बलबहादुर बस्नेत : दोस्रो विश्वयुद्धका युद्धबन्दी

इतिहास

मन खत्री ‘सागर’ मन खत्री ‘सागर’
शनिबार, १५ कार्तिक, २०७७
डिजिटल संस्करण

उमेरले सयको संघारमा हिँडिरहेका बलबहादुर बस्नेत बाग्लुङ गलकोट नगरपालिका–५ भैँसेमा वि.सं. १९७९ मा जन्मिएका हुन् । उनको बाल्यकाल गोठालो गएर बित्यो । उनले कहिल्यै विद्यालय टेक्न पाएनन् । १६ वर्षकै उमेरमा उनी गलकोटबाट गल्लाको पछि लागेर ब्रिटिस गोर्खा सैनिकमा भर्ती हुन पुगे । खाली खुट्टा, कछाड र दौरा लगाएर गोरखपुर पुगेका उनी दोस्रो विश्वयुद्धमा होमिए । त्यसवेला आफू मरिन्छ भन्ने एकरत्ति पनि नसोचेको उनी सुनाउँछन् । 


दोस्रो विश्वयुद्ध सुरु भएकै वर्ष १३ सयजना साथीहरूसहित बलबहादुर गोरा कमान्डरहरूको नेतृत्वमा भारतको बम्बैबाट समुद्री बाटो हुँदै बर्मा, सिंगापुर, इन्डोनेसिया, मलेसिया र इपुको टापुमा लडाइँका लागि पुगे । उनी त्यो दिन सम्झिँदै भन्छन्, ‘इन्डोनेसियाको ज्वारबारुमा भएको जापानसँगको युद्धमा हामी हा¥यौँ र युद्धबन्दी भयौँ । त्यसवेला हामी जम्माजम्मी तीन सयजति बाँकी थियौँ ।’


जापानसँगको युद्धमा ज्वारबारुमा हार भइसकेपछि आफ्ना केही साथीलाई गोली हानिएको, केहीलाई निधारमा काठको किला ठोकिएको बलबहादुरले प्रत्यक्ष देखे । उनी भन्छन्, ‘त्यो दिनको घटना आज पनि झलझली सम्झिरहन्छु ।’ पक्राउ परेका तीन सयजना युद्धबन्दीमध्ये कति घाइते र अपांग थिए । न तिनीहरूले पानी पाए, न खाना । त्यतिकै भोकभोकै मरे । बलबहादुर भन्छन्, ‘साथीहरू पानी माग्दै प्याकप्याक गरिरहेका थिए ।’


घाइते र मृतकलाई त्यहीँ छाडेर जम्मा एक सय चारजनालाई भारी बोकाएर जापानी फौजले आफूसँगै लगे । युद्धबन्दी हुँदा जापानी सैनिकबाट अमानवीय व्यवहार भोगेका बलबहादुर भोक खप्न नसकेर घाँस खानुपरेको, रूखका बोक्रा खाएको त्यो कहालीलाग्दो दिन अझै सम्झिन्छन् । भन्छन्, ‘एकातिर जापानीबाटदुर्व्यवहार भोग्यौँ, अर्कोतिर निमोनियाजस्तो महामारीले धेरै साथी मरे ।’

दोस्रो विश्वयुद्धमा जापानले हार स्विकारेर बलबहादुरहरूलाई मुक्त गरेर समुद्रको टापुमा छाड्दा उनीहरू जम्मा चारजना मात्रै थिए । त्यसपछि अस्ट्रेलियन फौजले उद्धार गरी २०–२० डलर दिएर बम्बैसम्म पठाउने व्यवस्था गरेको उनी सम्झिन्छन् ।


युद्धबन्दी भई पक्राउ परेका एक सय चारजनामा जम्मा चारजना मात्रै बाँचेको उनी सुनाउँछन् । दोस्रो विश्वयुद्धमा जापानले हार स्विकारेर बलबहादुरहरूलाई मुक्त गरेर समुद्रको टापुमा छाड्दा उनीहरू जम्मा चारजना मात्रै थिए । त्यसपछि अस्ट्रेलियन फौजले उद्धार गरी २०–२० डलर दिएर बम्बैसम्म पठाउने व्यवस्था गरेको उनी सम्झिन्छन् ।


जीवनमा कहिल्यै विद्यालय नदेखे पनि बलबहादुर आफ्नो दृढ इच्छाशक्तिकै कारण भर्ती भएपछि पनि तालिमकै सिलसिलामा पाल्पाका रामबहादुर थापा भन्ने साथीका सहायताले सामान्य लेखपढ गर्न सिके । गाउँमा विद्यालय स्थापना गरेर छोरीहरूलाई पनि पढाए ।

बलबहादुरले बाल्यकालसहितको १६ वर्ष जंगलमा गाई–भैँसी र घाँस–दाउरा गरेर बिताए । त्यसपछिको १६ वर्ष विश्वयुद्धसहित भारत र पाकिस्तानको लडाइँमा बिताए । त्यसपछिको २० वर्ष गाउँमै शिक्षा क्षेत्रको विकासका लागि समर्पित गरे । हाल भक्तपुरस्थित लोकन्थलीमा साइँलो छोरा मेजर थमन बस्नेत (अ.प्रा.) र बुहारीका साथमा उनी बस्दै आएका छन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार