केही बोरा चामल र केही थान जिज्ञासा बोकेर राउटे बस्ती टेक्नेबित्तिकै गुराँसे डाँडाबाट ल्याएको रातो गुराँस भादगाउँले टोपीमा लुकाएका सूर्यनारायण शाहीले ओठमा सुर्ती अनि मुखमा प्रश्न एकैपटक च्यापे, ‘क्या ल्या को ?’ उनलाई पछ्याउँदै केही छायाजस्ता मान्छेहरू जोडिए । भर्खरै टुसाउँदै गरेका बालबालिकाहरू काठको पराटभरि लुगा बोकेर नजिकैको कुलोमा जाने तयारी गर्दै थिए । उनीहरूका शरीरमा लुगा थिएनन् तर मन भरिएको थियो, अनुहार मैलो थियो तर हँसिलो थियो । केही केटाकेटी भने चामलका बोराहरूलाई पहाड बनाएर खेलिरहेका थिए । केही भने भर्खर नुहाएर कोरा कपडाले आङलाई न्यानो बनाउँदै थिए ।
‘राउट्या बच्चाले लुगा लाउँदैन हजुर, जंगल बस्ने सानैबाट हट्टाकट्टा हुनु प-यो नि,’ सूर्यनारायणले हाम्रो अनुहारमा कोरिएको उत्सुकता पढेर जवाफ दिए । दोपहरको समय महिलाहरू पालभित्रै बच्चाहरूलाई सुताउँदै थिए । केही मस्तले आफैँ निदाएका थिए । अनि, केही कोठा स्याहार्दै र कोही एउटा पालबाट अर्को पालमा गाउँ बस्न आएका थिए । महिलाहरूको घाँटीमा तीन–चार रङका पोते झुन्डिएका हुन्थे । ‘धेरै पोते धेरै राम्रा’ उनीहरूको मिथक रहेछ । ‘तपाईंहरूको जस्तो हाम्रो पनि यो घर हो । पाल होइन अनि यो कोठा हो,’ सूर्य नारायणले थपे, ‘अरूका घर पल्टे मान्छे मोर्छन् राउट्या घर पल्टे कसैलाई केही हुन्न,’ सूर्यनारायण सूर्यभन्दा पनि उज्याला बने ।
‘केही सोध्न मिल्छ ?’ उनले जवाफ दिए, ‘सोध्न त मिल्छ तर म पहिला भात खालु ।’ उनी पालतिर लागे । उनकी जहानले थालमा भात पस्किन, अनि बटुकोमा तरकारी । सूर्य नारायणले मीठो आँखाले श्रीमतीलाई हेरेर मुसुक्क हाँसे अनि आँखाको त्यही मीठोपन मुखमा ल्याएर जिब्रो पट्काउँदै भात खाए । श्रीमतीले पनि उनको शिरको गुराँसको थोरै रङ चोरेर अनुहार रातो पारिन् । खाँम्ची भाषामा के–के बोले मैले आँखा र मुस्कानको सर्वव्यापी भाषा मात्रै बुझेँ, ‘माया राउटेको मनमा पनि उस्तै रसिलो हुँदो रहेछ ।’
बस्तीमा धेरैजसो बालबालिका बटुकोमा भात खाइरहेका देखिन्थे । केही झिँगा उनीहरूको भातको हिस्सेदार बनिरहेका थिए । भोकभन्दा भोजन मीठो ! बालबालिकाहरू मुख मिठ्याएर खाइरहेका थिए । उनीहरूमा जिद्दीपन छैन, अटेरीपन छैन, अभिभावकसँग गुनासो पनि छैन । ‘कैल्यै यस्तो चाहियो भनेर भन्दैनन्’ राउटे मुखिया सूर्यनारायण भन्दै थिए । ‘हाम्रो जातिमा जे छ त्यसमै खुसी हुन्या हो,’ खुसीका लागि योभन्दा गहिरो सूत्र के पो बनेको छ र ?
