यो सहर कसका लागि ?

सुविधासम्पन्न अस्पताल, ठूलाठूला शैक्षिक संस्था, चौडा सडक अनि अनेक लोभलाग्दा अवसरहरू मजदुरका लागि होइनन्

मधुसूदन सुवेदी मधुसूदन सुवेदी
शनिबार, १३ असार, २०७७
डिजिटल संस्करण

धेरैजसो बहस तथा छलफलमा गरिब भन्नेबित्तिकै अधिकांश मानिसले विकट गाउँलाई विम्बका रूपमा लिन्छन् । सहरको गरिबीबारे बिरलै सोच्ने र विमर्शको विषय बनाइन्छ । सही राजनीति र अर्थनीतिविनाको गरिबी निवारण कार्यक्रम भनेको दूरदराजका गाउँतिर योजना देखाउने हो । सो योजनाको नाममा रोजगारी सिर्जना गरी आफ्नो गरिबी निवारण गर्ने हो । सहरभित्रको गरिबीमा योजनाकर्मीहरूको नजर परेको छैन । हरेक सहरमा गरिबीको संख्या र समस्या बढे पनि राज्यका तर्फबाट खास काम भएको छैन । सहरी गरिब पहिचान गर्ने विषयमा भने सरकारी निकायबीचमै मतभेद छ । 

जीविकोपार्जनका लागि गाउँबाट सहर


हाल नेपालमा करिब २० प्रतिशत व्यक्ति निरपेक्ष गरिबीको रेखामुनि छन्, जसको जीवन निर्वाहका लागि आवश्यक न्यूनतम क्षमता छैन । भूकम्पको क्षति र पीडाको घाउ ओभानो हुन लागेका वेला कोरोनाको कहरले गरिबको बिचल्ली हुँदै छ । यसको प्रभाव मुख्यतः गरिब र सीमान्तकृत समुदायलाई पर्ने निश्चित छ ।


परम्परागत खेती प्रणाली, उर्वर जमिनको अभाव, आकासेपानीको भरमा खेती गर्नुपर्ने, कृषिमा लगानीको तुलनामा उत्पादन कम हुने, दुःख गरेर उत्पादन गर्दा पनि उपयुक्त बजार नपाउने र गैरकृषि क्षेत्रमा रोजगारीको सम्भावना नहुँदा लाखौँ युवा जीविकोपार्जनका लागि गाउँबाट सहर पसे । यो क्रम विगत २५–३० वर्षयता निकै बढ्यो । जन्मथलो एउटा भयो, तर कर्मथलो बदलिए । सहरले उनीहरूलाई गाउँको तुलनामा श्रम बेच्न अवसर दियो । कोही राजनीतिक पहुँचका आधारमा व्यापार, ठेक्कापट्टामा लागे, रातारात करोडपति बने ।

कतिपयले सरकारी, निजी, गैरसरकारी क्षेत्रमा काम गर्ने अवसर पाउनुको साथै आफू र आफ्नो परिवारको व्यवस्थापन राम्रोसँग गर्न सक्षम भए । उनीहरूले क्रमशः घडेरी जोडे, घर बनाए, बसाइँ सरेको कागज लिई कानुनी रूपमै सहरवासी बने । यो समूहका लागि गाउँको जग्गाजमिनको उब्जनीको खास माया रहेन, कुनै नातेदारलाई रेखदेख गर्ने जिम्मा लगाए, तर कानुनी रूपमा गाउँको जग्गाको स्वामित्व आफ्नो नाममा कायम राखे । यो समूह समय–समयमा गाउँको जग्गाको चलनचल्तीको मूल्यको बारेमा सोधखोज गर्छ, तर बेच्न हतार पनि गरेको छैन, जरुरी पनि छैन । कहिलेकाहीँ इस्टमित्र, नातेदारसँगको भेटघाट र कुलपूजामा गाउँमा जाने गर्छ ।

कोरोनाको कहरले एउटा कठोर प्रश्न जन्माएको छ- चाल्र्स डार्विनले भनेझैँ सक्षमहरू मात्र बाँच्न सक्ने नीति बनाउने कि सिंगो मानवताको पक्षमा जुट्ने ?

