
सिरहाको कर्जन्हा नगरपालिका ११ बगहास्थित कमला नहरमा डुबेर हराइरहेका करिब ६ वर्षीय बालक एक दिनपछि शुक्रबार अपरान्ह मृत भेटिएका छन् । कर्जन्हा ११ बगहा पासवान टोलका दिपक महराका छोरा शिवा महरा बिहीबार दिउँसो हजूरआमासँग भैंसी चराउन जाँदा नहरमा नुहाउने क्रममा डुबेर हराएका थिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्ने क्रममा शुक्रबार अपरान्ह करिब ४ बजेतिर मिर्चैया नगरपालिका ३ वीरपुर बजारदेखि दक्षिणपट्टि कमला नहरमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
मृतक बालकको शव भेटिएलगत्तै आवश्यक प्रकृया पूरा गरी पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मिर्चैया प्रहरीले बिहीबार बिहान करिब १० बजेतिर नहरमा डुबेका बालकको परिवारजन र स्थानीयले खोजी गरेपनि फेला नपरेपछि दिउँसो करिब साढे २ बजेतिर मात्र खबर आएको जनाएको छ ।
खवर पाएलगत्तै बालक डुबेको स्थानमा पुगेको प्रहरी खोजतलास गर्दा नभेटिएपछि राती करिब साढे ७ बजेसम्म नहरको दक्षिणतर्फ खोजी गरेर फर्किएको थियो । राती अँध्यारोमा खोजी गर्न गाह्रो भएपछि खोजतलास रोकेर पुनः शुक्रबार बिहानदेखि नै खोजी गर्ने क्रममा डुबेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।