सुर्खेतको जहरे गाउँमा केही खाली जग्गा उनीहरूका पालले प्लटिङ गरेका थिए । करिब २० घर परिवार त्यहाँ बसेको देखिन्थ्यो । बसाइँ सर्ने क्रममा रात परेपछि उनीहरू त्यहाँ बस्न बाध्य भएको बताउँथे, ‘माथि जंगलमा जाने हो बाटामै चार–पाँच दिन बसिन्छ’, सूर्य नारायणले भने । मैलो थियो घर, लुगा पनि यस्तै मैला अनि हातखुट्टा र पूरै शरीर पनि उस्तै । तर, उनीहरूको अनुहारमा कोरिएको सन्तुष्टि र मुस्कान भने नाप्नै नसकिने थियो । ‘हामीलाई सबै पुग्या छ,’ अर्का राउटे धनबहादुर शाहीले सुनाए । ‘जति गरे पनि राउट्याँ सन्तान बढेनन् हजुर साह्रै पिर लाउँछ,’ उनीहरूको मनमा सानो घाउ छ तर त्यसको मलम पनि आफैँसँग छ, ‘कर्ममा जे छ त्यही हुन्या त हो ।’
पालभित्र अँगेनो, अँगेनोको नजिकै सानो गुन्द्री र गुन्द्रीको सिरानमा कपडाको सानो पहाड अनि डेरा सार्नका लागि डोको पनि ! उनीहरूको परिवारको सारा जिन्दगी काट्ने सामान एउटा डोकोमा अटाउँथ्यो । करिब ३ मिटर जमिनले पुग्दो रहेछ मान्छेलाई रमाएर जीवन काट्नका लागि । ‘ब्याँ गरेपछि छुट्टिने हो अनि ठूलो घर किन बनाउनु !’ धनबहादुरले सुनाए ।
अभाव छ । सानो पालभित्र सारा जीवन गुजार्नुपर्ने कठिनाइ छ तर मनमा सन्तुष्टिको घाम उदाउन भने कहिल्यै छाडेको छैन । ‘क्या पुग्या छैन र हामीलाई’ थेगो जसरी धनबहादुर यही बाक्य फलाकिरहन्थे । जहरे खोलामा बग्ने संग्लो पानी जस्तो संग्लो थियो उनीहरूको मन । ‘केही नभए भोकै बस्छन् तर गाउँमा केही पनि बिगार गर्दैनन्,’ स्थानीयवासीहरू उनीहरूको तारिफ गरिरहन्थे ।
गाउँका बालबालिकाहरू किताब बोकेर विद्यालय जाँदा राउटेका बालबालिका भने काठमै खेलिरहेका हुन्छन् । ‘पढे केही हुन्न काठको भारा बनाए पैसा हुन्छ,’ १० वर्षजतिका लाग्ने एक राउटे बालक भन्दै थिए । ‘यो बटुको बनाएर बजारमा बेचेपछि चाउँचाउँ खाने हो,’ उनले मुख चाउचाउभन्दा पनि ‘मीठो’ बनाए । ‘कहिले खाएको चाउँचाउँ ?’ उनलाई सम्झनै परेन, ‘अस्ति नै पारी बस्दाखेरि अरूले ल्याइदिएको ।’ गिठा, भ्याकुर, कन्दमूल, बाँदर, लोखर्के मारेर खाने राउटेहरू अहिले बजारका फास्टफुडमा आकर्षित भएका छन् । ‘यो एक वर्ष भो’ अरूले दिएर पालेको अब यो दसँैमा काँटेर सबैले खाने हो,’ नजिकै बाँधिएको बाख्रा देखाउँदै सूर्य नारायणले भने ।
पालभित्र अँगेनो, अँगेनोको नजिकै सानो गुन्द्री र गुन्द्रीको सिरानमा कपडाको सानो पहाड, अनि, डेरा सार्नका लागि डोको पनि ! उनीहरूको परिवारको सारा जिन्दगी काट्ने सामान एउटा डोकोमा अटाउँथ्यो । करिब ३ मिटर जमिनले पुग्दो रहेछ मान्छेलाई रमाएर जीवन काट्नका लागि ।
हाम्रा आँखाले उनीहरूको जीवनमा जतिसुकै पीडा र कठिनाइ देखे पनि उनीहरूका आँखामा आफ्नो जीवनजस्तो सुन्दर कुरा केही पनि छैन । हरेक कुरालाई सजिलै पचाउन सक्ने मनोबल नामको ‘पाचक’ छ उनीहरूसँग । अभावमा पनि सन्तुष्ट र खुसी हुन कुनै ‘आर्ट अफ लिभिङ’को क्लास लिएनन्, सन्दीप महेश्वरीलाई युट्युबमा सर्च पनि गरेनन् । जीवनले जस्तो सिकाउँदै लग्यो उनीहरू उस्तैउस्तै सिक्दै गए, रमाउँदै गए । सानै उमेरमा पनि अभिभावकको नक्कल गर्दै उनीहरू काठका भाँडा बनाउन पोख्त देखिन्छन् कुनै सिल्पकारझँै । तर, जतिसुकै राम्रो भए पनि बजार उनीहरूको कलालाई मोल दिँदैन । चाउचाउ बोकेका केही थान हात देखेर उनीहरूले मुख मिठ्याए, तर मागेनन् । आँखामा चाउचाउ खाने प्यास भने देखिन्थ्यो । ‘खाने हो ?’ उनीहरूले प्रतीक्षा गरेको प्रश्न बल्ल सोधियो, ओठमा मुस्कान र टाउकोमा स्विकृति एकैपटक झुल्कियो ।
