
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका– ६ स्थित तुइनखोलामा आज साँझ खसेको पहिरोका कारण सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनकी प्रमुख गायत्री शर्माले दिउँसोदेखि साना पहिरो खसिरहेका वेला साँझ ठुलो पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिइन्। उनका अनुसार पहिरो पन्छाउने काम सुरु भए पनि माथिबाट अझै पहिरो खस्ने क्रम नरोकिएकाले जोखिम कायमै छ।
‘सडक खुलाउने प्रयास जारी छ, तर साँझपख खसेको ठुलो पहिरो पन्छाउन केही समय लाग्ने देखिन्छ,’ प्रमुख शर्माले भनिन्। रातको समयमा पहिरोको जोखिम अझ बढी हुने भएकाले यात्रु तथा सवारीचालकहरूलाई उक्त सडकखण्ड प्रयोग नगर्न अनुरोध गरिएको छ।