मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ८ आइतबार
  • Sunday, 24 August, 2025
मुख्य समाचार डिजिटल संस्करण

वीरगन्जमा हैजा फैलिएपछि दुई दिन विद्यालय बन्द 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ८ आइतबार १o:१९:oo
  • वीरगन्जका विभिन्न अस्पतालमा झाडापखाला र हैजाका शंकास्पद गरी हाल तीन सयभन्दा बढी बिरामी उपचाररत

वीरगन्ज महानगरपालिकामा हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गरिएको छ । महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालहरूमा दुई दिनका लागि पठनपाठन बन्द गरिएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

केही दिनदेखि वीरगन्जमा बढ्दै गएको हैजाको संक्रमणलाई मध्यनजर गर्दै आइतबार र सोमबार दुई दिनका लागि महानगरपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख गरिएकाे छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार अबेर रातिसम्म वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालहरूमा १२९ जना बिरामी उपचाररत छन् ।

उनका अनुसार महानगरपालिकाको वडा नम्बर ३, ११, १२ र १३ मा अहिलेसम्म हैजा (कोलेरा)को बिरामी देखिएपछि अस्पतालमा भर्ना भएका हुन् । 

वीरगन्जको नारायणी अस्पतालमा १८, तराई हस्पिटलमा १२, नेसनल मेडिकल कलेजमा पाँच, अलिअर्थो सेन्टरमा चार र भवानी हस्पिटलमा दुईजना हैजाका बिरामी उपचाररत रहेको ठाकुरले बताए । यस्तै महानगरको विभिन्न वडामा हैजाको महामारी समुदायस्तरमै फैलिएकाले बिरामीको संख्या बढ्दो छ ।

वीरगन्जका विभिन्न अस्पतालमा गरी झाडापखाला र हैजाका शंकास्पद गरी हाल तीन सयभन्दा बढी बिरामी उपचाररत रहेको उनले बताए । नारायणी अस्पतालमा झाडापखाला र हैजाका शंकास्पद बिरामी थपिन थालेपछि शय्याको अभावमा बिरामीलाई बरन्डाको भुइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता भएको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले बताए ।