भोग्दै जाँदा थाहा भयो, अजिबको चिज रहेछ, मान्छेको जीवन । कत्ति न जान्ने हुँ भने पनि थुप्रै कुराको पूर्वानुमान गर्नै नसकिने । अनिश्चयको हुस्सुले चारैतिरबाट घेरिरहने । र, मानिसलाई घरीघरी हुस्सु पथिक बनाइदिने । विनासूचना छापामार शैलीमा हठात् आइलाग्यो, कोरोना महाव्याधि । यो पाजी जब आयो, घ्याच्च लकडाउन सुरु भयो । जब लकडाउन सुरु भयो, मामाले मलाई घ्याच्च पक्राउ गरे ।
अनौठो छ, मेरो पक्राउको यो कथा । भन्दा अलिअलि लाज लाग्ने, अलिअलि झोँक चल्ने । कथा सुटुक्क भन्छु म । लकडाउनको निषेधकारी नियममा ‘अत्यावश्यक’ भन्ने शब्द छ । जस्तो कि ‘अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्किनू ।’ पन्ध्र वर्षयता नित्य मर्निङ वाक् उर्फ प्रातःलमक्मा छु म । मेरो प्रातःलमक् संहिता कडा छ– अँध्यारैमा घरबाट हिँड्ने, अँध्यारैमा घर फर्किसक्ने । के गर्मी के जाडो, के झरी के तुसारो कहिल्यै केहीले रोक्दैन मलाई ।
नाथे लकडाउनले किन रोक्थ्यो ? ओली सरकार मानौँ उदार र अन्तर्यामी छ । त्यसैले त होला, मेरो मर्का बुझेर मानौँ यसले ‘अत्यावश्यक’को सर्त राख्यो । हो त नि, मर्निङ वाक् मेरो ज्यान र मनका लागि ‘अत्यावश्यक’ चिज हो । वाक् छुटे दिनभरि मेरो ज्यान लोसे हुन्छ, र मन हुन्छ त्यसै–त्यसै सुस्त र शुष्क । तसर्थ चल् भाइ वाक्मा !
बस्, लकडाउनमा पनि म मर्निङ वाक् नछाड्ने भएँ । सोचेँ– मामाहरू नउठी हिँड्छु, मामाहरू नउठी फर्किन्छु । थोरैतिनो अक्किल हुनु मात्र पर्छ, नाथे लकडाउनका आँखा छल्नु कत्रो कुरो हो र ! बस्, म निस्केँ आफ्नो प्रिय प्रातःलमक्मा । एक हातमा पुन्टे लाठी, अर्कोमा टसबत्ती, वनकाली वन तीन फेरो मारेर गुह्येश्वरी ओर्लिएँ म । र, आइपुगेँ म गौरीघाटस्थित बागमतीको छोटे पुलमाथि । चैत महिना, बल्ल बिहान पौने पाँच बजेको छ । सेरोफेरो अँझै अँध्यारै छ । तैपनि अगाडि हेर्छु त गाँठ्ठे ! लाठाधारी लाठे पो खडा भा’छन् । लु बिताउने भए !
देखेको नदेख्यै गरेर म टाप ठोक्न खोज्दै के थिएँ, मामा गर्जिए – ‘ओ मिस्टर, यता ।’ म खुरुक्क मामाछेउ दाखिला भएँ । उसै त लाठोधारी मामा, त्यसमाथि लकडाउन कालका ! अब गर्ने के ? संकटकालीन जुक्ति रचेँ– भाइ, लुतुक्क लत्रिनुमै ज्यानको कल्याण छ ! हात जोडेँ । धनुष्टंकार मुद्रामा ढाड दोब्य्राएँ । र, भिजेका मुसाको स्वरमा बिन्ती बिसाएँ– ‘गल्ती भो, सर ! एकपल्टलाई माफी पाऊँ !’
