मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
Invalid date format o६:२५:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बागमतीमा आफ्नै मुख्यमन्त्री फेर्न कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव : सभापति देउवाको ‘ग्रिन सिग्नल’पछि बहुमत सांसदको मुख्यमन्त्री लामाविरुद्ध हस्ताक्षर

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:२५:oo

इन्द्र बानियाँका पक्षमा ३७ मध्ये २१ सांसद उभिए

बागमती प्रदेशमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसमा उत्पन्न आन्तरिक विवाद मुख्यमन्त्री हेरफेरतिर उन्मुख भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)लाई हटाउने उद्देश्यसहित कांग्रेसका प्रदेश सभा बहुमत सदस्यले संसदीय दलमै अविश्वास प्रस्ताव दर्ता गरेका छन् । असन्तुष्ट समूह लामालाई हटाएर प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई दलको नेता बनाउने तयारीमा छ । यसमा पार्टी सभापति शेरबहादुर देउवाले पनि ‘ग्रिन सिग्नल’ दिएका छन् । लामा गत वर्ष ९ साउनमा मुख्यमन्त्री भएका थिए । 

लामालाई संसदीय दलको नेताबाट हटाउन कांग्रेसका २१ जना प्रदेश सभा सदस्यले संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । उनीहरूले हस्ताक्षरपत्र संसदीय दलका सचिव कृष्णकुमार तामाङलाई बुझाएका छन् । पार्टी प्रदेश सभापतिसमेत रहेका प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको पहलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । यसमा चारजना मन्त्रीसमेत छन् । 

हस्ताक्षरकर्ता सांसदहरूको नेतृत्व कांगे्रस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले लिएका छन् । उनकै समन्वयमा संसदीय दलका ३७ मध्ये २१ जना सांसदले लामाविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । संसदीय दलको नेता परिवर्तनका लागि १९ जना आवश्यक हुने भए पनि २१ जना सदस्यले हस्ताक्षर गरेपछि नेता परिवर्तन सहज देखिएको छ । कांग्रेस विधानअनुसार मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्छ । 

कांग्रेस विधानअनुसार २५ प्रतिशत सांसदको हस्ताक्षरमा अविश्वासको प्रस्ताव दर्ता गर्न सकिने भए पनि ५० प्रतिशतभन्दा बढीको समर्थन प्राप्त भएको र अब नयाँ संसदीय दलको नेताको चयन प्रक्रिया अगाडि बढ्ने बताए । प्रदेश संसदीय दलको विधानको धारा १८ अनुसार अविश्वासको प्रस्ताव दर्ता भएपछि १५ दिनभित्र दलको बैठक बोलाउनुपर्ने प्रावधान छ । त्यहाँ लामाको परीक्षण हुनेछ ।

लामाविरुद्ध हस्ताक्षर गर्ने २१ सांसदमध्ये चारजना मन्त्रीसमेत थिए । उनीहरूले शुक्रबार नै मुख्यमन्त्रीलाई ह्वाट्सएपबाट राजीनामा पठाएर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ छन् ।

हस्ताक्षरकर्तामा चार मन्त्रीबाहेक बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र बादे, दीपेन्द्र श्रेष्ठ, पुकार महर्जन, विन्दु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, माया श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ति ढकाल, प्रभात तामाङ, छिरिङ दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने र सुना परियार छन् । 

अविश्वास प्रस्तावमा मुख्यमन्त्री हुँदा वा विपक्षी दलको नेता हुँदा उनको भूमिका प्रभावकारी नभएको आरोप छ । ‘मुख्यमन्त्री लामाको नेतृत्वमा रहँदा न प्रतिपक्षको भूमिका प्रभावकारी रहन सक्यो, न त सरकारको नेतृत्व गर्दा परिणाम देखियो । यसले पार्टीको छवि गम्भीर रूपमा धूमिल भएको छ,’ प्रस्तावमा भनिएको छ, ‘उहाँको नेतृत्वमा प्रमुख प्रतिपक्षका रूपमा हाम्रो भूमिका सशक्त हुन नसकेको पनि महसुस गरेका छौँ । साथै, उहाँ अर्थमन्त्री रहँदा बजेट निर्माणमा हामीले गर्न सक्नेजति गर्न पनि सकेनौँ । फलस्वरूप कांग्रेस बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका साथीहरूमा नैराश्यता छाउनुको साथै जनतामा प्रदेश संरचनाप्रति वितृष्णा पैदा भएको छ ।’

लामामाथि कांग्रेसकै नेतृत्वमा सरकारको बजेटसमेत प्रभावकारी कार्यान्वयन गर्न नसकेको आरोप छ । ‘राजस्व संकलन र खर्चको स्थिति नाजुक छ, प्रदेशका जनताले महसुस हुने गरी कुनै सेवा पाएका छैनन् । त्यति मात्र नभई गत वर्ष असोज ११ देखि १३ सम्म आएको अविरल वर्षा र बाढीबाट पीडितहरूले अझै राहत पाएका छैनन् । पुनर्निर्माणले प्राथमिकता पाउन सकेको छैन,’ प्रस्तावमा भनिएको छ । 

प्रदेशमा मुख्यमन्त्री बन्न कांग्रेसमा संसदीय दलको नेता बन्नुपर्ने व्यवस्था रहेको छ । लामालाई संसदीय दलबाट हटाउन र मुख्यमन्त्री परिवर्तन गर्न संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको कांग्रेस प्रदेश सभा सदस्य श्रीराम दाहालले बताए ।

आफूहरूको प्रस्तावमा पार्टी सभापति शेरबहादुर देउवाको पनि समर्थन रहेको संस्कृति तथा पर्यटनमन्त्रीबाट राजीनामा दिएका विमल ठकुरीले बताए । पार्टी शीर्ष नेतृत्वबाटै मुख्यमन्त्री लामाको विकल्प खोजिएको उनको भनाइ छ । ‘मुख्यमन्त्री बहादुरसिंह लामाको कार्यशैलीप्रति केन्द्रीय नेतृत्वमा पनि असन्तुष्टि थियो, उहाँको विकल्पको विषयमा पार्टी सभापतिको पनि समर्थन छ,’ उनले भने ।

मन्त्रीहरू ठकुरी, महर्जन र श्रेष्ठले ह्वाट्सएपबाट मुख्यमन्त्रीलाई राजीनामा बुझाएका छन् भने कानुनमन्त्री सुरज लामिछानेले मुख्यमन्त्री लामालाई काठमाडौंमै भेटेर राजीनामा दिएका छन् । सांसद दाहालले अझै एकजना मन्त्रीसहित थप तीनजना सांसदले अविश्वासको प्रस्तावमा सघाउने दाबी गरे । 

लामाले नेतृत्व दिन सक्नुभएन : बानियाँ
कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका प्रदेश सांसद इन्द्रबहादुर बानियाँले प्रदेश संसदीय दलका नेता लामाले सही नेतृत्व दिन नसकेकाले अविश्वास प्रस्ताव दर्ता गरेको बताए । ‘कांग्रेसले विश्वासका आधारमा लामाजीलाई दलको नेता बनाएका थियौँ । तर, उहाँले सोचेअनुरूप नेतृत्व प्रदान गर्न सक्नुभएन । सहकार्यका आधारमा दुई दल मिलेर सरकार बनाइयो । त्यसको नेतृत्व उहाँले गर्नुभयो । तर, नेतृत्वले प्रभावकारी काम गर्न नसक्दा संसदीय दलका अधिकांश साथीले उहाँमाथि विश्वास गर्ने वातावरण रहेन । त्यही कारण अविश्वासको प्रस्ताव दर्ता गर्नुपरेको हो,’ बानियाँले भने । यसमा केन्द्रीय नेतृत्वको कुनै हस्तक्षेप नरहेको नेता बानियाँको दाबी छ ।

सामना गर्न तयार छु : मुख्यमन्त्री लामा
मुख्यमन्त्री लामाले अविश्वासको प्रस्ताव फेस गर्न तयार रहेको बताएका छन् । ‘अविश्वासको प्रस्ताव सामना गर्न तयार छु । गठबन्धनको सरकार भएकाले सहमतिअनुसार समयावधि सकिएको भए स्वाभाविक रूपमा राजीनामा दिनुपथ्र्यो र दिन्थँे,’ उनले भने, ‘तर, अहिले त्यस्तो अवस्था होइन । साथीहरूले दलको नेता फेर्नुपर्‍यो भनेर अविश्वासको प्रस्ताव दर्ता गरेको थाहा पाएँ । यो ठुलो विषय भएन । सामना गर्न तयार छु ।’ मुख्यमन्त्री लामाले गठबन्धन सरकार भएकाले सहमतिअनुसार अघि बढ्नुपर्ने बताए । 

सत्तारूढ एमालेले भन्यो– गठबन्धनमा फरक पर्दैन
बागमती प्रदेशको सत्तासाझेदार एमालेका प्रमुख सचेतक मधुसूदन पौडेलले कांग्रेसभित्रको आन्तरिक विषयले गठबन्धनमा फरक नपर्ने प्रतिक्रिया दिए । ‘संसदीय दलको नेता को हुने भन्ने विषय कांग्रेसको आन्तरिक हो । कांग्रेसको आन्तरिक समस्याले गठबन्धनमा समस्या पर्दैन । एमालेको यसमा फरक प्रतिक्रिया छैन,’ पौडेलले भने ।