Skip This
नरभक्षी बाघले बारामा फेरि लियो अर्को ज्यान
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 08 September, 2025
Invalid date format o७:४o:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नरभक्षी बाघले बारामा फेरि लियो अर्को ज्यान

तीन महिनामा चारजनाको मृत्यु, बढाइयो सुरक्षा सतर्कता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:४o:oo

बाराको जितपुरसिमरा उपमहानगरपालिका– ४ सिमरामा आइतबार बिहान बाघको आक्रमणमा परी ५८ वर्षीय छेवाङ लामाको मृत्यु भएको छ । बिहान करिब ९:३० बजे प्रगतिशील सामुदायिक वनमा च्याउ टिप्न गएका वेला उनीमाथि बाघले हमला गरेको थियो ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीका अनुसार आक्रमणपछि लामा घटनास्थलमै मृत अवस्थामा भेटिएका थिए । ‘च्याउ टिप्ने क्रममा अचानक बाघको आक्रमणमा परेपछि उनी गम्भीर घाइते भए र घटनास्थलमै उनको मृत्यु भयो । घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ,’ डिएसपी जोशीले भने, ‘मृतकले प्रयोग गरेको साइकलको झोलामा च्याउ पनि रहेको पाइयो । शव घटनास्थलभन्दा केही पर घिसारिएको अवस्थामा भेटियो ।

असारदेखि भदौसम्मको तीन महिनामा मात्र बारामा बाघको आक्रमणमा चारजनाले ज्यान गुमाइसकेका छन् । लगातारको आक्रमणले जितपुरसिमराआसपासका बासिन्दा त्रासमा परेका छन् । यसअघि ३ असारमा बाघको आक्रमणमा ५५ वर्षीय चन्द्रबहादुर ब्लोनको ज्यान गएको थियो । जितपुरसिमरा– २१ का ब्लोन दिउँसो बाख्रा चराउन पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा गएका वेला बाघले आक्रमण गरेको थियो ।

११ भदौमा जितपुरसिमरा– २२ का ४७ वर्षीय कृष्णकुमार शर्मालाई पनि बाघले आक्रमण गर्‍यो । घाँस काट्न गएका उनी निकुञ्जभित्र मृत अवस्थामा भेटिए । त्यसको आठ दिनपछि १८ भदौमा सोही वडाका रमेश कार्कीमाथि बाघले आक्रमण ग¥यो । ३८ वर्षीय कार्की घाँसदाउरा लिन रनकुमारी सामुदायिक वनमा गएका थिए । केही समयपछि उनको कंकाल मात्र भेटिएको थियो । 

लगातार आक्रमणपछि पर्सा राष्ट्रिय निकुञ्जले तीन दिनअघि दुई हात्ती र सुरक्षाकर्मीलाई जितपुरसिमरा– २१ र २२ का निकुञ्ज तथा सामुदायिक वन क्षेत्रमा परिचालन गरेर बाघको निगरानी सुरु गरेको थियो, अझै नरभक्षी बाघ फेला पार्न सकेको छैन । निकुञ्जका कर्मचारीसँगै डिभिजन वन कार्यालय बारा, चितवनबाट आएका राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रका प्राविधिक टोली पनि सक्रिय छन् । डिभिजन वन कार्यालय बारा प्रमुख राजीव झाका अनुसार हात्ती प्रयोग गरेर बाघलाई डार्टमार्फत बेहोस पार्ने योजना बनाइएको छ । ‘स्थानीय बासिन्दा त्रासमुक्त हुन नरभक्षी बाघलाई नियन्त्रणमा लिनैपर्छ,’ उनले भने, ‘हामीले निगरानी क्षेत्र विस्तार गरेका छौँ ।’ नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली पनि प्रभावित क्षेत्रमा तैनाथ गरिएको छ ।

नरभक्षी बाघ नियन्त्रण नभएसम्म प्रभावित क्षेत्रमा जान अस्थायी रोक लगाइएको छ । पूर्वमा निजगढ नगरपालिकाको बकैया खोला, पश्चिममा हेटौँडादेखि वीरगन्जको खडकखण्डसम्म, उत्तरमा मकवानपुरको सिमाना र दक्षिणमा कोल्हबी हुँदै बडरहर्वासम्म वन क्षेत्रमा प्रवेशमा रोक लगाइएको छ । मोटरसाइकलमा एक्लै यात्रा नगरी बस वा ट्रकसँगै मात्र यात्रा गर्न आग्रह गरिएको छ ।

 च्याउ टिप्न गएका लामा बाघको आक्रमणमा परे
डिएसपी वेदप्रकाश जोशी,इलाका प्रहरी कार्यालय सिमरा

च्याउ टिप्ने क्रममा अचानक बाघको आक्रमणमा परेपछि उनी (छेवाङ लामा) गम्भीर घाइते भए र घटनास्थलमै उनको मृत्यु भयो । घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ । मृतकले प्रयोग गरेको साइकलको झोलामा च्याउ पनि रहेको पाइयो । शव घटनास्थलभन्दा केही पर घिसारिएको अवस्थामा भेटियो । 

 बाराको वन क्षेत्रमा प्रवेश निषेध, बाघ नियन्त्रणमा जोड
बाराको जितपुरसिमरा उपमहानगरका विभिन्न वन क्षेत्रमा केही समयदेखि बाघ र अन्य वन्यजन्तुको आक्रमणका कारण नागरिकको मृत्यु बढ्दै गएपछि डिभिजन वन कार्यालय बाराले वन क्षेत्रमा प्रवेश पूर्ण रूपमा निषेध गरेको छ । डिभिजन वन अधिकृत राजीवकुमार झाको संयोजकत्वमा विभिन्न सरोकारवालाको उपस्थितिमा आइतबार बसेको बैठकले वन ऐन, २०७६ को दफा ९ अनुसार राष्ट्रिय वन, जसमा सरकारले व्यवस्थित गरेका वन, सामुदायिक वन तथा साझेदारी वनमा प्रवेश रोक्ने निर्णय गरेको हो । 

निषेध अवधि भदौ मसान्तसम्म कायम रहनेछ । यस अवधिमा वन क्षेत्रमा आवतजावत गर्न, घरपालुवा जनावर लैजान, च्याउ टिप्न जान, काठ, दाउरा, खरघाँस, पात, सोत्तरलगायत वन पैदावार संकलन गर्न र पिकनिक वा भोजभतेरका लागि जान पूर्ण रूपमा निषेध गरिएको छ । डिभिजन वन कार्यालयले वनमा प्रवेश गर्दा बाघ, हात्ती वा अन्य वन्यजन्तुले आक्रमण गर्न सक्ने उच्च सम्भावना रहेको जनाएको छ । केवल अति आवश्यक काम परेमा मात्र कार्यालयको अनुमति लिएर प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ ।