बागबजार : चलचित्र चोक

नयाँ पत्रिका नयाँ पत्रिका
शनिबार, २३ चैत, २०७५
डिजिटल संस्करण

साँघुरा गल्लीहरू । घाम छिर्न मुस्किल पर्ने खाँदिएका घरहरू । गल्लीपिच्छे थरीथरीका पसल । विदेशी भाषा पढ्नेदेखि सिनेमा बनाउनेसम्मको भेटघाट गर्ने थलो । पुराना सिनेकर्मी वसन्त सिलवाल ठोकुवा गर्छन्, ‘बागबजार सिनेकर्मीहरूको अखडा हो ।’ सिलवाल चालीसको दशकदेखि निरन्तर बागबजार आइरहेका छन् । कहिले निर्माता निर्देशक भेट्न, कहिले नायक–नायिका भेट्न । ‘के घर के डेरा’ फिल्मका प्रोडक्सन सम्हालेका सिलवाल बागबजारलाई विविधतायुक्त ठान्छन् ।

बागबजार बीचको चोकैमा छ ‘श्रेष्ठ टेलर्स’ । त्यसका सञ्चालक बाबुकाजी श्रेष्ठ २०३० सालदेखि बागबजार नियालिरहेका छन् । कैयौँ फिल्मस्टारलाई समेत सुट सिलाइदिएका उनका थरीथरीका ग्राहक छन् । बागबजार ठोक्किन आइपुग्ने मान्छेको हुलबारे उनको निष्कर्ष छ– ‘सिंहदरबार, नेताको अफिस हो । बागबजार जनताको अफिस हो ।’बागबजार भेटघाट गर्ने संगम थलो पनि हो । छेउमै छ बसपार्क । छेउमै छ रत्नपार्क । इतिहास बोकेको पिके क्याम्पस पनि बागबजारमै छ । आममानिसलाई आउन–जान सहज छ बागबजारमा । दिनभरि काम गरेर साँझ कोठा फर्किनु सजिलो छ बागबजारबाट । त्यही सहज स्थान सिनेकर्मीहरूले पनि रोजे । कुनै पनि पेसामा लाग्नेहरूका लागि बागबजार अवसर मान्छन् साहित्यकार आहुति । भन्छन्, ‘मध्यम र निम्नवर्गका आगन्तुकलाई बागबजार अवसर पनि हो ।’ 

बागबजार संघर्ष गर्नेलाई गतिलो प्लेटफर्म पनि हो । चप्पल लगाएर बागबजार छिरेका कति सिनेकर्मी कार कुदाउनेसम्म भए । कार कुदाउँदै बागबजार छिरेका कति सिनेकर्मी चप्पल लगाउने पनि भए । बागबजारमै हुर्केका संगीतकार राजु सिंह भन्छन्, ‘भ्यालीबाहिरका मान्छेका लागि स्ट्रगलको मेरुदण्ड नै बागबजार हो ।’ 
फिल्मी पत्रकार तथा निर्देशक मोहन निरौलाको पनि बागबजार वरपर तीन दशक बित्यो । ४० को दशकमा उनले बागबजारमै ‘चलचित्र मासिक’ पत्रिका निकाले । भन्छन्, ‘बागबजार सिनेकर्मीको जक्सन हो ।’ 
चलचित्र चोक
‘चलचित्र मासिक’ पत्रिकाले बागबजारलाई फिल्मी जक्सन बनाउन सघायो । फिल्मकर्मीहरू बागबजारमा बाक्लिन थाले । चिया, कफी पिउनेदेखि दारुपानी पिउनेसम्म, फिल्मको सम्झौता गर्नेदेखि स्क्रिप्ट पढ्नेसम्म, नाम कमाएका फिल्मीकर्मीदेखि नाम कमाउन फिल्मी दुनियाँ रोजेकासम्मको भेटघाट गर्ने गौंडा बन्यो बागबजार । फिल्मकर्मी बाक्लिँदै गएपछि पद्मकन्या क्याम्पसअघि ‘यति प्लाजा’निरको चोकमा साइनबोर्ड नै राखेर नामकरण गरियो– ‘चलचित्र चोक ।’

चलचित्र चोकनजिकै भगवान दास श्रेष्ठले छापाखाना स्थापना गरे । छापाखानाले फिल्मको पोस्टर पनि छाप्न थाल्यो । ०४३ सालतिर प्रतिभा कला मन्दिर खुल्यो । त्यही कलाकेन्द्रमा कलाकारितामा भविष्य बनाउन आउनेको भिड बढेको निरौला बताउँछन् । चलचित्र मासिक पनि निरन्तर निस्किरह्यो । छापाखाना, मासिक पत्रिका, कलाकेन्द्र इत्यादि कारण नै कलाकारहरू जमघट हुने माध्यम बन्यो । ‘पुकार’ चलचित्र बनाउँदा निरौलाले लगानीकर्तालाई बागबजार नै बोलाएका थिए । नेपालमा फिल्म निर्माण हुने संख्या बढ्दै गयो । झिमिमिली पोस्टर बनाएर सडक, चोक, गल्लीका भित्ताभित्तामा टाँसेपछि मात्रै दर्शक फिल्म हेर्न आउँछन् भन्ने ठानियो । फिल्मको पोस्टर त्यहाँ राम्रो बन्ने भएकाले फिल्मकर्मीको भिड बढ्दै गएको आइडलका संस्थापक तथा आर्टिस्ट सुन्दर श्रेष्ठ बताउँछन् । बागबजारमा फिल्मकै पोस्टर बनाउँदै आएका श्रेष्ठ अझै उत्तिकै सक्रिय छन् । 

कोही डुबे, कोही उत्रिए
बागबजारमा आइपुग्ने फिल्मकर्मीको भिड आज पनि कम भएको छैन । निर्माता, निर्देशक र कलाकारहरू बागबजार आइरहन्छन् । ती आउनेमध्ये कतिले कमाएका छन्, कति लगानी डुबेर खाली हात फर्किएका छन् । ‘विधुवा’ फिल्मका निर्माता गिरिप्रसाद सुनारलाई एक वितरक कम्पनीले बागबजारमा ६ महिना भुलाइदियो । कुनै दिन त्यो वितरक कम्पनीका सञ्चालकले सहरमा फिल्मको पोस्टर टाँस्थे । पोस्टर टाँस्ने व्यक्ति एकाध वर्षमै कम्पनीका मालिक बने । निर्माता सुनार भने फिल्मी दुनियाँ छाडेर गाउँ फर्किए । उनी भन्छन्, ‘मैले १८ लाख डुबाएँ । बागबजार पुग्यो कि विधुवा फिल्मको याद आउँछ ।’ 

अर्का फिल्म निर्माता भानु महर्जनले चलचित्र ‘दबाब’ र ‘रानी’को सेटिङ बागबजारमै गरेका थिए । भन्छन्, ‘दबाबले लगानी उठायो, तर रानीले ७० लाख डुबायो ।’ अहिले भानुलाई बागबजार जानै मन लाग्दैन । भन्छन्, ‘बागबजार जानै मन लाग्दैन । त्यहाँ को मुर्गा भटिएला भनेर खुरापातीहरू पर्खिरहेका हुन्छन् ।’ ‘मुर्गा गल्ली’को कथा बागबजारको अनेक गल्लीमध्ये सिनेकर्मीहरू भेटिने गल्लीलाई कसैले नाम राखिदिए मुर्गा गल्ली । त्यहाँ जान हतपत तयार हुँदैनन् केही फिल्मकर्मी । एक निर्माताले झोक्किँदै भने, ‘बागबजारको नाम लियो कि मुर्गा गल्लीको याद आउँछ । किन जाने त्यहाँ ?’पहिला उनी चलचित्र चोकमा लगातार जान्थे । चोकमा जानु, चिया खानु होहल्ला गर्नुमै उनको दिन बित्यो । बिस्तारै उनको चोकप्रति मोह भंग हुँदै गयो । कुन दिन आफू पनि मुर्गा भइने डरले उनले जान चटक्कै छाडे । 

बागबजारका थुप्रै गल्लीमध्ये सिनेकर्मीहरू भेटिने गल्लीलाई कसैले नाम राखिदिए– मुर्गा गल्ली । त्यहाँ जान हत्तपत्त तयार हुँदैनन् केही फिल्मकर्मी । एक निर्माताले झोक्किँदै भने, ‘बागबजारको नाम लियो कि मुर्गा गल्लीको याद आउँछ । किन जाने त्यहाँ ?’

