
सिन्धुलीबाट पोखरा आएका हायु परिवारका थप तीन सदस्य सम्पर्कमा आएका छन् । १४ वर्षकी सन्तमाया हायु (उर्मिलाको छोरा हिमालको साली), २० वर्षका सुजन हायु ज्वाइँ, १२ वर्षका छोरा सूवर्ण हायु मंगलबार सम्पर्कमा आएका हुन् ।
तीन दिनदेखि सम्पर्कविहीन भएको भनिएका हायु परिवार १६ जनालाई कास्की प्रहरीले सोमबार साँझ पोखरा महानगरपालिका–३० गगनगौंडास्थित दुई घरमा बसेको अवस्थामा सम्पर्कमा ल्याएको थियो ।
थपिएका तीन सदस्यमध्ये १४ वर्षकी सन्तमाया हायु (उर्मिलाको छोरा हिमालको साली), २० वर्षका सुजन हायु ज्वाई, १२ वर्षका छोरा सुवर्ण हायु रहेका कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए। सम्पर्कमा आएकाहरू सबैलाई प्रहरीले उर्मिलाकी छोरी कमला हायुका श्रीमान् धनबहादुर र उनका भाइ अमिस तामाङको जिम्मा लगाएको ओलियाले जानकारी दिए ।
पोखरा–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी र पोखरा–१० बस्ने मानबहादुर घर्तीको रोहबरमा तामाङ दाजुभाईको जिम्मा लगाएर छाडिएको ओलियाले बताए । उनीहरू आफनै तरिकाले पोखरा आए पनि सम्पर्कविहीन भएको भन्ने भएपछि प्रहरीले सम्पर्कमा ल्याएर आफन्तको जिम्मा लगाएको ओलियाले जानकारी दिए ।
उनीहरूलाई जिम्मा लिने ज्वाई हाल कोत्रेमा मजदुरी गर्दै आएका छन् । उनले भने, ‘पहिला उहाँहरूलाई राख्ने बासको एकिन भएपछि जसले जे काम गर्न सक्छ सोहीअनुसार काम खोजेर लागाउने हो । हाल कोत्रेमाथि रहेको मझुवा भन्ने स्थानमा एउटा घर खाली छ भन्ने कुरा आएको छ, आज दिउँसो दुई तीनजना सरहरू हामी बसेको स्थानमा आउनु भएको थियो । त्यहाँ गएर बस्ने भए भाडा पनि नलिने भन्नु भएको छ । भोलि गएर हेर्ने हो, बस्न मिल्ने भए त्यही लगेर उहाँहरूलाई राख्ने हो । अहिले उहाँहरु कास्कीमै दुई घर (सोमनाथ पौडेल र चन्द्र भण्डारीको) घरमा कोठा लिएर बस्दै आएका छन् । पौडेलले आफनो घरमा बस्न नदिएपछि सबैजना भण्डारी बुबाको घरमा आएर बसेका छौ ।’
उनीहरूले सिन्धुलीमा बसिरहेको स्थानमा बाटोको सुविधा नभएको, घर जंगलको बिचमा रहेको, बजार समेत टाढा रहेको, केही सामान किन्न जानु पर्दा समेत समस्या रहेको, बच्चाहरूलाई स्कुल पठाउन पनि समस्या रहेको, काम पनि नपाइने, मिल्ने आफन्त समेत नभएकाले छाडेर आएको बताएका छन् ।
परिवारकी मुली उर्मिला हायु भन्छिन्- त्यहाँ बसेको भए हाम्रो हड्डीसमेत नभेटिने रैछ
घरमै फुल, कटहर टन्न फलेर, फर्सीका मुन्टाहरू, मकै, खुर्सानीहरू त्यसै थियो, सबैलाई माया मारेर हिँडेको हो । त्यो स्थानमा बस्न हामीलाई धेरै मन, रहर थियो, तर हाम्रा जासुहरू (शत्रु) धेरै भए । दिउँसाैँ ढुंगा हान्न थाले, मान्छे देखिने हैन, बेसरी हान्न थाले । त्यसपछि त्यो ठाउँमा नबस्ने भनी सबै त्यो ठाउँ त्यागेर हिँडेका हाैँ । त्यो स्थानमा हाम्रो जातिहरू अरू पनि छन् । हामीले त्यहाँ बाँच्ने अवस्था नदेखेर नै छाडेर हिँडेको हो । हाम्रो स्थानमा जाने बाटो पनि छैन् । अब यतै केही गरेर खाने भनी आएको हो । यदि हामी त्यहाँ बसेको भए हाम्रो हड्डीसमेत नभेट्ने रैछ । आगलागी भयो के कारणले भयो यत्ति त्यो कुरा तपाईंहरूले पत्ता लगाई दिनुस्। कसले त्यस्तो गर्याे त्यो भगवानले नै जानुन्, यदि मैले बोल्दा मलाई नै जेलमा हाले भने के गर्नु।
तीन वर्षअघि भत्ता लिएर आउँदा श्रीमान् हराउनुभएको हो, हाल तीन वर्ष पूरा पुगी चार वर्ष लाग्यो, अवस्था केही थाहा छैन। अब हामी त्यहाँ नफकर्ने गरी आएको हो, अब यतै केही गरी बस्ने हो ।
२९ वर्षका छोरा राजु हायु भन्छन्- अघाएर आएका हौँ, अब उता जान्नौँ
सिन्धुलीबाट अघाएर आएका हौँ, अब उता जान्नौँ । यतै काम गरेर खाने भनी आएका हौँ, हाल काम खोजिरहेका छौँ, जे काम पाइन्छ त्यही गर्ने हो । केही गर्न सकिएला कि भनी पोखरा रोजेका हौँ । अब जेजस्तो हुन्छ यतै बस्ने हो, अन्त गइन्न।