मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 23 August, 2025
टेकराज थामी काठमाडाैं
Invalid date format o६:३६:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सञ्चालकसँग मिलेर बचतकर्ताको खाताबाट सिधै ५० लाख लगेका धनराजलाई प्रहरीले देखेन दोषी

Read Time : > 5 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:३६:oo

सिआइबीको अनुसन्धानमा सत्ताको छाया

  • सहकारी ठगीमा धनराज पनि तानिने भएपछि मुद्दा दर्ता गर्नुभन्दा तीन महिनाअघि बचतकर्ताको रकम फिर्ता गराएर दिइयो उन्मुक्ति

कांग्रेस उपसभापति धनराज गुरुङले सञ्चालकहरूसँगको मिलेमतोमा ललितपुरस्थित मितेरी सहकारीका एक बचतकर्ताको खाताबाट सोझै ५० लाख निकालेर अपचलन गरेको पाइएको छ । सिआइबीको अनुसन्धानमै यो ‘अपराध’ पत्ता लागेको थियो । तर, प्रहरीले धनराजको बयान लिइसकेपछि पीडितको रकम फिर्ता गर्न लगायो । र, यति गम्भीर अपराधमा प्रत्यक्ष संलग्न देखिएका उनलाई सत्ताको बलमा उन्मुक्ति दिइयो । सहकारीका अध्यक्षसहित आठजनाविरुद्ध भने साढे तीन करोडदेखि ६ अर्ब ७४ करोडसम्म बिगो दाबी गर्दै मुद्दा चलायो ।

जिल्ला सरकारी वकिल काठमाडौंमार्फत अदालतमा पेस गरिएको अभियोगपत्रमै पूर्वमन्त्रीसमेत रहेका धनराजले पटक–पटक गरेर बचतकर्ता कमला गुरुङको मुद्दती खाताबाट ५० लाख झिकेको उल्लेख छ । यसमा उनलाई सहकारीका अध्यक्ष कुम्भराज गुरुङ र तत्कालीन महाप्रबन्धक ज्योति गुरुङ (धनराजकी तत्कालीन पत्नी)ले पनि साथ दिएका थिए । बचतकर्ता कमलाले सिआइबीलाई दिएको बयानमा यो कुरा प्रस्ट बताएकी छिन् । तर, प्रहरीले धनराजलाई उन्मुक्ति दिन कमलाको रकम फिर्ता गर्न लगायो । अनि, त्यसपछि ‘धनराजसँग अब कुनै लेनदेन छैन’ भनेर कमलासँग अर्को कागज गरायो ।

आफ्नो खाताबाट धनराजले ५० लाख झिकेको कुरा सहकारीका लेखापाल विजय राईमार्फत मात्रै थाहा पाएको कमलाको बयान छ । त्यतिखेर सहकारीमा समस्या निम्तिसकेको थियो । ‘मेरो मुद्दती खातामा रहेको एक करोडमध्ये मेरो उल्लेखित ऋणको हिसाब मिलान गरी बाँकी रहेको ज्योति गुरुङको श्रीमान् धनराज गुरुङले विभिन्न मितिमा पटक–पटक गरी जम्मा रु. ५०,००,०००/– (पचास लाख रुपैयाँ) निकालेर लगेको कुरा लेखापाल विजय राईले भनेपछि मात्रै थाहा पाएँ,’ अदालतमा दर्ता भएको अभियोगपत्रमा कमलाले दिएको बयानमा उल्लेख छ ।

ज्योतिले आफ्ना तत्कालीन पति धनराजलाई ३० लाख दिन भन्दै सुरुमा कमलासँग सहमतिको निवेदनपत्रमा हस्ताक्षर गर्न लगाएकी थिइन् । तर, पछि ‘सहकारीले पैसा दिएन, त्यसैले निवेदन च्यातेर फालिसकेको’ कमलालाई बताएकी थिइन् । ‘मुद्दतीमा रहेको रकम रु. ५०,००,०००/– मध्ये ज्योति गुरुङले निजलाई आवश्यक परेको भनी रु. ३०,००,०००/– निजको श्रीमान् धनराज गुरुङलाई दिन हुन भन्ने व्यहोराको निवेदनमा ज्योति गुरुङले मलाई दस्तखत गर्न लगाएकी थिइन् । पछि यस सम्बन्धमा के भयो भनी सोध्दा सहकारी संस्थाले रकम नदिएको हुँदा उक्त निवेदनको काम भएन, च्यातेर फालेको भनेकी थिइन्,’ अभियोगपत्रमा कमलाको बयान छ ।

