
अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आफ्नो पाँचौँ मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।
डार्बिनको पार्मर्स्टनस्थित काजालिस एरेनामा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । यससँगै मेलबर्न रेनेगेड्स एकेडेमीले पहिला बलिङ गर्नेछ । नेपालले हालसम्म खेलको चार खेलमा एक खेलमा जित तथा तीन खेलमा पराजय भोगेको छ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो । त्यस्तै, तेस्रो खेलमा नेपाल मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।
मंगलबार भएको आफ्नो चौथो खेलमा भने नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ६६ रनले पराजित गर्दै विजयी भएको हो। आज नेपाल आफ्नो जितलाई निरन्तरता दिने लक्ष्यमा रहेको छ ।