
कतिपय अस्तित्व नै नामेट हुने अवस्थामा छन् ।
सांस्कृतिक सहर उपत्यकामा तीन दरबार स्क्वायर छन्, वसन्तपुर, पाटन र भक्तपुर । युनेस्कोको सम्पदा सूचीमा सूचीकृत यी दरबार स्क्वायरबाहेक ५० भन्दा धेरै राणाकालीन दरबार र भवन छन्, जुन अहिले सरकार र निजी क्षेत्रले प्रयोग गरिरहेका छन् । राणाकालीन इतिहास बोकेका ती दरबार आफैँमा ऐतिहासिक सम्पदा हुन् । कतिपय राणाकालीन भवन शैक्षिक प्रयोजनमा छन् भने कतिपयमा सरकारी कार्यालय चलिरहेका छन् । एउटै इतिहास र विरासत बोकेका महत्वपूर्ण केही दरबार खण्डहर अवस्थामा छन् । अझ ०७२ सालको भूकम्पका कारण राणाकालीन थुप्रै भवनमा ठुलो क्षति पुग्यो । क्षति पुगेका राणाकालीन संरचनाको पुनर्निर्माण कार्य अझै सकिएको छैन । राणाकालीन ती संरचनाको चुस्त अभिलेख राज्यसँग समेत छैन । कतिपय भवन अस्तित्व नै मेटिने खतरामा छन् ।
पुरातत्व विभागको तथ्यांकअनुसार देशभर तीन हजार पाँच सय सम्पदा छन् । यसमा मठमन्दिर, पाटीपौवा, ढुंगेधारादेखि पुराना भवनसमेत पर्छन् । ऐतिहासिक राणाकालीन भवन मात्रै उपत्यकाका तीन जिल्लामा ५० भन्दा धेरै छन् । तर, त्यसको यकिन तथ्यांक विभागसँग नभएको विभागका प्रवक्ता रामबहादुर कुँवर बताउँछन् । उनका अनुसार उपत्यकाका तीन जिल्लामा मात्रै तीन हजार १७८ वटा सम्पदा छन् । ‘सबैभन्दा बढी सम्पदा राणाकालीन समयका छन्, त्यसपछि मल्लकालीन समयलाई प्रतिनिधित्व गर्ने तीन जिल्लाका दरबारहरू (पाटन दरबार, हनुमानढोका दरबार र भक्तपुर दरबार) हुन्,’ प्रवक्ता कुवँरले भने, ‘शाहकालीन भवन पनि केही छन्, तर लिच्छविकालको कुनै स्तम्भ छैन ।’
दरबारहरूको दुरुपयोग
राणाकालीन दरबार र भवन कतिपय सरकारले प्रयोग गरिरहेको छ भने कतिपय व्यक्तिले उपभोग गरिहेका छन् । कतिपय संरचना कसरी व्यक्ति वा संस्थाको स्वामित्वमा पुग्यो भन्नेबारे पुरातत्व विभागसँग आधिकारिक प्रमाण छैन । सरकारले नै चलाइरहेका राणाकालीन तथा ऐतिहासिक भवनको समेत उचित प्रयोग छैन । कुन दरबार तथा भवनमा के राख्दा वा कसरी चलाउँदा उपयुक्त हुन्छ र पर्यटक तान्न सकिन्छ भन्नेबारे चासो दिइएको छैन ।
हाल बबरमहल दरबारमा सडक विभाग, फोहरा दरबारमा अमेरिकी राजदूतावासअन्तर्गतको ‘अमेरिकन रिक्रिएसन सेन्टर’, लाजिम्पाट दरबारमा शंकर होटेल, मनोहरा दरबारमा व्यक्तिहरू, हरिहर भवनमा कृषि विभाग, लाल दरबारमा होटेल याक एन्ड यती, श्री दरबारमा मदन पुस्तकालय, थापाथली दरबारमा राष्ट्र बैंक, लक्ष्मी निवासमा सेना, शीतल निवासमा राष्ट्रपति, चार बुर्जा दरबारमा निर्वाचन आयोग, जावलाखेल दरबारमा भूमिसुधार विभागलगायत छन् ।
प्राचीन स्मारक संरक्षण ऐन, ०१३ (१९५६) अनुसार सय वर्षभन्दा पुरानो भौतिक वस्तु वा स्मारकलाई ऐतिहासिक मानिन्छ । त्यस्तो संरचना संरक्षण गर्नुपर्ने ऐनमा किटान छ । तर, नेपालमा ऐतिहासिक संरचनाको उचित संरक्षण र प्रयोग भएको पाइँदैन । इतिहासकार दिनेशराज पन्त पुराना भवनलाई जथाभावी प्रयोग नगरी उचित किसिमले प्रयोग गर्नुपर्ने बताउँछन् । ‘पुराना भवन तथा घरलाई संग्रहालय बनाउन सकिन्छ, तर सबैलाई संग्रहालय बनाएर पनि साध्य हुँदैन, तसर्थ कतिपय भवन आयआर्जन तथा होटेलको रूपमा प्रयो गरिनु राम्रो हो,’ उनले भने, ‘तर त्यसको मौलिकता र इतिहास बिग्रनु भएन, हिजो जुन अवस्थामा थियो, त्यही अवस्थामा अहिले पनि रहनुपर्छ, सरकारले यसबारे चासो दिन जरुरी छ ।’
विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार राणाकालीन भवन कसरी चलाउने भन्ने मापदण्ड छैन । पुरातात्विक महत्वका त्यस्ता भवनलाई फरक ढंगले सञ्चालन गर्नुपर्ने थियो, तर त्यसो हुन सकेको छैन, कुनैमा होटेल चलिरहेका छन्, कुनैमा व्यक्ति बसिरहेका छन्, कुनैमा कर्मचारी बस्छन्,’ उनी भन्छन्, ‘राणाकालीन भवन मर्मतसम्भार गर्न खर्च र आर्किटेक्टको हिसाबमा निकै कठिन छ, त्यसैले यस्तो महत्वका भवनलाई कसरी चलाउने, त्यहाँ के राख्ने, व्यक्तिका नाममा रहेका राणाकालीन भवन कसरी सरकारको नाममा ल्याउने भन्नेमा चासो दिन जरुरी छ ।’ प्रवक्ता कुँवरका अनुसार राणाकालीन एउटा दरबारलाई पुनर्निर्माण गर्न मात्रै २०–२५ करोडसम्म चाहिन्छ । आर्थिक हिसाबमा यो सहज मानिँदैन ।
हालको शंकर होटेल कुनै समय लाजिम्पाट दरबारका रूपमा थियो । त्यो ठाउँको नाम नै यही दरबारका कारण लाजिम्पाट हुन पुग्यो । तर, त्यो दरबार किनबेच हुँदै व्यक्तिगत सम्पत्ति बन्न पुग्यो । प्रवक्ता कुँवरको भनाइमा राणाकालीन समयमा राणाहरूले छोराहरूका लागि भवन तथा दरबार बनाइदिन्थे । ती भवन समयक्रमअनुसार कतिपय व्यक्तिगत सम्पत्तिका रूपमा रहे भने कतिपय सरकारी सम्पत्तिका रूपमा रहे । किनबेच हुँदाखेरी कतिपय भवन व्यक्तिगत बन्न पुगेको प्रवक्ता कुँवरको भनाइ छ । अधिकांश दरबार तथा भवन जुद्ध, वीर र चन्द्रशमशेरले छोराहरूका निम्ति बनाइदिएका थिए । तर, उनीहरूको शेषपछि पुस्तान्तरण हुँदै जाँदा त्यसको प्रयोजन फरक–फरक हुन गयो ।
कुँवरका अनुसार छाउनी म्युजियम राणाकालभन्दाअघि भीमसेन थापाको पालामा बनेको हो । उपत्यकाका तीन जिल्लाका दरबार स्क्वायरभित्रका दरबार मल्लकालीन हुन् । लिच्छविकालमा बनेका भौतिक स्मारक भने छैनन् । यस्तै पशुपति मन्दिर क्षेत्रमा रहेका केही भवन तथा घर राणा, शाह र मल्लकालीन हुन् । पशुपतिनाथको मुख्य मन्दिर मल्लकालीन हो ।
राणाकालमा वा सोभन्दा अघि बनेका अधिकांश भवनमा त्यतिवेलाका राजसंस्थाका व्यक्ति बसोवास गर्थे । राजाहरूले आफ्ना जति सन्तान छन्, उनीहरूका लागि फराकिलो भव्य भवन बनाइदिन्थे । समयक्रमसँगै अहिले कतिपय भवन भत्काएर व्यक्तिले आलिसान भवनसमेत बनाएका छन् । ‘पहिले–पहिले राणाहरूले आआफ्नो परिवारको प्रयोजनका लागि कम्पाउन्डसहितका फराकिला भवन बनाउँथे, ती भवनको स्वरूप फरक थियो,’ विभागका प्रवक्ता कुँवरले भने, ‘त्यतिवेला काठमाडौंका खुला ठाउँमा ठुलो कम्पाउन्डसहितको दरबार बनाएको थियो, तर कतिपय अहिले अनावश्यकजस्तै बनेका छन्, नारायणहिटी नै सात सय रोपनीमा बनेको छ, यो निकै ठुलो दरबार हो ।’
यी हुन् राणाकालीन भवन तथा दरबारहरू
उपत्यकाभित्र र बाहिर रहेका राणाकालीन भवन तथा दरबारहरू यी हुन् : बबरमहल, जिल्ला अदालत भवन, केशर महल, बागदरबार, गद्दी बैठक, दरबार हाई स्कुल, सिंहदरबार, मनोहरा दरबार, चार बुर्जा दरबार, शीतल निवास, केशर महल, स्टाफ कलेज, थापाथली दरबार, नारायण भवन लाजिम्पाट दरबार, पुल्चोक इन्जिनियरिङ क्याम्पस भवन, श्री महल, महाराजगन्ज दरबार तथा बैठक कक्ष, पाटनस्थित पुरानो अदालत भवन, हरिहर भवन, सेतो दरबार, लाल दरबार, टंगाल दरबार, मेरियट होटेल बसेको