मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 23 August, 2025
Invalid date format १३:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भियतनामका उपराष्ट्रपति सुआन नेपाल भ्रमणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३८:oo

 समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थी आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन् ।

उपराष्ट्रपति सुआनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गरेका थिए ।

त्यस अवसरमा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तित्व उपस्थित थिए। उपराष्ट्रपति सुआनले उनको सम्मानमा नेपाली सेनाले प्रदान गरेको गार्ड अफ अनरको निरीक्षण गरेका थिए ।

उनीसँग आजै परराष्ट्रमन्त्री डा.राणाले शिष्टाचार भेटवार्ता गर्ने गृह मन्त्रालयले जनाएको छ । उनी यही भदौ ९ गतेसम्म नेपालको भ्रमण गर्नेछन् ।

भियतनामको तर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबिच भदौ ८ गते काठमाडौंमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ ।

उपराष्ट्रपति सुआनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । यो वर्ष नेपाल र भियतनामबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ ।