
राष्ट्रिय स्वतन्त्र पार्टीले डा. लेखजंग थापालाई रूपन्देही क्षेत्र नम्बर ३ को उम्मेदवार छनोट गरेको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रारम्भिक निर्वाचनबाट थापालाई उम्मेदवार छनोट गरेको थियो । बैठकपछि पार्टी कार्यालयमा उपसभापति डिपी अर्यालले थापालाई उम्मेदवार घोषणा गर्दै घन्टी चिह्न प्रदान गरेका थिए ।
‘रूपन्देही ३ को प्रस्तावित उम्मेदवारको रूपमा एकजना र बाँकी आठजना उहाँको सारथिको रूपमा लिएका छौँ,’ उपसभापति अर्यालले भने । प्रारम्भिक निर्वाचनमा नौजना उम्मेदवार प्रतिस्पर्धामा थिए । जसमा थापासहित कुसुम महर्जन, मधु अर्याल, सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, रचना क्षेत्री र पुनमकुमारी अग्रवाल छन् । सभापति रवि लामिछानेले आइतबार बिहान उम्मेदवारका सबै आकांक्षीलाई नक्खु कारागारमा बोलाएर भेटेका थिए । भेटमा उनले अहिले एकजना उम्मेदवार हुने र अरूलाई ०८४ मा अवसर दिने भन्दै एक भएर निर्वाचनमा खटिन शुभकामना दिएका थिए ।
थापाले आफ्नो एजेन्डा स्वास्थ्य निःशुल्क हुनुपर्ने रहेको बताए । अस्पतालमा बिरामीलाई परेको झन्झट हटाउनुपर्ने धारणा उनको छ । थापाले जनताले सोचेको परिवर्तन ल्याउने अभियानमा जोडिएको र प्रयत्न गरिरहने बताए । सभापति लामिछानेले चुनाव होइन, क्रान्ति हो भनेको र आफूले त्यही रूपमा लिएर मैदानमा उत्रिने उनको भनाइ छ ।