भवन, लक्ष्मी निवास, अन्नपूर्ण होटेल बसेको भवन, पुल्चोकस्थित हिमालय होटेल भवन, सत्यभवन, विशाल नगर भवन, शशी भवन, मानभवन, मीनभवन क्याम्पस भवन, चेत भवन, भोजन गृह भवन डिल्लीबजार, नीर भवन, बद्री निवास, हिरापुर भवन, भाटभटेनी दरबार, श्रीनिवास, सुवर्ण भवन, शान्त भवन, कालिमाटी दरबार, धु्रव भवन, विक्रम भवन, रविभवन, सुरेन्द्र भवन, यज्ञ भवन, सीता भवन, साझमहल, किरण भवन, हिरापुर महल, अग्नि महल, तोरण भवन, आनन्द निकेतन, त्रिचन्द्र कलेज भवन, महावीर भवन, नाथम कार्यालय रहेको भवन, चेत भवन पाटन, द्रोण भवनलगायत छन् । उपत्यकाबाहिर पाल्पा रानीमहल, पाल्पा संग्रहालय, क्याम्पस भवन, सल्यान दरबार, कपिलवस्तु, रुपन्देही, रौतहट, बारा, धनकुटा र पश्चिम नेपाल क्षेत्रका दरबार हुन् । विभागसँग कतिपय भवनमा वास्तविक नामसमेत छैन । अधिकांश भवन न्यू क्लासिकल शैलीमा बनाइएको सम्पदा तथा इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् । राणाकालीन भवनको उचाइ चार–पाँच तला हो । कतिपय ६ तलासम्मका पनि भेटिन्छन् । राणाकालीन समयमा भवनलाई एकरूपता दिन उचाइ पनि एउटै बनाउने नियम अपनाइएको श्रेष्ठ बताउँछन् । उनका अनुसार जंगबहादुर राणा युरोप भ्रमण गरेर आएपछि त्यहाँकै शैलीमा दरबार बनाउन लगाइयो । संस्कृतिविद् श्रेष्ठ भन्छन्, ‘यस्तो वास्तुकला कहिल्यै मास्नु हुँदैन ।’
संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ राणाकालीन समयमा भव्य भवन मात्रै होइन, बगैँचा संस्कृतिको समेत विकास भएको बताउँछन् । ‘त्यस समयदेखि नै नेपालमा पार्क तथा बगैँचा कल्चरको पनि विकास भएको थियो, राणाहरू विदेश गएर फर्कंदा भवन मात्रै होइन, पार्क पनि बनाउनुपर्छ भनेर अवधारणा ल्याए, त्यसकारण पुराना दरबार र भवन क्षेत्रमा पार्कहरू अहिले पनि देख्न पाइन्छ,’ उनले भने, ‘राणाकालीन समयमै विकास भएको पार्क कल्चर अहिले झन् साँघुरियो ।’
कुन दरबारको अवस्था कस्तो छ ?
खण्डहर हरिहर भवन
ललितपुर पुल्चोकनजिकैको हरिहर भवन र श्री महल खण्डहर र जर्जर बनेका छन् । दुईवटा भव्य भवन ०७२ को भूकम्पयता झाडीले ढाकिएका छन् । भुइँ, भित्ता र छानामा झार पलाएको छ, झ्याल–ढोकासमेत जीर्ण छन् । भूकम्पअघि हरिहर भवनमा कर्मचारीको लगत राख्ने राष्ट्रिय किताबखाना सञ्चालनमा थियो, तर भूकम्पले चारैतिरबाट भवन चर्किएपछि किताबखाना सारियो । पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्ग भन्छिन्, ‘यो भवन मिलेसम्म प्रबलीकरण गर्ने हो, त्यसका लागि करोडौँ खर्च हुन सक्छ ।’ हरिहर भवन चन्द्रशमशेरले वि.सं. १९८२ मा छोरा शंकरशमशेरका लागि निर्माण गरेका थिए । त्यसमा वि.सं. १९९५ सम्म शंकरशमशेर बसे । शंकरशमशेर बेलायत गएपछि नेपाल फर्किएनन् । त्यसपछि सो भवन नेपाल सरकारले वि.सं. ०२३ मा सरकारीकरण गरियो । इतिहासकार दिनेशराज पन्त मन्त्री क्वार्टर भएको क्षेत्रसम्म हरिहरभवन फैलिएको भए पनि अहिले निकै साँघुरिएको बताउँछन् । ‘अहिले हरिहर भवन निकै साघुँरो छ । त्यही भवनवरपर जगदम्बा प्रकाशन, भूमिसुधार आयोगलगायत कार्यालय बस्छन्,’ उनी भन्छन्, ‘मन्त्री क्वार्टर पनि त्यही क्षेत्रमा बनेको छ ।’
झाडीले छोप्यो श्री भवनलाई
