
अछुत भन्दै सिराहाको सुखीपुर नगरपालिका– १० विश्वकर्मा चोकका गणपैत मल्लिकको परिवारलाई उठीवास लगाउने प्रयास भएको छ । स्थानीय गागन खोलाकिनारमा बस्दै आएका डोम परिवारका सदस्यमाथि बुधबार कुटपिट भयो । स्थानीय सहदेव महतो, सुकदेव महतो, श्यामसुन्दर महतो, नागेन्द्र महतोलगायतको समूहले गरेको कुटपिटबाट गणपैतकी श्रीमती सुमित्रा र छोरीज्वाइँ सञ्जय मल्लिक घाइते छन् ।
घरअगाडिको झाडी सफा गरिरहेका ज्वाइँमाथि एक्कासि हातपात गर्न थालेपछि छुट्याउन गएका वेला आफूमाथि पनि कुटपिट भएको सुमित्राले बताइन् । ‘बिहानै अछुतको मुख हेर्नुपर्यो, साइत बिग्रियो’ भन्दै कुटपिट भएको उनको आरोप छ ।
सुमित्राको धनगढीमाई नगरपालिका– ८ कसहास्थित मेगा हेल्थ केयर सेन्टरमा उपचार भइरहेको छ । उनको छाती, पेट र गालामा बढी चोट लागेको सेन्टरका स्वास्थ्यकर्मीसमेत रहेका सञ्चालक रामचरित्र महतोले बताए । उनका अनुसार राम्ररी बोल्नसमेत नसक्ने अवस्थामा बुधबार बिहान करिब ९ बजेतिर भर्ना गरिएकी सुमित्राको अवस्था सुधार हुँदै गएपछि बिहीबार बिहानदेखि बोल्न थालेकी छिन् । ‘छाती, पेटमा लात्ती, लाठीले कुटपिट गरेकाले बढी चोट लागेको छ,’ उनले भने, ‘उपचार गर्दै छौँ, अवस्था हेरेर शुक्रबारसम्म डिस्चार्ज गर्छौँ ।’
डोम परिवारमाथि कुटपिट भएको विषयमा मातहतको प्रहरी चौकीबाट खबर आए पनि पीडितले लिखित जाहेरी नदिएको इलाका प्रहरी कार्यालय महेशपुरपतारले जनाएको छ । ‘घटनाअघि जातीय छुवाछुतसम्बन्धी जाहेरी आएको थियो, जाहेरी पुन: सच्याएर थप प्रमाणसहित ल्याउने गरी फिर्ता पाठाएका थियौँ,’ महेशपुरपतार प्रहरी प्रमुख प्रहरी निरीक्षक रवीन्द्रराज मैनालीले भने ।
दुई घर डोमसहित एक घर यादव र एक घर मुस्लिम गरी चार परिवार बस्दै आएको थातथलोबाट जसरी भए पनि हटाउने षड्यन्त्र गरी कुटपिट गरिएको सुखीपुर– १० का वडाध्यक्ष देवनारायण यादवले बताए । ‘डोमसहित चार परिवारको उठीवास गराउन सडक अतिक्रमण गरी आवतजावतमा अवरोध गरेको भन्दै अदालतमा मुद्दा हाले,’ उनले भने ।
पसलमा समेत दिँदैनन् सामान
कसहा औरही सडकखण्डको गागन पुललगत्तै बायाँपट्टि डोमसहित चार परिवारलाई सुखीपुर– ७ मा पर्ने दायाँपट्टि घर रहेका सहदेव, सुकदेव, श्यामसुन्दर, नागेन्द्र महतोले जालेझेल गरिरहेको पीडित गणपैत मल्किकले बताए । घरअगाडि नागेन्द्रले मदिरासहितको सामानको पसल चलाउँदै आए पनि पसलमा किनमेल गर्न नदिने गरेको उनले बताए । ‘राति मदिरा सेवन गर्नेलाई उक्साएर गालीगलौज गर्न लगाउँछन्,’ उनले भने, ‘हो–हल्ला गर्न थालेपछि डरले घरभित्रै लुकेर बस्नुपर्ने बाध्यतामा छौँ ।’
अछुत भन्दै उठीवास गराउन अनेक षड्यन्त्र गर्दा पनि नसकेपछि दिनहुँ गालीगलौज गर्ने र आँगनमै पुग्ने गरी पाइपमार्फत फोहोर पानी खसाल्ने गरिरहेको उनको गुनासो छ । ‘आफ्नै जग्गा नहुँदा प्राय: सुनसान रहने श्मशानघाटका रूपमा रहेको खोला किनारमा लालाबालासहित झुपडी बनाएर बसेँ,’ उनले भने, ‘जग्गाको मूल्य बढेपछि जग्गा दाबी गर्नेले भनेको नमान्दा विभिन्न जालझेल गरेर दु:ख दिइरहेका छन् ।’
‘डोमले छोएको कलको पानी कसरी खाने भन्दै कलको ह्यान्डलसमेत निकालेर राख्थे,’ गणपैतकी छोरी रिनाले भनिन् ।