‘अपराधी’ करारमा उत्सव कतिन्जेल ?

पितृसत्ताको कमाल नै यही हो कि महिलाविरुद्धको ‘हतियार’ महिला नै बनाइदिन्छ

विभुति भट्टराई विभुति भट्टराई
शनिबार, १३ भदौ, २०७७
डिजिटल संस्करण


‘प्रथमेऽहनि चण्डाली द्वितीये ब्रह्मघातकी तृतीय रजकी प्रोक्ता चतुर्थेहनि शुद्धति ।’

उल्लिखित ऋषिपञ्चमी व्रतकथाको अंशअनुसार स्त्री रजस्वला भएको पहिलो दिन चण्डाली, दोस्रो दिन ब्रह्म हत्यारी, तेस्रो दिन धोबिनी र चौथो दिन शुद्ध हुन्छे । त्यसो भए के हरेक महिला हरेक महिना दुष्ट, हत्यारा हुन्छन् ? 


हो, कम्तीमा हिन्दूधर्मले महिलालाई जन्मजात ‘हत्यारा’ करार गरेको छ र हामी चुपचाप होइन, पूरै हर्षोल्लासपूर्ण यो निकृष्ट आरोप ‘सेलिब्रेट’ गरिरहेका छौँ । 


भाद्रशुक्ल तृतीयाको दिन पतिको लामो आयु र अखण्ड सौभाग्यवती हुने भ्रमसहित हिन्दू महिलाहरू (भगवान् ?) शिवको निराहार व्रत बस्छन् । सात दिनअघि पनि महिलाहरू बसे । त्यसको एक दिनपछि पञ्चमीको दिन पुनः ऋषिपञ्चमीको व्रत बस्छन् । तिजको व्रतभन्दा फरक ऋषिपञ्चमीको व्रत भने महिलाहरूले वर्षभरि महिनावारी हुँदा गरेको हत्यारूपी पापको मोेचनका लागि हो । 


पञ्चमीको दिन बिहानै नदी, खोला वा धारामा गई सोह्रशृंगारले सजिएर प्रफुल्ल मुद्रामा सप्तर्षिहरूसँग याचना गरिन्छ, ‘म चण्डाल हुँ, म ब्राह्मणको हत्यारा हुँ । त्यो महापापबाट मुक्त गरिपाऊँ ।’


धर्मशास्त्रअनुसार जुन स्त्री रजस्वला भएको वेलामा थाहा पाएर वा नजानेर वा दुष्ट बुद्धि लिएर घरधन्दामा लागिरहन्छे, छोइछिटो गर्छे र रजस्वला बार्दिन भने त्यस स्त्रीलाई निकै भयंकर पाप लाग्छ । अर्को जुनीमा पशुयोनिअन्तर्गत पत्नी कुकुर्नी र पति गोरु भई जन्मिनुपर्छ । यो धार्मिक उर्दीलाई हामीले आज पनि उत्तिकै महत्वसाथ निरन्तरता दिइरहेका छौँ । 

महिलाको घोर अपमान गर्ने र सामाजिक उत्पादकत्वबाट च्युत गर्ने सामन्ती संस्कारको जननी हिन्दूधर्मशास्त्र र यसले सिर्जना गरेको परम्परागत चिन्तन हालसम्म पनि फेरिएको छैन ।

ऋषिपञ्चमी व्रतकथाअनुसार स्वर्गका राजा इन्द्रले वृत्रासुर नामक ब्राह्मणको हत्या गरे । यद्यपि उनी यो ब्रह्महत्याको पाप बोक्न चाहँदैनथे । त्यसैले सृष्टिकर्ता ब्रह्मालाई गुहारे र आफूलाई ब्रह्महत्याको बोझबाट मुक्ति दिलाइदिन अनुरोध गरे । ब्रह्मा इन्द्रको ब्राह्मणप्रतिको सम्मान देखी प्रशन्न भए र उनलाई सो पापबाट मुक्त गरे । उक्त पापलाई चार भाग लगाई एक भाग स्त्रीको रजस्वलामा समायोजन गरे । त्यसउप्रान्त रजस्वला सुरु भएका हरेक महिला हत्यारा घोषित भए । 


यो पौराणिक कथा मात्र होइन । आजपर्यन्त यस कथाले हिन्दू महिलालाई यसरी नियन्त्रण गरेको छ कि उनीहरू आफ्नो आत्मसम्मान र स्वाभिमानभन्दा बढी प्राथमिकता यस कथाको विषयवस्तुलाई दिइरहेका छन् । यो ‘धार्मिक चास्नी’को ‘च्यापच्याप’ यति आकर्षक बनाइएको छ कि महिलाहरू सगर्व सजिएर, गीत–संगीतका साथमा नाचगान गरेर, गहनाले छपक्कै छोपिएर, खुसीले लुछ्रुप्पै भिजेर आफूलाई ‘अपराधी’ करार गरेको उपलक्ष्यमा उत्सव मनाइरहेका छन् ।


विज्ञानले प्रजनन् प्रणालीको नियमित प्रक्रियाको रूपमा प्रमाणित गरेको महिनावारीलाई धार्मिक लेपन लगाएर महापाप वा अपराधको संज्ञा दिनु कतिसम्म जायज होला ? जबकि शरीर विज्ञानलगायत समग्र क्षेत्रमा विज्ञानले अकल्पनीय छलाङ मारिसकेको छ । स्त्रीरोग विशेषज्ञले त महिनावारीलाई शरीरबाट दिसा, पिसाब या पसिना बाहिरिए जस्तै एउटा हर्मोनल प्रक्रियाको रूपमा प्रमाणित गरेका छन् । 


विडम्बना के भने विज्ञानको यस तथ्यबारे जानकारी वा विश्वास नभएर महिनावारीलाई अपराधको दर्जा दिइएको होइन । बरु पितृसत्तात्मक ब्राह्मणवादी समाज महिलामाथि ‘धार्मिक उपनिवेश’ कायम गरी निरन्तर एकलौटी सत्ता टिकाइराख्न चाहन्छ । यदि त्यसो नहुँदो हो त महिलाको असाधारण जैविक क्षमतालाई यतिबिघ्न कलुषित मानक दिइएका, एकपक्षीय रूपमा थोपरिएका गलत व्यवस्थालाई संस्कृतिको दर्जा पक्कै दिइँदैनथ्यो ।


सोही धार्मिक उपनिवेशलाई स्थापित गर्न तिज, ऋषिपञ्चमी, स्वस्थानीजस्ता व्रतहरू बस्नैपर्ने औचित्य पुष्टि गर्ने व्यवस्था पुराण, मनुस्मृति, शुक्रनीतिलगायत धर्मशास्त्रहरूले गरेका छन् । महिला र दलितको हकमा आज पनि यी शास्त्रहरू यति शक्तिशाली छन् कि यिनीहरूले राष्ट्रिय सांस्कृतिक धरोहरको मान्यता नै प्राप्त गरेका छन् । 


महिलालाई सामाजिक, सांस्कृतिक रूपमा कुज्याउने सफलताको महत्वपूर्ण श्रेय मनुस्मृतिलाई जान्छ । किनकि यसका हरेक श्लोक संहिताकै दर्जामा प्रभावशाली छन् । त्यसैले त मनुस्मृति आज पनि चिच्याई–चिच्याई भन्छ, 

‘विशीलः कामवृत्तोवा गुणैर्वा परिवार्जितः
उपचारेत स्त्री साध्य सततं देववत्पतिः’ 


अर्थात्, चाहे पटक्कै शीलस्वभाव नभएको होस्, दुराचारी र दशवटी वेश्यासँग हिँड्ने होस् या असल गुणहरूले वर्जित अत्याचारी होस्, आफ्नो लोग्नेलाई सधवा स्त्रीले देवताझैँ मानेर निरन्तर सेवा टहल गरिरहनुुपर्छ । 


पतिको लामो आयु र अखण्ड सौभाग्यका लागि निराहार व्रत नबसे पत्नीका लागि विभिन्न दण्ड–सजायको समेत व्यवस्था गरिएको छ । पतिको मृत्युपश्चात् उसैको सम्झनामा ब्रह्मचर्य धारण गर्नुपर्छ, विधवाले कहिले पनि अर्को विवाह वा पुरुषका बारेमा कल्पनासम्म पनि गर्नुहुँदैन । 

