१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ९ मंगलबार
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ कार्तिक ९ मंगलबार o९:४९:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सर्वोच्चका न्यायाधीशहरूले आज प्रधानन्यायाधीश जबरालाई भेटेर निकास दिन औपचारिक आग्रह गर्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक ९ मंगलबार o९:४९:oo

सोमबार सर्वोच्चमा जे भयो : न्यायाधीशहरूको निष्कर्ष– प्रधानन्यायाधीशलाई अपमानपूर्ण तरिकाले निकालेको आरोप नलागोस्, आफैँ निकास दिए राम्रो

कात्तिकयता आफूलाई कुनै बेन्च नतोकेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबार पनि आफूबाहेक सबै न्यायाधीशका लागि बेन्च तोके । सातवटा इजलास गठन गरे । प्रधानन्यायाधीशले नेपाल बार एसोसिएसन र सर्वोच्चका सबै न्यायाधीश रहने गरी दिउँसो १ बजेका लागि पूर्ण बैठकसमेत बोलाएका थिए । न्यायाधीश हरिकृष्ण कार्की संयोजक रहेको विकृति–विसंगतिका सम्बन्धमा सुझाव दिइएको प्रतिवेदन कार्यान्वयन र वरिष्ठ अधिवक्ताको उपाधि दिने विषयमा छलफलका लागि उक्त बैठक बोलाएका थिए । तर, सोमबार न कुनै इजलास बस्यो, न त पूर्ण बैठक नै ।

कार्यालय समयपछि आउन थालेका न्यायाधीशहरू मीरा खड्काको चेम्बरमा जम्मा भएका थिए । बिहान साढे ११ बजे सबैजना पुगेपछि उनीहरूको अनौपचारिक बैठक सुरु भएको थियो । इजलासमा नगएर छुट्टै बसेका यी १३ न्यायाधीशको बैठक दिउँसो १:५५ बजे मात्रै सकियो । 

न्यायाधीशले यथास्थितिमा इजलासमा बस्न नसकिने र प्रधानन्यायाधीशमाथि लागेका आरोपहरूबारे उनले स्पष्टीकरण दिनुपर्ने धारणा राखेका थिए । ‘पहिले प्रधानन्यायाधीशसँग भेटौँ । उहाँको पनि कुरा आओस् । प्राकृतिक न्यायको सिद्धान्तले पनि त्यही भन्छ,’ न्यायाधीशहरूबीच भएको छलफलको निष्कर्ष सुनाउँदै एक न्यायाधीशले भने, ‘उहाँलाई अपमानपूर्ण तरिकाले निकालेको आरोप नलागोस् । हामीबीच त एकता छँदै छ, हामी आफ्नो कुरामा दृढ छौँ । उहाँले म आफैँ निकास दिन्छु भन्नुभयो भने त ठिकै हो ।’

सबै न्यायाधीश प्रधानन्यायाधीशलाई आफ्नो भनाइ राख्ने मौका दिनेमा एकमत छन् । प्रधानन्यायाधीशमाथि पछिल्ला समय उठेका प्रश्नलाई उनले स्पष्ट गर्नुपर्ने र अहिलेको परिस्थितिलाई निकास दिनुपर्ने उनीहरूको मत छ । ‘हामी भोलि (मंगलबार) ११ बजे प्रधानन्यायाधीशलाई भेट्दै छौँ । हामीले अहिले आएका विवादबारे उहाँलाई आफ्नो भनाइ राख्ने मौका दिने र मार्गप्रशस्त गर्न अनुरोध गर्ने निर्णय गरेका छौँ,’ अर्का एक न्यायाधीशले भने । 

न्यायाधीशहरू छलफलमा रहँदा प्रधानन्यायाधीश जबरा भने पूर्ण बैठकमा सहभागी हुने आसमा कुरिरहेका थिए । ‘हामीले पूर्ण बैठकको सबै तयारी गरेका थियौँ । न्यायाधीशहरूको बैठक कतिवेला सकिन्छ भनेर कुरिरहेका थियौँ,’ सर्वोच्चका सहरजिस्ट्रार बाबुराम दाहालले भने, ‘तर, बारका पदाधिकारी पनि आउनुभएन । न्यायाधीशहरूको बैठक पनि ढिलै सकियो ।’ 

बारले भने पहिल्यै न्यायाधीशहरूले पूर्ण बैठकमा सहभागी नहुने निर्णय गरिसकेकाले आफूहरू नगएको जनाएको छ । त्यसो त पूर्ण बैठक बहिष्कार गर्ने घोषणा १४ न्यायाधीशले पनि आइतबार नै गरेका थिए । वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकप्रसाद मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीले बैठक बहिष्कारको घोषणा गरेका थिए । यीमध्ये नहकुल सुवेदी सोमबार न्यायाधीशहरूको बैठकमा उपस्थित थिएनन् । उनले पहिले नै घरायसी कारणले बिदा लिएको सर्वोच्च स्रोत बताउँछ। 

पूर्ण बैठकमा प्रधानन्यायाधीशसहित २० न्यायाधीश रहन्छन् । अन्य पाँच न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिका भ्रमणमा, सपना प्रधान मल्ल धनगढीमा, अनिलकुमार सिन्हा सुर्खेतमा, तेजबहादुर केसी बुटवलमा र कुमार चुडाल मुगुमा रहेको सर्वोच्चका एक अधिकारीले बताए। 

यस्तो इजलास तोकिएको थियो 
न्यायाधीशहरू दीपककुमार कार्की, हरिप्रसाद फुँयाल, मीरा खड्का, कुमार रेग्मी, हरिकृष्ण कार्की, मनोजकुमार शर्मा, विश्वम्भरप्रसाद श्रेष्ठ, टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई, प्रकाशकुमार ढुंगाना, प्रकाशमानसिंह राउत, सुष्मालता माथेमा र बमकुमार श्रेष्ठलाई गरी सातवटा इजलास तोकिएको थियो । श्रेष्ठको एकल र अन्य न्यायाधीशको संयुक्त इजलास तोकिएको थियो । जम्मा दुई सय १६ वटा मुद्दा पेसीमा चढेकोमा एउटा पनि फस्र्योट भएन । 

पूर्ण बैठक : न बस्यो न स्थगित
सर्वोच्चका सबै न्यायाधीश र नेपाल बार एसोसिएसनका पदाधिकारीसमेत बस्ने गरी प्रधानन्यायाधीशले बोलाएको पूर्ण बैठक बस्न त सकेन नै, स्थगित भएको सूचना पनि आएन । ‘कता–कता न्यायाधीशहरू आउनुहुन्न भन्ने त थियो नै । बारका पदाधिकारी पनि अन्योलमै हुनुहुन्थ्यो । कर्मचारीहरू कुरिरहेका थियौँ, तर न बैठक बस्यो न स्थगित भयो,’ एक अधिकारीले भने ।

सर्वोच्च बारले भन्यो–जबरा असफल र अक्षम 
सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीशको भूमिकामा जबरा असफल र अक्षम भएको निष्कर्ष नै निकालेको छ । सोमबारको बैठकबाट उसले मार्गप्रशस्त गर्न जबरालाई आग्रह गरेको छ । ‘...न्यायपालिकालाई थप संकटबाट जोगाउन समुचित निकासका लागि मार्गप्रशस्त गर्न सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासमक्ष सर्वोच्च अदालत बार एसोसिएसन जोडदार माग गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

जबराले सम्हाल्न नसक्ने नेपाल बारको निष्कर्ष
नेपाल बार एसोसिएसनकोे सोमबार बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अब न्यायपालिका सम्हाल्न नसक्ने निष्कर्ष निकालेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । ‘अब उहाँले सम्हाल्न सक्नुहुन्न, निकास दिनुपर्छ । न्यायपालिकालाई बन्दी राख्नुहुन्न,’ श्रेष्ठले पत्रकारहरूसँग भने । यद्यपि, मंगलबार पूर्वपदाधिकारी, सल्लाहकार समिति र वरिष्ठ अधिवक्तालगायतसँग छलफल गरेपछि मात्रै औपचारिक धारणा सार्वजनिक गर्ने बारले जनाएको छ । 

छुटाउनुभयो की ?