
सभामुख देवराज घिमिरे संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी हुन जेनेभा प्रस्थान गरेका छन्।
अन्तर व्यवस्थापिका संघ (आइपियू) र संयुक्त राष्ट्रसंघ (युएन)द्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा सहभागी हुन तीनसदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे कतार एयरवेजको क्युआर ६४७ को उडानमार्फत साँझ ६ बजे जेनेभा प्रस्थान गरेका हुन्।
उक्त प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी छन्। श्रावण १४ गते (जुलाई २९) सुरु हुने सम्मेलन श्रावन १७ गते (जुलाइ ३१)सम्म जारी रहनेछ।
सम्मेलनको दौरान सभामुख घिमिरेले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्यान्ड, माल्टा, इजरायल, भुटानलगायतका मुलुकका संसद्का सभामुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने बताइएको छ। त्यसैगरी, उनी जुलाई २९ मा स्विट्जरल्यान्डको संसद्ले आयोजना गर्ने रात्रिभोजमा समेत सरिक हुनेछन्।
प्रतिनिधिमण्डल भ्रमण सम्पन्न गरी कतार एयरवेजको क्युआर ६४८ को उडानमार्फत श्रावण १८ गते आइतबार बिहान ०८ः५० बजे काठमाडौं फर्किने कार्यक्रम छ।