तर, त्यही मनुस्मृतिले पुरुषका लागि भने तयारी चाउचाउजस्तो अत्यन्तै सहज व्यवस्था गरेको छ; ‘मारिण्यैं दत्वाग्नि अन्त्य कर्मणि, पुनर्दारक्रिया कुर्यात् पुरराधान मे.व च ।’ 


अर्थात्, ‘आफू मर्नुुभन्दा अगाडि स्वास्नी मरी भने उसलाई घाटमा जलाएर आउनेबित्तिकै तुरुन्तै अर्को विवाह गर्ने व्यवस्था गरिहाल्नुपर्छ ।’ यो श्लोकले महिलालाई यति हलुका रूपमा लिएको छ कि मानौँ, मृत्यु पत्नीको होइन, घरपालुवा जनावरको भएको हो । 


महिलाको घोर अपमान गर्ने र सामाजिक उत्पादकत्वबाट च्युत गर्ने सामन्ती संस्कारको जननी हिन्दूधर्मशास्त्र र यसले सिर्जना गरेको परम्परागत चिन्तन हालसम्म पनि फेरिएको छैन । सभ्यता र संस्कृतिको नाममा यस्ता निकृष्ट व्यवहारमाथि गरिएको गौरवानुभूतिले समग्र मानवीय चेतनामै प्रश्नचिह्न खडा गरेको छ ।


रामायण, महाभारत, पुराणलगायत धर्मशास्त्रहरू दासयुगीन समाजका प्रतिनिधि साहित्य हुन् । ती ग्रन्थमा वर्णित सामाजिक चेतना, संस्कृति, उत्पादन सम्बन्धले यसलाई पुष्टि गरेका छन् । यस्ता साहित्यलाई नै आजसम्म पनि राज्यले सामाजिक नैतिकता र कानुनीे आधारको रूपमा लिनु र राष्ट्रिय संस्कृतिको रूपमा मान्यता प्रदान गर्नु राज्य नै धर्म नियन्त्रित हुनु हो । 


वास्तवमा नेपाली समाजले महिलाको सन्दर्भमा दोहोरो चरित्र अख्तियार गरेको छ । एकातर्फ महिलामाथि हुने हिंसा, छाउपडी, बाल विवाहजस्ता सबैखाले विभेदको अन्त्य, आर्थिक सक्षमता, राजनीतिक सामाजिक समानता, कानुनी, नैतिक एवं सांस्कृतिक नियन्त्रणबाट मुक्तिलगायत विषयमा बहसहरू माथिल्लो सतहसम्म नै आइपुगेको भान हुन्छ भने अर्कोतर्फ ऋषिपञ्चमी, तिज, स्वस्थानीजस्ता गलत परम्परालाई धर्म, संस्कृतिको नाममा अति देवत्वकरण गरिएको छ । स्वाभाविक प्रश्न उठ्छ, जुन परम्परा महिलामाथि हुने हिंसाको कारण हो, त्यो परम्परा सही र त्यसका परिणाम मात्र गलत कसरी हुन सक्छ ? 


केही समयअगाडि गायिका सोफिया थापाले परम्परागत धारभन्दा अलिकति फरक सन्देशको गीत सार्वजनिक गरिन्, ‘यसपालिको तिज नो व्रत प्लिज... ।’ अहिलेको समयको चेतना, महिलाले ‘पाएको’ कथित स्वतन्त्रताअनुरूप अत्यन्तै सामान्य लाग्ने यस गीतलाई हिन्दू जागरण नेपाललगायत संगठनले हिन्दूधर्म, संस्कृतिमाथिको डरलाग्दो प्रहारको रूपमा बुझे । गायिकालाई तल्लो स्तरका गालीगलोज मात्र होइन, ज्यान मार्नेसम्मको धम्की दिइयो । 


समस्त महिलाविरुद्ध स्थापित धार्मिक मानकविरुद्ध कुनै व्यक्तिले आवाज उठाउँदा ज्यान नै जोखिममा पर्ने अवस्था विद्यमान हुनुले समाज विकासको कुन चरणलाई प्रतिनिधित्व गरेको मान्न सकिएला ? यसबाट के प्रस्ट हुन्छ भने नेपाली समाज राजनीतिक एवं आर्थिक रूपमा पुँजीवादी भए पनि महिलाको सांस्कृतिक अवस्था सामन्तवादकै चरणमा छ । हजारौँ वर्ष पुराना धर्मशास्त्र, पुराणका आधारमा एक्काइसौँ शताब्दीमा पनि एक इन्च संशोधन नगरी पालना गर्न बाध्य पारिनु महिलामाथिको सांस्कृतिक दमन हो । 


