अनेक जिभ्रा, अनेक स्वाद

खानपिन

अशोक थारू अशोक थारू
शनिबार, २३ चैत, २०७५
डिजिटल संस्करण

जीवनको ६ दशकले कति सिकाउन सक्यो ! दिग्भ्रमित हुन्छु, कहिलेकाहीँ । थारूपनले किन यति धेरै छोयो कि थारू जीवनबाहेक अरू विषयमा कहिल्यै लेख्न मन लागेन ? त्यसैले होला, अपवादमा पर्ने मित्रहरूले ख्याल–ख्यालैमा रमाइलो पारामा कहिलेकाहीँ अति जातिवादीको दोसल्ला ओढाउन पनि चुकेनन् ! यथार्थमा मन त्यति साँघुरो कहिल्यै भएन । कतिपयले हेर्ने भनेको बाहिरी आवरण नै त रैछ नि ! 

मनभित्र हुँडुल्को मच्चिरहन्छ :हामी थारूहरूको वास्तविक पहिचान कहाँ लुकेको छ ? मानवशास्त्रीहरूको विविध परिभाषामा या थारू लोकजीवनका अनेक पाटामा ? सात—आठ दशकअगाडिका थारू सम्झनामा आयो भने यस्तो बिम्ब अगाडि आउँछ मस्तिष्कमा (बोके दाह्री, मसिनो जुँगा, मोटो ओठ, थेप्चो नाक, चिम्स्याइला आँखा, माथिल्लो अंग प्रायः नांगो, कम्मरमुनि प्राक्मानवहरूको पोसाकको झझल्को दिने अनौठो पोसाक ‘भेग्वा’, आगो बाल्न प्रयोग गरिने छटक्या दर्शन ढुंगा र केराको रेसाको झुला, पैतलामा काठको पौवा, वर्षा र घाम छल्न पातले ढाकिएको बाँसले बुनिएको छट्री, धान कुट्ने काठको ढेँकी, पिँध्न प्रयोग गरिने ढुंगाको चक्या, मुसा मार्न प्रयोग गरिने आखेट कला र काठको कठबिल्रा, ठूला वन्यजजन्तु मार्न प्रयोग गरिने आखेट कला : हँक्वा, चरा मार्ने बाँसको गुर्टा, चटनी कुट्ने काठको डोक्नी, झोल पदार्थ पस्किन काठको डब्ला, भात पस्कन काठकै चट्वा, खाना पकाउन माटाका भाँडा, पातका डोनी र पट्री, खानामा माछामासुको प्रचुरताः थारू लोकजीवनका यावत् सम्पूर्ण स्रोत र साधनले नितान्त आदिमता र प्राकृतिकपनको आभास दिलाउँछन् । तिनै खाना परिकारमध्येमा एउटा परिकार ‘घुँगी’ यस आलेखको विषयवस्तुको रूपमा पस्किने जमर्को गरिएको छ ।

घुँगी के हो ?
घुँगी अर्थात् खैरो, कडा आवरणयुक्त शङ्खे किरा । अंग्रेजीमा स्नेल प्रजातिको जीव । प्रकृतिको अद्भूत सिर्जना, शत्रुबाट बच्न पूरा शरीर कडा आवरणभित्र लुकाउँछ । घुँगी कति प्रकारका हुन्छन् ? मलाई यकिन छैन । समुद्रमा अनेकौँ प्रकारका घुँगी अर्थात् शङ्खे किरा भेटिन्छन् । तर, थारूहरूको वासस्थल तराई समुद्ररहित भएकाले हामीले यहाँ ती अनेकौँ प्रकारका घुँगीको कल्पना गर्नु उपयुक्त नहोला । तसर्थ मैले ६ प्रकारका घुँगी मात्र देखेको छु । नदी–खोला किनारमा भेटिने लगभग एक–डेढ इन्चजति लामो र मसिनो आकारको सेतो घुँगी । थारूहरूको भनाइअनुसार मृत्युपश्चात् घुँगी सेतो रङमा परिणत हुन्छ (मीना चौधरी, हेँकुली, दाङ ६०) । सत्य के हो ? जीव वैज्ञानिकहरूले भन्लान् । 

सानो आकारको डल्ले घुँगी र मझौला आकारको डल्ले घुँगी, जो विशेष गरेर खानमा प्रयोग हुन्छन् । ठूलो आकारको घुँगी पनि हुन्छन्, जसलाई घोङ्टा भनिन्छ । एक प्रकारको घुँगीको प्रजाति अन्डाकार चेप्टो हुन्छ, जसलाई सुटही भनिन्छ । सुटहीलाई घुँगी नभनिएता पनि प्रजाति भने एउटै हो । एकप्रकारको घुँगी हुन्छ– ‘पुरपु¥या घुँगी’ । यस प्रजातिको घुँगीको बाहिरी आवरण यति नरम हुन्छ कि समात्नेबित्तिकै परर फुट्छ, त्यसैले यस प्रजातिको घुँगीको नामकरण यसको बाहिरी प्रकृतिअनुसार ‘पुरपु¥या घुँगी’ हुन गएको हो । वस्तुगत अवस्थाको आधारमा नामकरण गर्नु थारू लोकसंस्कृतिको विशेषता हो । 

शिशु जन्मिनेबित्तिकै उसलाई कुनै अनाजमा सुताउने परम्परानुसार मकै अर्थात् थारू भाषामा कोक्निमा सुताइयो भने छोरीको नामकरण कोकन्या हुन्थ्यो, तोरी अर्थात् थारू भाषामा लाहिमा सुताइयो भने छोरीको नामकरण लैह्या हुन्थ्यो । तसर्थ दाङ मूल थलो भएका थारूहरू डगौरा थारू भनिएर र देउखुरी मूल थलो भएका थारू डिउख-या थारू भनिएर अद्यापि चिनिन्छन् । जे होस्, यो आलेख घुँगीको विषयमा केन्द्रित भएकाले मूल विषयतर्फ लागौँ । थारूहरूले जमिनमा बस्ने घुँगी खाँदैनन्, पानीमा बस्ने घुँगी मात्र खान्छन् । घुँगीको वासस्थान जमेको पानी हो । असारमा वर्षा भएपछि घुँगी देखा पर्न थाल्छन् । साउन–भदौमा यिनीहरूको अन्डाको सेतो थुप्रो देखिन थाल्छ, जसबाट वर्षा ऋतु यिनीहरूको समागम काल र प्रजनन काल रहेको कुरा सिद्ध हुन्छ । यिनीहरूको पेटभित्र जालीजस्तो पदार्थ हुन्छ, जसमा सेतो अन्डा हुन्छ । आफ्नो शरीरको बाहिरको कडा आवरणबाट मुख निकालेर यिनीहरू चर्छन् । यिनीहरूको खाद्य पदार्थ माटो, सेवाँल, घाँस हो । 

घुँगी : थारू खाद्य परिकार ?
आदि मानवहरूले खाद्य परिकारको रूपमा घुँगीको चयन किन गरे होलान् ? थुप्रै जवाफ हाजिर छन् । खाद्य परिकारको चयनका आधारहरूमध्येमा स्वाद पनि एक आधार हो । कृष्णराज सर्वहारी(४०) भन्छन्, ‘म सबैथोक खान छाड्न सक्छु । तर, घुँगी छोड्न सक्दैन । यसमा पाइने स्वादको वर्णन कुन शब्दमा गरूँ ? अलि—अलि मासु, अलि—अलि माछाको स्वाद ।’ तृप्तिशिखा चौधरी (२५) भन्छिन्, ‘घुँगी खाँदा चाम्रो–चाम्रो लाग्छ, जो एक प्रकारको मिठास हो ।’ कोरिया रिटर्न जितेन्द्र चौधरी (३०) भन्छन्, ‘घुँगी खाँदा बिस्याइनो लाग्छ, अलि–अलि माछाको जस्तो ।’ कतिपय थारूले सबै परिकार छाड्न सक्ने तर घुँगी छाड्न नसक्ने भने पनि मीना चौधरी (६०) भन्छिन्, ‘घुँगीको घाँटी, मुख र जिभ्रो सम्झिँदा जुकाजस्तो लाग्छ त्यसैले घुँगी खान मन लाग्दैन ।’ विभिन्न थारूलाई सोध्यो भने फरक–फरक स्वादको अनुभूति भएको जवाफ पाउँदा घुँगीको स्वादको सवालमा कुहिराको काग भइन्छ । जतिवटा जिभ्रो, उति प्रकारको स्वाद । 

विभिन्न थारूलाई सोध्यो भने फरक—फरक स्वादको अनुभूति भएको जवाफ पाउँदा घुँगीको स्वादको सवालमा कुहिरोको काग भइन्छ । जतिवटा जिभ्रो, उति प्रकारको स्वाद । 

संकलन गर्ने, पकाउने र खाने तरिका
घुँगी संकलन गर्नुलाई थारू भाषामा ‘घुँगी कहर्ना’ अर्थात् घुँगी झिक्नु भनिन्छ । थारू महिला कम्मरमा डेल्या बाँध्छन्, हातमा हेल्का समाएर जमेको वा मन्द गतिमा बहने जलधारमा हेलिन्छन्, हेल्का पानीमा हालेर हत्केलाले वरिपरिको माटो तथा बालुवा हेल्कामा सोर्छन्, हेल्का उठाएर पानीमै हल्लाउँछन्, माटो तथा बालुवा बगेर जान्छ । हेल्कामा रहेको घुँगी डेल्यामा राख्दै जान्छन् । घरमा ल्याएर बाह्य आवरणमा चेप्टिएको थप फोहोर बगाउन दुवै हत्केलाले मिच्छन् । घुँगीको मुख हँसियाले 
काटेर फालिदिन्छन् । 

भान्सामा माटाको भोक्टिमा पानीको अढन हाल्छन्, त्यसैमा घुँगी हाल्छन्, माथिबाट थोरै तेल, नुन, खुर्सानी, बेसार हाल्छन् । पानी उम्लिन थाल्यो भने थोरै चामलको पिठो घोलेर हालिदिन्छन्, जसलाई डिउख-या थारू भाषिकामा ‘अरहन अर्थात् रिप लगैना’ भनिन्छ भने डगौरा थारू भाषिकामा ‘कप्वा लगैना’ अर्थात् फाँरो लगाउनु भनिन्छ । घुँगी पाकिसकेपछि दाँतले टोकेर घुँगीको मुखलाई ढाकेको कडा आवरण फोडिन्छ, घुँगीको मुखमा आफ्नो मुख जोडेर सासलाई आफूतर्फ तानेर चुस्दा घुँगीभित्रको मासु थारू भाषामा ‘चटौर’ जिभ्रोमा आउँछ, अलि–अलि मासु, अलि–अलि माछाको स्वाद नै घुँगीमा पाइने मिठास हो । सुटही प्रजातिको घुँगीको चटौर निकै  स्वादिष्ट हुन्छ । मैले प्रथमपटक सुटहीको भुटेको चटौर खाँदा आलुको भुटेको चिप्स खाएजस्तो लागेको थियो, जुन स्वादले अद्यापि लोभ्याइराख्छ । यस्तै–यस्तै विविध स्वादले आदिम थारूहरूको जिभ्रोलाई घुँगीतर्फ आकर्षित ग-यो र घुँगी थारूहरूको भान्सामा पुग्यो ।

थारू लोकउपचार पद्धतिसँग सम्बन्ध
हेँकुली दाङकी आसी थारू (६५) भन्छिन्, ‘म्वार बहिन्या सुवाइल । उहिह पुरान पिप्पर डारल घोङ्घिि खओइलिट चोखाइल (मेरी बैनी अचानक सुन्निई । उसलाई पुरानो खुर्सानी हालेर घुँगी खुवायौँ । ऊ निको भई) । एक जन अजार पैल । जुरि अइना, मुहँमसे रकट बहना, डिन–डिन डुब्रैटी जाइलग्ल । हुँकहिन फे घुँगी खओइली ट चोखैल (एकजनालाई ज्वरो आउँथ्यो, मुखबाट रगत पनि आउँथ्यो, दिनदिनै दुब्लाउँदै गइरहेका थिए । निकै बिरामी भए । उसलाई पनि घुँगी खुवायौँ । केही समयपश्चात ऊ पनि निको भयो )।’ दुवै हत्केलालाई एउटैमा जोडेर मात्रा देखाउँदै उनले भनिन्, ‘अघटे ट नस्से घुँगी मिल्ना । एक्क ठाउँम अट्राचे चे कुह्रयाइल रना । आजकाल ओट्रा नैमिल्ट (पहिले–पहिले त घुँगी पनि प्रशस्त पाइन्थे । यति धेरै एउटै ठाउँमा थुुप्रिएका हुन्थे । अचेल त्यति पाइँदैनन् ।’

आसी थारूको भनाइले स्पष्ट हुन्छ : उक्त थारू लोकउपचार पद्धति कति वैज्ञानिक छ । मेडिकल साइन्स यसबारे के भन्छ ? पृथ्वीको बढ्दो तापक्रमले सृष्टिको अस्तित्वमा थाहा नै नपाइने क्रममा नकारात्मक असर पारिरहेको छ, तसर्थ थारू लोककाव्यले भन्छ–चिरइँ चोँच ना डेख मनवाके भार, जरी जरी ढरटी मडागिन हुइल र अंगार । वादे–वादे जायते तत्वबोधः । 

सम्पादकको रोजाइ

सुझावित समाचार