मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 01 August, 2025
Invalid date format १४:३३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दिप्सुङका १०१ घरमा स्वच्छ खानेपानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३३:oo

खोटाङको केपिलासगढी गाउँपालिका– ६, दिप्सुङस्थित बिसुदुका ४३ घरपरिवारलाई धारामार्फत स्वच्छ खानेपानी उपलब्ध गराइएको छ। वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका दिप्सुङवासीका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन गाउँपालिकाले सञ्चालन गरेको ‘एक घर, एक धारा’ कार्यक्रममार्फत घर–घरमा धारा निर्माण गरी स्वच्छ खानेपानी उपलब्ध गराइएको हो।

स्थानीय सङखोला मुहानबाट आठ हजार ७९२ मिटर लामो पोलिथिन पाइप प्रयोग गरेर ल्याइएको पानी विभिन्न ठाउँमा ६–६ वटा संकलन तथा वितरण ट्यांकी निर्माण गरेर उपभोक्ताको घरमा खानेपानी वितरण गरिएको हो। जी फाउन्डेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको ‘दिप्सुङ खानेपानी परियोजना’बाट स्वच्छ खानेपानी उपभोग गर्न पाएपछि दिप्सुङस्थित बिसुदुका ४३ घरका २२४ जना लाभान्वित भएका छन्। 

तत्कालीन जिल्ला विकास समितिको कार्यालय खोटाङमार्फत निर्माण गरिएको सामूहिक धारा तथा कुवा, खोला र व्यक्तिगत लगानीमा खरिद गरेर ल्याएको पोलिथिन पाइपमार्फत ल्याइएको पानी उपभोग गर्दै आएका बिसुदुवासीका लागि अहिलेको खानेपानी परियोजनामा एउटा पानी प्रशोधन गर्ने ट्यांकीसमेत निर्माण गरिएको छ। करिब एक महिनाअघि निर्माण सम्पन्न भएको खानेपानी परियोजना यही साउन ९ गते जी फाउन्डेसनले गाउँपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो। 

२०८१ पुस १० गतेबाट सुरु भएको खानेपानी परियोजनामा उपभोक्ताको श्रमदानसहित रु. ५४ लाख ७१ हजार २१० खर्च भएको बताइएको छ। खानेपानी परियोजना सञ्चालनका लागि जी फाउन्डेसनले मूल्य अभिवृद्धि करबाहेक रु. ४८ लाख ९४ हजार ७३८ तथा स्थानीय उपभोक्ताको रु. पाँच लाख ७६ हजार ४७२ बराबरको श्रमदान उपलब्ध भएको स्थानीय परियोजना सल्लाहकार समितिका अध्यक्ष संगम राईले जानकारी दिए।

दिप्सुङस्थित विन्दुका ५८ घर स्थानीयवासीका लागि यसअघि वडा र गाउँपालिकाको लगानीमा हरेक घरमा खानेपानीको धारा निर्माण गरेर स्वच्छ खानेपानी उपलब्ध गराइसकिएको वडाध्यक्ष गोपाल राईले जानकारी दिए। वडाध्यक्ष राईका अनुसार आर्थिक वर्ष ०८१/८२ मा वडा र गाउँपालिकाको रु. १५–१५ लाख लगानीमा धारा निर्माण गरेर खानेपानी उपलब्ध गराइएको हो।

गाउँपालिकाले सुरु गरेको ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत यस आर्थिक वर्षमा दिप्सुङमा बाँकी रहेका सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध गराउने गरी बजेट व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष समीर राईले बताए। वडाको तथ्यांकअनुसार दुई सय घरधुरी स्थानीयको बसोबास रहेको दिप्सुङमा खानेपानी योजना सञ्चालन गर्न यस आर्थिक वर्षका लागि वडा कार्यालयले रु. १४ लाख बजेट विनियोजन गरेको छ।

वडाध्यक्ष राईका अनुसार दिप्सुङस्थित दिप्रु, शेर्पागाउँ, खुत्रु, डाँडागाउँ र देवीथानका घरमा खानेपानी विस्तार हुन बाँकी छ। सङखोला मुहानबाट खुत्रु, डाँडागाउँ र देवीथानका स्थानीयका लागि खानेपानी उपलब्ध गराउने गरी संरचना निर्माण गरिसकिएको छ भने दिप्रु र शेर्पागाउँका लागि छुट्टै मुहान पहिचान गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको जनाइएको छ।