
परिवारका सदस्यको कुरुवा बसेकी वीरगन्जकी युवतीले खानेपानीमन्त्री प्रदीप यादवलाई फोनमा सोधिन्–‘हैजा लागेर मान्छे मरेका छन्, तपाईं के गर्दै हुनुहुन्छ ?’ तर, मन्त्री यादवले उल्टै युवतीलाई पक्राउ गराए
वीरगन्जमा एक सातासम्म हैजा नियन्त्रणबाहिर रहेको तथा आफ्ना बा–आमासहितका परिवारका सदस्य अस्पताल भर्ना भएको भन्दै गुनासो गर्ने एक युवतीलाई खानेपानीमन्त्री प्रदीप यादवले उल्टै थुनाएका छन् । ‘खानेपानीमन्त्री भएर वीरगन्जमा पिउने पानी कस्तो बाँड्नुभयो ? रोकथाम र नियन्त्रणका लागि के गर्नुभयो ?’ भन्दै फोन गरेकी कलैया उपमहानगरपालिका– २६, सिस्वा महेशपुरकी किरण साहलाई मन्त्री यादवले हिरासत पुर्याएका हुन् ।
शनिबार मध्यराति नेसनल अस्पतालमा कुरुवा बसिरहेकै वेला पक्राउ गरिएकी किरणविरुद्ध तीनवटा मुद्दामा तीन दिनको म्याद थप भएको पर्साका डिएसपी किशोर लम्सालले बताए । उनका अनुसार विद्युतीय अपराध, संघीय सांसदलाई धम्की दिने र झुटा समाचार÷अफवाह फैलाउनेसम्बन्धी मुद्दामा म्याद थप गरी किरणमाथि अनुसन्धान भइरहेको छ ।
मन्त्री यादवको सचिवालयबाट किरणविरुद्ध शनिबार उजुरी परेपछि प्रहरीले उनलाई अस्पतालबाटै नियन्त्रणमा लिएको थियो । झाडापखाला लागेपछि उनका बुबाआमाको शान्ति पोलिक्लिनिकमा तथा उनकी बहिनी र भतिजी (बहिनीकी छोरी)को नेसनल अस्पतालमा उपचार भइरहेको थियो । भतिजीमा त हैजा पुष्टि नै भएको थियो ।
शुक्रबार राति नै सामाजिक सञ्जालमा सार्वजनिक अडियोमा किरणले मन्त्री यादवसँग आक्रोश पोखेकी थिइन् । हैजासँग सम्बन्धित समस्या जानकारी गराउन पटक–पटक फोन गरे पनि नउठेको भन्दै उनले आक्रोश व्यक्त गरेको सुनिन्छ । ‘हैजा लागेर वीरगन्जमा मान्छे मरेका छन्, तपाईं के गर्दै हुनुहुन्छ ?’ उनले मन्त्री यादवलाई सोधेकी छिन् । वीरगन्जमा वितरित पानीको गुणस्तरबारे पनि उनले प्रश्न उठाएकी थिइन् । सार्वजनिक अडियो संवादमा मन्त्री यादवले ‘तपाईंसँग तथ्यांक छ हो ?’ भनेको सुनिन्छ । त्यसपछि थप आक्रोशित बनेकी युवतीले ‘तथ्यांक होइन, मेरो घरकै मान्छे आइसियूमा भर्ना छन, मन्त्रीजी । मैले
छोड्दिनँ, मलाई डर लाग्दैन । मारी दिन्छु’ भनेकी छिन् । यसैलाई लिएर मन्त्री यादवले उजुरी दिएका हुन् । जनसरोकारका विषयमा किरणले मन्त्री यादवसँग जवाफदेहिता मागे पनि मन्त्रीको सचिवालयले किरणले फोनमा ज्यान मार्ने धम्की दिएको दाबी गर्दै प्रहरीमा उजुरी दिएको थियो । त्यही आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।
त्यसपछि पनि किरणले ‘तपाईंहरु वीरगन्जमा पानी दिँदा के जाँच गरेर दिनुभएको हो ?, यति धेरै मान्छे कसरी अस्पतालमा भर्ना भएका छन्, तपाईंहरु के गर्दै हुनुहुन्छ ?’भनेर सोधेकी छिन् । मन्त्री यादवले ‘चेकजाँच हुँदै छ’ भन्ने जवाफ दिन्छन । त्यसपछि आक्रोशित हुँदै किरणले भन्छिन–‘हाम्रो घरका मान्छे १० दिनदेखि अस्पतालमा भर्ना भएका छन् । तपाईंहरू एसीमा मजा लिइराख्नुभएको छ, पिएहरू पनि मजा लिँदै छन् । यति मान्छे कसरी मरेको हो ? मन्त्री भएर तपार्इं फोन उठाउनुहुँदैन’ भनेर गुनासो गर्छिन् । त्यसपछि मन्त्री यादवले पटक–पटक हप्काउँदै किरणलाई ‘फोन राख्न’ भन्छन् । तर, किरणले प्रश्न सोध्न नछाडेपछि आफै फोन काट्छन् ।
