
झापाकोे शिवसताक्षी नगरपालिका– १० माईधारका ८२ वर्षीय रंगलाल थपलियाको घरनजिकै कन्काई माई नदी आइपुगेको छ । बर्सेनि कटान गर्दै आएको नदी ५० मिटरनजिक पुगेपछि थपलिया चिन्तामा छन्– बाढीले कतै घर लगिदिन्छ कि !
बर्खा लागेपछि उनले राम्रोसँग सुत्न पाएका छैनन् । ‘आकाशमा कालो बादल मडारिएपछि मनमा डर पस्छ । खोला घरछेउमै आइपुगेको छ, उनले भने, ‘रातभर निदाउन सकिँदैन । बाहिर निस्किएर खोला हेर्नुपर्छ । कतिवेला भाग्नुपर्ने हो टुंगो छैन । हामी जोखिममा बसेका छौँ ।’ थपलियाको करिब अढाईमध्ये डेढ बिघा त नदीले बगाइसकेको छ ।
शिवसताक्षी– १० माईधारस्थित सुकुम्बासी टोलका रुद्रबहादुर नेम्वाङ पनि विस्थापित हुनुपर्छ कि भन्ने चिन्तामा छन् । नदीले कटान गर्दै लगेमा ५० घरपरिवार अझै विस्थापित हुने उनको भनाइ छ । ‘बल्ल भदौ लाग्यो । अझै पानी पर्ने सम्भावना छ । अस्थायी बाँधले दुई–चारवटा बाढी थाम्यो । तर, अब थाम्लाजस्तो छैन,’ उनी भन्छन्, ‘हामीले त यही खेत जोगाएका छौँ । अब खेत नै बगाएपछि कहाँ जाने ? के गर्ने ? सरकारले हाम्रो ठाउँतिर पनि ध्यान देओस्,’ उनले भने ।
रंगलालका अनुसार ३२ वर्षअघि नदी धेरै पूर्व थियो । तर, केही वर्षदेखि लगातार कन्काई माई नदीले घर लगिरहेको छ । पक्की र फुसका गरेर ३५ घर बगाइसकेको रंगलालले बताए । चारवटा घर नदी कटानको जोखिममा छन् ।
भीमा ऋषिदेवको घर भएको ठाउँमा अहिले कन्काई माई नदी बगिरहेको छ । दैनिक मजदुरी गरेर खाने ऋषिदेवको परिवारले दु:ख गरेर तीन लाखमा घर बनाएको थियो । तर, गत वर्ष उनको घर माई नदीको भेलसँगै बग्यो । अहिले उनीहरूलाई शिवसताक्षी नगरपालिकाले माईधार बजारको टहरामा राखेको छ । ‘हाम्रो त ठूलो परिवार छ । गिट्टी कुटेर खान्छौँ । मजदुरी गरेर घर चलाउँदै आएका छौँ । घर बगाएपछि हामीलाई सरकारले टहरामा राखिदिएको छ,’ उनले भनिन्, ‘टहराबाट कहिले हटाउने हो थाहा छैन । त्यसपछि कहाँ जाने हो त्यो पनि टुंगो छैन ।’
त्यही ठाउँकी सुकुम्बासी सीता ऋषिदेवको घर पनि गत वर्ष असारमा कन्काई माई नदीमा आएको बाढीले बगायो । त्यसपछि विस्थापित भएको परिवारलाई मुक्तिघाटको सामुदायिक भवनमा राखिएको थियो । तर, केही महिनापछि त्यहाँबाट पनि निक्लिन भनियो । ‘त्यसपछि हामी महिनाको एक हजार तिरेर भाडामा बस्दै आएका छौँ । हामी त अर्काकोमा काम गरेर खाने मान्छे । साह्रै गाह्रो भएको छ,’ उनले भनिन्, ‘चारजनाको परिवार पाल्न पनि मुस्किल छ । त्यहीमाथि भाडा तिर्नुपर्छ । अब के गर्ने हो केही थाहा छैन ।’
शिवसताक्षी नगरपालिकाका मेयर मेघाहाङ थोप्राले खोलाको बाँधमा बस्ती बस्दा तटबन्धमा पनि जोखिम निम्तिएको बताए । यद्यपि, स्थानीय सरकारले स्थायी तटबन्धनका लागि संघीय सरकारसँग पहल गरिरहेको बताए । ‘विस्थापित भएका र जोखिममा परेका घरहरू बाँध माथिबाट थिए । अहिले बाँध निर्माण गर्न पहल त भइरहेको छ । तर, पहिलाको बाँधभन्दा भित्र नयाँ बाँध बनाउन सरकारले मान्दैन रहेछ,’ उनले भने,’ तर, मर्ममतका लागि काम अघि बढ्ने भएको छ । हामीले पहल गरिरहेका छौँ ।’
जनताको तटबन्ध कार्यालय (हाल सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय)ले नदी कटान रोक्न प्रोकोपाइन प्रविधि प्रयोग गरेको छ । यो प्रविधिले पानीको बहावलाई रोक्न पिल्लरलाई त्रिभुज आकारमा राखिन्छ । अहिलेसम्म यो प्रविधिले नदी कटान रोके पनि क्रमश: पिल्लर बगाउन थालेको छ ।