गाउँबाट सहरमा आएर सानो व्यापार वा नियमित आम्दानी हुने जागिर भएका, तर परिवार पाल्न धौ–धौ हुनेहरूको दिनचर्या अलि फरक छ । मिहिनेत गर्दागर्दै पनि परिवारलाई व्यवस्थित गर्न नसकेपछि अलि चिन्तित छ, यो समूह । दुःख गरेर छोराछोरीलाई निजी विद्यालयमा पढाउन सक्षम छ, तर आम्दानी कम भएकाले सहरमा घरघडेरी जोड्ने र व्यवस्थित भएर बस्ने धोको कायमै छ । थातथलोको जग्गा बेच्नुपरे कौडीको भाउमा मात्र बिक्ने हुँदा अलि बढी चिन्तित छ, तर आफूलाई गाउँ फर्कन सक्ने अवस्था देख्दैन । गाउँको जग्गाको मूल्य पाए बेच्ने र आफूले दुःख गरेर जम्मा गरेको सम्पत्ति थपेर सहरमा स्थायी रूपमा बस्ने रहर बाँकी नै छ ।


गाउँबाट आएर सहरमा दैनिक ज्यालादारी काम गर्नेको संख्या ठूलो छ । उनीहरूको सपना सहरमा अ–आफ्नो परिवारसँग बस्ने छ, तर सहरको महँगीले परिवारसँग बस्ने धोको पूरा हुन दिएको छैन । कतिपयले आफ्नो आम्दानीको केही हिस्सा बचाई गाउँमा रहेका परिवारका सदस्यलाई पठाउन सफल भएका छन् भने कतिपय व्यक्ति आफ्नै पेट पाल्न संघर्ष गरिरहेका छन् । सहरमा ठेलागाडामा समान बेच्दा वा सडकपेटीमा पसल राख्दा दिनहुँ नगर प्रहरीको सास्ती भोग्दा दुःख मान्नु, घर फर्किने सोच बनाउनु तर गाउँमा जाँदा पनि विकल्प नहुँदा उक्त पेसा छोड्न नसक्नु र फेरि त्यही पेसा अँगाल्नु उनीहरूको दैनिकी हो ।


दैनिक ज्यालादारी काम गर्नेको अर्कै समस्या छ । गाउँको तुलनामा सहरमा मुख्यतः शोषणको आधारमा पुँजीको लगानी र विकास हुने भएकोले ज्यालादारी, सडकपेटीमा पसल चलाउनेहरू आर्थिक, सामाजिक, मानसिक, सांस्कृतिक र राजनीतिक शोषणमा बाँचेका हुन्छन् । सहरी गरिबीको चपेटामा परेका स्थानीयहरू पनि छन्, तर अधिकांशको कम्तीमा नागरिकता छ, आफ्ना नाताकुटुम्ब छन्, निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्छन् र उनीहरूको कुरा सुनिदिने केही मान्छे पनि हुन्छन् ।


हेर्दा सहरमा ठूलाठूला घरहरू, महँगा होटेल र पसलहरू, बहुतले व्यापारिक भवनहरू, राम्रा र महँगा स्कुल र कलेज छन् । निजी अस्पताल पाँचतारे होटेलझैँ देखिन्छन् । कालोपत्रे फराकिला सडक, बिजुली, फोन, इन्टरनेटले सुविधा सहर देखिन्छ । रूपमा मात्रै देखिएको यस्तो सहरमा थोरै व्यक्तिको मात्र पहुँच हुन्छ । सहरी गरिबको समस्या बेग्लै छन् । उनीहरू स्वास्थ्य, शिक्षालगायतको राम्रो अवसर भएका स्थानमा बसेका छन्, तर गरिबीका कारण यस्ता वस्तु किन्ने तथा सेवा लिने क्रयशक्ति उनीहरूसँग छैन । सुविधासम्पन्न अस्पताल, ठूलाठूला शैक्षिक संस्था, चौडा सडक अनि अनेक लोभलाग्दा अवसरहरूको उपयोग उनीहरूका घरबेटी, ठेकेदार र मालिकहरूका लागि हुन् ।

गरिबीको दुश्चक्र


गरिबी निवारणका लागि नेपाल सरकारले गरिबसँग लक्षित कार्यक्रमहरू सञ्चालन गरे पनि आशातीत रूपमा गरिबी घट्न सकेको छैन । यसको प्रमुख कारक गरिबीलाई बुझ्ने अवधारणामा स्पष्टताको अभाव हो । राज्यले हालसम्म सहरी गरिबीको विस्तृत अध्ययन गरेको छैन । हालका वर्षहरूमा सरकारी तथा गैरसरकारी स्तरमा हुने गोष्ठी र छलफलमा गाउँभन्दा सहरमा गरिबी बढिरहेको विमर्श भए पनि सहरी गरिबीको पहिचान, तथ्यांक र कार्यक्रमबारे राज्य प्रस्ट छैन ।


गरिबीको सामान्य दुश्चक्रले मानिस झन् गरिब हुँदै जान्छ । उदाहरणका लागि कुनै व्यक्तिले गरिबीका कारण पढ्न पाउँदैन, पढ्न नपाउँदा राम्रो रोजगारी र सीपसहितको काम पाउन सक्दैन, आय बढाउन सक्दैन, स्वस्थ खाना र उचित वासस्थानको अभावमा बिरामी हुन्छ । र, गरिबी फेरि दोहोरिन्छ । त्यस्तैगरी, कुनै मानिस गरिब परिवारमा जन्मेको छ भने उसले आवश्यक पर्ने पोषणयुक्त खाना पाउँदैन, शरीरले पोषकतत्व पाउँदैन, दुब्लो, पातलो, कमजोर र शारीरिक तथा मानसिक रूपले कमजोर हुन्छ । फलतः उसले सम्पन्न गर्ने कार्यमा गुणस्तरीयता आउन पाउँदैन । उसको उत्पादकत्व पनि राम्रो हुन सक्दैन । परिणामस्वरूप उसले आम्दानीमूलक काम गर्न सक्दैन र अन्त्यमा गरिब नै रहन्छ । यो चक्र पुनः चल्छ र ऊमाथि आउन नै सक्दैन । यस्तो चक्र सरकारको नीतिगत प्रयासबाट मात्र तोड्न सक्ने हुँदा गरिबी निवारणमा आधारभूत भूमिका सरकारको नै हुने गर्दछ ।


पुँजीवादी अर्थतन्त्रमा समाजका सबै व्यक्तिहरूले समान ढंगले प्रतिस्पर्धा गर्न सक्दैनन् । राज्यले प्रतिस्पर्धा गर्न नसकेका व्यक्तिहरूलाई सशक्तीकरण गर्नुपर्छ । नेपालको सामाजिक संरचनामा लामो समयसम्म र खासगरी महिला तथा दलितलाई प्रतिस्पर्धा गर्ने वातावरण नै भएन । उनीहरूमाथि सामाजिक, आर्थिक र राजनीतिक विभेद गरियो । उनीहरूसँग आर्थिक हैसियत नहुने मात्र नभई, राज्य शक्ति र स्रोतमा पहुँच पुग्न सकेन, दबाइएको आवाज सुन्ने काम भएन र सामाजिक वञ्चितीकरणमा पारियो ।


