मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १२ सोमबार
  • Monday, 28 July, 2025
२o८२ श्रावण १२ सोमबार १७:१८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

जगदम्बा मोटर्सको तेस्रो सोरुम पोखरामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १२ सोमबार १७:१८:oo

जगदम्बा मोटर्सले आफ्नो तेस्रो सोरुम पर्यटकीय नगरी पोखरामा सञ्चालनमा ल्याएको छ। शंकर ग्रुपअन्तर्गतको जगदम्बाले चारपांग्रे गाडी बिक्री-वितरणका लागि सोमबारदेखि पोखरा महानगरपालिका– १०, बुद्धचोकमा नयाँ सोरुम सञ्चालनमा ल्याएको हो।

सोरुमको उद्घाटन पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइरालाले गरेका हुन्। जगदम्बा नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरकसमेत हो।

नयाँ सोरुममा प्रोटोनको प्रमुख विद्युतीय सवारीसाधन प्रोटोन इमास ७ सँगै अन्य मोडलका चारपांग्रे गाडीहरू राखिएको छ। कार्यक्रममा नयाँ ईमास ७ को प्रमुख विशेषता, प्रयोग गरिएका आधुनिक प्रविधि र दिगो यातायातप्रतिको प्रतिबद्धताका बारेमा जानकारी दिइएको थियो।

नेपालमा प्रोटोनको उपस्थिति विस्तार गर्दै ग्राहकहरूलाई विश्वसनीय सेवा सुनिश्चित गर्ने उद्देश्यसहित काठमाडौंपछि पोखरामा तेस्रो सोरुमसँगै सर्भिस सेन्टर स्थापना गरी सञ्चालनमा ल्याएको जगदम्बाका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले जानकारी दिए। २०२५ सम्ममा देशव्यापी विद्युतीय सवारीसाधन (इभी) नेटवर्क स्थापना गर्ने प्रोटोनको योजना रहेको र सोहीअनुसार पोखरामा सोरुम सञ्चालनमा ल्याएको उनले बताए। 

सम्भावित ग्राहकहरूका लागि टेस्ट ड्राइभ, व्यक्तिगत परामर्श, फाइनान्स, सरकारी अनुदानलगायतका विषयमा समेत सोरुमबाट सहजीकरण गरिने उनको भनाइ छ। विशेष गरी जगदम्बाले बिक्रीपछिको सेवालाई प्राथमिकता दिएर ग्राहकहरूलाई विश्वनीय सेवा सुनिश्चित गर्ने उद्देश्यसहित पोखरा आएको उनले बताए। उनका अनुसार गाडीमा आठ वर्ष वा एक लाख ६० हजार किलोमिटर ब्याट्री वारेन्टी छ।

कार्यक्रममा आकाश विक्रम थापाले पर्यटन र वातावरणलाई ध्यान दिँदै कम्पनी पोखरा आएको बताएका थिए। कम्पनीले यसअघि काठमाडौंको नक्साल र थापाथलीमा सोरुम सञ्चालनमा ल्याएकोमा काठमाडौंबाहिर पहिलोपटक पोखरा आएको हो।

कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले सोरुम स्थापना एवं सञ्चालनसँगै एक हप्ताको लागि पोखरामा प्रोटोन ग्राहकहरूका लागि शून्य प्रतिशत ब्याजदरको घोषणा गरिएको जानकारी दिए। यसका साथै प्रोटोनले पोखराको अटोमोबाइल क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने विश्वास कम्पनीको रहेको उनले बताए।