मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ७ शनिबार
  • Saturday, 23 August, 2025
२o८२ भदौ ७ शनिबार १७:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

घोडाखाँदवासीको प्रश्न –चुहिने स्वास्थ्यको भवन कहिले मर्मत हुन्छ ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ७ शनिबार १७:५९:oo

थारम, टिमु, ढिल्की, सल्लेरी, डुफा र थाराको केन्द्रमा रहेको ढकारीको घोडाखाँदमा भरपर्दो स्वास्थ्य सेवा नहुँदा समस्या उत्पन्न भएको छ । ढकारी– ७ को वडा केन्द्र घोडाखाँद स्थित स्वास्थ्य चौकीको भवन चुहिन थालेपछि त्यस क्षेत्रको स्वास्थ्य सेवामा समस्या आएको हो। भवन चुहिदा औषधी र उपकरणहरु प्लाष्टिकले छोपेर राखिएको स्वास्थ्य चौकी इन्चार्ज सुर्यबहादुर साउदले बताए।

‘भवनका सबै कोठा चुहिन्छन्,’ शनिबार वडामा आयोजित सार्वजकि सुनुवाईमा उनले भने,‘औषधी र उपकरण जोगाउनै मुस्किल छ। सुत्केरी सेवा दिन झन बढी कठिन छ ।’ भवन तत्काल मर्मत नगरे यहाँको सबै सेवा पुर्ण रुपमा प्रभावित हुने खतरा रहेको उनले बताए । वडाले आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाईमा बोल्ने अधिकांश स्थानीयले स्वास्थ्य सेवा जस्तो संवेदनशील कुरामा गम्भीर हुन ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँदलाई आग्रह गरे। उनीहरुले त्यो सँगै वडा समितिले टोल मार्फत छनौट भएका योजना लुकाएर खल्तीका योजना अनुमोदन गर्ने गरेको गुनासो गरेका छन्।

स्थानीय अगुवा दिलबहादुर थापाले वडा समिति मार्फत सिफारिस भएका कुनैपनि योजना कार्यान्वयन नभएको आरोप लगाए । उनले वडाध्यक्षले मनोमानी रुपमा खल्तीका योजना अनुमोदन गराएको बताए । थापाले टोल विकास संस्था गठनमा समेत गम्भीर नबनेको आरोप लगाए। माओवादी केन्द्रका वडा कमिटी ईन्चार्ज नमबहादुर थापाले ढिल्की–टटाली जोड्ने सडक डिपीआर गरेको लामो समयसम्म पनि निर्माण हुन नसकेको भन्दै ध्यानाकषर्ण गराएका छन् ।

सार्वजनिक सुनुवाईमा मालिका मावि टिमुका शिक्षक रतनबहादुर बुढाले विद्यालयहरुमा अतिरिक्त क्रियाकलाप सञ्चालनको माग गर्दै छाउपडी र बालविवाह न्यूनीकरणका लागी ब्यापक जनचेतना बिस्तार गर्न आग्रह गरे । स्थानीय निर्मला थापाले तीज जस्ता महिलाका महत्वपूर्ण चाडपर्वलाई लक्षितगरी विशेष बजेटको माग गरिन।एकसय १७ जना बढी सर्वसाधारणको उपस्थितिमा सम्पन्न सार्वजनिक सुनुवाईमा उठेका प्रश्नको जवाफ दिदै ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले गुणस्तरीय सेवा उपलब्ध गराउन वडा समिति र गाउँपालिका गम्भीर भएर अघि बढ्ने बताए ।

अहिलेपनि स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा केहि समस्या बाँकी नै रहेको भन्दै देखिएका समस्या समाधानगरी नागरिकलाई सर्वसुलभ सेवा प्रदान गरिने प्रतिवद्धता जनाए । स्वास्थ्य चौकी र एउटा सडक बाहेक अरु कुनैपनि समस्या नउठेको भन्दै उनले यो वडामा अन्य वडाको तुलनामा धेरै लगानी लगाएर समृद्धिको मार्ग रोरिएको दाबी गरे। जसका कारण दलित तथा गरीब समुदायले समेत लाभ लिएको बताए । वडाध्यक्ष रामबहादुर थापाले जवाफका क्रममा कुनै पुर्वाग्रह नराखी आवश्यकताका आधारमा योजना निर्माण गरिएको र टोल विकास संस्था गठन प्रक्रिया समेत अघि बढेको उल्लेख गरे । 

ढकारीका प्रमुख प्रशासकीय अधिकृत नरेशबहादुर बोहराले स्वास्थ्य, शिक्षा, खानेपनी जस्ता आधारभूत आवश्यकताको अनुगमन गरी आवश्यक सुधार गरिने प्रतिवद्धता जनाए । ढकारीले आठ वटै वडा पश्चात यही भदौ १५ गते गाउँपालिका स्तरमा सार्वजनिक सुनुवाई गर्ने तयारी गरेको छ ।