हाम्रो समाजमा यसको पक्षमा पनि (कु)तर्क उठ्ने गरेका छन्, पढे–लेखेका महिलाहरू जानेर, बुझेर ऋषिपञ्चमी, तिज, स्वस्थानी या अन्य व्रत बस्छन् भने त्यो उनीहरूको व्यक्तिगत स्वतन्त्रताको कुरा हो । जुन धर्म, परम्परा र सोअनुरूपको व्यवहारले समग्र समाज र सभ्यतालाई नै परिचालन गरिरहेको छ, सयौँ वर्षदेखि समग्र महिला जातिलाई नै निरीह, कमजोर र प्रताडित बनाइरहेको छ, जसको कारण र परिणाम दुवै सामाजिक एवं सामूहिक हुन्छ, त्यो व्यक्तिगत स्वतन्त्रताको विषय कसरी हुन सक्छ ? 


धर्मको सामान्य विशेषता नै विभेद हो । यसले कुनै न कुनै समूह, वर्ग, जात, लिंगलाई दास बनाएकै हुन्छ । हरेक धर्ममा निहित भक्ति चिन्तन र उँचनिचको कित्ताकाट यसैको उदाहरण हो ।


पितृसत्ता र धार्मिक अन्धविश्वासको मिसावटले महिलालाई स्वस्फुर्त रूपमा पुरुषको अधीनस्थ बनाएको छ र स्वयं महिलाहरू यस्तो अधीनतालाई नै धर्म ठानिरहेका छन् । त्यसैले त महिलाको अस्तित्वमा प्रहार गर्ने धर्म, परम्परा, विचार, संस्कृतिविरुद्ध स्वयं महिलाहरूमा घृणा र आक्रोश उत्पन्न हुनुपर्नेमा महिला नै यस्ता मान्यताको संरक्षणमा लागि परेका छन् । हँुदा–हँुदा अर्को महिलाले गरेको विद्रोहलाई समेत महिला धर्मको विरोधी सम्झी स्वयं महिला नै धर्मरक्षा गर्ने सेनापतिको रूपमा प्रस्तुत भइरहेका छन् । पितृसत्ताको कमाल नै यही हो कि महिलाको विरुद्ध प्रहार गर्ने ‘हतियार’ महिलालाई नै बनाइदिन्छ । फलतः धर्मले ठाडै ‘स्त्रीहरू हो, तिमीहरू जन्मजात हत्यारा हौ, नीच हौ, दुष्ट हौ’ भन्दा समेत महिलाहरू सहस्र स्वीकार गर्ने मात्र होइन, आत्मसमर्पण नै गरिरहेका छौँ ।


यसको भयावह आत्मघाती परिणाम यो हुनेछ कि महिलाहरूले कैयौँ वर्ष आफ्नो मुक्तिको सपना देख्न सक्नेछैनन् । आफूविरुद्ध थोपरिएका धार्मिक अतिवादविरुद्ध आवाज उठाउनेछैनन् । किनकि विभेदको पहाडले थिचिएको अनुभूत गर्न नसक्ने गरी उनीहरूको चेतनामाथि धार्मिक चुम्बकले नियन्त्रण कायम गरेको छ ।


महिलामाथिको ‘पितृब्राह्मणवादी’ उत्पीडन वर्गीय उत्पीडनजत्तिकै पुरानो र परिपक्व भएकाले यसविरुद्ध सशक्त प्रतिरोध नगर्दासम्म महिलामुक्ति सम्भव छैन । व्यक्तिगत वा छिटफुट अथवा मौसमी विरोधले गुणात्मक अर्थ राख्दैनन् । वर्गीय र महिला उत्पीडनविरुद्ध सँगसँगै र समान तागतको विद्रोहले मात्र महिलामाथि हुने सांस्कृतिक, सामाजिक, आर्थिक एवं राजनीतिक विभेद अन्त्यको आधार निर्माण गर्न सक्छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार