‘बधूशिक्षा’लाई दागबत्ती दिएर यो सत्ताको कान खानेगरी चिच्याउन मन छ
केही समयअघि पूर्वमिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले भनेको माथिको वाक्यले मनमा हलचल गरायो । कारण, उनले व्यक्त गरेको अनुभूति मेरो पनि थियो । अन्य कैयौँ बुहारीको पनि होला । यस्तो महसुस गर्ने जो–कोहीले निर्धक्कसँग ‘आई एम नट बुहारी म्याटेरियल’ भन्न सक्ने अवस्था कहिले आउला ! बुहारी भएकै कारणले मानिदिनुपर्ने हजारौँ नीति–नियमका घेरा, गाली र फत्तुरका उक्केराको अन्त्य कहिले होला !
सासूको नजरमा बुहारी सधैँ आफ्नो सत्तामाथि हस्तक्षेप गर्न आउने सौता, बुहारीको नजरमा सासू सधैँ दमनकारी शासक लाग्छिन् । एक–अर्काप्रति यस्तो द्वेषपूर्ण धारणा राख्ने दुई प्राणी जबर्जस्ती एकै छानोमुनि कोचिनुपर्दा समस्या हुने नै भयो । मसँग सासू हुनुको अनुभूति छैन । त्यसैले, सासूका दुःखबारे सहानुभूति राख्दै बुहारीको मनोभावनाबारे बताउने जमर्को गरेकी छु ।
पहिला हाम्रो हुर्काइबारे कुरा गरौँ । हामीमाथि दमन र थिचोमिचो गर्न कहिलेबाट सुरु भयो ? कसले सुरु ग¥यो ? यसको जवाफ खोज्न टाढा जानुपर्दैन । म आफ्ना तिता अनुभूति सम्झिन खोजिरहेकी छु ।
मलाई याद हुँदा पाँच वर्षकी थिएँ । बरन्डाको एकछेउमा कुटी काट्ने राखिएको थियो । त्यसैसँग खेलिरहेकी थिएँ । मेरी दिदी (ठूलो बुबाकी छोरी) र उनकै समकालीन माख्लो घरकी दिदी मेरो छेउमै बसिरहेका थिए । उनीहरूले सतर्क गराए, ‘हात काट्छ, त्यो कुटी काट्ने नचला ।’ जाबो हात काट्न सक्ने सम्भावनाका लागि आफू किन खेल्न छोड्ने ? मैले ठूलै कुरा गरेँ, ‘काटोस् न त, मलाई डर लाग्दैन । मैले आफैँलाई ढाटेँ । उनीहरूले पत्याएनन् । फेरि हप्काए, ‘नचला भनेको ।’ त्यो ढाँटलाई सत्य बनाउन मैले झन् ठूलो कुरा गरेँ, ‘म त जानीजानी आफ्नो हात काटिदिन पनि सक्छु ।’ उनीहरू पनि के कम । चुनौती दिए, ‘लु काट् त हेरुँ ।’
जन्मिनेबित्तिकै मलाई लोग्नेको घरपरिवारका लागि तयारी गर्न सिकाइँदै थियो । मानौँ बिहे अघिको मेरो जीवनको कुनै अर्थ छैन । घरमा दूधका निम्ति पालिएको गाईजस्तो, मासुका निम्ति पालिएको खसीजस्तो, म बिहे गरेर पठाइनका निम्ति हुर्काइएकी थिएँ ।
अहो ! मेरो अहं । त्यति ठुलो कुरा गरिसकेपछि कसरी हात नकाट्नु ! म सुर्रिएँ । कुटी काट्ने दाउ माथि उचालिसकेकी थिएँ । घाँस हाल्ने ठाउँमा औँलो बसिसकेको थियो । तैपनि दिदीहरूले दया देखाइहाल्छन् कि भन्ने आसले एकपटक फेरि सोधेँ, ‘साँच्चै काटिदिउँ ?’ उनीहरूको पनि भगवान्कै बोली । भने, ‘साँच्चै ।’ अनि त के थियो । मैले दाहिने हातको माइली औँलो चर्लक्कै पारेँ । ठिक्क गोलीगाँठोमै परेछ । अलिकतिले औँलो नचुँडिएको ।