दुःखको कुरा नेपालका कुनै पनि पार्टीले गरिबको आयस्रोत बढाउने चिन्तन गरेका छैनन् । अधिकांश गरिबहरू उनीहरूका लागि भोटको राजनीति हो । अर्कोतिर हेर्दा राजनीतिमा लागेका व्यक्तिहरूले आर्थिक आर्जन हुने कुनै काम गरेको पाइँदैन, अधिकांशको पुख्र्यौली सम्पन्नताको देखिँदो प्रमाण छैन, तर उनीहरूको भड्किलो जीवनशैली र रवाफ हेर्दा महिनामा कम्तीमा दुई–तीन लाखभन्दा बढी आम्दानी गर्ने व्यक्तिभन्दा बढी हुन्छ । उनीहरूको आम्दानीको स्रोत के हो ? के उनीहरूले राज्यले निर्धारण गरेको कर तिरेका छन् ? जबसम्म जनस्तरबाट यस्ता प्रश्नहरूको उत्तर खोजिँदैन, गरिबहरूप्रति हेर्ने दृष्टिकोणमा र कार्यक्रम अलमलमै रहन्छ ।

कोरोना, गरिबी र राज्य 

कोरोनाको समयमा राज्यले आफूले ठानेको जिम्मेवारी पूरा गर्न लकडाउनको फरमान गरिदियो । ठेकेदारले काम बन्द गरिदियो, बस्ने वासमा ढोका लगाइदियो । मजदुरी गर्ने ठाउँ बन्द भयो, रात बिताउने अस्थायी टहरा साहुले ताल्चा लगाइदिए । श्रमिकले श्रम बेच्न पाएनन्, ठेलागाडा सडक किनारा र गल्लीमा आउन पाएनन् । सहरले खल्ती हेरी निर्णय गर्न उर्दी दियो, सक्छौ सहर बस, सक्दैनौ आफ्नो व्यवस्था आफैँ गर ।

घरबेटीले सबै आफ्नो–आफ्नो घर गइैसके तिमी किन नगएको भन्ने प्रश्न गर्न थाले । गरिबले राहत पाउनका लागि कहिले नागरिकता जरुरी बनाइयो त कहिले पालिकाको सिफारिस । सक्नेहरू सहरमा बसे, नसक्नेहरू कोरोनाको डरभन्दा भोकको डरले सहर छाडे । गरिबका लागि सहर झन् बिरानो भयो । उनीहरूलाई कोरोनाभन्दा भोक र परिवारका सदस्यको मायाले पिरोल्यो । गाउँमा जाँदा केही सजिलो होला भन्ने ठानेर लकडाउनको परवाह नगरी हजारौँ गरिब सहर छोड्न बाध्य भए । 

हरेक विपत्तिहरूले एउटा न एउटा पाठ सिकाएर जान्छ । कोरोनाको कहरपछि यदि गाउँमा व्यवस्थित ढंगले रोजगारीका अवसर सिर्जना नगर्ने हो भने फेरि फर्कने त सहर नै हो । कोरोनाको कहरले एउटा कठोर प्रश्न भने जन्माएको छ । चाल्स डार्विनले भनेझैँ सक्षमहरू मात्र बाँच्न सक्ने नीति निर्माण गर्ने कि जीवनसँगै मानवताको रक्षाका लागि जुट्ने ? देशगत र व्यक्तिगत स्वार्थबाट माथि उठेर सिंगो मानव सभ्यताको रक्षाका लागि लड्ने कि, विपत्तिको फाइदा उठाउँदै आर्थिक र राजनीतिक फाइदा उठाउन लाग्ने ? 

यो लडाइँमा अन्तर्राष्ट्रिय रूपमा अमेरिका, चीन, रुस, जर्मनी र भारतजस्ता देशको नीति र निर्णयले महत्वपूर्ण भूमिका खेल्छ । राष्ट्रिय रूपमा राज्यले अँगाल्ने नीति, कार्यक्रम र कार्यान्वयनमा भर पर्छ । नेपालको अहिलेको संविधानको मूल उद्देश्य सामाजिक न्याय र समतामूलक समाज निर्माण गर्नेछ । राज्यसत्तामा बसेकाहरूले ‘समाजवादउन्मुख’ राज्य प्रणालीमा गरिबका मुद्दाहरूलाई कसरी लिन्छन् आगामी दिनहरूमा उनीहरूले बनाउने नीति, कार्यक्रम र कार्यान्वयनमा भर पर्छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार