Skip This
विश्वकप छनोटमा मेसीलाई उछिन्दै रोनाल्डोको अर्को कीर्तिमान
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 08 September, 2025
Invalid date format o८:५५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विश्वकप छनोटमा मेसीलाई उछिन्दै रोनाल्डोको अर्को कीर्तिमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५५:oo

फिफा विश्वकप फुटबल छनोटमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान ग्वाटेमालाका कार्लोस रुइजको नाममा छ । उनले विश्वकप छनोटमा कीर्तिमानी ३९ गोल गरेका छन् । कार्लोसलाई वर्तमान समयमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनल मेसीले पछ्याइरहेका छन् । अझ मेसीभन्दा रोनाल्डो एक कदम अगाडि छन् । रोनाल्डोले युरोपियन विश्वकप छनोटमा अर्मेनियाविरुद्ध दुई गोल गर्दै ३८ गोल संख्या पुर्‍याएका छन् । 

अब उनले एक गोल गरे कार्लोसको कीर्तिमान बराबरी गर्नेछन् । दुई गोल गरे उनी विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडीका रूपमा रहनेछन् । ४० वर्षीय स्ट्राइकर रोनाल्डोकै उत्कृष्ट प्रदर्शनमा पोर्चुगलले अर्मेनियामाथि ५–० को ठुलो जित निकाल्यो । गत शुक्रबार मेसीले रोनाल्डोसँगै विश्वकप छनोटमा समान ३६ गोल संख्या पुर्‍याएका थिए । अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोले १४० गोल गरेका छन् । मेसीले अर्जेन्टिनाबाट ११४ गोल गरेका छन् । 

रोनाल्डोको नजर छैटौँ विश्वकप सहभागिता 
रोनाल्डोले लगातार छैटौँपटक विश्वकप खेल्ने अभियानलाई बलियो बनाएका छन् । सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा विश्वकप आयोजना गर्दै छन् । पोर्चुगल छनोट भए रोनाल्डोले छैटौँपटक विश्वकप खेल्नेछन् । संयोग कस्तो छ भने मेसी पनि छैटौँ विश्वकप खेल्ने तयारीमा छन् । अर्जेन्टिना विश्वकपमा छनोट भइसकेको छ । रोनाल्डो अहिले ४० वर्षको उमेरमा पनि सक्रिय छन् । हालै उनले साउदी अरबको क्लब अल नासरसँग नयाँ सम्झौता गरेका छन् । गत वर्ष उनले पोर्चुगललाई युरोपियन नेसन्स लिग उपाधि दिलाएका थिए । फुटबल करिअरमा सबै उपाधि जितेका रोनाल्डोले अहिलेसम्म उचाल्न नसेको ट्रफी विश्वकप हो । 

इंग्ल्यान्डको शतप्रतिशत जित 
युरोपियन छनोटमा इंग्ल्यान्डले शतप्रतिशत जित नतिजा निकालेको छ । भिला पार्कमा भएको खेलमा इंग्ल्यान्डले एन्डोरामाथि २–० को जित निकाल्यो । मुख्य प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा इंग्ल्यान्डले लगातार चौथो जित दर्ता गरेको हो । खेलमा २५औँ मिनेटमा एन्डोराका डिफेन्डर क्रिस्टियन गार्सियाले आत्मघाती गोल गरेका थिए ।  खेलको ६७औँ मिनेटमा डेक्लान राइसले रिस जेम्सको पासमा हेडिङ गोल गरे । समूह ‘के’मा इंग्ल्यान्ड ९ अंकसहित शीर्ष स्थानमा छ । अब इंग्ल्यान्डले मंगलबार बेलग्रेडमा सर्बियाविरुद्ध खेल्नेछ ।