पुल्चोकस्थित साझा पेट्रोलपम्पनजिकै रहेको श्रीमहलको भवन चर्किएको छ, आँगन झाडीले ढाकेको छ । भवनको अगाडिपट्टिको ढोका बन्द छ भने पुराना थाम, झ्याल, ढोका जीर्ण छन् । भवनको पूर्वपट्टिको भाग भत्किएको छ । ०७२ को भूकम्पअघि यहाँ स्थानीय पूर्वाधार विकासको कार्यालय थियो । भूकम्पपछि कार्यालयनजिकै रहेको अर्को भवनमा सारिएको छ । श्रीमहल चन्द्रशमशेरले वि.सं. १९८३ मा कान्छी श्रीमती बालकुमारीदेवी र छोराहरू मदनशमशेर, विष्णुशमशेरका लागि निर्माण गरेका थिए । १९८६ मा चन्द्रशमशेरको निधन भएपछि बालकुमारीदेवी भारत बस्न गइन् । एक छोरा विष्णुशमशेर लन्डन गए, अर्को छोरा मदनशमशेरको निधन भयो । त्यसपछि सो दरबार रानी जगदम्बाकुमारीदेवी हुँदै वि.सं. १९९५ मा मदनशमशेरका छोरा गोपालशमशेरको बन्न पुग्यो । तर, उनीहरू पनि भारतको देहरादुन बस्न गएपछि फर्किएनन् । त्यसपछि वि.सं. १९९७ तिर जगदम्बा कृषि कलेज तथा अनुसन्धान कलेज यही श्रीमहलमा खुल्यो । २४ मंसिर २०१७ मा तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला उपस्थित भएर श्री दरबार सरकारको नाममा लैजान हस्ताक्षर गरेका थिए । यो भवनमा राणाकालीन समयमा राजनेताहरू थुनिएको इतिहास छ । पुरातत्व विभागका महानिर्देशक प्रधानाङ्गले यी भवन पुनर्निर्माणका लागि सहरी विकास मन्त्रालयसँग सम्झौताका लागि प्रक्रिया अघि बढिरहेको बताइन् । यी दुईवटा भवन पुनर्निर्माण तथा प्रबलीकरण गर्दा कम्तीमा ५० करोड लागत लाग्ने अनुमान छ ।
टेकोको सहारामा आनन्द निकेतन भवन
पुल्चोकस्थित आनन्द निकेतन भवनमा त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान छ । राणाकालीन अन्य दरबार र भवनको तुलनामा चुस्तदुरुस्तजस्तै देखिए पनि यो दरबारले प्रबलीकरण पर्खिरहेको छ । भवनको अगाडि रहेका थाम, झ्याल ढोका जीर्ण बनेका छन् भने भित्तामा लेउ र झार उम्रिएको छ । दायाँबायाँ टेकोसमेत लगाइएको छ । भवनको भित्री भाग पनि ठाउँठाउँमा चर्किएको छ । तर, त्यही भवनमा पठनपाठन र कार्यालय सञ्चालन भइरहेको छ । आनन्द निकेतन वीरशमशेरले जेठी रानी र छोरा आनन्दशमशेरका निम्ति वि.सं. १९४९ सालमा निर्माण गरेका थिए । ०७२ को भूकम्पले यो भवनलाई केही स्थानमा चर्काएको थियो । यो भवन प्रबलीकरणका लागि पुरातत्व विभागले योजना नै अघि सारेको छैन । इतिहासविदका अनुसार यो आनन्द निकेतन भवन आनन्दशमशेरले नै बिक्री गरेका थिए । वि.सं. १९९५ तिरै यो भवन १० लाख ५७ हजारमा श्री ५ को सरकारलाई बिक्री गरिएको थियो । पुल्चोक इन्जिनियरिङ क्याम्पसका क्याम्पस प्रमुख डा. सञ्जय उप्रेतीले भवन धरापपूर्ण अवस्थामा रहेको जानकारी दिए । ‘अहिले हामी बस्न नमिल्ने भवनमा बसेका छौँ, यसको प्रवलीकरणमा ३५ करोड लागत लाग्छ, तर स्रोत छैन, पुरातत्व विभागसँग पनि माग गरेका छौँ, विभागले त्यति धेरै रकम दिन सक्ने अवस्था नभएको बताउँदै आएको छ,’ उनले भने, ‘टेको लगाएर धरापमा पठनपाठन गरिरहेका छौँ ।’
बागदरबारको बेहाल
