जापानवासी नेपाली मित्रहरूले ‘मलाई अब नंग्याउने भए’ भन्ने छनक पाइसकेको थिएँ । प्रकाश पौडेल ‘माइला’ र लोकनाथ वस्तीले जापानी भाषामा ‘ओन्सेन’ भनिने प्राकृतिक रूपमा निस्किने तातोपानीको नुहाउने घर अगाडि पु-याएपछि मचाहिँ मानसिक रूपमा नांगिन तयार भइसकेको थिएँ । हामीलाई अनौठो लाग्ने, तर सामूहिक रूपमा नांगै नुहाउने त्यो परम्परा जापानी संस्कृतिको एउटा अंग हो । जापानीहरू सार्वजनिक ओन्सेनमा मात्र होइन, बाबु–आमा र छोरा–छोरी सामूहिक रूपमा ‘प्राइभेट रुम’ भएको ओन्सेनमा गएर पनि नांगै नुहाउँछन् । जापानको कानुनअनुसार ११ वर्षसम्मकी छोरीलाई बाबुले ओन्सेनमा लगेर नांगै नुहाउन पाउँछन् । बुझ्ने उमेरका छोराछोरीका अगाडि मचाहिँ नांगिने कल्पना पनि गर्न सक्दिनँ ।
हामी ‘चेन्जिङ रुममा’ पुगिसकेका थियौँ । चेन्जिङ रुम भने पनि त्यो खुला हलजस्तै थियो । त्यहाँ पुग्दा केही साथीहरू लाजले रातो–पिरो भइसकेका थिए । खासमा त्यसवरपरका दृश्य उनीहरूले हेर्न सकेनन् । लज्जावती झारझैँ लजाए । लहरै राखिएका सयौँ लकरका अगाडि कोही नांगै थिए, कोही नांगिदै थिए । त्यो बिचित्रको दृश्य देख्दा हाम्रा साथीहरूमा लाजको तरंग फैलिएर तिनका मस्तिष्क झन्झनाइरहेको थियो ।लाजले काम चल्दैनथ्यो । हाम्रै लागि लोकनाथजीले नांगै नुहाउन, नांगै तातोपानीमा डुबुल्की लगाउन, नांगै तातो ढुंगामाथि उत्तानो परेर सुत्नका लागि मनग्य पैसा तिरिसकेका थिए । नंग्याएर अतिथि सत्कार गर्ने जापानी परम्परा त हुँदै होइन । तर, उनले हामीलाई यसरी नै स्वागत
गर्न चाहे ।
लुगा खोलेर नांगिने आँट कसैले गरिहालेका थिएनन् । कसले पहिले लुगा खोल्ला र त्यसपछि आफू खोलौँला भनेर केही साथी पर्खिरहेको देखेँ । लन्डनमा सौनाबाथ र स्पा जाँदा त्यसरी नै चेन्जिङ रुममा लुगा खोलेर सावर लिने ठाउँमा नांगै भएको अनुभव भएकाले मलाई खासै अप्ठ्यारो लागेन । म लुगा खोल्न थालेँ । ‘लाज मानेर हुँदैन, फटाफट लुगा खोलौँ,’ लाजको पर्दा उघार्दै लोकनाथ बोले ।प्रकाश र लोकनाथमा को पहिले आएका थिए, थाहा पाइएन । हाम्राअगाडि नांगै उभिएर लजालु साथीहरूलाई नांगो हुने हिम्मत प्रदान गरिरहेका थिए ।
हाम्रो शरीरमा एक धरो कपडा पनि बाँकी थिएन । नुहाउने स्थानतिर जाने तयारी गर्दागर्दै सरसफाइ गर्ने अधबैँसै उमेरकी जापानी महिला भुइँ पुछ्दै हामी भएतिर आइन् । केही साथी आत्तिए । केही मित्रहरूका लागि त्यो कल्पनै गर्न नसकिने दृश्य थियो । लजालु साथीहरू धर्मसंकटमा परे । जापानमा यसरी महिला कामदार पुरुषहरू नांगो भएको ठाउँमा सहजै जान्छन् । त्यहाँ जानुलाई अप्ठ्यारो मान्दैनन् । डाक्टरले महिला वा पुरुषका यौनांगलाई जाँच गर्नु उनीहरूको डिउटी भएजस्तै जापानीहरू पनि त्यसलाई कामभन्दा अर्को नजरले बिल्कुलै हेर्दैनन् । यसलाई मैले श्रमको सम्मानको रूपमा लिएको छु ।
