मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ९ शुक्रबार
  • Saturday, 26 July, 2025
२o८२ श्रावण ९ शुक्रबार ११:५४:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

करिब २३ अर्ब लागतको नागढुंगा सुरुङमार्गमा पुसबाट गाडी गुड्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ९ शुक्रबार ११:५४:oo
  • ९२.५ प्रतिशत निर्माण सकियो, अब टोल ट्याक्स उठाउने बुथ र पहिरो नियन्त्रण गर्ने सडक कंक्रिट गर्न मात्रै बाँकी, मुख्य र रेस्क्यु दुवै टनेल निर्माणकार्य सकियो, सुरुङभित्र तेजिलो प्रकाश फाल्ने बत्ती जडानको काम हुँदै

पहिलो आधुनिक टनेल ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्गको निर्माण ९२.५ प्रतिशत सकिएको छ । ठेक्का प्राप्त जापानिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पाेरेसनले पुस ०७७) देखि सुरुङ निर्माणको काम सुरु गरेको थियो । त्यसयता साढे चार वर्षमा भौतिक प्रगति ९२.५ प्रतिशत पुगेको हो । वित्तीय प्रगति भने ८६.३४ प्रतिशत पुगेको परियोजनाद्वारा मंगलबार सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।

परियोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले निर्माणकार्य अन्तिम चरणमा पुगेको बताए । बाँकी काम सम्पन्न गरेर आगामी पुसदेखि सुरुङमार्ग सञ्चालन गर्ने उनको भनाइ छ । 

निर्माण कम्पनी हाज्मा एन्डो कर्पाेरेसनलाई दिएको पछिल्लो म्याद आगामी ८ कात्तिकसम्म रहेको छ । ‘यही अवधिभित्र काम सक्ने लक्ष्य छ । तर, त्यसमा केही चुनौती पनि छन् । तर, अब धेरै समय लाग्दैन,’ उनले भने, ‘पुस महिनामा सुरुङ सञ्चालनमा ल्याउने हाम्रो लक्ष्य छ ।’

परियोजनामा मुख्य र रेस्क्यु गरी दुई सुरुङमार्ग छन् । पश्चिम धादिङको सिस्नेरीबाट सुरु भएको सुरुङमार्ग काठमाडौं–नागढुंगामा निस्कने गरी निर्माण गरिएको छ । २६ सय ८८ मिटरको मुख्य सुरुङमार्ग ३ वैशाख ०८१ र २५ सय ५७ मिटरको रेस्क्यु टनेल २२ साउन ०८० मा छिचोलिएको थियो । त्यसपछि मुख्य टनेल र क्रस प्यासेजको कंक्रिट लाइनिङ (भित्ता र सिलिङको ढलान)को काम गत असोजमै सम्पन्न गरिएको थियो ।

टनेलको लेनलाई ‘कन्टिन्युअस्ली रिइन्फोस्र्ड कंक्रिट पेबमेन्ट’ (सिआरसिपी) प्रविधिबाट कंक्रिट गरिसकिएको छ । यस्तै, रेस्क्यु टनेलभित्रको सडक तथा बाहिर र सुरुङभित्रको सडक जोडिने ठाउँमा ‘रिइन्फोस्र्ड कंक्रिट पेबमेन्ट’ (आरसिपी) प्रविधिबाट क्रंकिट गरिएको छ, त्यसअन्तर्गत हालसम्म २७ सय ८९ मिटर सडक कंक्रिट गरिएको आयोजनाले जनाएको छ । अब १०.९९ मिटर सडक मात्रै कंक्रिट गर्न बाँकी छ । यसैगरी, सुरुङबाहिर नौ हजार एक सय ६१ मिटर सडक कंक्रिट गर्नुपर्नेमा १२ सय ४२ मिटर सडक मात्रै कंक्रिट गर्न बाँकी छ ।

फ्लाई ओभर निर्माणको सबै काम सकियो, १२ वटै संरचना तयार
फ्लाई ओभरको काम पनि सकिएको आयोजनाले जनाएको छ । योसँगै परियोजनाअन्तर्गत बन्ने १२ वटै संरचना तयार भएका छन् । तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट (माथि गाडी, तल पानी बग्ने संरचना), एउटा ओभरपास, तीनवटा पुल यसअघि नै बनिसकेका थिए । अब परियोजनामा टोल ट्याक्स उठाउने बुथ, पश्चिम प्रवेशद्वार क्षेत्रमा पहिरो नियन्त्रण, सुरुङबाहिरको सडकको क्रंकिट गर्न बाँकी छ । परीक्षणको कार्य भने नियमित रूपमा भइरहेको सिडिई पन्थीले जानकारी दिए । यसैगरी, सुरुङभित्र अक्सिजन, विद्युत् र टेलिफोन जडानलगायत काम अघि बढेको छ ।

निर्माण सक्न जापानबाट पाँच अर्ब ३५ करोड येन ऋण लिइँदै
३० असारको मन्त्रिपरिषद् बैठकले सुरुङमार्ग निर्माण सक्न जापानबाट पाँच अर्ब ७० करोड येन (पाँच अर्ब ३५ करोड ८१ लाख रुपैयाँ) ऋण लिने निर्णय गरेको छ । २२ अर्ब ८२ करोड लागत अनुमान गरिएको परियोजना तोकिएभन्दा ढिला सम्पन्न हुने भएकाले लागत पनि बढेको हो । यसअघि जापानबाटै सुरुङमार्ग निर्माणका लागि १७ अर्ब १५ करोड रुपैयाँ सहुलियत ऋण लिइएको थियो ।

बाँकी पाँच अर्ब ६७ करोड सरकारले लगानी गरेको हो । मुआब्जा वितरणका लागि बजेट अपुग भएपछि जापानबाट थप ऋण लिइएको सडक विभागले जनाएको छ । सुरुङमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनका लागि प्रस्तावित टोल शुल्क पनि मन्त्रिपरिषद्बाट स्वीकृति हुने चरणमा छ । साना गाडी (कार, भ्यान, पिकअप, माइक्रो बसलगायत)लाई सुरुङबाट उपत्यका भित्रिँदा ७५ रुपैयाँ र बाहिरिँदा ५० रुपैयाँ शुल्क प्रस्ताव गरिएको छ ।

टिपर, मिनीबस र मिनीट्रकलाई उपत्यका भित्रिँदा एक सय २५ रुपैयाँ र बहिरिँदा एक सय रुपैयाँ शुल्क लाग्ने प्रस्ताव गरिएको छ । त्यसैगरी बस र ट्रकलाई उपत्यका भित्रिँदा दुई सय ५० र बाहिरिँदा दुई सय शुल्क प्रस्ताव गरिएको छ । यसैगरी लरी (हेभी सवारी)लाई उपत्यका भित्रिँदा पाँच सय रुपैयाँ र बाहिरिँदा तीन सय रुपैयाँ शुल्क प्रस्ताव गरिएको छ । मोटरसाइकललगायतका दुईपांग्रे र तीनपांग्रे सवारीसाधनलाई भने सुरुङ प्रवेशमा निषेध गरिएको छ ।