छायाकार राजु केसी मुर्गा गल्लीको नामाकरण अरूलाई ठग्नेहरूले राखिदिएको बताउँछन् । सिनेमालाई चाहिने प्राविधिक सामग्रीको काम गर्दै आएका अर्जुन तिमिल्सिना भन्छन्, ‘०६२ देखि ०७२ सम्म ‘मुर्गा’ बनाउने काम गर्थे कसैकसैले । फलानो मुुर्गा मेरो र ढिस्कानो मुर्गा तेरो भन्दै गफ दिन्थे ।’ ‘मुर्गा गल्ली’मा सबै कलाकार गएनन् । प्रकाश थापा, नीर शाह, यादव खरेलजस्ता कलाकार सिनेमाकै सिलसिलामा बागबजारमा त्यति नदेखिएको बताउँछन् वसन्त सिलवाल । बागबजारमा ‘बिग बजेट’को फिल्म बनाउने भेटिन्नन् भन्ने अनुमान फिल्मकर्मीको छ । पुराना निर्देशकहरू पनि भेटिन्न । ‘नयाँ निर्माता आए । फिल्म बनाए । र डुबेर गए,’ तिमिल्सिना भन्छन् ।‘अहिले बागबजारमा जो पनि फिल्मकर्मी हुँ भन्दै आउँछन्,’ वसन्त सिलवाल भन्छन्, ‘कतिले जग्गा बेचेर फिल्म बनाए । डुबे । डिप्रेसनबाट गए । तर, बागबजार आउन छाडेनन् ।’

निर्देशक विजय केरुङको विचारमा बागबजार नेपाली फिल्मको उद्गम थलो हो । ‘बागबजार आउनेहरू पहिला–पहिला करोडको कुरा चलाउँथे । उनी भन्छन्,’ ‘तर, कसैसँग पैसा हुन्थेन । गफैगफमा फिल्म बन्थे, गफैगफमा फिल्म चल्थे । तर, हलमा फिल्म कहिल्यै लाग्थेन ।’ साठीको दशकमा हिट फिल्म दिने निर्माता अहिले प्रडक्सन म्यानेजर भएका छन् । उनले बनाएका फिल्म हलको सेतो पर्दामा कहिल्यै नदेखिएपछि फिल्मको नसा भने उत्रिएको छैन । 
बागबजार अवसर
एकाध फिल्मकर्मीले बागबजारलाई बदनाम गरेको आरोप पनि केही सिनेकर्मीले लगाउँछन् । तर, मोहन निरौला भन्छन्, ‘मेरो करिअरको सुरु बागबजारबाट भएको हो, त्यसैले प्रिय लाग्छ ।’ उनी आज पनि उही चलचित्र चोकमा चिया पिइरहेका भेटिन्छन् । राजु सिंहलाई चाहिँ बागबजार समावेशी बस्ती जस्तो लाग्छ । भन्छन्, ‘बागबजार समावेशी बस्तीको पर्याय हो ।’वाद्ययवादक कमल परियार पनि यहीँ जन्मिए । बागबजारकै आँतको पानी पिएर हुर्किए । उनी सेलो बाजा बजाउँछन् । भन्छन्, ‘बागबजारले संगीत सिक्ने अवसर दियो मलाई ।’ 

बागबजार कमर्सियल एरिया हो । फिल्म बनाउन चाहिने स्रोत र सामग्री बागबजारमै पाइन्छ । फिल्मको पोस्टरदेखि क्ल्याप बोर्डसम्म बागबजारमा बनाइन्छ । 
तर सबैका लागि प्रिय छैन बागबजार । अप्रिय लाग्नुको कारणबारे चलचित्र पत्रकार आरके सुवेदी भन्छन्, ‘कलाकार निर्माता निर्देशकहरू करोडको फिल्म बनाउँछन्, गाडीमा हिँड्छन् । बागबजारमा पार्किङको समस्याले सिनेकर्मीहरू घट्दै गएका छन् ।’ 

बागबजारमा झुम्मिने सिनेकर्मी अब पातलिँदै गएका छन् । पुतलीसडक, अनामनगर, नयाँबानेश्वरलगायत सहरका अन्य चोकमा भेटिन्छन् सिनेकर्मी । यति हुँदाहुँदै पनि केही सिनेकर्मी अझै उही चलचित्र चोकमा चिया पिइरहेका भेटिन्छन्, चुरोट तानिरहेका भेटिन्छन् । राम्रो फिल्म बनाउने गफ दिइरहेका भेटिन्छन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार