मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १८ बुधबार
  • Wednesday, 03 September, 2025
२o८२ भदौ १८ बुधबार १७:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा एक लाख ५४ हजारभन्दा बढीकाे अखाद्य वस्तु नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १८ बुधबार १७:२१:oo

उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सल्यानमा म्याद नाघेका सामग्री नष्ट गरिएको छ। जिल्लाका विभिन्न बजार अनुगमनका क्रममा म्याद गुज्रिएका उपभोग्य सामग्री बरामद गरी नष्ट गरिएको हो।

जिल्लाको श्रीनगर र सल्लीबजार क्षेत्रका विभिन्न पसलमा गरिएको अनुगमनबाट कुल एक लाख ५४ हजार ६ सय रुपैयाँभन्दा बढी मूल्यका म्याद नाघेका सामग्री संकलन गरी नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्याम खरालले जानकारी दिए।

उनका अनुसार ती सामग्रीहरू उपभोग गर्न अयोग्य भइसकेका र सार्वजनिक स्वास्थ्यमा प्रतिकूल असर पार्ने सम्भावना भएकाले नष्ट गरिएको हो। अनुगमन टोलीले श्रीनगर र सल्लीबजारका किराना पसल, मासु पसल, दूध डेरी तथा एग्रोभेट, कस्मेटिक पसल व्यवसायमा छापा मारेको थियो। अनुगमनका क्रममा दाना, पशुपन्छीका औषधि, आँटा, कुरमुरे, कुरकुरे, चाउचाउ, बिस्कुट, कस्मेटिकलगायतका वस्तुहरू म्याद नाघेको अवस्थामा फेला परेकाे उनले बताए।

कार्यालयले व्यवसायीहरूलाई उपभोग्य वस्तु बिक्री गर्दा म्याद, गुणस्तर र सुरक्षित भण्डारणको विशेष ध्यान दिन निर्देशन दिएको छ। प्रमुख खरालले भने, ‘म्याद सकिएका वस्तुको उपभोग स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन सक्छ। त्यसैले यस्ता वस्तु बिक्री गर्नेहरूलाई कडाइका साथ कारबाही प्रक्रिया अगाडि बढाइनेछ।’

यस किसिमका अभियानहरू उपभोक्तालाई सचेत गराउन र बजारमा गुणस्तरीय वस्तुहरूको पहुँच सुनिश्चित गर्न आवश्यक रहेको सहायक प्रमुख जिल्ला अधिकारी हरीश्चन्द्र शर्माले बताए। नियमित बजार अनुगमन गरेमा उपभोक्ता र व्यापारी सचेत हुने उनले विश्वास व्यक्त गरे।

संकलन गरिएका अखाद्य सामग्री जिल्ला प्रशासन कार्यालय सल्यान, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यान, पशु अस्पताल तथा पशु सेवा कार्यालय र पत्रकारको रोहवरमा नष्ट गरिएको हो।