
राजीवविक्रम शाह नेपाल एथलेटिक्स संघको अध्यक्षमा निर्विरोध चयन भएका छन् । बुधबार काठमाडौंमा सम्पन्न चुनावी साधारणसभाबाट शाह तेस्रो कार्यकालका लागि निर्विरोध भएका हुन् ।
खेलकुद ऐन लागू भए पनि उनी दोस्रोपटक अध्यक्ष चुनिएका हुन् । यसअघि ०७९ सालमा उनी निर्वाचित भएका थिए । ‘विभिन्न चुनौतीबिच अध्यक्ष पदमा निर्वाचित भएकाे छु । सहयोग गर्नुहुने सबैलाई धन्यवाद,’ कर्णाली प्रदेशको अर्थमन्त्रीसमेत रहेका शाहले नयाँ पत्रिकासँग भने, ‘संघलाई व्यवस्थित र खेलाडीमुखी बनाउन सहयोग हुने विश्वास लिएको छु ।’
यसपटक उनलाई रोक्न एक समूहले अदालतमा मुद्दा दायर गरेको थियो । त्यस्तै, पत्रकार सम्मेलन गरेर असन्तुष्टि जनाएका थिए । तर, यसअघिका कार्यसमितिका बहुमत सदस्य नै निर्वाचनमा सहभागी भएनन् । राखेपले तेस्रोपटक तदर्थ समिति गठन गरेपछि निर्वाचन भएको हो ।
साधारणसभाले १६ सदस्यमध्ये उपाध्यक्षमा कोमल वली, जगतसिंह धामी, शैलेन्द्र खनाल, सन्तोषकुमार ढकाल, तेजेन्द्र थापा र गजबहादुर गुरुङलाई निर्वाचित गरेको छ । यस्तै, राधाकृष्ण विष्ट (आरके) संघको सचिव पदमा निर्वाचित हुँदा मोहनबहादुर घले कोषाध्यक्षमा निर्विरोध निर्वाचित भए ।
सदस्यहरूमा सञ्जीव तुलाधर, अन्जु चौधरी, दिलबहादुर बम, नन्दु काउचा, अनिरुद्रकुमार चौधरी, मोजाउल हक, शिवलाल आचार्य र पद्मा चौधरी निर्वाचित भएका छन् ।
कार्यसमितिमा आएका जगतसिंह धामी राखेपको बोर्ड सदस्यसमेत हुन् । यस्तै, शैलेन्द्र खनाल नेपाल प्रहरीका पूर्वआइजिपी हुन् । कोमल वली एमालेकी पूर्वसांसद हुन् । यस्तै, तेजेन्द्र ढकाल नेपाली सेनाका पूर्वजर्नेल हुन् ।
यसअघि साधारणसभाको उद्घाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गरेका थिए । साधारणसभामा एसियाली एथलेटिक्सको प्रतिनिधिको रूपमा महासचिवसमेत रहेका सिंगापुरका सुबु मारनको पनि उपस्थिति रहेको थियो ।