एक हप्ता नियमित ड्रेसिङ गरियो । अलि दिनपछि पट्टी खोलियो । तर, दुखाइ कम भएन । औँलो सीधा पार्दा बेस्मारी दुख्थ्यो, त्यसैले खुम्च्याइराख्थेँ । ममीले हप्काउनुहुन्थ्यो– औँलो बंग्या न । पछि साथीहरूले बांगा औँले भनेर जिस्क्याउँदा थाहा हुन्छ । हजी (हजुरामा) कराउनुहुन्थ्यो, ‘पछि लोग्नेले, सासूले बांगा औँला भएकी केटी भनेर हेला गर्दा अनि थाहा पाउँछेस् ।’ त्यसको केही समयपछि बुबा घर आउनुभयो । मेरा औँलाले चम्चा पकड्न जान्दैनथे । काटेको औँलोले तातो भात टपक्क टिप्न अरू औँलालाई भर दिँदैनथ्यो । माइली औँलो बाहिर निकालेर बाँकी चार औँलाले भात खान्थेँ । हेर्दा अनौठो देखिएको हुँदो हो, बुबाले हप्काउनुभयो, ‘त्यो औँलो किन बाहिर निकालेकी, भित्र हालेर भात खा ।’ ‘दुखेर होला, पैला यसरी खान्नथी ।’ ममीको कुरा बुबाले मान्नुभएन, ‘बूढी हुन्जेल यसरी खाने बानी लाग्यो भने, के भन्छन् मान्छेले, त्यसका बाउआमाले भात खान पनि सिकाएनछन् भन्दैनन् ?’
बुबाले इंगित गरेका मान्छे मेरा भावी लोग्ने, सासूससुरा र तिनका नातेदार थिए । मेरो औँलो त्यतिवेला काटिएको थियो, जतिवेला मलाई बिहे, लोग्ने, सासूससुराबारे कत्ति पनि ज्ञान थिएन । मलाई त्यतिवेला दुखेको थियो, पीडा त्यतिवेला भएको थियो, तर औँलो बांगो होला भन्ने डर, पछि कुटुम्बले के भन्लान् भन्ने डरसँग जोडिएको थियो । मेरो त्यतिवेलाको कष्ट नगन्य थियो । मैले अचाक्ली पीडा सहेर पनि दुखेको औँलो जबर्जस्ती मुखभित्र कोच्नुपर्यो ।
बुबाले नदेख्दा औँलो बंग्याइहाल्थेँ । औँलो पहिलाजस्तो सोझो भएन । म बांगा औँले नै भएँ । दाँत ठुल्ठूला फग्ल्याँटा भएर निस्किए, एकै हरफमा मिलेर बसेनन् । म दिदीभाइको तुलनामा निकै काली थिएँ । कपाल गाउँटोलभरिमै मेरोजस्तो घुँग्रिएको कसैको थिएन । घरमा काम बिगार्दैपिच्छे मैले पाउने गाली यस्ता हुन्थे– फरुवा दाँते, दारे, बांगा औँले, काली, गुन्द्रुके । १०–१२ वर्ष पुग्दा नपुग्दै मैले थाहा पाइसकेकी थिएँ, मजत्तिको नराम्रो यो संसारमा कोही छैन । सँगै मैले थाहा पाएँ अब मलाई कसैले बिहे गर्दैन । अर्थात् बिहे गर्नलाई छोरीमान्छेमा हुनुपर्ने रूप, सौन्दर्य ममा शून्य छ । यस्ता कुराले मलाई झन्झन् जब्बर र जिद्दी बनायो ।
भित्र कता यी कुराले चस्स बिझ्थ्यो, तर त्यसको छनक अरूलाई दिँदा कमजोर भइन्छ भन्ने चेतनाले तत्काल जवाफ फर्काउँथेँ– म काली भएर तिमेरुलाई के भयो ?, औँलो बांगो भयो भने त घिउ झिक्न सजिलो हुन्छ, मेरो कपाल सर्लक्क हुँदाचाहिँ के हुन्थ्यो, मेरा दाँत जस्ता भए पनि तिमेरले चपाइदिनु पर्दैन । यसरी जवाफ फर्काउन थालेपछि मेरो अर्को अवगुण अर्थात् बिहे गर्नका लागि अयोग्यताको अर्को प्रमाणपत्र पनि थपिया । सम्झिन्छु बिहे गर्नु नपर्ने भए, अर्काको घरमा जानु नपर्ने भए छोरीमान्छेको सुन्दरताका लागि घर, समाज यतिबिघ्न ‘जज्मेन्टल’ हुँदैन थियो कि !