सुन्धारास्थित बागदरबार अहिले दुरावस्थामा छ । ०७२ को भूकम्पले यो भवनमा क्षति पुर्यायो । भूकम्पपछि चार वर्ष महानगरका केही विभागले यहीँबाट काम गरेका थिए । भूकम्पका कारण यो भवन पूर्ण रूपमा क्षति भएको थियो । पाँचतले यो भवनको प्रबलीकरणको विषयमा पटक–पटक विवाद भएको थियो । हाल बागदरबारको अधिकांश भाग जीर्ण अवस्थामा छ । पश्चिमतर्फको एउटा ब्लक मात्रै पुनर्निर्माण गरिएको छ । भवनको मुख्य भाग जोखिमपूर्ण र चर्किएको अवस्थामा छ । त्यसभित्र काठमाडौं महानगरपालिकाका पुराना फाइल असरल्ल छरिएकासमेत देखिन्छन् । भित्तामा झार उम्रिएको छ । भित्री भाग खण्डहरजस्तै बनेको छ । राणाकालीन महत्व बोकेको यो भवन पुनर्निर्माण गर्नुको साटो काठमाडौं महानगरपालिका त्यसबाट पन्छिएको छ । यो दरबार पनि निओ क्लासिकल शैलीकै हो । यो भवन सुरुमा अमरसिंह थापाले बनाएका थिए । थापाको शेषपछि यो भवनमा पाटे बाघ पाल्न थालियो । सोही कारण पनि यसको नाम बाघदरबार हुन पुगेको बताइन्छ । संस्कृतिविद् श्रेष्ठले बागदरबार हेर्दाहेर्दै हराएको बताए । ‘बागदरबार ठुलो थियो, अहिले भएको भवन बिचमा भत्काएर बनाइएको हो, त्यस ठाउँलाई षड्यन्त्र गर्ने ठाउँ पनि भनिन्थ्यो,’ उनले भने, ‘खोज्दै जाँदा यो सिंहदरबारभन्दा पनि अघि बनेको इतिहास भेटिन्छ । राणाकालीन समयमै राणामध्येकै कसैले तैँलै बागदबार बनाइस् मैले सिंहदरबार बनाउँछु भनेर भनेको र त्यसपछि सिंहदरबार बनेको पनि सुनिन्छ ।’ यो भवन जुद्धशमशेरको पालासम्म आइपुग्दा उनले आफ्ना छोरा हरिशमशेर जबरालाई दिएको इतिहास छ । तर, १९९० को भूकम्पमा यो भवन क्षतिग्रस्त भयो । राणापक्षकै व्यक्तिले यो भवन नेपाल सरकारलाई बेचेको इतिहास छ भने हाल यो जग्गा तथा भवन काठमाडौं महानगरको नाममा छ । ०७२ को भूकम्प पनि पुनर्निर्माणमा विवाद हुँदा प्रबलीकरणको काम अझै अघि बढ्न सकेको छैन । बागदरबारमा हाल महानगरअन्तर्गतको १५० जना नगर प्रहरी बस्छन् ।
सेतो दरबारको गेट मात्रै बाँकी
दरबारमार्ग क्षेत्रमा एउटा सेतो दरबार भन्ने भवन निकै ठुलो थियो । तर, अहिले त्यसको गेट मात्रै छ । उक्त दरबारले हालको दरबारमार्गदेखि जमलसम्मको भाग ओगटेको थियो । तर, त्यसको केही भाग हाल अमेरिकन एम्बेसीले प्रयोग गरेको छ । यो दरबार वीरशमशेरले वि.सं. १९४९ मा छोरा गेहेन्द्रशमशेरका लागि बनाएको इतिहास छ । यो दरबारको क्षेत्रफल पनि भव्य थियो । त्यहाँ विशाल कम्पाउन्ड थियो । यो दरबारभित्र तत्कालीन वैज्ञानिक गेहेन्द्रशमशेरले प्रयोगशालासमेत बनाएको बताइन्छ । गेहेन्द्रशमशेरको १९६१ मा मृत्यु भएपछि उनका छोरा लीलाशमशेर यहाँ सरे । वि.सं. १९९० मा आगलागी हुँदा यो भवनको अधिकांश भाग क्षतिग्रस्त भयो । ०७२ को भूकम्पले थप क्षति पुर्यायो । सो दरबार आगलागी र भूकम्पको चपेटामा परेपछि त्यसलाई पुनर्निर्माण गरिएन । हाल त्यस दरबारको बाँकी भाग जमलस्थित विशाल प्रवेशद्वार गेटमा देख्न सकिन्छ ।
प्रयोगविहीन टंगाल दरबार
०७२ तिर टंगाल दरबारबारे एउटा विषय निकै चर्चित बन्यो । त्यतिवेला दुई सय रुपैयाँ सो दरबारको इँटाको मूल्य तोकिएको थियो । तर, स्थानीयवासी र सम्पदाप्रेमीको विरोधपछि सो इँटा संरक्षण गर्न थालियो । वीरशमशेरले आफ्ना भाइ भीमशमशेरलाई वि.सं. १९४६ मा यो दरबार बनाइदिएका थिए । यो दरबारमा भीमशमशेरले ४० वर्ष बिताए । उनी प्रधानमन्त्री भएपछि सिंहदरबार सरे । आफू सिंहदरबार सरेपछि उनले यो दरबार आफ्ना छोरा रामशमशेरलाई सुम्पिए । पछि यो दरबार रामशमशेरले बिक्री गरेको इतिहास छ । इतिहासकार पन्तका अनुसार टंगाल दरबार भीमशमशेरले बनाएका थिए । हाल यो भवन प्रयोगविहीन अवस्थामा छ ।
कुन दरबारमा अहिले के छ ?
बबरमहलमा सडक विभाग
चन्द्रशमशेरले आफ्ना माहिलो छोरा बबरशमशेरलाई उपहार दिएको भवन हो, बबरमहल । चन्द्रशमशेरकै आग्रहअनुसार निर्माण भएको यो दरबार थापाथली दरबारसँगै जोडिएको थियो । राजनीतिक घटनाक्रमसँगै यो भवन नेपाल सरकारले किनेको थियो । हाल यो भवन सडक विभागको भएको छ । ०७२ को भूकम्पमा क्षतिग्रस्त भवनको प्रबलीकरण सडक विभागले नै गरेको थियो भने हाल सो भवन पूर्ण रूपमा विभागले नै प्रयोग गरिरहेको छ । इतिहासकार दिनेशराज पन्त त्यो भवन निकै ठुलो रहे पनि पछि खुम्चिँदै गएको बताउँछन् ।
सवा सय वर्ष पुरानो अदालत भवनमा हुलाक कार्यालय
पुरातात्विक महत्वको अर्को भवन हो, ललितपुरको पाटन मंगलबजार क्षेत्रमा रहेको ऐतिहासिक अदालत भवन । यो भवन वि.सं. १९६० मा निर्माण भएको थियो । ०४८ मा यहाँबाट जिल्ला अदालत लगनखेलमा सरेको थियो । त्यसयता ०५५ सालतिर जिल्ला हुलाक कार्यालय यहाँ सर्यो । ०७२ को भूकम्पमा यो भवन चिराचिरा परेपछि हुलाक कार्यालय सर्यो । हाल भारतीय राजदूतावासको आर्थिक सहयोगमा पुनर्निर्माण कार्य भइरहेको छ ।
केशरमहलनजिकै गार्डेन अफ ड्रिम्स
०७२ को महाभूकम्पले क्षतिग्रस्त बनेको केशरमहलको मुख्य भाग प्रबलीकरण (रेट्रोफिटिङ) भए पनि यहाँको केशर पुस्तकालय भने अझै सारिएको छैन । केशरमहलको प्रबलीकरण ०७६ बाट सुरु भएको थियो । दुई वर्षभित्र सम्पन्न गर्ने भनिए पनि ६ वर्षमा सकियो । केशरशमशेरले आफ्नो निजी पुस्तकालय नेपाल सरकारलाई दान दिएपछि ०२६ देखि केशर पुस्तकालयको रूपमा सञ्चालन हुँदै आएको छ । यो दरबारमा अर्थ मन्त्रालयअन्तर्गतको पञ्जीकरणको कार्यालय र केशर पुस्तकालय छ । यो महल भएको क्षेत्रफल निकै फराकिलो छ । यो दरबारसँगै एउटा बगैँचा पनि छ । त्यो बगैँचालाई हाल गार्डेन अफ ड्रिम्स भन्ने गरिन्छ ।
लालदरबारमा होटेल याक एन्ड यती
लालदरबार वि.सं. १९४६ मा वीरशमशेरले बनाएका थिए । उनले आफ्नी कान्छी रानी (टोपकुमारी देवी)का निम्ति बनाइदिएको यो दरबार भिन्न किसिमको छ । १९५७ मा यो दरबार वीरशमशेरका छोरा तेजशमशेरको भयो । तर, त्यसको केही समयपछि (वि.सं. १९९०) मा जुद्धशमशेरले सो दरबार कब्जामा लिए । तर, प्रजातन्त्र आएपछि भने यो दरबार तेजशमशेरका छोरालाई नै फिर्ता दिइएको थियो । पछि उनीहरूले ‘होटेल याक एन्ड यती’लाई बिक्री गरे ।
लक्ष्मीनिवासमा सेनाको वास
चन्द्रशमशेरले वि.सं. १९६१ मा आफ्नो जेठा छोरा मोहनशमशेरका लागि यो दरबार बनाएको इतिहास छ । आफ्ना बाबु प्रधानमन्त्री हुन्जेल सिंहदरबार बसेका मोहनशमशेर बाबुको मृत्यु भएपछि लक्ष्मी निवास सरे । मोहनशमशेर प्रधानमन्त्री बनेपछि उनले लक्ष्मी निवास छाडे । त्यहाँ केही समय बसेका मोहनशमशेर पछि बेङ्लोर गए । त्यसयता सरकारले यो भवनमा नेपाली सेनालाई राखेको छ ।
शीतलनिवासमा राष्ट्रपति भवन
नेपालमा दरबारमध्ये सबैभन्दा बढी चर्चित र राजनीतिक हिसाबले शक्तिशाली दरबार हो, शीतलनिवास । यो निवासलाई हाल राष्ट्रपति निवास बनाइएको छ । चन्द्रशमशेरले वि.सं. १९८० मा छोरा कृष्णशमशेरका लागि यो दरबार निर्माण गरिदिएका थिए । तर, राजनीतिक परिवर्तनसँगै यो दरबार हस्तान्तरण हुँदै हाल नेपाल सरकारकै सम्पत्तिका रूपमा रहेको छ । यो दरबार नेपाल सरकारलाई हस्तान्तरण गर्न २००४ मा राणा परिवारलाई ठुलो दबाब दिइयो । त्यतिवेला कृष्णशमशेरले सो निवास नेपाल सरकारलाई दिएर आफू बेंलोर हानिए । त्यसपछि करिब आठ वर्ष यहाँ भारतीय राजदूतावासको कार्यालय रह्यो भने अहिले राष्ट्रपति भवन रहेको छ ।
दुई करोडमा किनियो सिंहदरबार
हाल देशको सबैभन्दा ठुलो प्रशासनिक शक्ति रहेको सिंहदरबार राणाकालीन समयमा पनि उत्तिकै शक्तिशाली मानिन्थ्यो । यो दरबार वि.सं. १९६० मा निर्माण भएको थियो । तत्कालीन समयमा चन्द्रशमशेरले निर्माण गर्न लगाएको यो दरबार भव्य छ । भित्र थुपै्र भवन छन् । पछि चन्द्रशमशेरले नै यो दरबार दुई करोड रुपैयाँमा नेपाल सरकारलाई बिक्री गरेका थिए ।
राष्ट्र बैंकले लियो थापाथली दरबार
कुनै वेला थापाथली दरबार भनेर चिनिने ठाउँमा हाल नेपाल राष्ट्र बैंकको कार्यालय छ । भीमसेन थापाले तत्कालीन समयमा आफ्नो निवासका लागि थापाथली दरबार बनाउन लगाएको इतिहास छ । त्यतिवेला थापा समुदायका व्यक्ति धेरै बस्ने भएकाले उक्त ठाउँलाई थापाथली भन्ने गरिएको थियो । समयक्रमसँगै यो दरबारमा चन्द्रशमशेर पनि बसेका थिए । उनले सिंहदरबार निर्माण गरेपछि त्यहाँ बसेको बताइन्छ । पछि यो दरबार सिंहशमशेरको पालामा मर्मतसम्भार भयो । त्यसपछि यो दरबारको नाम सिंहमहल भयो । हाल यहाँ राष्ट्र बैंक बस्दै आइरहेको छ ।
राणाका छोराछोरी पढाउने थलो त्रिचन्द्र कलेज
नेपालको सबैभन्दा पुरानो कलेजका रूपमा त्रिचन्द्र कलेजलाई लिइन्छ । यो कलेज वि.सं. १९७४ मा चन्द्रशमशेरले निर्माण गरेका थिए । तत्कालीन समयमा राणा तथा राजाका सन्तानलाई पढ्नका निम्ति यो कलेज स्थापना गरिएको थियो । यहाँ सुरुमा राणा र राजाले मात्रै पढाउन पाउँथे । हाल यो कलेजमा सर्वसाधारण सबैले पढ्न पाउँछन् ।
मेटियो वीर अस्पतालको पुरानो स्वरूप
नेपालकै जेठो अस्पतालका रूपमा रहेको वीर अस्पताल १२ साउन १९४५ मा स्थापना भएको थियो । त्यतिवेला यो अस्पतालको शय्या १५ थियो । हाल एक हजार हाराहारी पुगेको छ । त्यतिवेला वीरशमशेरले यो अस्पतालको स्थापना गरेका थिए । हाल पुरानो संरचना भेटिँदैन । सबैतिर नयाँ संरचना बनेको छ । वीर अस्पतालमा सुरुवातदेखि नै बिरामीका लागि खाना तथा खाजा खुवाउने चलन छ । यो अस्पताल नागरिकले नि:शुल्क उपचार सेवा पाउने गरी स्थापना गरिएको थियो । जीर्ण बन्दै गएपछि वीर अस्पतालको पुरानो संरचना रहेन । २०३८ सालमा पुनर्निर्माण सुरु भएर ०४२ सालमा नयाँ भवन बनेको थियो । अस्पताल भवनको पुनर्निर्माण गर्दा आधुनिक शैली अपनाएपछि राणाकालीन शैली मेटिएको थियो ।
चार बुर्जा दरबारमा निर्वाचन आयोग
निर्वाचन आयोग बस्दै आइरहेको भवनलाई चार बुर्जा दरबार भनिन्छ । यो दरबार वीरशमशेरले बनाएका थिए । केही समय वीरशमशेर सो दरबारमा बसेरपछि छोरा रुद्रशमशेरलाई दिएका थिए । वीरशमशेरको मृत्युपछि रुद्रशमशेर वि.सं. १९५९ देखि यहाँ बस्न थाले । यो भवनमा वि.सं. १९६२ मा आगलागी हुँदा सबै जलेर ध्वस्त भयो । पछि यसलाई पुनर्निर्माण गर्न लगाइएको थियो । पछि यो भवन ‘बहादुर भवन’का रूपमा रहेको थियो । यही भवनमा नेपालमै पहिलोपटक ‘रोयल होटेल’ खोलिएको थियो । नेपाल सरकारले यसलाई आफ्नो मातहत ल्याएपछि निर्वाचन आयोग राख्दै आएको छ ।
अनेकौँ घटना खेपेको नारायणहिटी दरबार
उपत्यकाभित्र रहेको सबैभन्दा ठुलो दरबार हो, नारायणहिटी दरबार । ०५८ मा यही दरबारमा तत्कालीन राजपरिवारको हत्या भयो । जंगबहादुरका भाइ रणोदिपको पनि यही दरबारपरिसरमा हत्या भएको इतिहास छ । सात सय रोपनीमा फैलिएर यो दरबारभित्र मठमन्दिर, बगैँचादेखि अनेक संरचना छन् । यो दरबार भएको ठाउँमा कुनै समय व्यक्तिको घर थियो । ढोलकसिंह बस्न्यात भन्ने व्यक्तिको घरजग्गालाई चौतारिया फतेहजंग शाहले आफ्नो नियन्त्रणमा लिई निवास बनाएको इतिहासकारले उल्लेख गरेका छन् । पछि जंगबहादुरले भाइ रणोदिप सिंहका निम्ति यो दरबार बनाए । रणोदिप वि.सं. १९३४ मा प्रधानमन्त्री हुँदा यसैलाई प्रधानमन्त्री निवास बनाइयो । रणोदिपको हत्यापछि वीरशमशेरले नारायणहिटी दरबारलाई थप बनाए । दरबारको एकापट्टि नारायणको मन्दिर र एकापट्टिी ढुंगेधारा अर्थात् हिटी रहेकाले यसको नाम पनि नारायणहिटी रहन गएको बताइन्छ । यो दरबार अहिले संग्रहालयको रूपमा छ । दरबारको थुप्रै जग्गा र संरचना प्रयोगविहीन छन् ।
जावलाखेल दरबारभित्र भूमिसुधार विभाग
कुनै समय दरबारका रूपमा निर्माण भएको जावलाखेल दरबारमा अहिले भूमिसुधार विभाग बस्छ । बमबहादुर कुँवर राणा र उनका छोरा बमवीरविक्रम कुँवर राणाको यो ठाउँमा घर थियो । पछि संरचना मासेर वीरशमशेरले जुद्धशमशेरका लागि जावलाखेलमा महल बनाइदिएको इतिहास छ । यस भवनमा वि.सं. १९८९ भन्दा अघिसम्म जुद्धशमशेर बसे । १९९० को भूकम्पमा यो दरबार क्षतिग्रस्त भयो । जुद्धशमशेरले सो भवन पुनर्निर्माण गरी छोरा सूर्यशमशेरलाई सुम्पिए । २००६ तिर यो दरबारमा युवराज शमशेरले क्लब रोन्डेउ चलाए । पछि युवराज शमशेरले नै यो दरबार नेपाल सरकारलाई बिक्री गरेको इतिहास छ ।
कुन–कुन पुनर्निर्माण भए ?
