आँगनमा आफन्त र छरछिमेकीको भिडभाड छ। तर, त्यो भिडमा कुनै उत्साह छैन। कसैको अनुहारमा मुस्कान छैन। सबैको अनुहार मलिन छ। वातावरण शोकमग्न छ। राज्यसत्ताले बेपत्ता पारेका व्यक्तिको दाहसंस्कार गर्ने तयारी गरिएको छ। आजभन्दा २५ वर्षअघि नेपाली सेनाले बेपत्ता पारेका गेरुवा गाउँपालिका– ६, बाजपुरका जगतप्रसाद थारूको दाहसंस्कारमा सहभागी हुन आफन्त र छरछिमेकी जम्मा भएका हुन्।
कोही बाँस काटिरहेका छन्। कोही डोरी बनाइरहेका छन्। केही आफन्त घरभित्र कुशको शव बनाइरहेका छन्। केही समयमा कुशको शव तयार गरियो। शवलाई घाटसम्म लैजान अर्थीमा राखियो। मलामी जान आफन्त र छरछिमेकी तयार भए। परिवारले अन्ततः जगतप्रसादको अन्तिम बिदाइ गर्यो। २५ वर्षपछि परिवारले जगतप्रसादको मृत्यु स्वीकार गर्यो र अन्तिम संस्कार गर्यो।
तत्कालीन शाही नेपाली सेनाले १३ फागुन ०५८ मा थारूलाई सोधपुछ गर्ने भन्दै घरबाट लगेको जगतप्रसादकी श्रीमती जानकी थारूले बताइन्। उनले श्रीमानलाई ठाकुरद्वारामा रहेको शाही नेपाली सेनाको ब्यारेकमा राखिएको कुरा श्रीमानसँगै सेनाले लिएर गएको उनका साथी तेजु थारूबाट थाहा पाएको जानकारी दिइन्।
उनले भनिन्, ‘सेनाले मेरो श्रीमानलाई बेपत्ता बनाएको पनि २५ वर्ष बितिसक्यो। तर, अहिलेसम्म सरकारले मेरो श्रीमान् जीवित हुनुहुन्छ कि मृत्यु भइसकेको हो भन्ने आधिकारिक जानकारी दिएको छैन ।’
लामो समय बितिसक्दा पनि सरकारले बुबाको बारेमा कुनै जानकारी नदिएपछि सामाजिक, सांस्कृतिक र कानुनी बाध्यताका कारण बुबाको दाहसंस्कार गर्नुपरेको छोरा युगबहादुर चौधरीले बताए।
‘बुबाको अवस्था सरकारले सार्वजनिक गरेन। त्यही भएर कुशको शव बनाएर भए पनि बुबाको अन्तिम संस्कार गरेका छौँ,’ उनले भने, ‘बुबालाई बेपत्ता पारिएपछि बुबाको खोजीमा परिवार र आफन्त सबैजना लागे पनि बुबाको बारेमा सत्यतथ्य सार्वजनिक हुन सकेन।’ थारूलाई सेनाले लिएर गएपछि उनी घर फर्किन पाएनन्। यता परिवारका सदस्य भने सेनाले जगतप्रसादलाई छोडिदिन्छ भन्ने आशामा प्रतीक्षा गरिरहे।
जगतप्रसादको प्रतीक्षा गर्दागर्दै परिवारको हप्ता बित्यो। महिना बित्यो। ऋतुहरू फेरिए। वर्षैपिच्छे क्यालेन्डर फेरियो। तर, जगतप्रसादको प्रतीक्षामा बसेको परिवारको मन फेरिएन। जानकी अझै पनि मूलबाटो हेरेर बस्छिन्। तर, जगत कहिल्यै त्यो मूलबाटो भएर फर्किएर आएनन्। उनलाई सेनाले फर्किएर आउन दिएन। जगतलाई सेनाले बिचमै बेपत्ता पार्यो। २५ वर्ष बितिसक्दा पनि राज्यले जगतको बारेमा कुनै आधिकारिक जानकारी दिएको छैन। प्रतीक्षा गर्दागर्दै परिवारले २५ वर्ष बितायो।
श्रीमानको मृत्यु भएको भन्दै सरकारले पटक–पटक गरेर १० लाख रुपैयाँ राहत दियो। तर, अहिलेसम्म सत्य थाहा नदिएको जानकी थारूले बताइन्। न्याय दिन नसकेको भन्दै उनले भनिन्, ‘राहतभन्दा ठुलो त न्याय हो। सत्य थाहा दिनु हो। तर, सरकार सत्य कुरा बताउन खोजेको छैन ।’
०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी) दुवै पक्षले द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्ति तथा मारिएका व्यक्तिको वास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको ६० दिनभित्र सार्वजनिक गरी परिवारजनलाई जानकारी उपलब्ध गराउने सहमति गरेका थिए। सो सहमति हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन।
जगतप्रसाद जीवित छन् कि मृत्यु भइसकेको छ भन्ने प्रश्नको उत्तर परिवारसँग छैन। राज्यसँग पनि परिवारलाई उत्तर दिन चाहेको छैन। त्यही अनिश्चितताको बिच परिवारले आज कुशको शव बनाएर भए पनि अन्तिम संस्कार गर्ने निर्णय गरेको छ।
आँगनमा कुशको शव तयार गर्दै गर्दा जगतप्रसादको परिवार शोकमा डुबेको छ। वर्षौँदेखि भोग्दै आएको र मनमा दबाएर राखेको पीडा आँसु बनेर बगिरहेको छ। जसरी सेनाले जगतप्रसादलाई लैजाँदै गर्दा परिवारमा त्रास र पीडा थियो, आज पनि त्यस्तै त्रास र पीडा छ। परिवारले जगतप्रसाद फर्किएर आउने आशा मारेको छ।
जगतप्रसादको दाहसंस्कारमा सहभागी भएका कसैसँग पनि जगतप्रसादको वास्तविक अन्तिम यात्राको कथा छैन। राज्यले २५ वर्षसम्म त्यो कथा परिवारलाई सुनाएको छैन। जगतप्रसादको अन्तिम संस्कार गरिए पनि सत्य र न्यायको खोजी अझै रोकिएको छैन।