
सिराहाको लहान नगरपालिका– १, मटियर्वामा दुई छोरासहित डेरामा बस्दै आएकी एक महिला र उनको जेठो छोरा मृत भेटिएका छन्।
लहान– १२, भोटिया टोल घर भई मटियर्वामा करिब एक वर्षदेखि डेरामा बस्दै आएकी प्रवीण चौधरीकी श्रीमती करिब २३ वर्षीया रञ्जिता चौधरी मंगलबार बिहान करिब साढे १० बजेतिर कोठाको पंखामा झुन्डिएको अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। सिराहा प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपककुमार सिंहका अनुसार करिब पाँच वर्षीय जेठो छोरा एरोन चौधरीसमेत कोठाको खाटमुनि मृत भेटिएका छन्।
स्थानीयले खबर गरेलगत्तै पुगेको प्रहरीले जीवितै भेटिएका नाम नखुलेका नौमहिने कान्छो छोरालाई तत्काल उद्धार गरी लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुर्याएको भए पनि भेन्टिलेटर नभएकाले स्थानीय सप्तऋषि अस्पताल पुर्याएर भेन्टिलेटरमा उपचार भइरहेको उनले बताए।
प्रहरीले घटनास्थल मुचुल्का उठाएर आमाछोराको शव दिउँसो करिब साढे १२ बजेतिर प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले जेठो छोरा एरोनको विषादी सेवनको कारणले मृत्यु भएको हुन सक्ने अनुमान गरेको प्रहरीले जनाएको छ। दुवैजनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ।
स्थानीय प्लाइउड फ्याक्ट्रीमा काम गर्दै आएका श्रीमानसँग रञ्जिताको तीन–चार दिनदेखि झगडा हुँदै आएको थाहा पाएको लहान– १ का वडाध्यक्ष युगलकिशोर चौधरीले बताए। श्रीमान्–श्रीमतीको झगडाको कारणले आवेशमा आएर जेठो छोरालाई विषादी सेवन गराएपछि आफू पंखामा झुन्डिएको आशंका गरिएको भए पनि प्रहरीले पोस्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न नसकिने जानकारी दिँदै घटनाको सूक्ष्म अनुसन्धान थालिएको जनाएको छ।
लहान– १२ का वडाध्यक्ष बद्रीनारायण चौधरीले स्थानीय सुकल चौधरीका छोराबुहारी रञ्जिता भोटिया टोल घर भए पनि लहानमै बसिरहेकाले सबै कुरा थाहा नभएको बताए। मृतक रञ्जिताको माइती घर लहान– २२ माछा फारामनजिकै रहेको उनले बताए।