
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीले खुल्ला सीमाका कारण दक्षिणी क्षेत्रमा लागु औषध ओपारपसार नियन्त्रण चुनौतिपूर्ण भएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षणका क्रममा डिआइजी कार्कीले सरोकारवालाहरूसँगको अन्तक्र्रियामा भारतमा लागु औषध बिक्रीवितरण खुलाजस्तै भएका कारण नेपालतर्फका सीमा क्षेत्रहरूमा पनि लुकीछिपी कारोबार तथा ओसारपसार हुने गरेको र नियन्त्रण चुनौतिपूर्ण भइरहेको बताए । खुला सिमानाका कारण व्यक्तिहरूले शरीरमा बोकेर लागु औषध सहजै ल्याउने गरेकाले पनि नियन्त्रणमा केही समस्या भएको बताए ।
उनले भने, ‘विभिन्न खालका लागु पदार्थ बाहिरबाट नै भित्रिने भएकोले यसको पूर्ण रोकथामको लागि प्रहरीको सबै संयन्त्र परिचालन गरिएको छ । तर, पनि पूर्णरुपमा रोक्न सकिएको छैन ।’
लागु औषध कारोबार तथा ओसारपसार रोक्न चेनब्रेक गर्न आवश्यक रहेको उल्लेख गर्दै डिआइजी कार्कीले यसको लागि लागु औषध ओसारपसारमा संलग्नहरूलाई दैनिकजसो पक्राउ गरिएको बताए । धनकुटामा पनि लागु औषध सेवनकर्ताहरूको संख्या पछिल्लो समयमा वृद्धि भएकोले उनले सरोकारवालाहरूले ध्यानाकर्षण गराए । यस्तै, कोशी प्रदेशका सिमावर्ती चार जिल्लालाई लागु औषधको संवेदनशील जिल्लाको रुपमा लक्षित गरी लागुऔषध ओसारपसार नियन्त्रण अभियान प्रहरी चलाउँदै आएको छ । अब धनकुटालाई पनि सहभागी गराई पाँच जिल्लामा नियन्त्रण अभियानलाई तिव्रता दिने डिआइजी कार्कीले बताए ।
अर्को एक प्रसंगमा डिआइजी कार्कीले धनकुटाको छिन्ताङलगायतका क्षेत्रमा उत्पादन हुँदै आएको गाँजा नियन्त्रणको लागि स्थानीय सरकारहरूले उनीहरूलाई विकल्प दिएर उत्पादन रोक्नुपर्ने सुझाव दिए । उत्पादन गरेको गाँजा बिक्रीवितरण गर्न नपाएर गाँजा उत्पादनकर्ताहरू (किसान) छटपटीमा रहेको सूचना प्राप्त भएको बताउँदै डिआइजी कार्कीले स्थानीय सरकारहरूले गाँजा उत्पादन हुने क्षेत्रमा विकल्पस्वरुप आयआर्जनका बाली लगाउन आग्रह गरे । यसको लागि पालिकाहरूले सहजीकरण गर्नुपर्ने कार्कीले औल्याए ।
पछिल्लो समय पहाडी जिल्ला धनकुटामा सार्वजनिक यातायातहरूमा टाइमकार्ड लागु गरेर सवारी दुर्घटना न्यूनिकरण गर्न सहयोग पुगेको उनको भनाइ छ ।
टाईमकार्डको क्षेत्र बढाउँदै लैजाने योजना रहेको पनि डिआइजी कार्कीले बताए । मातहत प्रहरी कार्यालय अन्तर्गत एसपी शरदकुमार थापा क्षेत्रीको नेतृत्वमा रहेको धनकुटा प्रहरीले उत्कृष्ट कार्य गरेको बताए । बाढीपहिरोबाट हुने क्षति रोक्न र धनजन जोगाउन उनले गरेको कार्य अब्बल रहेको भन्दै डिआइजी कार्कीले प्रशंसा गरे ।