
सुमोचालकलाई भरुवा बन्दुक ताक्ने नेपाली कांग्रेस खोटाङका जिल्ला सदस्य श्यामकुमार राईले चार दिनपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ११, खार्मीबाट दिक्तेलतर्फ हिँडेको ना.१ज ४३७२ नम्बरको सुमोलाई यही भदौ १६ गते खार्मीस्थित आफ्नै घरअगाडि रोकेर चालक सविन तामाङमाथि बन्दुक ताक्ने कांग्रेस नेता राईविरुद्ध बुधबार डाँका उद्योगसम्बन्धी मुद्दा दर्ता भएपछि शुक्रबार आत्मसमर्पण गरेका हुन् ।
घटनालगत्तै फरार बनेका कांग्रेस नेता राईले शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय खोटाङमा आएर आत्मसमर्पण गरेको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टले जानकारी दिए । ‘खार्मीबाट यात्रु लिएर दिक्तेलतर्फ आउँदै गरेको सुमोलाई रोकेर भरुवा बन्दुक ताक्ने कांग्रेस नेता राईविरुद्ध बुधबार डाँका उद्योगसम्बन्धी मुद्दा दर्ता गरेर प्रहरी परिचालन गरेका थियौँ । मुद्दा दर्ता गरेर खोजीकार्य तीव्र बनाएपछि नेता राई आफैँ आएर आत्मसमर्पण गरेका छन्,’ उनले भने, ‘प्रहरीमा आत्मसमर्पण गरेलगत्तै उनलाई जिल्ला अदालत खोटाङमा हाजिर गराएर अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा राखिएका उनीमाथि अनुसन्धान सुरु गरिएको छ ।’
कांग्रेस नेता राईले आफूहरूले दिक्तेल–खार्मी सडक मर्मत गरेको भन्दै जबर्जस्ती सहयोग रकम माग गर्दै आफूमाथि भरुवा बन्दुक ताकेर ज्यान मार्ने प्रयास गरेकाले कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा मुद्दा दर्ता गराएको चालक तामाङले बताएका छन् । खार्मीस्थित बाँझोबारी घर भएका कांग्रेस नेता राईले आफ्नै घरअगाडि सडकमा बाँस तथा मुढा तेर्स्याएर सडक अवरोध पार्दै आक्रमणको प्रयास गरेको भिडियो क्लिप्समा देखिएको छ ।
चालक तामाङलाई ताकेको भरुवा बन्दुक नेता राईकै श्रीमती टीकामाया राईलगायतले खोसेको सोही सुमोमा सवार यात्रु खार्मीस्थित तुर्खाका दिलीप राईले बताउँदै आएका छन् । नेता राईले भदौ १५ गते आइतबारसमेत यात्रु लिएर दिक्तेल जाँदै गर्दा आफूलाई पैसा मागेको चालक तामाङले आरोप लगाएका छन् ।
नेता राईको अवरोधबिच यही भदौ १५ गते आइतबार काठमाडौं जाने यात्रुलाई समयमै दिक्तेल पुर्याउनुपर्ने भएकाले सुमो भगाएर गाउँ पार गराएको चालक तामाङले बताएका छन् । खार्मीमा भएको घटनापछि बिचबाटोसम्म आफ्नो भाइलाई बोलाएर यात्रुसहितको सुमो दिक्तेल ल्याएको चालक तामाङले जानकारी दिएका छन् ।
नेता राईले भदौ १५ गते अर्का सुमोचालक जीवन कार्कीबाट भने रु. तीन हजार रकम असुलेको यातायात व्यवसायीहरूले बताएका छन् । चालक तामाङकै पछिपछि गुडिरहेको ना.१ज ८१६९ नम्बरको सुमोचालक कार्कीबाट नेता राईले आफ्नै घरअगाडि रोकेर रकम लिएको बुझिएको छ । घटनालगत्तै चालक तामाङले अस्थायी प्रहरी चौकी खार्मीमा भिडियो क्लिप्ससहित आफूहरूलाई खबर गरेकाे प्रहरीले जनाएको छ । घटनास्थल अर्थात् नेता राईको घरमा प्रहरी टोली पुग्दा घरमा ताला लगाइएको पाइएको प्रहरी चौकीका प्रमुख वरिष्ठ हवल्दार वीरेन्द्रबहादुर नेपालीले जानकारी दिए ।