
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् (केसिएमसी) ले संरक्षण क्षेत्रमा सञ्चालनमा रहेका जलविद्युत् परियोजनाहरूबाट त्यहाँका हरेक घरधुरीलाई कम्तीमा सय कित्ता प्रमोटर सेयर निःशुल्क उपलब्ध गराउन माग गरेको छ। परिषद्ले बिहीबार परियोजनाहरूलाई पत्र लेखी यस्तो माग गरेको हो।
परिषद् अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले संरक्षण क्षेत्रभित्रका नौवटा जलविद्युत् परियोजनाहरूलाई पत्र पठाउँदै यस्तो माग गरेका हुन्। अध्यक्ष फेम्बुले परियोजनाहरूले संरक्षण क्षेत्रमा रहेका सबै घरपरिवारलाई प्रमोटर सेयर दिनुपर्ने बताए । पत्रअनुसार यी सेयरहरूको कुल मूल्यको ५० प्रतिशत रकम परियोजनाको सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्नुपर्नेछ भने बाँकी ५० प्रतिशत परियोजनाहरूले आफैँ व्यहोर्नुपर्नेछ।
परिषद्ले स्नो रिभर्स लिमिटेड, हिल्टन हाइड्रो इनर्जी लिमिटेड, रेमिट हाइड्रो लिमिटेड, रिभर्स साइड हाइड्रो इनर्जी लिमिटेड, तमोर इनर्जी प्रालि, क्रिस्टल पावर डेभलपमेन्ट प्रालि, सिम्बुवा रेमिट हाइड्रो लिमिटेड, नेपाल हाइड्रो भेन्चर प्रालि, युनियन हाइड्रोपावर लिमिटेडलाई पत्र पठाएको हो ।
साथै, परिषद्ले स्नो रिभर्स र हिल्टन हाइड्रोबाहेक अन्य सात परियोजनालाई छुट्टै पत्र लेखी, फक्ताङलुङ गाउँपालिका–५, तापेथोक र वडा नम्बर ६ लेलेप जोड्ने रानीपुलको तमोर नदीमा तत्काल बेलिब्रिज निर्माण गर्न आग्रह गरेको छ । अघिल्लो बेलिब्रिज, जुन रेमिट हाइड्रोले निर्माण गरेको थियो, गत ६ साउनको बाढीले बगाएपछि दुवै वडाबिच यातायात अवरुद्ध भएको छ ।
१० साउनमा बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा पुल नबन्दासम्म ताम्मावा–फेम्बो जोड्ने करिब २.५ किलोमिटर लामो नयाँ ट्र्याक खोल्ने प्रस्ताव भएको थियो। तर, परिषद् अध्यक्ष फेम्बुले उक्त प्रस्ताव अस्वीकार गरेका छन्। उनले ट्र्याक खोल्ने निर्णय कानुनी रूपमा जटिल हुने र त्यो क्षेत्र पहिरोको जोखिममा रहेको भन्दै त्यसको सट्टा नयाँ बेलिब्रिज बनाउनुपर्ने तर्क राखेका छन् । यद्यपि, जिल्ला विपत् व्यवस्थापन समितिले नयाँ ट्र्याक खोल्ने निर्णय गरिसकेको छ, जसलाई फेम्बुले असहमति जनाएका छन्।