पछि सहकारीमा समस्या देखिएपछि डुबेको रकम फिर्ता लिन भन्दै ज्योति सिंगापुर पुगेकी थिइन् । कमला पनि उनीसँगै गएकी थिइन् । त्यतिखेर कमलाको मौखिक सहमतिमै सहकारीले उनको खाताबाट धनराजलाई फेरि रकम दियो । कुम्भराजले कमलाको हस्ताक्षरविना नै उनको खातामा रहेको ५० लाख पटक–पटक गरेर धनराजलाई दिएका थिए ।

अभियोगपत्रमा कमलाको बयान छ, ‘सिंगापुरमा हुँदा ज्योति गुरुङले रकम चाहिएकाले मेरो मुद्दती खातामा भएको रकमबाट रु. २०,००,०००/– सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङलाई ज्योति गुरुङको श्रीमान् धनराज गुरुङलाई दिनू भनेको थिएँ । यसरी धनराज गुरुङले मेरो मुद्दती खातामा रहेको रु. ५०,००,०००/– (पचास लाख रुपैयाँ) सबै निकालेको कुरा सहकारी संस्थाका अध्यक्षले भनेपछि थाहा पाएँ ।’

तीनपटक गरेर धनराजले कमलाको खाताबाट ५० लाख रकम लगेका थिए । अभियोगपत्रमा उल्लेख भएअनुसार १२ असोज ०७६ मा सुरुमा १० लाख र त्यही दिन फेरि तीन लाख गरी सहकारीबाट १३ लाख नगदै लगेका थिए । त्यस्तै, १३ असोज ०७६ मा ३७ लाख भने बैंक भौचरमार्फत बुझेका थिए । तीनैपटक रकम निकासा गर्दा कमलाको हस्ताक्षर थिएन । यो तथ्य सहकारीका अध्यक्ष कुम्भराज गुरुङको बयानमै उल्लेख छ ।

अभियोगपत्रमा कुम्भराजको बयानमा उनले भनेका छन्, ‘कमला गुरुङले सहकारीको मुद्दती खातामा एक करोड जम्मा गरेकीमा सोमध्ये निजको ज्वाइँ धनराज गुरुङलाई दिनू भनी मलाई फोनमार्फत भनेकी थिइन् । बचतकर्ताहरूको बचत रकम फोनमार्फत दिनू भन्दैमा दिन नमिल्ने भए पनि धनराज गुरुङ सहकारी संस्थाका महाप्रबन्धक ज्योति गुरुङको श्रीमान् भएको साथै मेरो चिनजानको व्यक्ति भएको हुँदा १२ असोज ०७६ मा रु. १० लाख, ऐ. १२ गते रु. ३ लाख भौचरमा लेखा प्रबन्धकमा मैले दस्तखत गरेको र प्राप्तकर्तामा धनराज गुरुङले दस्तखत गरी नगदै बुझिलगेका थिए । ऐ. १३ गते रु. ३७ लाख मैले दस्तखत र स्वीकृत गरी प्राप्तकर्ता धनराज गुरुङले समेत बुझिलिएको दस्तखत गरी रु. ३७ लाख बैंक भौचरमार्फत बुझिलिएका थिए ।’

बचतकर्ता कमला, सहकारीका अध्यक्ष कुम्भराजलगायतको बयान र प्रमाणहरूबाट रकम अपचलनमा धनराजको प्रत्यक्ष संलग्नता देखिन्छ । तैपनि प्रहरीले उनलाई मुद्दा चलाएन । बरु, दुईपटक बयान लिइसकेपछि धनराजलाई कमलाको रकम फिर्ता गर्न लगाइयो । र, ‘अब धनराज गुरुङसँग मेरो अन्य कुनै लेनदेन/कारोबार छैन’ भनेर कमलाको अर्को कागज बनाइयो ।

गत वर्ष भदौमा नै सिआइबीले मितेरी सहकारीको अनुसन्धान थालेको थियो । अनुसन्धान थालेको आठ महिनापछि धनराजले त्यसरी पैसा फिर्ता गरेको देखिन्छ । पैसा फिर्ता गर्ने वातावरण बनाउने र फिर्ता गरेपछि फेरि पीडितसँग पहिलेको भन्दा फरक कागज गराएर सिआइबीले धनराजलाई सघाएको देखिएको जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारी बताउँछन् ।

धनराजले पाँचपटक गरेर कमलाको खातामा रकम जम्मा गरेका छन् । पछिल्लोपटक २३ वैशाख ०८२ मा बाँकी रहेको ३० लाख चेकमार्फत कमलाको नेपाल बैंकको खातामा जम्मा गरेका थिए । त्यसअघि ६ असोज ०७६ मा पाँच लाख, ६ कात्तिक ०७९ मा नौ लाख, २८ मंसिर ०८० मा तीन लाख र २५ वैशाख ०८० मा तीन लाख फिर्ता गरेका थिए । धनराजले यो कुरा आफ्नो बयानमा पनि खुलाएका छन् । 

सत्ताको बलमा र मिलेमतोमा धनराजलाई उन्मुक्ति दिइएकाले अहिले यस विषयमा कोही पनि खुलेर बोल्न चाहँदैनन् । स्वयं जाहेरीकर्तासमेत पन्छिन खोजिरहेका छन् । ‘यो प्रसंगमा पछि कुरा गरौँला,’ मितेरी सहकारीको तर्फबाट जाहेरीकर्ता रहेका बोधविक्रम थापाले भने । 

धनराजले सहकारी सञ्चालकहरूको मिलेमतोमा बचतकर्ताको खाताबाट सिधै रकम लिएको खुलेपछि प्रहरीकै सहमतिमा फिर्ता गरिएको विषयमा सिआइबीका प्रमुख एआइजी चन्द्रकुवेर खापुङले टिप्पणी गर्न चाहेनन् । ‘रकम फिर्ताको सन्दर्भमा मैले जान्ने विषय भएन । सबै फाइलबारे मलाई जानकारी हुने विषय पनि भएन । यस विषयमा प्रवक्तालाई नै धेरै जानकारी हुन सक्छ । उनैसँग बुझ्दा ठिक होला कि !’ उनले भने । 

ज्योति गुरुङ : सहकारी ठगीदेखि मिटरब्याज, हुन्डी र क्रिप्टोमा संलग्न

कांग्रेस उपसभापति धनराज गुरुङकी पत्नी रहेकै वेला ज्योति गुरुङले सहकारीबाट ठगी गरेको रकम मिटरब्याज, हुन्डी र क्रिप्टोसम्ममा लगानी गरेको देखिएको छ । सिआइबीको अनुसन्धानपछि उनीविरुद्ध हाल पाँचवटा मुद्दा दायर गरिएको छ । उनीमाथि अभियोगमा सहकारी ठगी, संगठित अपराध, व्यक्तिगत ठगी, लिखत किर्ते र बैंकिङ प्रणालीभन्दा बाहिरको कारोबार समावेश छन् ।

सहकारीको पैसा गैरकानुनी रूपमा निकालेर उनले ज्योति भण्डारीलाई मिटरब्याजमा लगानी गरेको सिआइबीले जनाएको छ । भण्डारीले त्यो पैसा क्रिप्टो तथा क्यासिनोमा लगाएका थिए, जसमा दुवैजनाको मिलेमतो पाइएको छ । साथै, एकपटक उनीहरू मिलेर कम्बोडियाबाट ३३ करोड ११ लाख हुन्डीगरी पठाएको विवरणसमेत सिआइबीको अनुसन्धान प्रतिवेदनमा छ । उक्त रकम निकाल्न भन्दै थप तीन करोड ४२ लाख रुपैयाँ रकम ज्योति गुरुङ तथा ज्योति भण्डारीलगायतले कुम्भराज गुरुङसहितलाई ठगी गरेको प्रकरणमा छुट्टै मुद्दा दायर भएको छ ।

बैंकिङ प्रणालीभन्दा बाहिर गएर १७ करोड ७२ लाख रुपैयाँबराबरको कारोबार गरेकोमा ज्योति गुरुङलगायतविरुद्ध नेपाल राष्ट्र बैंक ऐनको दफा ९५(१)को कसुरअनुसार अर्काे मुद्दा पनि दायर भएको छ । अनुसन्धानअनुसार हाल ज्योति अमेरिकामा छिन् । तर, उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा भने सिआइबीले अनुसन्धान गरेको छैन ।

अनुसन्धानका क्रममा बचतकर्ता कमला गुरुङले सिआइबीलाई दिएको सुरुको बयानको अंश

मेरो मुद्दती खातामा रहेको एक करोडमध्ये मेरो उल्लेखित ऋणको हिसाब मिलान गरी बाँकी रहेको ज्योति गुरुङको श्रीमान् धनराज गुरुङले विभिन्न मितिमा पटक–पटक गरी जम्मा रु. ५०,००,०००/– (पचास लाख रुपैयाँ) निकालेर लगेको कुरा लेखापाल विजय राईले भनेपछि मात्रै थाहा पाएँ ।

प्रहरीकै सहमतिमा गत २३ वैशाखमा सुटुक्क रकम फिर्ता गराइयो, कमलाको अर्को कागज बनाइयो
सहकारीसँगको मिलेमतोमा बचतकर्ताको खाताबाट धनराजले ५० लाख लगेको खुलेपछि प्रहरीकै सहमतिमा उक्त बाँकी रकम सुटुक्क फिर्ता गराइएको थियो । गत २३ वैशाखमा धनराजले चेकमार्फत ३० लाख बचतकर्ता कमला गुरुङको बैंक खातामा जम्मा गरिदिएका थिए । त्यतिवेलासम्म सिआइबीले धनराजसँग दुईपटक बयान लिइसकेको थियो । चौतर्फी दबाबपछि मात्रै २३ पुस ०८१ र २८ कात्तिक ०८१ मा उनको बयान लिइएको थियो ।

रकम फिर्ता भएपछि सिआइबीले कमलासँग घटनाको सम्बन्धमा दोस्रोपटक बयान लिएर कागज बनाइएको थियो । उक्त बयानमा कमलाले धनराजले लिएको सबै रकम फिर्ता भएको, सम्बन्धित व्यक्तिसँग अब कुनै लेनदेन नभएको र उजुरी पनि नगर्ने प्रतिबद्धतासहितको कागजात गरेकी थिइन् । ‘उल्लेखित जम्मा रकम रु. ५०,००,०००/– धनराज गुरुङले मितेरी बचत तथा ऋण सहकारी संस्थाको मेरो नामको मुद्दती खाताबाट सापट लगेको रकम फिर्तास्वरूप जम्मा गरेका रहेछन् । मैले बैंक खाता धेरै नचलाउने र बैंकमा जम्मा हुने रकम पनि सहकारीबाट ब्याजस्वरूप आयो होला भनी हेक्का गरिनँ । हाल आएर मेरो बैंकको स्टेटमेन्ट हेर्दा धनराज गुरुङले लिएको ५० लाख रकम सम्पूर्ण मेरै बैंक खातामा जम्मा गरिसकेका रहेछन् । अब धनराज गुरुङसँग मेरो अन्य कुनै लेनदेन/कारोबार छैन,’ अभियोगपत्रमा कमलाको बयानमा उल्लेख छ ।

सम्बन्धविच्छेद गरेको दाबीपछि पनि धनराजले मितेरीबाट ६ पटक ऋण लिए, सबैमा ‘हकवाला’ र ‘श्रीमती’मा ज्योतिको नाम 

मितेरी सहकारीका बचतकर्ताको ठुलो रकम अपचलन भएको सार्वजनिक भएपछि कांग्रेस उपसभापति धनराज गुरुङले सोही सहकारीमा महाप्रबन्धक रहेकी पत्नी ज्योति गुरुङसँग सम्बन्धविच्छेद गरिसकेको दाबी गरेका थिए । २९ फागुन ०७६ मै जिल्ला अदालत ललितपुरबाट सम्बन्धविच्छेद गरेको उनले बताएका थिए । यद्यपि, अपचलनको मुद्दाबाट जोगिन मात्रै धनराजले ‘कागजी सम्बन्धविच्छेद’ गरेको बयान सहकारीका तत्कालीन अध्यक्ष कुम्भराज गुरुङले संसदीय छानबिन समितिमै दिएका थिए । त्यसपछिका घटनाक्रमले पनि धनराजले ‘कागजी सम्बन्धविच्छेद’ मात्रै गरेको देखिन्छ । सहकारीमा समस्या आएपछि धनराजकी पूर्वपत्नी ज्योति फरार भइन् । त्यसयता पनि धनराजले सहकारीबाट ६ पटक ऋण लिएको देखिएको छ । र, हरेकपटक हकवालामा ज्योतिको नाम र नातामा ‘श्रीमती’ उल्लेख गरेका छन् । सहकारीका ती सबै कागजातमा धनराजले ल्याप्चेसहित हस्ताक्षर गरेका छन् ।

सहकारीको तथ्यांकअनुसार धनराजले २२ पुस ०७७ मा ६ लाख, ६ माघ ०७७ मा १० लाख, २० माघ ०७७ मा १८ लाख १० हजार, २३ माघ ०७७ मा १२ लाख १५ हजार, २ फागुन ०७७ मा ११ लाख र ३ फागुन ०७७ मा १२ लाख रुपैयाँ मितेरी सहकारीबाट ऋण लिएका थिए । यो तथ्यलाई सहकारी सेयरहोल्डर सदस्य मोतीप्रसाद आलेले सिआइबीलाई दिएको बयानले पनि पुष्टि गर्छ । उनले बयानमा भनेका छन्, ‘२८ कात्तिक ०८१ को पत्रसाथ प्राप्त धनराज गुरुङको ऋण फाइलबाट धनराज गुरुङको नाममा निम्न उल्लिखितबमोजिमको ऋण प्रवाह गरिएको र सो कर्जाको तमसुकमा हकवाला ज्योति गुरुङ र नाता श्रीमती उल्लेख गरिएको र निजहरूको सम्बन्धविच्छेद भइसकेको सम्बन्धमा यस मितेरी सहकारी संस्थामा निज धनराज गुरुङले जानकारी नगराएको/ढाँटेकाले फरार रहेकी ज्योति गुरुङलाई श्रीमती भनी हकवाला कायम गरी धनराज गुरुङलाई सहकारी संस्थाबाट माथि सवालमा उल्लेखित ऋण प्रवाह भएको हो ।’