
सिराहा प्रहरीले नेपाल–भारतको सीमावर्ती क्षेत्र र लहान नगरपालिका– ३, अस्पताल चोकबाट प्रतिबन्धित लागुऔषधसहित ६ जना युवकलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म माडर र इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ चेकजाँचको क्रममा सिराहा नगरपालिका– १५, बुधौरा गाउँ हुँदै भारतबाट नेपालतर्फ आउँदै गरेका तीनजनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
म.प्र.०१–००४ प ६९६१ नम्बरको मोटरसाइकल चढेका सिराहा– १५, बुधौरा गाउँका करिब २४ वर्षीय मुकेश महरालाई रोकेर खानतलासी गर्दा उनको साथबाट खैरो हेरोइनजस्तो देखिने प्लास्टिकसहित ०.२३ ग्राम बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै, म.प्र.०१–००४ प ९८६२ नम्बरको मोटरसाइकल चढेका सिराहा– १३, फुलबरिया गाउँका करिब २० वर्षीय सतिश यादव र पछाडि बसेका सिराहा २० सिकाज्योतिका करिब २४ वर्षीय रमनकुमार यादवलाई खैरो हेरोइनजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो। रमनको शरीरबाट प्लास्टिकसहित ०.४३ ग्राम बरामद भएको छ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले त्यही दिन साँझ लहान नगरपालिका– ३, अस्पताल चोकस्थित ठाढी सडकखण्डबाट तीन युवकलाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चेकजाँचको क्रममा लहान– ४ बस्ने करिब १८ वर्षीय श्यामबाबु रजकको साथबाट दुई एमएलका १५–१५ एम्पुल डाइजिपाम, बुप्रेनर्फिन, फेनार्गनसहित पक्राउ गरिएको हो। प्रहरीले रजकसँगै रहेका स्थानीय करिब १९ वर्षीय दिपेशकुमार यादव र सखुवानन्कारकट्टी गाउँपालिका– ५ का करिब १९ वर्षीय धीरज यादवलाई पक्राउ गरिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार छुट्टाछुट्टै ठाउँबाट लागुऔषधसहित पक्राउ गरिएका ६ जनालाई शनिबारदेखि लागू हुने गरी आइतबार सिराहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ।