ग्यास आपूर्ति सहज गर्न आयल निगमको समन्वयमा भैरहवा र बुटवमा पनि एकीकृत डिपोमार्फत उपभोक्तालाई विभिन्न ९ वटा ब्रान्डको ग्यास बिक्री सुरु भएको छ ।
काठमाडौंको टेकुस्थित निगमको पुरानो कार्यालयमार्फत ग्यास बिक्री गर्दा उपत्यकामा आपूर्ति सहज गर्न सहयोग मिलेकाले उपत्यकाबाहिर पनि सोही अभ्यास थालिएको निगमले जनाएको छ ।
भैरहवास्थित खाद्य संस्थान प्रांगणबाट मंगलबार बुटवल, स्वस्तिक, सिद्धार्थ, त्रिशुल र चण्डेश्वरी ब्रान्डको पाँच सय ४० थान ग्यास बिक्री गरेको निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भलवारी (रुपन्देही) का प्रमुख शैलेन्द्र भुसालले जानकारी दिए ।
त्यस्तै, बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसपरिसरबाट बुटवल, आरती, सिद्धार्थ, सिद्धनाथ, जानकी, स्वस्तिक, लुम्बिनी र त्रिशूल ब्रान्डको ८२८ थान ग्यास बिक्री भएको भुसालले बताए। ‘एकीकृत डिपोमा खासगरी विद्यार्थी, सुत्केरी महिला, किरियापुत्री बसेका परिवारका सदस्य र विपन्न वर्गमा नागरिकको उपस्थिति धेरै थियो ।
विपन्न वर्गका उपभोक्ताले थप ग्यासको माग गरेकाले बिहीबार पुनः सोही स्थानमा ग्यास बिक्री गरिने जानकारी दिए । ‘मंगलबार बिक्री भएकै स्थानबाट बिहीबार पनि ग्यास बिक्री गर्ने कार्यतालिका बनाएर उपभोक्तालाई खबर गरेका छौँ। बिहीबार भने करिब तीन हजार ग्यास सिलिन्डर वितरण गर्ने योजना छ,’ उनले भने ।
अत्यावश्यक भएका उपभोक्ताले दुवै स्थानको बिक्री केन्द्रमा आएर ग्यास लिन सक्ने उनले बताए । घरमा संचय गर्ने उद्देश्यले भने ग्यास लिनका लागि लाइनमा नबसिदिन उपभोक्तालाई उनको अनुरोध छ ।