ओन्सेनको तातोपानी नांगै पसेर मज्जाले गफ लडाउने र नयाँ मित्र बनाउने थलोका रूपमा जापानीमाझ लोकप्रिय छ । ओन्सेनका बारेमा मलाई मनपर्ने जापानी भाषाको ‘हदाको नो सुकुयाई’ भन्ने एउटा वाक्य छ । यसको अनुवाद हुन्छ ‘नग्न सम्बन्ध’ वा ‘नग्न मित्रता’ । नग्नताभित्र ठूलो दर्शन लुकेको पाएको छु । ओन्सेनमा लुगा मात्र होइन, गरगहना पनि खोल्नुपर्छ । त्यसपछि मात्र प्रवेश गर्न पाइन्छ । वास्तवमा लुगा, गहना, पैसा, कार, घर आदि मानिसमा विभाजन ल्याउने भौतिक वस्तु हुन् । मानिसबीचका लक्ष्मण रेखा हुन् । ती सबै रबाफ र अहम्का खोल हुन् । ती उतारेपश्चात् धनी, गरिब, व्यापारी, हाकिम, कारिन्दा, मजदुर सबै बराबर हुन्छन् । उनीहरू फगत एउटा नांगो मान्छे हुन्छन् । नांगिएपछि सबैको स्तर र वर्ग एउटै मात्र हुन्छ । ओन्सेनमा वर्गहीन समाज खडा हुन्छ । उनीहरूको एउटा मात्र पहिचान र वर्ग हुन्छ । ‘नांगो’ मान्छे !
वास्तवमा त्यसरी नांगिएपछि आफूले आफैँलाई चिनिन्छ । त्यसले सच्चा मानव हुन बाध्य पार्छ । त्यसपछि समानस्तरको मित्रता कायम हुन्छ । हाम्रा समूहका साथीबारे विचार गरिहेरेँ । अघिसम्म हामी बेलायत, जापान र नेपाल बस्नेहरू लुगा, गहना, पद र पेसाका आधारमा उच–नीँच थियौँ । तर, नांगिएपछि फगत नांगा नेपाली मात्र थियौँ । बराबरी हैसियतका मित्र भएका थियौँ ।
हामी सामूहिक स्नान गृहको ठूलो हलभित्र पुगिसकेका थियौँ । त्यहाँ तातो र चिसोपानी आउने पचासौँ सावर थिए । हरेक सावरका अगाडि प्लास्टिकका बाल्टी, पानी खन्याउने जग र बस्नका लागि प्लास्टिकका स्टुल थिए । कपालका लागि सेम्पो, कन्डिस्नर, बडी सेम्पो अगाडि राखिएका थिए । नांगा मानिसहरू कोही बकेटबाट पानी खन्याएर त कोही सीधै सावरबाट नुहाइरहेका थिए । केही साथी त्यहाँका नांगा शरीर देखेर छटपटिए । कहिले नदेखेको दृश्य देखेर लाजले पानीपानी भए । केहीलाई पसिना छुटायो । नांगो भएर नांगा मानिसको भिडमा पुगेपछि लाज भन्ने आकारहीन वस्तु बाफ बनेर उड्यो । र शरमको पर्दा खुलेछ । बल्ल बोल्न थाले साथीहरू । त्यसपश्चात् लहरै बसेर नुहाउने आँट निकाले ।
तातोपानीको कुण्ड अर्थात् ओन्सेनमा पस्नुअघि साबुन र सेम्पोले मजाले शरीर नुहाएर मात्र पस्न पाइन्छ । सुक्खा जिउ लिएर तातोपानीको कुण्ड छुन पनि पाइँदैन । यसरी नुहाउनु भनेको शरीरको दुर्गन्ध पखाली सफा हुनु हो । सामूहिक रूपमा डुबुल्की लगाउने कुण्डमा सबैजना यसरी नै नुहाएर गए मात्र त्यो सफा र स्वस्थ हुन्छ ।
हामी सबै लहरै बसेर नांगै नुहाउन थाल्यौँ । केही साथीहरू शरीरको छाला रातो हुन्जेल मयल मिच्दै थिए । सबैका लाज क्रमशः पखालिन थाले । खित्का छाड्दै हास्न थाले साथीहरू । ‘अबेर नगरौँ,’ प्रकाश बोले ।