स्वतन्त्र मानव अधिकार समाज विरगन्जका सभापति कृष्णकुमार खनालले किरणको बोलीमा शैली नमिलेको र यसलाई संवादबाटै टुंग्याउन सकिनेमा राजनीतिक आडमा मुद्दा बनाइएको प्रतिक्रिया दिए । ‘किरणले खानेपानीमन्त्रीलाई फोनमा धम्क्याएको जस्तो सुनिए पनि नियतपूर्वक त्यस्तो गरेको देखिँदैन । महिला अलिकति संवेदनशील हुन्छन् नै, त्यही भएर आक्रोशमा किरणको बोल्ने शैली ठिक भएन भन्न सकिन्छ,’ उनले भने, ‘तर, यो घटनालाई राजनीतिक मुद्दा बनाइएकोजस्तो देखिन्छ ।
टिकटकमा नगरप्रमुखको विरोध गरेको प्रसंगसमेत जोडेर राजनीतिक रंग दिन खोजिएको छ । मन्त्रीजस्तो पदमा पुगेको व्यक्तिले यस्तो सामान्य विषयलाई ठुलो नबनाएको भए हुने थियो । प्रहरी प्रशासनले दुवै पक्षलाई बसाएर समाधान गर्ने वातावरण बनाउन सक्थ्यो । तर, सिधै मुद्दा दर्ता गरिएको छ । प्रहरीले राजनीतिक सत्ता र दबाबको आडमा कारबाही प्रक्रिया अगाडि बढाएको आभास हुन्छ ।’
झाडापखाला र हैजाका बिरामी डिस्चार्ज हुने संख्या बढ्यो
वीरगन्जका अस्पतालमा उपचार गराइरहेका झाडापखाला र हैजाका बिरामी निको भएर घर फर्किनेको संख्या बढेको छ । जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार आइतबार साँझसम्म झाडापखाला र हैजा संक्रमण पुष्टि भएका गरी ८३२ जना बिरामी अस्पतालमा भर्ना भएका थिए । तीमध्ये अहिलेसम्म ७४६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएर फर्किसकेका छन् । यसमध्ये हैजाको संक्रमण पुष्टि भएका १३२ जना पनि निको भएर घर फर्किएको ठाकुरले बताए ।
हाल वीरगन्जका अस्पतालमा हैजा र झाडापखालाका ८६ जना बिरामी उपचाररत छन् । तीमध्ये हैजा पुष्टि भएकाको संख्या ४० छ । यसमध्ये आइतबार पाँचजनामा संक्रमण देखिएको हो । आइतबारसम्म नारायणी अस्पतालबाट ३९४ जना, वीरगन्ज हेल्थकेयर हस्पिटलबाट ८० जना, तराई हस्पिटलबाट ९१, नेसनल मेडिकल कलेजबाट ५२, प्रभु हस्पिटलबाट २८, एडभान्स मेडिकेयर हस्पिटलबाट २५ र सर्वोत्तम हस्पिटलबाट २३ जना निको भएर डिस्चार्ज भई फर्किएका छन् ।
अस्पतालमा कुरुवा रहेकै वेला पक्राउ –किरणका दाजु भन्छन्, ‘समस्या सुनाउँदा मन्त्रीले राजा बन्नुहुँदैन’
झाडापखाला लागेपछि आमाबुबाको कुरुवा बसेकी किरण साहले मन्त्री प्रदीप यादवलाई फोन गरेकी थिइन् । बुबा तुलसी साह र आमा सावित्रीदेवी साहलाई १० भदौमा एडभान्स अस्पताल भर्ना गरिएको थियो । पछि उनीहरूलाई शान्ति पोलिक्लिनिकमा सारिएको थियो । आइतबार उनीहरू डिस्चार्ज भएका छन् ।
किरणकी बहिनी सन्झादेवी साह भने घाँटीमा समस्या देखिएपछि चार दिनदेखि नेसनल मेडिकल कलेजमा उपचाररत छिन् । सन्झाकी दुई वर्षीया छोरी कृतिकामा भने हैजा देखिएको थियो । उनको पनि नेसनल अस्पतालमै उपचार भइरहेको छ । दिदी र छोरीको कुरुवा बसेका वेला शनिबार मध्यराति किरणलाई पक्राउ गरिएको उनका दाजु प्रमोद साहले बताए ।
कलैया उपमहानगरपालिका– २६, सिस्वा महेशपुरकी किरण करिब एक दशकदेखि वीरगन्जमा डेरा लिएर बस्दै आएकी थिइन् । अनाहक बहिनी पक्राउ गरिँदा चिन्तित बनाएको दाजु प्रमोदले बताए । ‘फोनमा कुरा गर्दा अलिअलि आक्रोशित भएर बोलेको होला । तर, ठुलो मुद्दा बनाइयो । यसमा मन्त्रीले पावरको दुरुपयोग गर्नुहुँदैन,’ उनले भने, ‘समस्या सुनाउँदा ‘राजा’ बन्न हुँदैन । सानो कुरामा प्रहरीले पक्राउ गर्नु ठिक छैन । किरणलाई छाड्न आग्रह गर्दछु ।’