनुवादको विनाशको आश गर्नु मूर्खता मात्र हुनेछ । तर, वर्ण÷जात (अ)व्यवस्थाको विनाशका लागि प्रयास नभएको चाहिँ होइन । वर्ण होइन वर्ग–संघर्षबाट सर्वहारा (शूद्र तथा अति–शूद्र) क्रान्ति सम्भव छ भनेर विभिन्न कम्युनिस्ट आन्दोलन भए । झापा विद्रोहदेखि माओवादी जनयुद्ध पनि भए । हजारौँले बलिदानी दिए । श्रमिक वर्गको हित रक्षाका लागि संघर्षहङ भए, तर वर्गीय एकता आजसम्म हुन सकेन । माओवादीको आधार इलाकामा भएको जातीय हत्याकाण्डले प्रमाणित गर्यो कि कथित वर्गीय मुक्तिको आन्दोलनले मनुवादी विचारधारालाई थोरै भए पनि हल्लाउन सकेको रहेनछ । त्यो कुरा तब झन् स्पष्ट हुन्छ जब जनमुक्ति सेनाको तत्कालीन कमान्डरले जातीय हितको रक्षाका लागि पहलकदमी लिन्छ । भारतको माक्र्सवादी आन्दोलनको सन्दर्भमा डा. अम्बेडकरले भनेका थिए कि सर्वहारा वर्गको क्रान्तिको ऐतिहासिक जिम्मेवारी ब्राह्मण ब्वाइज (बन्च आँफ ब्राह्मण ब्वाइज)को नेतृत्वमा गएर सत्यानाश भयो । नेपालमा अम्बेडकरको भनाइ झन् बढी सान्दर्भिक देखिन्छ । 

नेपालमा दलितमाथि भइरहेको हत्या, बलात्कार, विस्थापन, कुटपिट तथा जातीय विभेद सबभन्दा बढी शूद्रबाटै भइरहेको छ । रुपन्देहीको अंगिरा पासीको बलात्कार, सप्तरीको त्रिभुवन रामको हत्या, सिराहाको रोशन रामको हत्या, रौतहटको निरञ्जन रामको हत्या मुख्यतः शूद्रबाटै भयो । हिन्दू समाज (अ)व्यवस्थालाई टिकाइराख्न अति–शूद्रमाथि आक्रमण गर्न अग्रभागमा ब्राद्मण आउँदैन । मनुवादभित्र रहेको हिंसाको चेतना र हिंसाको आवश्यकतालाई ब्राह्मणका सिपाहीको रूपमा शूद्रले नै काम गर्छ । 

जुन मनुवादले शूद्रलाई घृणा गरे, नीच व्यवहार गरे, मानव हुनुको दर्जासम्म दिएन, त्यसको विरुद्धमा विद्रोह गर्नुको सट्टा उल्टै दलितमाथि अत्याचार गर्छन् । मनुवादलाई रक्षा गर्ने कार्यमा सिपाहीको रूपमा काम गर्छन् । मनुवादलाई सबभन्दा बढी काँध थाप्छ । जब–जब अति–शूद्रले मनुवादलाई चुनौती दिन्छ तब–तब शूद्र मनुवादको सुरक्षा कवचका रूपमा अगाडि देखापर्छ ।

किन संगठित हुन सकेन ? 
शूद्र र अति–शूद्रको बीचमा एकता नहुनुको कारण हिन्दू समाज (अ)व्यवस्थाको क्रमिक असमानताको सिद्धान्तमा लुकेको छ । असमानता संसारको सबै देशमा छ । तर, हिन्दू समाजमा समानता र असमानताको अतिरिक्त क्रमिक असमानता (ग्रेडेड इनइक्वालिटी) प्रमुख सामाजिक ढाँचा हुन् । 

हिन्दू समाज (अ)व्यवस्थामा समानताको परिकल्पना गर्नु मूर्खता हुन्छ । सवर्ण असमानताबाट मात्र सन्तुष्ट भएन । उसले क्रमिक असमानताको पनि विकास गरे । बुद्धले क्रमिक असमानतालाई व्याख्या गर्दै भनेका छन् :

‘एक तो नीचे, उसके उपर, उसके और उपर तथा सब से उपर के वर्णो में घृणा को भावना पैदा कर देगी । दुसरी ओर उसी तरह सब के उपर, उसके नीचे, उसके और नीचे तथा सब के नीचे वर्ण में क्रमिक जुगुप्सा की भावना पैदा कर देगी ।’ 

जसको कारण हिन्दू समाज गृह युद्धमा फसेको छ । समाजमा स्थायी द्वन्द्व र संघर्ष कायम छ । द्वन्द्व र संघर्षलाई निरन्तरता दिनका लागि हिंसाको चेतना र हिंसाको आवश्यकता हुन्छ । असमानताको तुलनामा क्रमिक असमानता बढी खतरनाक र हानिकारक हुन्छ । असमानतामा विद्रोहको बिउ अन्तरनिहित हुन्छ । हिन्दू समाज (अ)व्यवस्थाको आधार केवल असमानता भएको भए उहिल्लै विद्रोह भइसकेको हुन्थ्यो । असमानतामा असन्तुष्टि हुन्छ । असन्तुष्टिले क्रान्तिको बिउका रूपमा काम गर्छ । उत्पीडितलाई समान शत्रु र समान कष्टको विरुद्ध संगठित हुने मौका प्रदान गर्छ । यदि हिन्दू समाजमा असमानता मात्र भएको भए शूद्र र अति–शूद्रको बचमा समान शत्रु र समान कष्टको विरुद्ध विद्रोह भइसकेको हुन्थ्यो । क्रमिक असमानताका कारण शूद्र र अति–शूद्र एकआपसमा मनुवादको विरुद्ध संगठित हुन सकेका छैनन् ।

शूद्र सवर्णको क्रमिक असमानताबाट सन्तुष्ट भएको छैन । शूद्र सवर्णसँग बराबरी चाहन्छ तर दलितलाई बराबरीको हैसियत दिन तयार छैन । जब शूद्र सवर्णलाई तल झार्न चाहन्छ, तब अति–शूद्रलाई माथि आउन दिन चाहँदैन । शूद्र ब्राह्मणको अपमान सहन तयार छ, तर हिन्दू समाज (अ)व्यवस्थालाई एउटा समान स्तरमा ल्याउनमा दलितलाई साथ दिन चाहँदैन । दलितलाई एकदमै अलग–थलग गरिएको छ । सबभन्दा दुःखद कुरा त के छ भने समान शत्रु र समान कष्टको विरुद्ध सवर्ण ब्राह्णवादसँग लड्नमा शूद्र दलितसँग संगठित हुन सकिरहेको छैन । अपमानित भएर मनुवादको सिपाही बनेर गुलामीको उत्सव मनाउनमा व्यस्त छन् । जुन दिन शूद्रमा अम्बेडकरी चेतनाको विकास हुन्छ त्यो दिन सवर्ण ब्राह्मणवादका विरुद्धमा हुने विद्रोहलाई कसैले रोक्न सक्दैन ।

(रजक अम्बेडकरी तथा बहुजन अध्येता हुन्) 

सम्पादकको रोजाइ

सुझावित समाचार