हामी तातोपानीको कुण्डअगाडि पुग्यौँ । त्यहाँ केही जापानी पहिले नै घाँटीसम्म शरीर डुबाएर बसेका थिए । तातोपानीमा डुब्नुको अर्थ आफ्नो तनाव र अहम् पानीमा डुबाउनु त होला नि ! तातोपानीमा डुबुल्की लगाउँदा शारीरिक र मानसिक विकारहरू बाफ बनेर उड्छन् होला । यस्तै कल्पनामा डुब्न थालेँ । वास्तवमा जापान ज्वालामुखीमाथि बसेको देश हो । भूकम्प र ज्वालामुखी त्यहाँका सामान्य कुरा हुन् । जापानमा हरेक पाँच मिनेटमा स–सानो कम्पन र वर्षभरिमा मानिसले थाहा पाउने करिब दुई हजार भूकम्प जान्छन् । केही ज्वालामुखी विस्फोट भएर पृथ्वीबाहिर निस्कन्छन् । कैयौँ पृथ्वीमुनि नै विस्फोट भइरहेका हुन्छन्, जसलाई हामी देख्न सक्दैनौँ । सोही ज्वालामुखी विष्फोटका कारण पृथ्वीमुनीबाट तातोपानी बाहिर आउँछ । त्यस्तो तातोपानीमा औषधिका असंख्य गुण हुन्छन् । तातोपानीमा डुबुल्की लगाउनु भनेको ‘साइड इफेक्ट’ नहुने औषधिको झोलमा डुब्नु हो ।
जापानीहरू भन्ने गर्छन्, ‘ओन्सेनको तातोपानीले शरीरलाई निको पार्दछ, प्रकृतिले दिमाग र हृदयलाई निको पार्छ ।’ पित्ले भुँडी भएका हामी नेपाली क्रमशः तातोपानीको कुण्डमा प्रवेश गर्न थाल्यौँ । त्यहाँ केही बोल्दै गरेका र केही आँखा चिम्म गरेर ध्यानमा बसेजस्ता जापानीहरू थिए । सितिमिति कसैको चासो नगर्ने, छेउबाट कोही हिँड्यो भने पनि खासै नजर नलगाउने जापानीहरू हामीलाई पुलुक्क–पुलुक्क हेर्न थाले । त्यसरी हेर्नुको कारण हामी सातजनाको समूहमा थियौँं । जापानीका अगाडि विदेशी थियौँ । त्यसमा पनि हामी नेपाली अलिक ठूलो स्वरले बोलिरहेका थियौँ । सायद तिनलाई गाईले डुबुल्की लगाइरहेको ठाउँमा भैँसी आहाल बस्न लागेजस्तो लाग्यो होला । यस्तै अन्य विविध कारणले सायद तिनीहरूको ध्यान भंग भयो होला भनेर अनुमान गरेँ ।
जापानको ओन्सेन भनेको नेपालको चिया पसलजस्तै गफ गर्ने थलो हो । गाउँतिर अझै पनि ओन्सेनको तातोपानीमा डुबेर आफ्नो टोल र समुदायका लागि छलफल गर्ने गर्दछन् । गाउँको विकास योजनाका लागि खेस्रा बनाउँछन् । कुन पार्टीलाई भोट दिने भनेर छलफल चलाउँछन् । प्राकृतिक खनिज र लवणयुक्त रनक्क तातेको पानीमा मेरो जिउले सन्चो मान्यो । घाँटीसम्म शरीर डुबाएर आनन्द लिन थालेँ । शरीरले क्रमशः आराम महसुस गर्न थाल्यो । थकाई बिर्सिएँ । दशतिर दौडिरहेको मन एकाग्र हुन थाल्यो ।
जापानीको सिको गर्दै अघि साथमा ल्याएको रुमाल टाउकोमाथि राखेँ । केही साथीहरूले त्यसलाई तातोपानीको कुण्डको डिलमा राखे । ओन्सेनको नियमअनुसार ती रुमालले मुखसम्म पुछ्न पाइन्छ । तर, तातोपानीमा डुबाउन, धुन र निचोर्न पाइँदैन । मैले ओन्सेनको नियमलाई पूरै पालना गरेँ । एकछिन आँखा चिम्म गरेँ । र, कान खुला छाडिदिएँ ।
हामी योकोसुकाको प्रसिद्ध ओन्सेनमा आनन्द लिइरहेका थियौँ । सुन्दर ठाउँमा अवस्थितिका कारण निकै प्रसिद्ध रहेछ । त्यो ओन्सेन प्रशान्त महासागरको ‘टोक्यो बे’ किनारामा थियो । तातोपानीमा डुबुल्की लगाउँदै आँखैअगाडिको चिसो महासागरमा आँखा बिछ्याउन पाउनुको बेग्लै आनन्द थियो । मेरा आँखा प्रशान्त महासागर र शरीर ओन्सेनको तातोपानीमा तैरिरहेको थियो । विचारहरू बाफ बनेर उडिरहेका थिए ।
