मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 29 July, 2025
Invalid date format १९:o१:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले १५ साउनमा विश्वासको मत लिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:o१:oo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही १५ साउनमा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्।

सोमबार बसेको नेपाली कांग्रेस प्रदेश संसदीय दलको बैठकले दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहले विश्वासको मत लिने निर्णय गरेका हुन्। संसदीय दलका प्रमुख सचेतक बिक्रमसिंह धामीले दलको निर्णयपछि उक्त दिन प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गरिएको जानकारी दिए।

मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि १५ गते बेलुकी ५ बजे प्रदेश सभा बैठक बोलाउन सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएकाे धामीले बताए। 

आफ्नो पार्टीका मन्त्रीलाई मुख्यमन्त्रीले बर्खास्त गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले गत २० असारमा समर्थन फिर्ता लिएको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

संविधानको धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ।

आर्थिक अनियमिततामा मुछिएको भन्दै मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई गत १९ असारमा पदबाट हटाएका थिए। मन्त्री हटाएपछि नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएको हो।

प्रदेश सभामा कांग्रेस–एमालेको स्पष्ट बहुमत रहेकाले सरकार अप्ठ्यारोमा छैन। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्छ। सत्तापक्षमा कांग्रेसका १८ र एमालेका ११ सांसद छन्।