५० भन्दा धेरै रहेको दरबार तथा भवन कतिपय अस्तित्व नामेट हुने अवस्थामा छन् भने कतिपय राम्रै अवस्थामा छन् । ०७२ को भूकम्पपछि भने केही राणाकालीन दरबार पुनर्निर्माणको काम हाल सहरी विकासअन्तर्गतको सिएलपिआईले गरिरहेको छ । सिएलपिआईका प्रमुख प्रकाश अर्यालका अनुसार केही राणाकालीन संरचनाको काम सकिएपछि थप केहीको काम सुरु भएको हो । हालसम्म सिंहदरबारआसपासका अधिकांश ऐतिहासिक संरचना, राष्ट्र बैंकका दुवै भवन, बबरमहल, केशरमहललगायतको पुनर्निर्माण भइसकेको छ । त्यस्तै नक्साल बालमन्दिर, त्रिचन्द्र क्याम्पसलगायतको पुनर्निर्माण कार्य जारी छ । यी भवन राणाकालीन स्वरूपमै बन्दै छन् । तर, बागदरबार, पुल्चोक किताबखानाको भवन, पुल्चोक इन्जिनियरिङ क्याम्पस बसेको आनन्द निकेतन भवन र त्यसभित्र बनेका राणाकालीन संरचना, श्रीमहललगायत संरचना बन्न बाँकी छ । यी भवन तथा संरचना कहिले प्रबलीकरण तथा पुनर्निर्माण हुने हुन् पत्तो छैन ।
हाल व्यक्तिले चलाइरहेका राणाकालीन दरबार सरकारी स्वामित्वमा ल्याउन सजिलो छैन । अत्यन्तै खर्चिलो छ । एउटा सामान्य दरबार सरकारले किन्न अर्बौं पैसा तिर्नुपर्छ । तर, व्यक्तिगत स्वामित्वमा गइसकेकाले जबर्जस्ती खरिद गर्न मिल्दैन । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर पुराना मुख्य दरबार तथा भवन हाल सरकारकै प्रयोगमा रहेको बताउँछन् । तर, केही भवन व्यक्तिका सम्पत्तिका रूपमा पनि छन् । प्रवक्ता कुँवर भन्छन्, ‘राणाकालीन भवन व्यक्तिले नै प्रयोग गरेका भए पनि त्यसको पुनर्निर्माण गर्दा सरकारी नियम लागू हुन्छ, पुरानै शैलीमा बनाउनुपर्छ ।’
पुराना दरबारलाई संग्रहालय बनाउन सकिन्छ : दिनेशराज पन्त, इतिहासकार
पुराना भवनलाई जथाभावी प्रयोग नगरी उचित किसिमले प्रयोग गर्नुपर्छ । किनभने, यी भवनको ज्यादै नै महत्व छ । यसले नेपालको पहिले–पहिलेको भवनको इतिहास र शैली पनि बोल्छ । पुराना भवन तथा दरबारलाई संग्रहालय बनाउन सकिन्छ । तर, सबैलाई संग्रहालय बनाएर पनि साध्य हुँदैन । तसर्थ, कतिपय भवन आयआर्जन तथा होटेलको रूपमा प्रयोग गरिनु राम्रो हो । तर, त्यसको उचित प्रयोग र संरक्षण हुनुपर्यो । त्यसको मौलिकता र इतिहास बिग्रनु भएन । सरकारले यसबारे बढीभन्दा बढी चासो दिन जरुरी छ । पछिल्लो समय वडा कार्यालयले सम्पदा बनाउने नाममा जथाभावी संरचना खडा गर्नु पनि उचित होइन । त्यस्ता महत्व बोकेका राणाकालीन दरबार अहिले पनि कतिपय बिजोग अवस्थामा छन् । निजी तथा व्यक्तिले प्रयोग गरेका राणाकालीन दरबारको संरक्षण राम्रो छ । तर, सरकारले नै प्रयोग गरेका भवनको अवस्था बिजोग छ ।