जंगलमा फिरन्ते जीवन बिताउने भए पनि अहिले उनीहरूको जीवनशैली बदलिएको छ । ‘आव जंगलमा केही नपायाँ पछि त क्या गर्ने’ मुखिया सूर्यनारायणले भने । राउटे समुदायका मानिसले पछिल्लो समय चप्पल लगाउन, दाह्री र कपाल फाल्न, टोपी लगाउन एवं मुखियाले मोबाइलसमेत चलाउन थालेका छन् । केही समय अगाडि सरकारले दिएको कोटसमेत उनीहरूले लगाउने गरेका छन् । ‘बाकसमा राखेको छ, चाडबाडमा लाउने हो, राम्रो हुन’ सूर्यनारायणले भने ।
उनले जागिर खान सुरु गरेको समेत बताए । ‘मैले हिज २ हजार बुझेँ’ उनी पहिलो महिनाको तबल बुझ्न सुर्खेत वीरेन्द्रनगर पुगेका थिए ।‘बैंकमा लाइन लागेर पैसा ल्याएको,’ एक सामाजिक संस्थाले आफ्नै समुदायका मानिसलाई सुधारका लागि उनीसँगै अन्यलाई पनि जागिर दिएको छ । ‘काम पाए गर्ने हो तर अब जंगलमा बसे काँ काम पाइन्छ र ?’ उनको दुखेसो थियो ।‘जे भए पनि जंगलै प्यारो’ उनले फुटनोट जोडिहाले ।
नजिकै पालमा एक महिला डोरी बाटिरहेकी थिइन् । ‘बाँदर मार्ने हो यस्ले,’ उनी बाँदर मार्ने जाल बुनिरहेकी रहिछिन् । यो सुतली, प्लास्टिकबाट पनि बुनिँदो रहेछ । बाँदरलाई लखेट्दै जालमा पारेर मार्दा रहेछन् । ‘यो जाल नभए सिकार नै हुँदैन,’ उनले भनिन् । ‘भाँडा बनाउने, जाल बिन्ने सबैकाम जान्या छन्, जहानहरूले,’ सूर्यनारायणले भने ।
नुहाउन हुँदैन भन्ने पुरानो सोच त्यागेर सामान्य सरसफाइ पनि सुरु गरेका छन् राउटेले । कतिपय राउटे भित्री लुगासमेत लगाउने गरेका छन् । ‘आजभोलि लुगा लाउन लाछौ,’ पूर्वमुखिया मैनबहादुर शाहीले भने । जंगलमा पाइने भ्याकुर, गिठा, तरुल, टाटा,बाँदर र जौको ढिँडो खाने राउटेहरू अहिले चामल खाने गरेका छन् । ‘चामल पकाउन सजिलो हुन्छ,’ मैनबहादुरले भने । उनले बाख्रा, चल्लालगायत मासुजन्य कुरासमेत खान थालेको बताए, ‘सबै ठाउँमा बाँदर काँ पाइन्छ ?’ उनको प्रश्न थियो ।
गाँजलीको बैँस
गाँजली शाही, अहिले २८ वर्षकी भइन् । अनुहार धपक्क बलेको मात्रै होइन, शरीर पनि इन्ची टेपले नापेजस्तो टम्म मिलेको छ । उनको उमेर भएका अन्यको बिहे भएर बच्चाबच्चीसमेत भइसकेका छन् । उनलाई पनि घरबार बसाउने र बच्चा खेलाउने मनमा रहर छ । तर, यो जुनीमा उनको सिउँदोमा गुराँस फुल्ने सम्भावना छैन । ‘मेराँ जातिका कोही छैनन्, केटाहरू,’ उनले आधा लजाउँदै आधा दुःखी हुँदै भनिन् । कल्याल, राजकोटी र सोवंशी गरी तीन जाति रहेको राउटे जातिमा एउटै जातिका बीचमा कहिल्यै पनि विवाह नहुने परम्परा छ । ‘म राजकोटीकी हुँ, अर्को जातिका मभन्दा स्याना छन्,’ शाहीले अनुहार अँध्यारो पारिन् ।
लुगाजस्तै धमिलो अनुहारका बीचमा पनि गाँजली गाजलजस्तै चिटिक्क परेकी थिइन् । सायद पहिलोपटक कसैले उनको जीवनको दुःख कोट्याएको थियो । तर, पहिलोपटक भेटिएको मान्छेलाई उनी कसरी मनको कुरो खोल्न सक्थिन् र ? न मैले प्रश्न गरेँ न उनलाई जवाफ दिने आवश्यकता प-यो ।