हुर्किँदै जाँदा एकपछि अर्को उपनाम पाउँदै गएँ । कैयौँले यस्ता नाम पाएका छन् । पाइरहेका होलान् । मजस्तै मुखाले भएर सँगसँगै जवाफ फर्काउनेहरूलाई पनि ती विशेषताले भुसको आगोझैँ भित्रभित्रै डढाइरहेको हुन्छ । म सोच्न पनि सक्दिनँ, मुखाले पनि हुन नसकेका कथित नराम्रालाई परिवार, समाजले दिएको उपमाविरुद्ध बमन गर्न नपाउँदा कति गाह्रो हुन्छ होला ?
मेरा कथित कमजोरीमाथि प्रहार गर्नेलाई उनीहरूको भन्दा ठूलो डाको गरेर म आफ्नो बचाउ गर्न सक्थेँ । उपर्युक्त गालीले ममा कुनै प्रभाव नपरेको सफल अभिनय गर्न सक्थेँ । अरूलाई त्यस्तो भान पार्न खोज्दाखोज्दै आफूलाई पनि त्यही विश्वास हुन थालेको थियो, तर भित्रभित्रै मुसाले दुलो पारेजस्तो मनको घरमा भ्वाङैभ्वाङ परेको रहेछ । कलिलो मस्तिष्कमा यस्ता कुरा गढेर बसेका हुँदा रहेछन् । फलस्वरूप, सानैदेखि बिहे, लोग्ने, सासूससुरा भन्ने शब्ददेखि एक प्रकारको डर, त्रास, घृणा, उपेक्षा उत्पन्न हुँदोरहेछ ।
मसँग विचार जन्मिनुअगावै सामाजिक मान्यताले जरा गाडिसकेको थियो । गाउँघरमा सासूबुहारी, लोग्नेस्वास्नीको झगडा देख्थेँ । सासूससुराले बुहारीको उछित्तो काडेको सुन्थेँ । कहीँ जाँदा अनुमति पाए मात्र जानुपर्ने, भनेकै दिन जागिरमा जस्तो टुप्लुक्क हाजिर हुनुपर्ने कुरा मेरा लागि असह्य थिए । त्यसमाथि आफ्ना तमाम कमजोरी (जो समाजले निर्धारण गरिदिएको थियो) लिएर कसरी अर्काको घरमा जानू ? कसैबाट तिरस्कृत हुनुपहिला नै किन त्यस कुरालाई अस्वीकार नगर्ने ? मैले बिहे नगर्ने सोच बनाएँ ।
छोरीमान्छेले सिक्नुपर्छ भनिएका कामप्रति पनि उस्तै वितृष्णा पलाउन थाल्यो । हजी फकाउनुहुन्थ्यो– यता आइज न म टपरी गाँस्न सिकाइदिन्छु ।
–यी हेर् बत्ती यसरी कात्नुपर्छ ।
दुईवटा पात उल्टोसुल्टो खप्टिएर टुप्पोतिर मोडेर सिन्का छिराउँदै भन्नुहुन्थ्यो, ‘दुना यसरी सिउनुपर्छ ।’
किन सिक्नु ? आफूलाई बिहे गर्नु नै छैन । उसमाथि हुँदै नभएकी सासूको डर देखाउँदा कसले टेरोस् ? बूढापाकाले गर्ने काम गरेर बस्न उसै पनि झ्याउ लाग्ने उमेर । हजी, ममी दुवैको ओठमा एउटै जवाफ हुन्थ्यो– पछि कुटुम्बले के भन्छन्, तेस्की साडलाई सिन्कै भाँच्न सिकाएनछन् भन्दैनन् ? हामीलाई पो अबगाल आउँछ त बाबै । मेरो उही ओठे जवाफ, ‘म बिहे नै गर्दिनँ, गरे पनि आमाबाबु मरेको केटोसँग गर्छु अनि कसले गर्छ गाली ?’
किन सिक्नु ? यो मेरो प्रश्न मात्रै थिएन, कामबाट पन्छिन । जिज्ञासा पनि त थियो । त्यतिवेला मलाई भनिएको भए, यो काम जान्दा पछि तँलाई फाइदा हुन्छ । सायद म अल्छी गर्दै भए पनि सिक्दी हुँ ।
नानी पाउनु कैलेकैले कोक्रो बुन्नु ऐले भनेजस्तो जन्मिनेबित्तिकै मलाई लोग्नेको घरपरिवारका लागि तयारी गर्न सिकाइँदै थियो । मानौँ बिहेअघिको मेरो जीवनको कुनै अर्थ छैन । घरमा दूधका निम्ति पालिएको गाईजस्तो, मासुका निम्ति पालिएको खसीजस्तो, म बिहे गरेर पठाइनका निम्ति हुर्काइएकी थिएँ । म त्यसरीनै तालिम गराइँदै थिएँ ।
यद्यपि, म मान्छे थिएँ । पढ्दै थिएँ । पढाइँदै थिएँ । पढ्दै गर्दा मभित्र बिहेको डर हराउँदै जान थाल्थ्यो, आफ्ना कमजोरीमाथि जित्दै जान थाल्थेँ, त्यत्तिकैमा कोही आउँथे र सम्झाइहाल्थे– जति पढे पनि छोरीमान्छेले अर्काको जुठो भाँडो नमाझी हुँदैन । धेरै पढे भने पनि छोरीको बिहे गर्न गाह्रो हुँदोरैछ हौ । आफूभन्दा कम पढेका केटासँग बिहे गर्न मान्दैनन् ।
बुहारी हुन्जेल जे पनि सहेर बस । सासू भएपछि त्यसको ब्याज, स्याज फर्काएर लेऊ भन्ने पितृसत्ताको आदेश हामीलाई मान्य छैन । हामीलाई सासूले दबाएको पीडाको बदला बुहारीलाई कज्याएर लिनुछैन ।
हुर्किँदै जाँदा मलाई पनि लाग्न थाल्यो, बिहे गर्नुपर्छ कि ! आफन्त, साथीभाइ जसको बिहेमा गए पनि बेहुलीलाई नियालेर हेर्थेँ । विशेषगरी। उसका दाँत, कपाल, छाला, औँला । सबै बेहुली आफूभन्दा सुन्दर लाग्थे । मलाई औडाह हुन्थ्यो, म साँच्चिकै बेहुली हुन लायक छुइनँ । सोच्थेँ, ‘मेरो बिहे हुँदैन ।’ मनमनै भन्थेँ, ‘म बिहे गर्दिनँ ।’
जति पढे पनि जुठा भाँडा माझ्नैपर्छ, यिनले पढेकै राम्रो केटा पाउनका लागि, अर्काको घर जानैपर्ने जातजस्ता कुरा सुन्दै हुर्केका हाम्रो सपनाको मुना निमोठिन्छ, कसैले नदेख्ने गरी । हाम्रो सपनाको घाँटी किन निमोठिदै छ ? कसले निमोठ्दै छ ? थाहा पाउनुअगावै हामी भुत्ते भइसक्छौँ । हामीमा न आफ्नो सपना सार्थक बनाउने धार बाँकी रहन्छ न हामीलाई बेकामे बनाउनेहरूसँग जुध्ने शक्ति ।
अन्त्यमा पारिवारिक, सामाजिक दबाबमा परेर, बिहे गरुँ–नगरुँको अन्तद्र्वन्द्वमा पराजित भएर बिहे गर्न तयार भएकी एउटी निःशस्त्र स्वास्नीमान्छेको मनोदशा बिलकुल पराइघरमा छिर्दा कस्तो होला ? यो समाज, संस्कार, पद्धतिलाई जानिराख्नुपर्ने विषय कहिले लागेन ।
बिहेअघि कस्तो घर, लोग्ने पर्ला भनेर डराएकी युवती, बिहेपछि नयाँ घरपरिवार देखेर उस्तै डराउँछे । अर्काको घरमा उठ्दा पनि डर, बस्दा पनि डर । अलि धेरै खाँदा खान नपाएकी रैछे भन्लान् कि भन्ने डर, नखाँदा खान नजानेकी रैछे भन्लान् कि भन्ने डर । कति बोल्नुपर्ने, के–के बोल्नुपर्ने ? ठ्याक्कै हिसाब ननिस्कने । अलि धेरै बोले मुखाले भइहाल्ने, अलि कम बोल्यो घुसघुसे भइहाल्ने, लाटी, सोझी भनेर हेपाइ खाइहाल्नुपर्ने । कसैलाई ढोगेको भाती नपुग्ने, कसैलाई हाँसेकै मन नपर्ने । यो सकसको अवस्थाबाट बाहिर निस्कनै नसकी कैयौँ यही पद्धतिको पहरेदार भएर निस्किन्छन् अलि समयपछि । निस्किएका छन् । हामी जो यो पद्धतिमा घुल्न पनि नसक्ने र अलग हुन पनि नसक्नेहरू छौँ, कुनै न कुनै रूपबाट विद्रोह गर्छौँ ।
एकातिर, आफ्नो पढाइ, बुझाइ, देखाइ छ जसले हामीलाई बुहारी हुनुको घेराभित्र नबस्न उक्साइरहन्छ, अर्कातिर त्यो घेरा तोड्दा अश्लील, अमर्यादित, असामाजिक भइने डर । एकातिर हाम्रो आँट, हिम्मत, बहादुरीको आफ्नै इतिहास छ, अर्कातिर हाम्रो निरीहता, त्याग र समर्पणको कथा लेखिँदै छ ।
‘तिमी जाने घरमा भगवान्जस्ता मान्छे हुन्छन् । आमाले जस्तै तिमीले नजानेका काम सिकाउँछन्, सन्चो–बिसन्चोको ख्याल राख्छन् । यो पनि तिम्रो आफ्नो घर हो । त्यो पनि तिम्रो आफ्नो हुन्छ । त्यहाँ कसैले नराम्रो गरे यहाँ आऊ हामी छँदै छौँ ।’ सानैदेखि छोरीलाई यसरी हुर्काएको भए हाम्रा बुबाआमाको के जान्थ्यो ? यो समाजको के जान्थ्यो ? यो धर्म, परम्परा, यो सत्ताको के जान्थ्यो ?
बुबाआमाले डर देखाएजस्तो लोग्नेले हेला नगरोस्, भलै सासूससुराले खिल्ली नउडाऊन्, नयाँ घरले उसलाई फूल ओछ्याएरै स्वागत गरोस्, तर माइतीको कुकुर पनि प्यारो भनेजस्तो पराइघरको हावा नै गन्धे । समाजमा गर्भैदेखि लादिएका स्त्रीद्वेषी विचारको खात छ, जसले उसलाई नौलो घरमा ऊ भएर बाँच्न पटक्कै दिँदैन । नयाँ घरमा दुलही भित्रिनासाथ उसको रूपरंग, आनीबानीको नापजाँच गर्न फित्ता लिएर बस्नेहरूले यी कुरा कहिले महसुस गर्लान् ?
समयले दिएको स्वस्फूर्त सुविधालाई देखाएर आजका बुहारीलाई ख्याल सुख छ र, आगो फुक्नु पर्दैन, घर लिप्नु पर्दैन, भनेर चोक–चौतारामा बसेर गफ छाँट्ने लोग्नेमान्छेलाई दुई दिन ससुरालीमा बस्नुपर्दा पिलो निस्केजत्तिकै साह्रो पर्छ । तैपनि तिनकै होमा हो मिलाउँदै हामी मानिदिन्छौँ, जुग त फेरिएकै हो नि ।
हामीलाई बुझ्ने भएदेखि लोग्नेको घरलाई भुतघरजस्तै डरलाग्दो घरका रूमा बुझाइयो । सासूससुरालाई पुराणमा सुनाइने असुर–दैत्यका रूपमा चिनाइयो । तिनका आफन्त, छिमेकी, इष्टमित्र सबै राक्षस गणजस्ता होलान् भन्ने भान पारियो । यत्तिको डर एकैपटक देखाइएको भए सायद हामी बिहे भन्ने शब्द सुन्नासाथ हर्टअट्याक भएर मथ्र्यौँ होला । स्लो पोइजनजस्तो बिस्तारै–बिस्तारै हामीभित्र बिहेको पोइजन घुसाउन थालियो । यसको विकल्प खोज्ने कुरा सोच्नसम्म नसक्ने बनाइयो ।
अचेल बुझ्न थालेका छौँ सत्य हामीले मान्न छाडिदिएपछि एक्लै उभिन सक्दैन । थाहा पाउँदै छौँ, डर हामीले मान्न छाडिदिएपछि हामीलाई तर्साउनेसँगै फर्किनेछ, निम्छरा हामी बन्न छोडेपछि ठूलो डाँको गर्नेहरूको स्वर पनि लुरे हुनेछ, हामी शासित हुन छोडेपछि शासन गर्नेहरूको सत्ता ढल्नेछ । परिणामतः आजभोलि बुहारीले सासूससुरालाई शासन गरेको, कतिपय ठाउँमा दमनै गरेको पनि देख्न, सुन्न पाइन्छ । हामी पिँढीमा बसेर सुस्केरा हाल्छौँ, के कलियुग आयो नि बरै ! आफैँले पक्षपोषण गरेको सत्ताले निम्त्याएको रोगलाई चिन्न ढिला भइसकेन र ?
कुनै छोरी–बुहारीले मात्रै यो पुस्तैनी प्रणालीलाई भत्काउन सम्भव छैन । त्यसो भनेर अबका छोरी–बुहारी सासू भएपछि सत्ताको बागडोर सम्हाल्नु भनेर पालो पर्खेर बस्ने छैनन् । बुहारी हुन्जेल जे पनि सहेर बस । सासू भएपछि त्यसको ब्याज, स्याज फर्काएर लेऊ भन्ने पितृसत्ताको आदेश हामीलाई मान्य छैन । हामीलाई सासूले दबाएको पीडाको बदला बुहारीलाई कज्याएर लिनुछैन । सासूसँगको हिसाब–किताब सासूसँगै फत्ते गर्न आजका बुहारीलाई यो सत्ताले पनि रोक्न सक्नेछैन । त्यसको छनक समाजमा देखिँदै आएको छ ।
‘हास्नु छैन कदापि नारीहरूले वेश्या हुने हाँस्छन्, वेश्या लौ नहोऊन्, तथापि घरको कामकाज ती सबै नास्छन्’ भानुभक्तका यस्ता उपदेशका ठेली मक्किएको निकै भइसके पनि त्यसको आत्मा अझै हामीमा सञ्चारित छ । पालदेखि कपडासम्मको लम्बाइ अरूले नापिदिए अनुरूप हुनुपर्ने, आफ्नो जिब्रोमा अरूको स्वादको हैकम चल्ने, तर भान्साबाट एक छाकको फुर्सद नपाइने, ससाना काम बिग्रिँदा ठुल्ठूलो गाली, अपजस, फत्तुर बुहारी हुनुकै नाताले सहनुपर्ने बाध्यताबाट अबका बुहारीलाई उन्मुक्ति चाहिएको छ ।
‘बधूशिक्षा’लाई दागबत्ती दिएर यो सत्ताको कान खानेगरी चिच्याउन मन छ मलाई, ‘आई एम नट बुहारी म्याटेरियल ।’