
३० लाख रुपैयाँको बजेटमा दुई लाख ७२ हजार रुपैयाँबराबरको काम गरेर बाँकी बजेट भ्रष्टाचार गरेको आरोपमा १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन तीन जिल्ला शिक्षा अधिकारीसहितका व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
तत्कालीन जिशिअहरू डा. गणेशप्रसाद भट्टराई, केशवप्रसाद दाहाल र ज्ञानमणि नेपालविरुद्ध मुद्दा दायर भएको हो । नेपालविरुद्ध यसअघि पनि अख्तियारले अर्काे मुद्दा दायर गरिसकेको छ । हलेसी तुवाचुङ नगरपालिका– ४ स्थित लक्ष्मी माध्यमिक विद्यालयको भवन बनाउन भनेर जिल्ला शिक्षा कार्यालयबाट २४ लाख विनियोजन भएको थियो ।
बाँकी ६ लाख विद्यालयबाट व्यहोर्ने गरी ०७१/७२ मा सम्झौता भएको थियो । तर, फिल्डमा भने दुई लाख ७२ हजार ३२८ रुपैयाँ मात्रको काम गरी जिल्ला शिक्षा तथा विद्यालयका अधिकारीले भ्रष्टाचार गरेको अख्तियारको अभियोग छ । ३० लाख रुपैयाँकै भवन बनेको भनेर कागजी प्रतिवेदन बनाई सामान्य संरचना बनाएर उनीहरूले रकम हिनामिना गरेका हुन् ।
आयोगले जिल्ला शिक्षा कार्यालयका भुवनकुमार आचार्य, लेखापाल सुरेशकुमार श्रेष्ठ, सबइन्जिनियर शिवराज राई, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षहरू पृथ्वी दाहाल, शेषकुमार पौडेल, तत्कालीन प्रधानाध्यापकहरू राजेन्द्रप्रसाद दाहाल, ऋषिराम पोखरेल र नयनकुमार राईलाई प्रतिवादी बनाएको छ । विद्यालयकी लेखापाल सीता कार्की, भवन निर्माण गर्ने जिम्मेवारी पाएका अर्जुन तामाङविरुद्ध पनि मुद्दा दायर भएको छ ।