बठ्याइँमा मामा के कम ? कुरो बुझिहाले– डरले भान्जाले कट्टु भिजायो ! भान्जालाई थप मुताउन खोज्दै मामाले थर्काए– ‘माफी होइन, भित्र । बोल्ने होइन, खुरुक्क ।’ लकडाउनको याम छ । मामाका हातमा लाठो छ । भान्जालाई ठोकिहाले देख्ने साक्षी कोही कागधरी छैन । मूर्खदेखि दैव डरा ! म खुुरुक्क भित्र पसेँ ।
धर्मशालाछेउमा माटो उठाएको खाली बगैँचा छ । वरिपरि रेलिङ ठोकेको छ । हो त्यहीँ प्याकिस भएँ म । अब भने मलाई रमरम जङ चलेर आयो । मैले केही बिगारेको छैन । न आफ्नो न अरूको ।
अँध्यारामा एक्लै लुखुर–लुखुर हिँड्या छु । न आफ्नो ज्यानमा भाइरस हुल्याछु, न अर्काको ज्यानमा भाइरस सल्काको छु । तैपनि म अनाहकमा प्याकिसबन्दीमा ? लकडाउन अल्पकालको हल्का तानाशाही हो । तानाशाहीले विविधता बुझ्दैन, बहुलता मान्दैन । तानाशाहीले तर्क सुन्दैन, न्याय जान्दैन । तानाशाहीले स्थूल र सूक्ष्म छुट्याउँदैन, आम र विशिष्ट जान्दैन । तानाशाहीले जान्दछ त केवल हुकुम, केवल लाठा, केवल दमन, केवल प्याकिसबन्दी, केवल नागरिकको हुर्मत ! गौरीघाटमा मामाले झ्याप्पै पोको पारे त भान्जोलाई !
मामाले थर्काए– ‘माफी होइन, भित्र । बोल्ने होइन, खुरुक्क ।’ लकडाउनको याम छ । मामाका हातमा लाठो छ । भान्जालाई ठोकिहाले देख्ने साक्षी कोही कागधरी छैन । मूर्खदेखि दैव डरा ! म खुुरुक्क भित्र पसेँ ।
ज्यानको बुद्धि हुँदै नभएको चैँ होइन । तर, के गर्नु, चाहिने वेलामा दुलामा लुकेर बुद्धिले धोका दिन्छ र पो ! प्याकिस भएँ र अहिले बुद्धि आयो । मामालाई मैले आफ्नो नाउँको पहिचान दिएको भए के हुँदो हो ? चाबेलको चाउरे लेखक रहेछ भनेर एकपटकलाई माफी पो दिन्थे कि ! मूर्खले हगिसक्यो, अनि बल्ल दैलो देख्यो ! हुस्सु भान्जाको प्याकिसबन्द जीवन अब बर्दीधारी मामाको सनकमा, माकाको तजबिजमा, मामाकै मर्जीमा । हे करुणामयी गुह्येश्वरी माई, यो असहाय बालखकोरख्खे गर !
वृद्ध मुर्गा जम्मा एउटा छ, मामाले अलिबेरमा कसो नछाड्लान् ? यो थियो, मेरो लन्ठ बुद्धिको लाटो अनुमान । तर, मेरो अनुमानले फ्याँ खायो । खोरमा मुर्गा थपिँदै गए– एक, एघार, चौबीस, चालीस । मामा वेलावेला बाहिरबाट यसो चियाउँछन् । र, तुजुक देखाउँदै हुंकार गर्छन्– ‘खोइ सामाजिक दूरी मिलाको ? आफू एक्लै मरे क्यै छैन, अरूलाई मार्ने मन हो ? सप्पै जान्नेसुन्ने, ठूलाबडाजस्ता देख्छु । बुद्धिचैँ कैले आउने हो ? लकडाउनलाई हेप्ने ? सरकारलाई नटेर्ने ? हँ, बुद्धिचैँ कैले आउने हो ?’
म भिजेको मुसोको औतरमा छु । थाहा छ, मामासँग जोरी खोज्नु व्यर्थ छ । बरु जति लत्रियो, मामाले उति छिटो छोड्लान् । लुतुक्क लत्रिएर म सोध्छु– ‘सर, हामीलाई कुन वेला फुकुवा गर्ने हो ?’ मेरो दयनीय स्वरले चित्त पगाल्यो कि के हो, माम नरम भए । र, भने– ‘नियमले तीन घन्टा थुन्नुपर्ने हो । आजलाई म छिटो छोड्दिन्छु । तर, फेरि लकडाउन तोडे...।’
नभन्दै करुणामयी मामाश्रीले भान्जालाई एक घन्टापछि ख्याँस्स फुकुवा गरिदिए । प्रसन्न मुद्रामा हल्लिँदै म घर पुगेँ । भोलिपल्ट अँध्यारैमा, उही वेला, उही बाटो, उही चालमा निस्केँ म आफ्नो नित्य मर्निङ वाक्मा । सोचेँ, मेरो एकबारको जुनी लकडाउनको डरले खुम्चिएर घरमै कुँजो हुन किमार्थ होइन !