ओन्सेन र टोक्यो बे किनाराका बीच एउटा बाटो लमतन्न परेर कतै गइरहेको थियो । त्यो बाटोले कता पु-याउँदथ्यो मलाई थाहा थिएन । तर, त्यो निकै चल्तीको सडक थियो । झलल बत्ती बालेर दोहरीलत्ता दौडिरहेका थिए गाडीहरू । त्यस दृश्यले मेरो मन जापान–बेलायत–नेपाल दौडाइरहे । साथीहरूका गफतिर कान र टोक्यो बेको पानीमा मैले आँखा लगाएको थिएँ । मेरा नयन प्रशान्त महासागरको पानीमा निकै नाच्न थाले । धीत मरुन्जेल पारिपट्टिको टोक्यो र योकोहामा सहरको झिलिमिली हेरिरहेँ । जापानको आधुनिकता, सम्पन्नता र विकास मेरा आँखामा ‘स्लाइड सो’जस्तै आइरहे ।
महिला–पुरुष एउटै ओन्सेन प्रयोग गर्छन् । उनीहरू अनुशासित भएर नांगानांगै तातोपानीको एउटै कुण्डमा डुबुल्की लगाइरहेका हुन्छन् । निःसंकोच गफगाफ गरिरहेका हुन्छन् । कसका छोरा–छोरी, कसका श्रीमान्–श्रीमती, कसका प्रेमी–प्रेमिका त्यहाँ कसैलाई मतलब हुँदैन ।
धीत मरुन्जेल तातोपानीमा बसेका हामी सबै निस्कियौँ । फेरि सावरमा खलल्ल नुहाएर ‘स्टिम रुम’मा गयौँ । तातो बाफले भरिएको स्टिम रुममा बस्नाले छाला राम्रो हुने, मुटुमा रंक्तसञ्चार राम्रो हुने, मुटु स्वस्थ हुने र उच्च रक्तचाप घटाउन मद्दत गर्दछ । त्यहाँ बसेर भरपूर फाइदा लिने विचार गरेको थिएँ ।त्यस स्टिम रुमको बस्ने स्थानले सिनेमा हलको झ–झल्को दिलायो । सबैभन्दा पछाडि अग्लो र क्रमशः अगाडितिर होचो हुँदै गएको ठाउँमा बस्ने सिट राखिएको थियो । अगाडि राखिएको टिभीमा जापानी भाषामा कुनै कार्यक्रम आइरहेको थियो । त्यहाँको दृश्यले स–सानो सिनेमाहलमा नांगै बसेका अरू दर्शकसँग कुनै सिनेमा हेरेजस्तो अनुभूति भयो । टिभीमा आएको जापानी भाषाको कार्यक्रम हामीले केही बुझेनौँ । तर, जापानीहरूले त्यसलाई खुब ध्यान दिएर हेर्दै थिए । नांगैभुतुंगै हामी तात्तातो बाफमा मिठा–मिठा गफ मिसाएर निकैबेर रम्यौँ । तातो बाफले रनक्क भएर फेरि शरीर तात्यो ।
त्यहाँबाट निस्केपछि बाफले तातेको शरीरलाई चिसोपानीको कुण्डमा डुबाएमा फाइदा गर्छ । त्यसले छालामा भएका प्वाँल खुल्छन् । त्यस्तो कार्य चानचुने होइन ।
अन्ततः स्टिमले तताएको तातो शरीरलाई बरफजस्तो चिसोपानीमा झ्वाम्म चोबलेँ । शरीरबाट मज्जाले बाफहरू निस्केर अकासिन थाले । वास्तवमा चिसोपानीमा डुबेर निस्केपछि शरीर तातो भएर आउँछ । मुटु कमाउने चिसोपानीलाई बिर्सिहालेँ ।
म चिसोपानीमा डुबेर निस्केको केही साथीलाई आश्चर्य लाग्यो । तिनले कति चिसो छ भनेर पानीमा हात मात्र डुबाएर जाँचे । पानी जाँच्दै तिनका शरीर काम्न थाले । पानीमा शरीर डुबेको भए के हुन्थ्यो होला ? वर्षौँदेखि तातो र चिसोबाट जोगाएको आफ्नो शरीरलाई दुःख नदिने विचार गरे साथीहरूले । त्यसपश्चात् हामी शरीरमा नुन दल्ने कक्षमा पुग्यौँ । त्यहाँ केही जापानी आफ्नो शरीरभरि नुन दल्दै थिए । नुन दलिसकेर बेन्चमा आरामसाथ बसेका थिए । मैले पनि तिनको सिको गर्दै आँखामा नपरोस् भनेर विशेष ध्यान दिँदै शरीरभरि नुन दलेँ । वास्तवमा नुनले छालामा भएको हानिकारक तत्व निकाल्छ । यसरी शरीरमा नुन दल्दा छाला बुढो भएर कमजोर हुनबाट बचाउने र छालामा हुने केही रोगहरू निको पार्ने कुरामा जापानीहरू विश्वास गर्छन् । करिब १० मिनेट नुन दलेको शरीर लिएर नांगैभुतुंगै त्यहीँ बसिरहेँ । बिस्तारै शरीर कक्रक्क भएर आयो । सायद छालाले चाहिने जति नुन सोसिसकेको थियो होला । त्यहाँबाट निस्केर फेरि नुहाएँ ।
‘अब रक बाथ बाँकी छ,’ प्रकाशले भने । माथि छाना लगाएको एउटा खुला स्थानमा हामी पुगिसकेका थियौँ । ढुंगा छापेको भुइँमा लहरै सुतेर जिउ सेक्ने ठाउँ रहेछ । त्यही पो रहेछ रक बाथ । त्यस स्थानमा १०÷१२ जना लहरै सुत्न मिल्ने ठाउँ थियो । हरेकका लागि ढुंगाको एउटा सानो सिरानी थियो । हामी सबैजना उत्तानो परेर लहरै सुत्यौँ । विशेष प्रकारले तताइएको भुइँमा सुतेको एकछिनपश्चात् मज्जाले शरीर सेकिन थाल्यो । हामी सुतेको तातोभुइँमा अटुट रूपमा मनतातो छिपछिपे पानी बगिरहँदो रहेछ । मन्द तातो तावामा माछा सेकेजस्तो तातो ढुंगामा शरीर सेकिँदै थियो । ठिक्कको तातोमा आनन्दित भएँ । त्यहाँ सुतिरहँदा मजा पो आउन थाल्यो ! सबैजना स्वर्गीय आनन्दमा रमाएजस्तो आँखा चिम्म गरेका थियौँ । म पनि त्यो तातो भुइँमा आँखा बन्द गरी उत्तानो परेर सुतेँ । झन्डै पो निदाएँ !
करिब १० मिनेट निर्वस्त्र शरीर सेकाइरह्यौँ । प्रकाशले अब उठौँ भने । वास्तवमा हामी कसैलाई पनि उठ्ने मनै थिएन । तर पनि समय अभावका कारण हामी उठ्यौँ ।
अन्तिमपटक फेरि सावरमा मजाले नुहाएर सफा तौलियाले जिउ पुछी ताजा भएँ । लुगा राखेको लकरछेउमा नांगै पुग्दा जापानी महिलाले भुइँ पुछिरहेकी थिइन् । सायद सबैको लाज पचिसकेको थियो होला । कसैले केही प्रतिक्रिया जनाएनन् । हामी फटाफट लुगा लगाएर बाहिरियौँ । ल्याम्पपोस्टको उज्यालोमा साथीहरूको अनुहार चम्किरहेको देखेँ । यसो हेर्छुु, आफ्नै हातका छाला चिल्ला र चम्किला देखिए । मेरो शरीरबाट तनाव र थकान हराएको थियो । तन चंगाजस्तै हलुका र मन गंगाजस्तो स्वच्छ भएको थियो । अद्भूत आनन्दमा रमाएका हामी गफिँदै कारपार्कतर्फ लम्कियौँ ।
‘कतिपय ठाउँमा महिला–पुरुषले एउटै ओन्सेन प्रयोग गर्छन् । त्यसलाई मिक्स ओन्सेन भनिन्छ । महिला–पुरुष अनुशासित भएर नांगानांगै तातोपानीको एउटै कुण्डमा डुबुल्की लगाइरहेका हुन्छन् । निःशंकोच गफगाफ गरिरहेका हुन्छन् । कसका छोरा–छोरी, कसका श्रीमान्–श्रीमती, कसका प्रेमी–प्रेमिका त्यहाँ कसैलाई मतलव हुँदैन’, हिँड्नेवेला प्रकाशले भने ।